site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जवानीको निर्णय बुढेसकालको एक्लोपन
SkywellSkywell

काठमाडौं । आधी अनुहारले रमाइलो, कल्कलाउँदो बैंसको संकेत गरिरहेको छ भने आधी अनुहारले बैंसका रहरहरू सबै थाती राखेर निराश बुढेसकाललाई संकेत गरिरहेको छ ।
उनी कहिले वर्तमानको एक्लोपनमा हराउँछिन् भने कहिले विगतका जवानीमा डुबुल्की मार्छिन् ।

पुरु लम्सालको लेखन र निर्देशनमा बनेको नाटक ‘देउकाशी’ को यो पोस्टरले नाटककी मुख्य पात्र ‘कासी’ लाई प्रतिनिधित्व गरिरहेको छ ।

नाटकले एक अधबैंसे महिलाको एक्लोपनको मनोदशा र समयमात्रै नभई थुप्रै सपना रहर बोकेको उत्साहपूर्ण जवानीको समय पनि प्रस्तुत गर्न खोजेको छ है भन्ने कुरा पोस्टरबाट पनि हामी अनुमान लगाउन सक्छौं ।

KFC Island Ad
NIC Asia

लम्सालले पोस्टरका लागि थुपै आकृतिहरूको परिकल्पना गरे । तर, अन्तत: उनी यो अनुहारमा आएर अडिए जुन उनको हिसाबमा कथालाई पोस्टरले औचित्य पक्कै प्रदान गर्नेछ ।
००० 
लम्साल केही दितयता आफ्नै लेखन रहेको नाटक ‘देउकाशी’ को निर्देशनमा व्यस्त छन् ।

नाटककै लागि अध्ययनको शिलशिलामा घाँटुको यात्रामा गएका उनको सो यात्राको दौरान बीचबाटोमै जम्काभेट भएका एक पात्रबाट जन्मेको हो ‘देउकाशी’ ।

Royal Enfield Island Ad

एक अधबैंसे आईमाईलाई आमा भनेर सम्बोधन गरेपछिको उसको आक्रोशबाट जन्मिएको ‘देउकाशी’ मा उनीसँग ठोक्किएका अरू ३ पात्रहरू पनि छन् ।
६० वर्ष भइसकेकी उक्त आइमाईको मनोभावनलाई नाटक ‘देउकाशी’ ले चित्रण गर्न खोजेको छ ।

हामी उमेर हुँदा आफ्नो खुट्टामा आफैं उभिन सक्दा परनिर्रभर हुन नपर्दा बिहेको आवश्यकता महसुस गर्दैनौं ।

तर, जब दिउँसोसम्म झलमल्ल लागिरहेको पारिलो घाँम डाँडाले बिस्तारै छोप्‍न खोज्छ तब त्यो घाम पनि मधुरो हुन थाल्छ ।

ठिक यसै गरी उमेर छिप्पिँदै गएसँगै शरीर शिथिल हुन थाल्छ । मनको कुरा गर्नलाई सँगै कोही हुँदैन । तब विवाहको रहर हुन्छ तब विवाहको महत्त्वको भान हुन्छ । तर समयले नेटो काटिसकेको हुन्छ । 

यस्तै एक्लोपन र पछुतोमा बाँचिरहेकी छन् ६० वर्षीय काशी गुरुङ ।

काशीको जीवनभरि एक्लै बस्‍ने निर्णयका कारण नाटकले संस्कारको विरोधाभासलाई निकै रोमाञ्चक शैलीमा उठाउन खोजेको छ ।

गुरुङ जातिमा फुपूचेला र मामाचेलीमा विवाह गर्न मिल्ने चलन छ । कासीले पनि आफ्नै फुपूको छोरासँग विवाह गर्ने सपना बुनेकी थिइन् ।

बाहुनसँग फुपू गइन् । गुरुङ जातिमा पो मामा र फुपू चेला विवाह गर्न मिल्छ । तर, बाहुन जातिमा यो परम्परा छैन ।

आफ्नो मनखाने सोल्टीसँग विवाह गर्न नपाएपछि कासीले अन्ततः आजीवन विवाह नगर्ने निधोमा पुगिन् ।

