काठमाडौं । ह्या मेरो त मुभ भयो ।
विस्तारै गर न नअत्तालिकन । भयो ? कि अर्को पेपर रिप्लेस गर न त ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको तल्लो तल्लाको कोठमा प्रिन्टमेकिङका विद्यार्थीलाई अहिले आफ्नो उत्कृष्ट काम निकाल्ने चटारो छ ।
नहोस् पनि किन उनीहरू कलाको गाह्रो र खासै प्रचलनमा नआएको विधा ‘प्रिन्टमेकिङ कार्यशाला’ मा छन् ।
कोही जिंक प्लेटमा आफूले खोजेको आकृति कुद्दै छन्, भने कोही उडकटमा तिखो धारवाला औजारले खोपेर आकृति बनाउँदै छन् ।
एउटा कामका लागि पनि कम्तीमा महिनादिन लाग्ने यो विधामा उनीहरूलाई समयको पावन्दी पनि छ । १८ डिसेम्बरदेखि २४ डिसेम्बरसम्म कार्यशालाको आयोजना गरिएको थियो । तर, एक साताको समयावधि अपुग भएसँगै ३ दिन समय थपेर २७ डिसेम्बरसम्म कार्यशाला सञ्चालन गरिने भएको हो ।
यो कार्यशाला उनीहरूका लागि अवसर पनि हो । किनभने आफैंले गर्दा खर्च लाग्ने र घरमै सम्भव पनि नहुने काम उनीहरूले निःशुल्क गर्न पाइरहेका छन् ।
काम पनि सिक्ने, देखाउन पनि पाइने । उनीहरूले तयार पारेकामध्ये उत्कृष्ट कला मार्च महिनामा प्रदर्शनीमा राखिनेछन् ।
प्रिन्टमेकिङ संस्थाको आयोजना र नेपाल एकेडेमी अफ फाइन आर्टको सहकार्यमा हरेक वर्ष जस्तै यो वर्ष पनि प्रिन्टमेकिङ कार्यशालाको आयोजना भएको हो ।
“यो कलाकै एक पुरानो प्रविधि हो,’’ सुशीला आर्ट एकेडेमीका प्रिन्टमेकिङ कला प्रशिक्षक विपना महर्जन भन्छिन्, ‘‘हुन त मैले कलेज हुँदा चित्रकला, स्क्रिन प्रिन्टहरू पनि गरेकी हुँ । यसको लामो प्रक्रियादेखि अरूलाई दिक्क लाग्छ, तर मलाई भने त्यो नै रमाइलो लाग्छ । यसमा काम गर्दा लाइट, डेफ्ट एकदम मज्जाले खेल्न सकिन्छ । यसको प्रक्रियासँग खेल्न थालिसकेपछि म यसमा यसरी डुब्छु कि मलाई बाहिर आउनै मन लाग्दैन ।”
उनी विगत १० वर्षदेखि यही विधामा सक्रिय छन् । ललितकलाबाट प्रिन्टमेकिङमै स्नातकोत्तर गरेकी उनी त्यसयता प्रिन्ट मेकिङकै अर्को विधा ‘लिथो’ मा एक विश्वविद्यालयमा ५ वर्ष पढाइन् । अहिले भने उनी सुशील आर्ट एकेडेमीमा प्रिन्टमेकिङको कक्षा सञ्चालन गर्छिन् ।
प्रिन्टमेकिङ कला कै एक विधा हो । तर, चित्रकला जस्तो यो विधा तर्फ कलाकारहरू त्यति आकर्षित हुन सकेका छैनन् । न त दर्शकलाई नै यो कलाबारे ज्ञान छ ।
यसको कारण उनी चित्रकलाको सहजतालाई मान्छिन् । “पेन्टिङ गर्नका लागि रंग, क्यानभास र ब्रस भए जहाँ गएर पनि गर्न सकिन्छ । समय पनि त्यति लाग्दैन । समय र ठाउँको पनि पावन्दी हुँदैन,” उनी थप्छिन््, “तर प्रिन्टमेकिङको यही मैले गरिरहेकै जिंक प्लेटको कुरा गर्ने हो भने त समय पनि लामो लाग्छ र निश्चित ठाउँभित्र मात्रै बसेर गर्नुपर्ने हुन्छ ।”
यति मात्र नभई यसका लागि आवश्यक सामग्री पनि धेरै छन् ।
