पर्खिरहेका हुन्छन आमाहरु !
जाडोले कठ्याङ्ग्रिएका लेकका धूपीहरुजस्तै
यतिबिघ्न जाडोमा
चाउरिएका अनुहारमा सयौं रेखाहरु बोकेर
सुनसान घरको पिँढीमा एकोहोरो टोलाइरहने
ती एक्ली बूढी मान्छे कसकी आमा होलिन् ?
छेऊमा गएर सोध्छु,
‘आमा जाडो भएको छैन ?’
कति पातला छन् तिम्रा जीउका कपडाहरु
जीउभरि काँडा उम्रिएका छन्
हिउँजस्तै चिसा छन् तिम्रा हात खुट्टाहरु ।
सतिसालझैं ठिङ्ग उभिएर भन्छिन्–
अचेल त मलाई जाडो हुन छोडेको छ बाबु !
एकएक पत्रहरु झिक्दै मैले
मेरो प्यारो सृष्टिको आङ ढाकिदिएकी छु
त्रसित हुन्छु कतै मैले जाडो महसुस गरेर
मेरो आङमा न्याना पत्रहरु थप्दा
मेरो सृष्टिलाई जाडो पो हुने हो कि ?
म त हिउँद, बर्खा, घाम, पानी
सबै सहन, निल्न सक्ने
बेसहारा डाँडापारिको जुन न हुँ !
म सोध्छु,
‘आमा घरीघरी मात्रै किन मुस्कुराउछ्यौ ?’
हँसिलो भएर भन्छिन्–
जब मैले सिङ्गै सृष्टिलाई गर्भमा हुर्काएँ
पहिलोचोटि ऊ चल्दा मलाई लाग्थ्यो
आफ्नी प्यारी आमाको अनुहार हेर्न
हतार गरिरहेको छ बाहिर निस्कन !
विकसित नभएका कोमल खुट्टाहरुले
प्याट्टप्याट्ट मेरो पेटमा हिर्काउँदा
यो ब्रह्माण्डमा कतै नभएको
खुसी र सुखको अनुभूति गरेकी थिएँ
यस्तै सम्झिन्छु बाबु
र, चाउरिएका यी छालाहरु
अनायास घरीघरी त्यसै फैलिन्छन् !
जिज्ञासु हुँदै सोध्छु,
परपर हेर्दै किन टोलाउँछ्यौ आमा ?
विगत सम्झिँदै भन्छिन्–
जब ऊ लक्का जवान भयो
मजस्तै एउटा आफ्नो संसार बोकेर
यो बारीको कान्लैकान्ला हुँदै बेपत्ता भएको छ
सायद फेरि ऊ
अर्को नयाँ सृष्टिको खोजीमा गएको होला
अब त उसकी संसारले पनि गर्भधारण गर्दै
पुनः अर्को सृष्टिको सिर्जना गरिसकी होलिन्
कल्पिन्छु उसको स्वरूप मेरै जस्तो पो छ कि ?
अथवा मैले जन्माएको सृष्टिको जस्तै ?
मेरो आफ्नै यी मुटुका टुक्राहरुको
बिघ्नै माया लागेर आउँछ
र, टोलाउँछु, भक्कानिन्छु बाबु !
सशङ्कित हुँदै फेरि सोध्छु,
‘आमा ऊ फर्केर आउँछ ?’
मनभरि पहाडको जस्तो विश्वास बोकेर भन्छिन्–
ऊ फर्केर आउँछ बाबु !
उसले यो संसारको रित बुझ्ने छ
यो पूरै ब्रह्माण्ड अधिक चिसो मात्र छैन
निरन्तर घुमिरहेको पनि छ
घुम्दाघुम्दै यसरी सबैले
एकदिन आफू उभिएको धरातलमा आइपुग्नैपर्छ
उसले पनि थाहा पाउनेछ
आमाको काखभन्दा सुरक्षित र न्यानो ठाउँ अन्त हुँदैन
एकदिन फेरि मेरो छातीमा टाँस्सिन आइपुग्नेछ
अनि, भन्ने छ–
‘आमा मलाई फेरि तिम्रै गर्भभत्र राख न !’
सायद सबैका आमाहरु
पर्खेर बसिरहेका हुन्छन्, यसरी नै
सम्झिन्छु कहिले फर्केर आउँछन् होला
आमाका काख भर्न
उडेर गएका ती सृष्टिहरु ?
० ० ०
आन्दोलित फूलहरु !
हेर्दै गयौ
खोज्दै गयौ
सोध्दै हिँड्यौ भने
सबैले दिने फूलहरुको अर्थ
जहाँ पनि एकै हुन्छ
कोमल हुनु
रङ्गीचङ्गी हुनु
सुन्दर हुनु
सुबासित हुनु
शान्त हुनु
यसैले त फूलहरु हेरेर
मनैदेखि रमाउन मन लाग्छ
एकचोटि सुस्तरी छोएर
कोमलताको अनुभव गरौं जस्तो लाग्छ
टपक्क टिपेर कोटको खल्तीमा
अथवा शीरमा टक्रक्क लगाउँ जस्तो जाग्छ
घरको कुनाकुना सजाउन
अथवा प्रियजनहरुलाई उपहार दिन मन लाग्छ
सपनामा पनि यी फूलहरु आउन्
एउटा सुन्दर बगैंचा बनाइदिउन्
र, ढकमक्क फुलिदिउन् जस्तो लाग्छ
मनभरिका तनाव र पीडाहरु बिर्सेर
अन्त कहीँकतै नगई
यी फूलहरुको बीचमा
भुलेर बसिराखौं जस्तो हुन्छ
तर अचेल यी फूलहरु
सुन्दर सुबासित भएर पनि
सोच्नै नसकिने
विश्वासै गर्न नसकिने गरी
परिवर्तन भएका छन्
र, बोकेका छन् आक्रोश र उत्तेजनाहरु
मान्छेहरुको भीड देखेर यी फूलहरु
यतिबिघ्न आक्रोशित भएका छन् कि
यी लालीगुँरासका फूलहरुमा
अचम्मै लाग्दो बारुदको गन्ध आइरहेको छ
यी गुलाफहरु तिखा काँडाहरु तेर्साएर
कसैलाई चिथोर्न तम्तयार भएर बसिरहेका छन्
यी चिमालहरु
घृणा मात्र ओकलिरहेका छन्
बेली, चमेली, सयपत्री, गोदावरी
साराका सारा यी फूलहरु
पटक्कै मन पराउन् छाडेका छन् मान्छेहरु
मान्छेहरुले स्पर्श गर्न खोज्दा
बलात्कारी हातहरुले नछोऊ भन्दै तर्किन्छन्
देख्नै सक्दैनन् मान्छेहरुले हेरेको
नहेर तिम्रा कुदृष्टिहरुले भन्छन्
सहनै सक्दैनन् मान्छेहरुले सुँघेको
नसुँघ्नु तिम्रा उत्तेजित मनहरुले भन्छन्
हैन यी फूलहरु
विद्रोहको आवाज मात्र किन सुसेल्छन् ?
ए बलात्कारी !
ए भ्रष्टाचारी !
ए देश बेचुवा!
ए नालायक कपटी !
ए हत्यारा !
ए व्यभिचारी नैतिकहीन !
ए झुट्टाहरुको झुण्ड !
ए मानवता हराएकाहरु !
एकोहोरो यसरी
आकाश थर्काउने गरी
नाराजुलुस गर्दै यी फूलहरुको नदी
न्युरोडबाट भद्रकालीतर्फ बग्दैबग्दै
अझ तल सिंहदरवारको गेटतिर जाँदैछन् !
के तिनीहरु त्यहाँ अर्को परिवर्तनको लागि
कुनै प्रलयकारी सुनामी सृजना गर्न
अथवा,
विष्फोटित हुन त गइरहेका छैनन् ?
हैन अचेल यी फूलहरु
अचम्मै लाग्दो गरी आन्दोलित पो भा’छन् त !!!