अहिले काशीलाई विवाहित महिलाको अनुभव कस्तो हुन्छ भन्ने महसुस गर्ने इच्छा हुन्छ, आफ्नो अपुरो इच्छा भर्खरै विवाह गरेर गएकी २०, २१ वर्षीय भदैनीमार्फत् पूरा गर्न खोज्छिन् । 

सांस्कृतिक विचलन
२१ औँ शताब्दीले प्रविधि, रहनसहन, चालचलमा मात्रै नभई सांस्कृतिक कुरामा पनि समयसँगै परिवर्तन खोजिरहेको छ ।

अहिले हामी अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्छौं । तर, त्यसले निम्त्याउने सांस्कृतिक विचलनलाई बेवास्ता गरिरहेका छौँ भन्ने कुरा नाटकले जीवन्तरूपमा चित्रण गर्न खोजेको लम्साल बताउँछन् ।

त्यो साँस्कृतिक विचलनको एकाध उदाहरण भनेको ‘काशी’ नै हुन् । जो आजीवन विवाह नगरी बस्‍ने निर्णयमा पुगिन् । आफ्नो इच्छा पूरा नभएको जोसमा काशी आपराधिक सोचमा पनि मुछिने प्रबल सम्भावना नभएको होइन ।

अर्को भनेको अन्तर्जातिय विवाहमार्फत् गएकी महिलाले न त आफ्नो पहिलेको संस्कृति पूर्णरूपमा छोड्न सक्छिन् न त विवाह गरेर गएपछि कै नयाँ संस्कृति पूर्णरूपमा आत्मसात गर्न सक्छिन् । 

श्रीमान् पक्षको परिवारले पनि उसलाई पूर्णरूपमा भने कहिले स्वीकार्न सक्दैन । जसले गर्दा ती महिला यी दुईको कसमकसमा सधैँ जेलिरहन्छिन् ।

काशी
नाटककी मुख्य पात्र हुन ‘काशी’ जो आफ्नो मनपरेको सोल्टीसँग विवाह नभएर आजीवन एक्लै बस्‍ने निधो गरिन् । 

उनी अन्तर्जातीय विवाहले ल्याएको विचलनको सिकार बनेकी छन् भन्दा फरक नपर्ला । किनभने गुरुङ समुदायमा जन्मिएकी उनकी फुपू बाहुनसँग विवाह गरेर गएकै कारण हो कासीले बैंस छँदा यति ठूलो निर्णय लिइन् ।

तर, उमेर ढल्किदै गएसँगै एक्लोपनले उनलाई यसरी जकडेको छ कि उनी अतीत सम्झन विवश भएकी छन् ।

‘काशी’ एक बोल्ड क्यारेक्टर हुन् नाटकको । जुन भूमिका निभाउँदै छिन् टिपिकल बाहुन परिवारमा जन्मिएकी सरस्वती अधिकारी ।

गुरुङ परिवारकी हक्की, आँटिली छोरी काशीको कति कुरा आफूसँग मिल्ने भएरै उनी यो भूमिकाका लागि राजी भइन् । सँगै ‘काशी’ को भूमिकाको गहिराइले पनि उनलाई नाटकमा तानेको हो ।

तर, योबाहेक उनले चुनौती पनि मोलेकी छन् । आफ्नो उमेरभन्दा डबल उमेर, नाक चुच्चो ठूलो बाहुन जस्तो अनुहारले गुरुङ महिलालाई प्रतिनिधित्व गर्नुपर्ने अनि फरक लवज उनका लागि अर्को चुनौतीका रूपमा खडा भएको छ । तर, उनी अभिनय नै आफ्नो पेसा भएकै कारण यो चुनौतीसँग पनि लडेर आफूमा टिपिकल ‘काशी’ ल्याउन प्रयासरत छन् ।
उनका अनुसार उनले नाटकबाट पाएको भनेकै जात हो जुन वास्तविक जिन्दगीमा उनले जिउने सम्भव नै छैन ।

मुस्लिम महिलाबाट सुरु भएको उनको नाटकको यात्रा अहिले गुरुङ महिलासम्म पुगेको छ । “कलाकारले फरक जीवन बाँच्‍न पाउँछन् भन्छन् म पनि हरेक नाटकमा फरक–फरक जीवन बाँचिरहेकी छु” उनले भनिन् ।