महर्जनले यो कार्यशालामा बुद्धको आकृति बनाउँदै छिन् । बुद्धको मूर्ति वरिपरी मानेहरू बनाइएका छन् ।
उनकै छेउमा आफ्नै काममा तल्लीन देखिन्छिन् मनीषा मानन्धर । उनी ललितकलामा प्रिन्ट मेकिङमै स्नातकोत्तरको चौथौं सेमेस्टरमा अध्ययनरत छन् । उनलाई पनि पाँचदिनको कार्यशालमा जिंक प्लेटको प्रयोग गरेर आफ्नो कला तयार गर्नु छ ।
सिसागेन जबेगु (लिम्बू) घरि नाकमा झरेको चस्मा मिलाउँछिन् त घरि टेबुलमा भएको उडकटमा आकृति कुद्छिन् ।
उनी प्रिन्टमेकिङको अर्को विधा ‘उडकट’ मा काम गर्दैछिन् । उनलाई भिन्नभिन्न प्याटर्नसँग खेल्ने रहर छ । यही कारण उनले अहिले बनाउँदै गरेको मण्डलामा पनि परम्परागत शैलीको नभई त्यसमा केही नयाँपन खोजिरहेकी छन् ।
उनी पनि ललितकालमै प्रिन्टमेकिङमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छिन् ।
“पहिला स्केच बनाउने त्यसपछि त्यसलाई एक विशेष काठमा आकृति उतार्ने र काठमा आकृति बनेपछि त्यसमा एक धारिलो औजारले खोप्ने । एउटै रंग प्रयोग गर्ने भए एकचोटीमा नै प्रिन्ट निकाल्न सकिन्छ । तर मैले मल्टिकलर प्रयोग गर्दै छु यही कारण हरेक पटक बेग्लाबेग्लै रंगको प्रयोग हुँदा प्रिन्ट निकाल्नु पर्छ,” उनले भनिन् ।
अनिल मोचामोसी पनि उडकटमा संस्कृति झल्कने आकृति कुद्दै छन् ।
उनी आफ्नो कलाबारे प्रस्ट्याउँदै सुनाउँछन्, “मानिसहरू जुनसुकै अवस्थामा पनि धार्मिक आस्था राख्छन् । जस्तै मन्दिर जाने, देवीदेवताको पूजा गर्ने विभिन्न जात्राहरू मनाउने गर्छन् । यही कारण मैले मेरो आर्टबाट धार्मिक आस्थालाई चित्रण गर्न खोजेको छु ।”
उनका अनुसार उडकटमा पनि मोनोकलर र मल्टिकलर गरी दुई प्रकार हुन्छन् ।
मोनोमा एउटै रंगको प्रयोग हुन्छ भने मल्टीमा धेरै । उनले अहिले मल्टिकलरको प्रयोग गरिरहेका छन् । यही काम उनले घरमै गर्नुपथ्र्यो भने कम्तीमा एक महिनाको समय लाग्थ्यो । तर, यो कार्यशालामा उनी पूरै समय दिएर गरिरहेका छन् र एक सातामा सक्काउनु पर्ने चटारो पनि छ ।
उनले आफ्नो कलाको नाम ‘आध्यात्मिक यात्रा’ राखेका छन् । मोचामोसी आफूले अहिले पढिरहेको विषयलाई नै पेसाका रूपमा अगाडि बढाउने सोचमा छन् ।
“पेन्टिङ गर्न त्यति गाह्रो छैन तर यसमा टेक्निकल कुरा धेरै आउँछन् । फेरि यसको फाइदा भनेको आफूलाई जतिवटा चाहिन्छ त्यतिवटा प्रिन्ट निकाल्न सकिन्छ । जुन चित्रकलामा सकिँदैन ।”
यो पाँच दिने कार्यशालामा ४५ जना प्रिन्टमेकिङका विद्यार्थी र यसलाई नै पेसाका रूपमा अघि बढाइरहेकाहरू सहभागी छन् ।
आयोजक संस्थाकी सदस्य र यो कार्यशालाकी सहभागी महर्जन कार्यशालाको लक्ष्य यसरी बताउँछिन्, “हाम्रो देशमा कला विधालाई नै गाह्रो छ त्यसमाथि यो प्रिन्टमेकिङलाई त बुझेकै छैनन् । यही कारण प्रिन्ट मेकिङमा लागिरहेका विद्यार्थी र कलाकारलाई पनि सजिलो होस् र समग्रमा यो विधालाई पनि अझै फैलाउन अर्थात् विकास गर्न सजिलो होस् भनेर प्रिन्टमेकिङ संस्थाले पछिल्लो पाँच वर्षदेखि यो कार्यशालाको आयोजना गर्दै आइरहेको छ ।”
‘सुकुन्दा’ नेवारी समुदायमा हरेक धार्मिक तथा शुभ कार्यहरूमा नभई नहुने वस्तु हो । तर, पछिल्लोसमय यसको प्रयोग र समग्र हाम्रो संस्कृतिहरू हराउँदै गएको संकेत स्वरूप टिसा श्रेष्ठले उडकटमा सुकुन्दा र त्यस माथि रञ्जना लिपि कुँदेकी छन् । उनकै छेउमा नवीना सुनुवारले आफ्नो पुख्र्यौली घरलाई उडकटमार्फत् उतार्न खोजिरहेकी छन् । उनी ओखलढुंगााको खरको छानोले छाएको घरलाई सहरहरूका पक्की घरबीच उभ्याउन खोजिरहेकी छन् ।
०००
यो प्रविधि छापा चित्रबाट विकास भएको हो । जुन परापूर्वकालदेखि नै प्रचलनमा थियो । पुरानो पद्धति भए पनि कलाको यो विद्या नेपालमा भने विस्तारै फस्टाउँदै छ । कला भनेकै चित्रकला, वास्तुकला हो भन्ने सोच भएका दर्शकबीच प्रिन्टमेकिङ पनि विस्तारै चिनिँदै गएको छ ।
डिजिटल प्रेस आएसँगै यसको प्रयोग घटिसकेको छ । तर, कलाको फर्ममा भने यो अझै जीवित नै छ भन्ने देखाउन यो कार्यशाला र त्यसपछिको प्रदर्शनीले मद्दत गर्ने आयोजक टिमले आशा लिएको छ ।
प्रिन्ट मेकिङको अनेक विधाहरूमध्ये कार्यशालामा उडकट र जिंकप्लेटको प्रयोग भइरहेको छ ।
०००
जिंक प्लेटमा आफूले बनाउन खोजेको आकृति कुँदेर त्यसलाई कम्तीमा एक घण्टा एसिड (नाइट्रिक एसिड) मा डुबाउनुपर्छ । त्यसपछि बल्ल आफूले बनाउन खोजेको आकृति त्यसमा बन्छ ।
त्यसपछि टाइम बाइटिङ स्टेपमार्फत् आवश्यक पार्टलाई गाढा र मधुरो गर्ने गरिन्छ । त्यसपछि पनि फेरि एसिडमा डुबाउनु आवश्यक हुन्छ जस्तै छाया बनाउने ।
त्यसपछि निकालेर सफा कपडाले पुछिन्छ । बल्ल खोजेको रंग आकृतिमा बसिसकेको हुन्छ ।
त्यसपछि एक स्पेसल बाक्लो कागज उक्त जिंक प्लेटमाथि राखेर मेसिनमा राखेर पेलिन्छ । जसको छाप कागजमा पर्छ र कलाको अन्तिम स्वरूप तयार हुन्छ ।
यस्तै आफूले बनाउन खोजेको आकृति स्केच गरिसकेपछि उक्त स्केच काठको बोर्डमा छाप्नुपर्ने हुन्छ । यसका लागि विशेष गरी बिचउडको प्रयोग गरिन्छ ।
त्यसपछि त्यही आकृतिअनुसार एक धारिलो औजारले त्यसमा कुँद्दै आकृतिलाई उतारिन्छ । त्यसपछि रंगको बाक्लोपन र पातलोपन अनुसार बाक्लो बनाउनेपर्ने ठाउँमा फेरि खोपेर खाल्टो बनाइन्छ भने पातलो रंग बनाउनुपर्ने ठाउँमा धेरै नकुदी त्यसमा रंगको प्रयोग गरिन्छ ।
रंग भरेर पूरा आकृति बनेपछि पेपरमा त्यसलाई छापेर प्रिन्ट निकालिन्छ ।
०००
हरेक कुरा भनेको जीवनजिउन अर्थात् जिविकोपार्जनका लागि गरिन्छ । महर्जनका अनुसार यही पेसामा मात्रै लागेर निर्धक्कले जीवनयापन गर्न सकिन्छ भन्ने कुरा सम्भव नै छैन । यसका साथै विकल्पमा अरू पेसालाई पनि सँगसँगै अघि बढाउनुपर्छ । यति भनिरहँदा उनी यसबाट उत्पादित कलाको मूल्य भने सन्तोषजनक नै रहेको बताउँछिन् ।