काठमाडौं । “हे भगवान् ! मेरो काममा राजनीति नपसोस् !”
विशुद्ध पेसामा सक्रिय रहेको र आफ्नो कामबाहेक कुनै सपना नदेखेकालाई राजनीतिले कसरी पिरोल्छ र वाक्कदिक्क तुल्याइरहेको छ भनेर बुझ्न र गम्न यत्तिमात्रै उद्धरण पर्याप्त हुन्छ ।
नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिनको सत्रमा वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रूइतले पुकार गरे । ‘दृष्टिदान’ शीर्षकमाथि बोल्दै गर्दा उनले बिन्ती गरे– “हाम्रो व्यवस्थापन र सेवामाथि कहीँ कतैबाट राजनीतिक हस्तक्षेप नहोस् ।”
१ लाख २५ हजार मोतिविन्दुको सफल शल्यक्रिया–उपचार गरिसकेका सन्दुक रूइतको ख्याति नेपालमा मात्र सीमित छैन । पूर्वी एसियादेखि अफ्रिकासम्म फैलिएको छ । विकासको रफ्तारमा पछि परेका मुलुकदेखि प्रविधिमा संसारमै ख्याति कमाएका मुलुकमा सम्म उनको प्रशिद्धी पुगेको छ ।
तर, उनी स्वयम् राजनीतिबाट कतिसम्म दिक्किएका रहेछन् भन्ने कुराको प्रमाण उनकै वाक्य हुन् । शनिबार रूइतले आफूले ज्योति फर्काउँदाको अनुभूति सुनाउँदै आफू अझै दशवर्ष नेत्र सर्जनकै रूपमा सेवा गर्न चाहेको बताए ।
“नेपालमा अझै २ लाख ५० हजार मोतिविन्दुका पीडित, बिरामी छन् । उनीहरूलाई तत्काल उपचारको खाँचो छ । भूगोल, आर्थिक अवस्थाका कारणले सबैलाई उपचारको पहुँचमा पु¥याउन सकिएको छैन । दशवर्ष अझै म यो क्षेत्रमा केही गर्न चाहन्छु,” उनले सबैका सामु आफ्नो अठोट व्यक्त गरे ।
नेपालमै प्रविधिको विकास गरिएकाले संसारकै सस्तो नेत्र चिकित्सा उपलब्ध गराउन सकिएको रूइत बताउँछन् । मोतिविन्दुको शैल्यक्रियाका क्षेत्रमा एकपछि अर्को सफलता पाउँदै गएकाले यसको ख्याति बढेको र नेपालका मात्र नभइ अन्य मुलुकबाट पनि उपचार गर्न आउनेको चाप बढ्न थालेको उनको भनाइ छ ।
मेडिकल क्षेत्रको व्यापार रोकियोस्
चिकित्सा क्षेत्रमा माफियाकरण, दलालीकरण, भ्रष्टीकरण बढेको भन्दै एमबीबीएस र बीडीएस पढिरहेको विद्यार्थीहरू आन्दोलित छन् । प्रवेशपत्र जलाएर परीक्षा नै बहिष्कार गरेर बसेका छन् ।
मेडिकल क्षेत्रका विद्यार्थीको विद्रोहलाई नजिकबाट नियालेका डा. रूइतले चिकित्सा क्षेत्रमा चाहिनेभन्दा बढी व्यापार भएको भन्दै दुखेसो पोखे ।
“चिकित्सा क्षेत्रमा चाहिनेभन्दा बढी व्यापार देख्छु । चिकित्सक आफैंले गरिरहनुभएको छ कि, अरू नै संलग्न छन् ? यसले विद्यार्थीलाई निराश बनाएको छ,” उनले चिन्ता प्रकट गर्दै भने ।
उनले मेडिकल क्षेत्रमा पोष्ट ग्र्याजुएटको कोटा वृद्धिको पनि माग राखे । एमडीलगायतका तहमा सरकारले कोटा वृद्धि नगर्दा देशलाई चाहिने जनशक्ति अपुग भएको सङ्केत गर्दै उनले भने, “ पोष्ट ग्र्याजुएट तहमा यथाशीघ्र कोटा बढाउनुपर्छ ।”
उनले समुदायमा आधारित अस्पतालको निर्माण गर्नुपर्ने र एउटा छुट्टै मोडलको आविष्कार गर्नुपर्ने आवश्यकता पनि औंल्याए । विशेषतः प्रदेश नम्बर दुई र भारतसँग सीमा जोडिएका देहातका नागरिकहरू आधारभूत स्वास्थ्य सेवाको समेत पहुँचमा नरहेकाले उनीहरूलाई लक्षित गरेर अस्पताल निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।
राष्ट्रपति चाहिएन, पेसालाई माया गर्छु !
