पोखरा । ‘वी वान्ट मुस्तफा, वी वान्ट मुस्तफा.... दर्शक दीर्घाबाट आएको आवाज हो ।
बिहीबार दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्ससँग प्रतिस्पर्धा गरिरहेको थियो । सोही खेलमा यूएईका खेलाडी रोहन मुस्तफाले उत्कृष्ट प्रदर्शन गरिरहेका थिए । मुस्तफाले अघिल्लो संस्करणको पोखरा प्रिमियर लिगमा पनि नेपाली समर्थकहरुको धेरै माया पाएका थिए ।
अघिल्लो संस्करणमा विराटनगर वारियर्सबाट खेलेका मुस्तफाले टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
मुस्तफा पछिल्लो समय नेपाली घरेलु लिगमा देखिने विदेशी खेलाडीमध्यका एक परिचित अनुहारमा पर्दछन् । नेपाली दर्शकले दिएको मायाले आफूलाई क्रिकेट खेलमा झनै उर्जा ल्याउने रोहन बताउँछन् ।
“नेपाली समर्थकको माया पाउँदा खेलमा धरै उर्जा थपिन्छ । मैले नेपालमा क्रिकेट खेल्न थालेको धेरै भएको छैन । तैपनि नेपाली समर्थकहरुले मलाई दिएको माया स्रहानीय छ । जति आफूले प्रदर्शन गरेको छु समर्थकहरुले त्योभन्दा धेरै माया दिनुभएको छ । उहाँहरुको लागि भए पनि मैले हरेक खेलमा आफूले सकेजति राम्रो पदर्शन गर्न चाहन्छु,” मुस्तफाले भने ।
मुस्तफाले बुटवलविरुद्धको खेलमा चितवनका लागि नट आउट ७० रनको अर्धशतकीय पारी खेलेका थिए । ५६ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन बनाएका थिए । मुस्तफाले ४४ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा ५० रन पूरा गरिसकेका थिए ।
बलिङतर्फ पनि मुस्तफाले दुई विकेट लिएका थिए । तीन ओभर बलिङ गरेका उनले पाँच रन खर्चेर दुई विकेट लिएका थिए ।
“मैरो लागि यो खेल राम्रो भयो । एउटा अनुभवि खेलाडी र विदेशी खेलाडी भएको नाताले आफूमा केही दबाब त हुन्छ नै । दर्शक दीर्घाबाट मेरो लागि आउने समर्थनले गर्दा खेलमा धरै उर्जा थपिन्छ । उनीहरुको समर्थनले नै मैले हरेक खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने गर्दछु । यो प्रदर्शनलाई बढावा दिने मेरो प्रयास रहनेछ,” मुस्तफाले भने ।
पाकिस्तानमा जन्मिएका रोहन पछिल्लो समय नेपालमा हुने तीनवटै घरेलु लिगमा खेल्ने खेलाडी हुन् । उनले एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमयर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग पीपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।
पारसको टिममा खेल्न पाउँदा धरै खुसी लागेको उनी बताउँछन् ।
“पारस धेरै राम्रो र अनुभवि खेलाडी हुन् । उनी नेपाली क्रिकेटका लिजेन्ड हुन् । उनले अघिल्लो पाँच ओभर पनि मलाई बलिङ गर्ने अवसर पनि दिए र मैले त्यो अवसरलाई सदुपयोग पनि गरेँ । दर्शक दीर्घाबाट पनि बलिङ गर्नको लागि समर्थकले आग्रह गर्दा पनि बेग्लै किसिमको आनन्द भएको थियो,” मुस्तफाले भने ।
मुस्तफाले आफूलाई नेपालमा खेल्न धेरै रमाइलो लाग्ने पनि बताए । पछिल्लो समय नेपाली लिगहरुमा खेल्दै गर्दा नेपालप्रति आफ्नो बेग्लै किसिमको सम्बन्ध रहेको उनी बताउँछन् ।
सबैजसो नेपाली घरेलु लिग चहारीसकेका मुस्तफा अझै नेपाली लिगहरु खेल्न चाहेको बताउँछन् ।
“मैले नेपाली समर्थहरुको माया योभन्दा पहिला पनि पाएको छु । मैले पनि नेपाली समर्थकलाई धेरै माया गर्छु । उनीहरुको समर्थनले मात्र मैले हरेक खेलमा मेरो टोलीलाई जिताउन सक्छु । टिमको लागि उत्कृष्ट प्रदर्शन गर्न सक्छु । मलाई नेपालमा खेल्न धरै राम्रो लाग्छ । कारण नेपाली समर्थकले मलाई धरै माया गर्दछन्,” मुस्तफाले भने ।