चिसो स्याँठले गाला छुँदा हिउँ दले झैं लाग्थ्यो । कठ्याङ्ग्रिएका औंलाले मोबाइलमा स्क्रिन ‘स्वाइप अप’ नै हुन्नथ्यो । सुइटरमाथि खापेको ज्योकटमा पनि लुगलुग कामियो । आफ्नै दाँत बजेको सुनिन्थ्यो । बजारमा बिजुली थिएन । निष्पट अध्याँरो छ । ‘आज र भोलि दुईदिन बिजुली आउँदैन रे ! बाटो फराक पार्न पोल सार्दैछन्’ अँध्यारोमै कसैको आवाज सुनियो । ‘हैन आज आउँछ अरे’ फेरि कोही बोल्यो । ‘मोबाइल चार्ज गर्न नपाइने भो ’ मनमनै चिन्ता लाग्यो । तर, दोस्रो व्यक्तिको कुरो मिल्यो । त्यो साँझ बत्ती आयो ।
तराईबाट माथि पहाडसम्म गाडीमा उक्लँदा निकै थकाइ लागेको थियो । घुमाउरो बाटोमा बारम्बार गाडी मोडिँदा शरीरमा धङधङी थियो – रिंगटा लागेजस्तो । वाकवाक होलाजस्तो वा दुवै ।
नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलको नेतृत्वमा यही साता मोरङ र सुनसरीका हामी छजना पत्रकार धनकुटाको पर्यटकीय क्षेत्र राजारानी पुगेका थियौँ । म, गोरखापत्रका गोकुल पराजुली, मकालु टिभीका पदम सरदार, वर्णमाला दैनिकका सम्पादक शशि कोइराला र एफएम रेडियो संचालक इकबाल अहमद । पहाडको साँझ त्यसमा पनि बिजुली गएको अवस्था । के गर्ने नगर्ने ? बिलखबन्दमा परियो । हाम्रो खानेबस्ने ठाउँबारे आयोजकसँग छलफल गर्न अध्यक्ष लुइँटेल व्यस्त थिए । हामी भने केही खाउँ भनेर होटल खोज्न थाल्यौँ । धेरै त बन्द देखिन्थे । खुलेका खाली । सोलार बत्ती बलेका थियो ।
‘यसैमा पसौँ’ मित्र गोकुलले देखाउँदै भने – ‘जनयुद्ध’कालमा यहाँ आएर खाना खाएको छु । राम्रो व्यवस्थापन छ । उनकै पछिपछि लाग्यौँ ।
गोकुल : ‘साहुनी के खान पाइन्छ ?’
‘अहिले त केही छैन । खाजा खाने बेला नै टरिसक्यो,’ भान्छाबाटै साहुनी बोलिन् ।
‘ए हो र ! केही त होला नि, दिनुहोस् न । हामी तल मधेसबाट आएको भोक लागेको छ । आलु उसिनेर दिए पनि हुन्छ । यतै फलेको भए त झन् खासा । पहिले पनि उसिनेको आलु, मुलाको अचार र भटमास खुवाउनु भएको थियो । भात त झन् मीठो दिनुहुन्थ्यो ।’
गोकुलले फेरि थपे,‘दुई जना शाकाहारी छौँ । आलु इस्कुस जे उसिनेर दिए पनि हुन्छ । अरुसाथी तोङ्बा खान्छन् । सुकुटी वा मासुसँगै दिँदा हुन्छ ।’
‘सुकटी थोरै छ । सबैलाई नपुग्ला, तोङ्बा चाँहि छ । अरु खानेकुरा छैन ?’ साहुनीको जवाफ आयो । ‘आलु पनि छैन । यहीँ फलेको त झन् कहाँ पाउनु र ?’ रिसेप्सनमा मोबाइल खेलाउँदै गरेकी साहुनीकी छोरी झर्कोफर्को गर्दै बोलिन् ।
‘भटमास छ त बहिनी?’ गोकुलजीले उनैतिर फर्किएर सोधे । ‘छैन, भटमास खाने ग्राहक नै आउँदैनन्’ ।