सन्तवीर 
६५ वर्ष भारतीय सैनिकबाट अवकाश प्राप्त अधबैंसे पुरुष हुन् उनी । मामाको छोरा भएकै कारण काशीसँग विवाह गर्ने हक सन्तवीरलाई पनि थियो । परिवारको अनुमतिमा उसले आफ्नै सोल्टिनीलाई तान्न गएका पनि थिए । तर, आँटिली स्वभावकी काशीले खुकुरी लिएर लखेटिन् । किनभने काशीको मन फुपूको छोरामा गइसकेको थियो ।

सन्तवीर भूमिकालाई न्याय दिन कहिले युट्युब त कहिले ऐना हेरेर दिनरात तयारी गरिरहेका छन् सुसिलसिंह ठकुरी । उनको अनुहारले साथ दिए पनि उनको परिवेश, लवज र अनुभव अनि उमेरको हिसाबले भने चुनौती नै छ ।

एक कलाकारको हिसाबले उनका लागि यो चुनौती र अवसर दुवै मान्छन् । नाटक हेरेपछि दर्शकले तपाईं कताको गुरुङ भनेर सोध्नु नै उनको यो भूमिकाको उपलब्धी हुने उनी बताउँछन् ।
सन्तवीर आफ्नो बुवाको विरासत थाम्नुपर्छ भनेर १८, १९ को उमेरमै विदेशी भूमिमा गए । तर, अहिले भने उनी आफ्नै भूमिमा मर्न चाहन्छन् ।

सन्तवीरको छोरा पनि उनको विरासत थाम्न लाहुर गए । तर, उनी आफू जस्तो छोरा उमेर छँदा आफ्नै देशमै बसेर पसिना बगाउन भन्ने इच्छा गरिरहेका छन् । 

अझै पनि हाम्रो समाजमा मास्टरको छोरो मास्टर नै हुनुपर्छ भन्ने सोचमा छन् । तर, त्यसले के असर गर्छ भन्ने कुरालाई ध्यान दिइँदैन । सन्तवीरसँग पेन्सन छ, गरिखाने जग्गाजमिन पनि छ तर सन्तान छैनन् ।

जमुना
२५ वर्षीय जमुनाले अहिलेका पुस्ताहरूलाई प्रतिनिधित्व गरिरहेकी छन् । जो भविष्यभन्दा वर्तमान र परिवारभन्दा आफ्नो व्यक्तिगत खुसीमा रमाउँछिन् । उनी आफ्नो आमाबुबाको विनाअनुमति भागेर गएकी हुन्छिन् । 

जसलाई भाषा, कला, संस्कृति केहीको पनि मतलब छैन । आफूमात्रै भए पुग्छ । आफू कसरी खुसी हुने भन्ने कुरामा मात्रै ध्यान हुन्छ ।जमुनालाई प्रतिनिधित्व गर्दै रोसनी स्याङ्गबो तयारीमा जुटिरहेकी छन् ।

प्रदीप
गुरुङ समुदायको सांस्कृतिक कुराहरूको अध्ययन, अनुसन्धानका लागि त्यो गाउँ गएका थिए । तर, गन्तव्यमा नपुग्दै रात परेपछि उनको भेट काशीसँग भयो । जो बिनाकारण उसलाई बाहुन, बाहुन भन्दै गाली अनि आक्रोश पोखिरेहकी छन् । तर, प्रदीपले त्यो गालीमा रिस नभई उत्सुक्ता देखायो । ऊ किन पहिलोचोटि भेटेको व्यक्तिप्रति एक वृद्ध आमाले यसरी आक्रोश पोखिरहेकी छन् ऊ अनविज्ञ छ । यही अनविज्ञतालाई उसले काशीकै मुखबाट सुन्न खोजिरहेको छ ।

निर्देशक तथा लेखक पुरु लम्साल आफ्नो अर्को एउटा नेपाली संस्कृति झल्कने नाटक ‘देउकाशी’ मञ्चनका लागि बंगलादेश जाँदै छन् । २६ देखि ३१ डिसेम्बरसम्म चल्ने ‘शब्दबोली थिएटर फेस्टिबल २०१९’ मा नेपालबाट उनको नाटक ‘देउकाशी’ छानिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro