site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
uiJ98x17-Rk

काठमाडौं । लक्षित समयमै सम्पन्न गर्नेगरी नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौं–तराई दु्रुतमार्गको निर्माण जारी छ ।

प्रस्तुत छ, निर्माण कार्यको स्थलगत निरीक्षणमा पुगेर तयार पारिएको द्रुतमार्गका विशेषता तथा कार्य प्रगतिः

विशेषताहरूः

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुल लागतः १ खर्ब ५५ अर्ब रुपैयाँ

कुल लम्बाइ:  ७२.५ किमि

जसमध्येः

ललितपुरः ७.९ किमि

काठमाडौंः ४ किमि

मकवानपुरः ५३ किमि

बाराः ७.६ किमि

मुख्य संरचनाः

३ वटा ट्विन सुरुङको कुल लम्बाईः ६.४१ किमि

८७ वटा पुलको कुल लम्बाईः १०.५६९ किमि

सडकमार्गको कुल लम्बाईः ५५.५ किमि

चौडाइः

समथर भूभागमा २७ मिटर

पहाडी भूभागमा २५ मिटर

हालसम्म के के भयो ?

हाल नेपाली सेनाको १ हजारभन्दा बढी जनशक्ति द्रुतमार्ग निर्माणमा खटिएका छन् ।

नेपाली सेनाले कटिङ र फिलिङको काम आफैंले गरिरहेको छ ।

२०७३ साल वैशाख २१ गते नेपाली सेनाले यो आयोजना निर्माणको जिम्मा पाएको हो ।

त्यसयता सेनाले कुल ३० वटा प्याकेजमा टेन्डर गरेर निर्माण अगाडि बढाएको छ ।

यो आर्थिक वर्षको अन्त्यसम्म सेनाले सम्पूर्ण सडकखण्ड तयार पार्ने दाबी गरेको छ । आगामी वर्षदेखि सुरुङ र पुल निर्माण सुरु हुनेछ ।

सेनाले कालोपत्र गर्नेसम्मको सडक आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।


सुरुवात बिन्दुः

ललितपुर जिल्लाको खोकनाबाट काठमाडौं – तराई (मधेस) दु्रतमार्ग सुरु हुन्छ । 

खोकनामा मठ मन्दिर तथा धार्मिक आस्थाका क्षेत्र रहेका कारण विस्तृत आयोजना प्रतिवेदनमा ती स्थानलाई बाइपास गरेर द्रुतमार्गको पुनर्रेखांकन गरिएको छ ।

सिकाली र कोदेश पुरातात्त्विक तथा धार्मिक आस्थाका धरोहर रहेका ती क्षेत्रलाई बाइपास गरिएको हो । बाइपास गर्ने क्रममा बागमती नदीमा दुईवटा पुल निर्माण गरिने भएको छ ।

द्रुतमार्गको प्रि–फिजिबिलिटी अध्ययन एसियाली विकास बैंकले गरेको हो । तर, विस्तृत परियोजना प्रतिवेदन बनाउँदा तीनवटा सुरुङमार्ग तथा थप पुल बनाउनु पर्ने भएकाले यस परियोजना लागत बढेको छ ।

सेनाको व्यवस्थापनः

सरकारले सेनालाई आयोजना निर्माणको व्यवस्थापन गर्ने जिम्मेवारी दिएको हो । यसमा सेनाले आफूसँग भएको श्रमशक्ति र उपकरण प्रयोग गरेर मितव्ययी ढंगले, गुणस्तरीय कार्य समयमै सम्मन्न गर्नुपर्नेछ ।

यो निकै ठूलो परियोजना भएको र नेपालमा पहिलो पटक भइरहेको कारण सेना एक्लैले यो गर्न सम्भव छैन ।

कटिङ र फिलिङः

कटिङ कार्यका भइरहेको अर्को महत्त्वपूर्ण काम हो, ब्लास्टिङ । रक्कि एरिया भएका कारण रोड लेभलमा ल्याउनका लागि नियन्त्रित विस्फोट गरेको हो । 

जहाँ सडक स्तर मिल्दैन सो स्थानमा आरइवाल प्रयोग गरेर फिलिङ गरिन्छ ।

द्रुतमार्ग सडक खण्डको एउटा स्थानमा एउटै किनारमा सम्भव नभएका कारण बागमती नदीको दुवै किनारमा द्रुतमार्ग हुनेछ ।

प्याकेजअन्तर्गत हाल कटिङ, फिलिङसँगै साइड वाल, आरई वाल, पाइप कल्भर्ट, बक्स कल्भर्ट आदि निर्माण भइहेका छन् । 

त्यस सँगसँगै सेनाले निर्माण स्थलसम्मको पहुँचमार्ग बनाइसकेको छ ।

रातको समयमा पनि निर्माण जारीः

सेनाले लक्षित समयमै सम्पन्न गर्नका लागि रातको समयमा पनि निर्माण जारी राखेको छ ।

रातको सिफ्टमा रातको साढे सात बजेदेखि १० बजेसम्म काम हुने गरेको छ ।

आवश्यक रूख काट्ने काम सम्पन्नः

सेनाले जिल्ला वन डिभिजन कार्यलय, वन उपभोक्ता समितिसँग समन्वय गरी मार्गअधिकारमा पर्ने रूख काट्ने काम सम्पन्न गरेको छ । 

त्रिपक्षीय समितिको रोहवरमा रूखहरू कटान गर्दै घाटगद्धि गरेर सम्बन्धित निकायमा बुझाइएको छ ।

सेनाले द्रुतमार्ग निर्माणमा ३८ हजार ६ सय ६४ रूख काट्न अनुमति पाएको छ । हालसम्म २७ हजार ६९ रूख काटिएको छ ।

काटेका रूखको पर्यावरणीय सन्तुलन कायम गर्नका लागि एउटा रूख बराबर २५ वटा रूख रोप्ने बन्दोबस्त मिलाएको छ ।

त्यसका लागि रूख रोप्ने काम सँगसँगै जारी छ । सेनाले निजगढ र राजदमार बेस क्याम्पमा नर्सनी बनाएर त्यहाँ बिरुवा उत्पादन गरिरहेको छ ।

सेनाले राजदमारमा ७० हजार र निजगढमा १ लाख १० हजार बिरुवा हुर्काइरहेको छ ।

हालसम्म ५ हजार बिरुवा रोपिसकिएको छ । निजगढ नगरपालिकाको ९१ हेक्टर जग्गामा सो बिरुवा रोपिएको हो ।

सुरुङ र पुलः

निर्माणाधीन यस द्रुतमार्ग आयोजना तीनवटा सुरुङमार्ग पर्छन् । 

पहिलो सुरुङमार्ग महादेवटार डाँडामा पर्छ । पहिलो सुरुङको कुल लम्बाइ ३ किमि ३ सय ५५ मिटर रहेको छ ।

पहिलो सुरुङको समाप्तिसँगै विशेष प्रकृतिको पुलमार्फत् दोस्रो सुरुङ प्रारम्भ हुन्छ । यी दुई सुरुङबीचमा ४ सय मिटर अग्लो पुल निर्माण हुनेछ ।

दोस्रो सुरुङ धेध्रे डाँडामा पर्छ । सो सुरुङको लम्बाइ १ किमि ६ सय ४३ मिटर रहेको छ । तेस्रो सुरुङ लेनडाँडामा पर्छ जसको लम्बाई १ किमि ४ सय मिटर रहेको छ ।

तीनवटा ट्विन सुरुङको कुल लम्बाई ६.४१ किमि हुनेछ ।

यसैगरी द्रुतमार्गमा पर्ने पुलहरू स्पेसल र मेजर पुल हुनेछन् । हरेक पुलमा दुईवटा लेन हुने छन् । चार लेनको सडक भएका कारण एउटा क्षेत्रमा दुईवटा पुल निर्माण हुनेछन् ।

हाल टनेल तथा पुल निर्माणका लागि प्रि क्यालिफिकेसन (पीक्यू) डकुमेन्ट तयार भइरहेको छ । पीक्यू भइसकेकोपछि क्वालिफाइड निर्माण व्यवसायी छनोट गरिनेछ र सुरुङको निर्माण ईपीसी (इन्जिनियरिङ–प्रोक्युरमेन्ट–कन्स्ट्रक्सन) मोडलमा सुरुङ निर्माण हुनेछ ।

बिडिङ प्रक्रियाबाट छनोट हुने निर्माण व्यवसायी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी हुनेछन् । यस्तै मेजर पुल स्थानीय निर्माण व्यवसायीबाट डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १४:३१
प्रतिक्रिया दिनुहोस्