तिलगङ्गा आँखा अस्पतालका संस्थापक रूइत गुमेको ज्योति फर्काउने चिकित्सकका रूपमा संसारभर विख्यात छन् । तर उनको यो ख्याति रातारात तयार भएको होइन । निकै लामो बाटो हिँडेर आएका छन् उनी । घामपानी झेलेका छन् ।
“यसको सफलताको कारण के हो ?,” बहसमा सहजीकरण गरेका टेलिभिजन प्रस्तोता रवी लामिछानेले उनलाई सोधेका थिए ।
उनले सहज जवाफ दिए– पेसाप्रतिको माया । निष्ठा । इमान्दारिता ।
“म आफ्नो पेसालाई अति नै माया गर्छु । मलाई मेरो पेसा निकै मन पर्छ,” उनले थपे, “तपाईंले आफ्नो पेसालाई जति माया गर्नुहुन्छ, उत्तिनै त्यसको प्रभावकारिता बढ्छ ।”
बहसको अन्त्यतिर उनलाई सहभागीले सोधे– “डा. रुइत तपाईंलाई आलङ्कारिक राष्ट्रपतिको प्रस्ताव आयो भने स्वीकार्नुहुन्छ ?”
प्रश्न सुन्नेबित्तिकै डा. रूइतले हतारिँदै जवाफ फर्काए– “यतिबेला म स्वीकार्दिनँ । अहिले म मेरो काममा व्यस्त छु । म मेरै प्रोफेसन (पेसा)मै रहन चाहन्छु ।”
आँखामा आइरहने कान्छी
सन्दुक रूइत अभूतपूर्व घटनाका संग्रहणीय दस्तावेज हुन् । उनीसँग लौकिक–अलौकिक अनुभूतिहरूको सँगालो छ । गुमिसकेको ज्योति फर्काउँदाका अकथनीय अनुभवहरू छन् । त्यसैलाई अँगालोमा च्यापेर उनी आफ्नो पेसामा निर्भीक र सक्रिय छन् ।
सहभागीहरूले खचाखच भरिएको लिटरेच फेस्टिभलको कवि शिरोमणि लेखनाथ पौड्याल कक्षमा उनले आफ्को अविस्मरणीय अनुभव सुनाए ।
उनले दोलखाको विकट गाउँमा शिविर लिएर गएका थिए । झण्डै २० वर्षअघि । त्यतिबेला आजको जस्तो सुविधा थिएन । अस्पतालको अनुहार सदरमुकामले पनि देख्दैनथ्यो । गाउँहरू धामी, झाँक्रीले टिकेका थिए । अस्पताल लैजानुपर्छ भन्ने होस भएकाहरूले बिरामी बोकेर सहर–बजारतिर लिएर झर्थे । डोको एम्बुलेन्सको सहारामा ।
त्यसैगरी एकजना दृष्टिविहीन युवतीलाई दाजुले डोकामा बोकेर ल्याएका थिए । बडो कष्टकर तरिकाले ।
दुई सन्तानकी आमा युवती ३० वर्ष पनि कटेकी थिइनन् । तर उनले दृष्टि गुमाएको पाँच वर्ष भइसकेको रहेछ ! उनको आठ वर्षकी छोरी थिइन् । तीन वर्षका छोरा पनि थिए ।
विडम्बना उनले त्यो छोराको अनुहार देख्न पाएकी थिइनन् । ९ महिना कोखमा र जन्मिएपछि काखमा खेलाउँदै आएको छोराको अनुहार हेर्न नपाउँदा युवतीको अनुहार खुब पिरोलिएको थियो । उमेरकी नै भए पनि अनुहार वृद्धको जस्तो मुज्जिएको थियो ।
“आँखा देख्ने मान्छेले दुई आँखा एकैपटक चिम्लिँदा कस्तो अनुभूति हुन्छ, हो त्यस्तै थियो उनको जीवन,” रूइतले त्यसदिन सम्झँदै सुनाए ।
रूइतले पहिलो दिन नै ती युवतीको शैल्यक्रिया गरे । भोलिपल्ट शल्यक्रिया गरेका बिरामीको अवस्था बुझ्न शिविरमा गए । ती युवतीको दृष्टि फर्किइसकेको थियो ।
उनले आफ्नो कुपोषणले ग्रस्त बच्चालाई काखमा राखेर बडो प्रेमिल तवरले सुम्सुम्याइरहेकी थिइन् । जसरी पहिलोपल्ट आफूले जन्माएको बच्चाको अनुहार देखेर ती कान्छी खुसी भइन् । डा. रूइतको अनुहारमा पनि उसैगरी उज्यालियो । “अहिले ती कान्छीको जीवन फर्किएको छ । आँखा नदेख्ने भनेर उनलाई श्रीमानले माइती पठाइदिएका थिए, सिन्धुपाल्चोकबाट । अहिले उनी आफ्नै घरमा छिन् । बच्चाको हेरविचार गरिरहेकी छिन्,” रूइतले सुनाए ।
त्यसयता उनले हजारौं विरामीको शल्यक्रिया गरिसके । तै पनि उनलाई कान्छीको नियास्रो लागिरहन्छ । बेलाबखत बोलाउँछन् पनि । अरूको जीवनको ज्योति फर्काउँदा मन उज्यालिएको र मुटुको कुनामा घाम लागेको यो नै पहिलो घटना होइन । अगणनीय छन् ।
गतवर्ष हेटौडा अस्पतालमा पनि यस्तै घटना भयो । हेटौडा अस्पतालमा शिविर सञ्चालन भएको थियो । थुपै मोतिविन्दुका बिरामीहरू शैल्यक्रियाको लाइनमा थिए । त्यही पंक्तिमा भेटिए– रोशन थिङ ।
आठ– नौ वर्ष उमेरका रोशनको मोतिविन्दुले दुवै आँखा ठप्प थिए । सन्दुक सुनाउँछन् “त्यस्ता बिरामीलाई बेहोस नबनाइ उपचार गराउनुपर्ने चुनौती हुन्छ ।”
उनले शैल्यक्रिया गर्नुअगावै सोधे– “रोशन शल्यक्रिया गरेपछि आँखा देखिहालिन्छ । तिमीलाई के खान मन छ, अहिले नै भन ।”
अन्धकार जीवन बाँचिरहेको रोशनले भनेछन्, “मःम खान मन छ । आँखा देखेँ भने खान पनि सजिलो होला ।”
शल्यक्रिया सकेर भोलिपल्ट उनी कुर्सीमा आराम गरिरहेका थिए । सन्दुकलाई छोप्दै एकजना बालक आए । सन्दुकले को हो भनेर चिन्न पनि नभ्याइ बालकले उनका गाला, आँखा, नाक, मुख सबैतिर छामछामछुमछुम पारे ।
त्यसपछि पो सन्दुकले चिने– त्यसरी छाम्ने रोशन पो रहेछन् !
त्यो घटना सन्दुकको जीवनको अवर्णनीय खुसी थियो । उनले शब्दमा त्यसलाई अभिव्यक्त गर्न सक्दैनन् । भन्छन्, “यस्तै खुसीहरूले मलाई कामप्रति अझै दत्तचित्त लाग्न अभिप्रेरित गर्छ । हामी भाग्यमानी छौं, यस्ता धेरै वास्तविकता देख्न पाएका छौं । अनुभूत गर्न पाएका छौं ।”
दृष्टि फर्काएका मात्र होइन, दृष्टि फर्काउन नसकेका घटना पनि सन्दुकसँग छन् । उनले रामेछापको दोरम्बाको घटना सुनाए ।
केही वर्षअघि उनी दोरम्बा पुगेका थिए, शिविर लिएर । शिविर सकिँदा नसकिँदै टाढाको गाउँबाट बोलावट भयो । त्यहाँ एकजना दृष्टिविहीन रहिछिन् । मानसिक हालत बिग्रिएर ओछ्यान परेकी रहिछन् । शिविरमा आउनै नसक्ने ।
रूइत उनको दृष्टि फर्काउन सकिन्छ कि भनेर दुई घण्टाको बाटो हिँडेर घरमै पुगे । तर ती युवतीको दृष्टि फर्काउन सकिने अवस्था थिएन । टर्च बालेर आँखामा हेरे । उहिल्यै फुलो परेर दुवै आँखा टालिइ सकेका रहेछन् । जति कोसिस गरे पनि सम्भव देखेनन् । निरर्थक फर्कनुपर्यो ।
“यस्ता बिरामीलाई प्रविधिको पनि केही सीप लाग्दैन,” उनलाई अहिले पनि पीडा बोध हुन्छ । उनलाई अर्को कुरामा पनि गुनासो छ । सार्वजनिक जग्गा संरक्षणको कुरा उठिराखेको छ । धेरै ठाउँमा सरकारी सम्पत्ति अपचलन भएका छन् । दुरूपयोग भएका छन् ।
पहुँच हुनेहरूलाई कौडीको दाममा लिजमा दिइएको छ, व्यावसायिक प्रयोजनका लागि । तर तिलङ्गा आँखा अस्पतालसँग सीमित मात्रै जग्गा हुँदा भवन विस्तार हुन सकेको छैन । सुविधा पनि विस्तारित हुन पाएको छैन । बिरामीको लामो लाइन देख्दा चुक्चुकाउँछन् पनि ।
“तिलगङ्गा आँखा अस्पताललाई पाँच रोपनी जग्गामा मात्रै राख्नुपर्दा पनि मलाई दुःख लाग्छ,” उनले आफ्नो पीडा सुनाए ।
वर्षेनी बाहिरबाट एक लाख मोतिविन्दुको बिरामी आउँछन्
उनले नेपालमा मेडिकल पर्यटनको सम्भावना उत्तिकै देखेका छन् । झापा, विराटनगर, भैरहवालगाय सीमा नाकाबाट अहिले पनि लाखौंका सङ्ख्यामा मोतिविन्दुका विरामी शैल्यक्रियाका लागि नेपाल आउँछन् । भारतका मणिपुर, सिलोङ, आसाम, दार्जिलिङलगायत ठाउँबाट पनि बिरामी आउँछन् । यसका अलावा तेस्रो मुलुकाबाट पनि उत्तिकै सेवाग्राही आउँछन् । डा. सन्दुक रूइतले सफल उपचार गरेर पठाएका छन् ।
यसले नेपालको मेडिकल पर्यटन प्रवद्र्धन गरिरहेको रूइत बताउँछन् । अहिले रूइतजस्तै ५० जना दक्ष चिकित्सकको समूह तयार भइसकेको छ । उनीहरूले गाउँगाउँ गएर उपचार गर्न भूगोलबाहेक उपकरण, प्रविधिको बाधा छैन । सबैले साथ–सहयोग दिने हो नेपालमा भएका मोतिविन्दुका बिरामीले दृष्टि पाउनेछन् ।
डा. आँखाको हेरचाह गर्न पनि उत्तिकै सुझाव दिन्छन् । पूर्व प्राथमिक तहमा भर्ना भएका बालबालिकालाई स्कुलको भर्ना फारम भर्नु अगावै आँखाको जाँच गर्नुपर्ने संस्कृतिको निर्माण गर्नुपर्ने उनको तर्क छ ।
मधुमेह हिजो सहरमा सीमित थियो । अहिले त्यसमा गाउँमा पनि आकार लिइसकेको छ । राष्ट्रिय रोगको परिचय समेत बनाउँदैछ । तसर्थ मधुमेहका विरामीले पनि वर्षको एकफेर आँखा जचाउनुपर्ने उनको सुझाव छ । ४० वर्ष उमेर पार गरेपछि भने अनिवार्य आँखा जाँच गर्न डा. रूइत सबैलाई सल्लाह दिन्छन् ।