मलाई पनि केही नपाइने रहेछजस्तो लाग्यो । ‘जे छ त्यही दिनुस्,’ मैले भने । ‘लेइज र बिकाजी भुजिया खाने ? त्यही दिउँ त?’ ‘मरता क्या नही करता’ हुन्छ भनिदिएँ । अर्काे साथीले जाडो छल्ने उपाय सोचे । सूर्य चुरोट मागे । थिएन । क्याप्टेनले काम चलाए । धेरै कर गरेपछि अन्ततः साहुनीले थोरै आलु बचेको सुनाइन् । ‘भुजुरी तारी
दिनुहोस्’ गोकुलजीले हत्तपत्त भने । आधाघन्टामै आलु बन्यो तर चर्काे । ‘नुन अलि चर्को भएछ’ मैले भने । ‘अब त्यही भए नि खानु न’ बहिनीले निक्कै च्याँठिएर जवाफ फर्काइन् ।
गाडीको धङधङीले वाकवाकी लाग्ला जस्तो भएको थियो । हुनत, मनतातो पानीमा कागती निचेरर खाने मन थियो । पाइएन । मन कुँड्याएरै भए पनि अन्ततः हामीले लेइज र विकाजी भुजिया टोक्यौँ । तल मधेसमा हेर्नै मन नलाग्ने यी दुई वस्तु माथि पहाडमा भने हाम्रो प्लेटमै थिए । ‘दस वर्षअघि आउँदा उसिनेको आलु, साँधेको भट्मास, डुकुसाग र मुलाको अचारसँग भात खाइएको थियो,’ गोकुल जीले विगत सुनाए ‘पहिले यतैका खानेकुरा माग्दा पाइन्थ्यो ।’
साथीहरुले मन अमिलो पार्दै जाडोमा सिउसिउ गर्दै तोङ्बा घुट्क्याए । साहुनीकी छोरीले झर्काेफर्खो गरिरहेकै थिइन । कागती माग्यो ‘छैन’, खोर्सानी मग्दा पनि छैन भन्थिन । यिनीहरु पनि पर्यटक हुन् राम्रो सत्कार र व्यवहार गरेर मनग्यै पैसा खर्च गराएर आम्दानी लिन सकिन्छ भन्ने नबुझेर हो कि किन हो कुन्नि ? ती साहुनीले हामीलाई भाउ नै दिइनन् ।
भित्री पहाडमा पुग्दा त स्थानीय र रैथाने खाना मेन्युमा राखिएको होला, स्वादले खान पाइएला भन्ने आशा जागेको थियो । तर, गाडीमा ओसारिने ‘लेइज, कुरकुरे, भुजिया र चाउचाउ’ नै खान मानिसहरू यस्तो मनोरम ठाउँमा समय र पैसा खर्चिएर किन उक्लनु होला ? जस्तो भयो । साथीहरूले पनि यस्तै कुरा गर्दै थिए । फेरि यो पर्यटन वर्ष, २०२० सुरु हुनै लाग्दाको याम पनि त थियो ।
∙∙∙
बिहान ७ बजेतिर उठियो । अघिल्लो साँझ आयोजकले खाना खान केही माथिको होटल व्यवस्था गरेका रहेछन् । त्यहीँ आगो बालेर सहभागीहरुले केहीबेर दोहोरी गीत पनि गाए । खाना मिठै थियो । हामी खाइवरी एउटा सामुदायिक विद्यालयले सञ्चालन गरेको गेस्टहाउसमा सुत्न गयौँ । यो ठाउँको सबैभन्दा राम्रो व्यवस्थापन भएको सुत्ने ठाउँ भनिएको थियो ।
फराकिला नयाँ कोठा । ‘एटेच ट्वाइलेट बाथरुम’ पनि थियो । ‘तेस्रो तल्लामा पानीको समस्या छ रे’ अध्यक्ष विक्रम लुइँटेलले पहिल्यै सुनाएका थिए । हामी सुतेको कोठासँगै सटिएको ट्वाइलेट बाथरुममा रातभर पानी आएन । ‘सिरकका खोल काती थिए । तन्ना पनि मैला र गुज्मुजिएका । कोठा ठ्वास्सै गन्हाउने’ एकजना साथीले बिहान आफू सुतेको ठाउँको हालतको बेलिविस्तार लगाए ।
धन्न हामीले भने सामुदायिक विद्यालयको गेस्टहाउस पाएछौँ । ‘होटल म्यानेजमेन्ट’ पढ्ने विद्यार्थीका लागि प्राक्टिकल गराउने ठाउँ भएर होला, सफा भने थियो । ओढ्ने ओछ्याउनेमा एउटा दागसम्म थिएन । प्राकृतिकरूपमा राजारानी क्षेत्र जति सुन्दर छ त्यहाँ पर्यटकको बास र बसाइको प्रबन्ध भने धेरै अव्यवस्थित अनि दिक्कलाग्दो ।
राजारानी बिहानै खुलेको देखिन्थ्यो । झलमल्ल घामले बजार उघ्रियो । पूर्वपटिट्को रानीपोखरी सफा खुलेको आकाशमुनि निक्कै सुन्दर देखियो । पहाड र घामको छाया पानीमा पर्दा पोखरीको सुन्दरता बयान गरिसाध्य थिएन । ठाउँठाउँमा ससाना फलामे टुङ बनाइएको छ ।
चढेर रानीपोखरीलाई अलग अलग कोणबाट नियाल्न सकिन्छ । बाँध वरिपरि वनभोज खाने ठाउँ छन् । अलिअलि बाङ्गै भए पनि चन्द्रागिरी डाँडाको जस्तै ‘सेल्फी’ खिच्न ‘लभसाइन’ बनाइएको छ । पोखरी परबाट हेर्दाजस्तै नजिकबाट झन् सुन्दर देखिन्छ । पिकनिक आउने बस र आन्तरिक पर्यटकको सँधै लर्को नै लाग्छ ।
ड्यामसाइड हुँदै हामी बजारतिर आउँदा पोखरीकै पानीमा र वरिपरि पानीका बोतल, चाउचाउका खोल र प्लास्टिकजन्य फोहोर देखेर भने दिक्क लाग्यो । तिनैसंग लुकामारी खैल्दै माछा पौडिरहेका हुन्छन् । मानिसहरु खान्छन् तर फोहोर फाल्न तोकिएको ठाउँमा मिल्काउँदैनन् । ‘ओभर फ्लो’ भएको पोखरीको पानी बग्दै गएर निक्कै तल नागबेली ढुंगे दरबार हुँदै झरना भएर खस्दो रहेछ । पर्यटन कार्यालय काकडभिट्टाले यो ठाउँको संरक्षण र भौतिक निर्माणमा काम गरेको हो । ट्रयाकले पर्यटकलाई हिँड्न र झरनासम्म पुग्न सहज बनाई दिएको छ ।
रानीपोखरीबाट हामी टिकट काटेर नागबेली ढुंगे दरबार हुँदै झरनातिर लाग्यौँ । रानीपोखरीकै पानी नागजस्तै लमतन्न परेको खोल्सीबाट झरना भएतिर जाँदो रहेछ । शान्त वनमा खोल्सीको सुसाई र झ्याँउकिरीको आवाजले मन आनन्दित हुन्छ । तर, बस्ती हुँदै आएको पानीमा बोतल र प्लास्टिकका टुक्रा अनि प्लास्टिकजन्य फोहोरले भने दिक्क भइन्छ । प्लास्टिक मूलमै रोक्ने प्रयासै भएको रहेनछ । यसैले बस्ती भएर बगेर आउने पानी प्रदूषित हुनबाट रोक्न र झरनाको सुन्दरता कायम राख्ने काम चुनौतीपूर्ण भएको देखिन्छ । बजार नै उठाएर नागबेली ढुंगे दरबार मास्तिर राजापोखरी बनाउने चौबिसे गाउँपालिकाले तयारी गर्दैछ । त्यो पोखरी ठ्याक्कै बजारको बीच भागमा पर्ने रहेछ । वरिपरि घर छन् । पहिले राजा र रानीपोखरी नै थिए । राजापोखरी चैं पछि पुरिएकाले फेरि खन्ने तयारी हुँदैछ ।
∙∙∙
विराटनगरबाट गाडीमा करिब ३ घन्टाको सहज यात्रामा अर्को पर्यटकीय क्षेत्र भेडेटार र नाम्जे हुँदै पुग्न सकिने राजारानीमा भ्रमण वर्षको चर्चा छैन । राजारानी मात्र के र ? संघीय र प्रदेश सरकारले नै पर्यटकीय गन्तब्य भनि तोकेका धेरै ठाउँ सुनसान छन् । प्रदेश १ मा मात्रै पाँचलाख पर्यटक भित्र्याउने भन्दै प्रदेशमन्त्रीले भाषण ठोक्या’ठोक्यै छन् ।
तर, पर्यटन वर्ष संघारमै आइपुग्दा मन्त्रीहरुको दिनचर्या सहकारीको साधारणसभा, सेलरोटी पसल उद्घाटन र विद्यालयका वार्षिकोत्सवमा सीमित देखिन्छन् ।
पर्यटक पुग्ने ठाउँमै पर्यटन वर्षबारे मानिसहरु बेखबर छन् । त्यहाँ कुनै तयारी थालिएको छैन । भएकै ठाउँको प्रचार छैन ।
बरु, आफ्नामा कार्यक्रम हुँदा बिहान खुवाएकै खानाको मेन्यू बेलुका पनि पस्कने विराटनगरका एकाध होटलट्राभल व्यवसायीले पर्यटन वर्ष, २०२० को नेतृत्व पाएका छन् । भनाइले त प्रदेश १ मा पश्चिमबंगाल, सिक्किम र बिहारका मुख्यमन्त्री नै उद्घाटन समारोहमा सहभागी गराइसकिएको छ । पर्यटक तान्ने पर्यटन गीत रेकर्ड हुन लागेको छ तर मास्तिर न पर्यटक सुत्नेबस्ने ठाउँ सुधार गर्ने काम भएको छ, न त भन्छामा पर्यटकले खोजेजस्तो खाना पस्कने व्यवस्था । पर्यटक टहलिने स्थानको सरसफाइ र अतिथिलाई गरिने व्यवहारको अवस्था झन् टिठलाग्दो छ ।
पर्यटकको कुनै चहलपहल नै नहुने प्रदेश १ को राजधानी विराटनगरको एक खेल मैदानमा दस हजार मानिस उतार्ने भन्दै आयोजकले हरदिन अनलाइन, टिभी र सामाजिक सञ्जालमा फलाक्दै छन् । तर, कार्यभार पाएको धेरै पछिसम्म पनि बैठकका निर्णयसमेत सार्वजनिक गर्न नसक्ने समितिका पदाधिकारी र सदस्यले नै दूरदराजमा पर्यटकको सत्कार, उनीहरुको चाहना र बसाइ लम्याउने उपायबारे के भइरहेको छ भन्ने भेउसम्म पाएका छैनन् ।
प्रदेश र स्थानीय सरकारबीच समन्वय छैन । आआफ्नै डम्फु बजाइरहेका छन् । पर्यटन दूत घोषणा गरेर, काठमाडौंको तारे होटलमा गोष्ठी चलाएर अनि विराटनगरमा गफ पिटेर पर्यटक भित्रिने हुन् र ? पर्यटकीय क्षेत्रको विकास हुने हो र ? प्रदेश राजधानीका होटल र टुर व्यवसायीको रटान छ – ‘पर्यटन वर्ष सफल हुँदैछ । धार्मिक पर्यटकसमेत जोड्दा हाम्रो प्रदेशमा एक वर्षभित्रै २० लाख पर्यटक ल्याउन सकिन्छ ।’
प्रदेश १ मा पर्यटन वर्ष २०२० उद्घाटन समारोहको कर्मकाण्ड पु¥याउन तल तामझाम हुँदैछ । तर, माथिका पर्यटकीय गन्तव्यहरुमा पर्यटन वर्षको हावासम्म चलेकै छैन । विगतमा पर्यटक पुग्दा मानिसको व्यवहार र सत्कारका कारण अडिने पर्यटकले यो पटक फर्केपछि ती ठाउँबारे आफ्ना साथीसंगीलाई के सुनाउलान् भन्ने प्रश्न तेर्सिएको छ ?