site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुनेको बम्बै र घुमेको मुम्बई
SkywellSkywell

पुरानो नेपाल, नयाँ नेपाल भएको करिब डेढ दशक पुग्नै लागेको छ । नयाँ नेपालसँगै धेरै संस्थाहरुका नाम पनि नयाँ नै बनाइएको छ । त्यसो गर्न थालेका पनि दशक नाघिसक्यो । ‘शाही नेपाल वायु सेवा निगम’ले नयाँ नाम पाएको पनि वर्षौं भयो । तर समयमा नउड्ने पुरानो र स्थापित पहिचान भने कायमै रहेछ । मङ्सिर पहिलो साता मुम्बईका लागि उड्दै गर्दा विमानस्थलमै २ घण्टा पर्खनुपरेको थियो । मुम्बईमा रहेका नेपाली समुदायसँग अन्तक्र्रिया गर्ने, महाराष्ट्रका धार्मिक तथा पर्यटकीय स्थलको घुमघाम गर्ने उद्देश्यका साथ नोभेम्बर २२ तारिखदखि हाम्रो यात्रा आरम्भ भएको थियो ।  

जे होस्, मुम्बई यात्रा आफ्नै ध्वजाबाहक प्रयोग गर्दै सुरु गर्न पाउँदा भने हाम्रो टेली खुसी थियो । करिब साढे २ घण्टाको उडानपछि महाराष्ट्रको आकाशमा हामी सवार विमानले कावा खायो । करिब ३२०० मिटरको उचाईबाट देखियो भव्य मुम्बई । निलो लमतन्न समुद्र, धर्सो तानेजस्ता बाटाहरु, गगनचुम्बी महलहरु । मुम्बइको सम्पन्नता उसका पूर्वाधारले नै प्रदर्शित गरिरहेको थियो । 

२ घण्टा ४० मिनेटको उडानपछि हाम्रो विमान अवतरण ग¥यो, छत्रपति शिवाजी अन्तरराष्ट्रिय विमानस्थलमा । अब पालो आयो, धर्तीबाटै मुम्बईलाई नियाल्ने । नगएको ठाउँ पहिलोपटक पुग्दा त्यहाँका बारेमा चासो स्वाभाविक हुने नै भयो । १७ औं शताब्दीका महान मराठा शासक छत्रपतिको नामबाट नामकरण गरिएको रहेछ विमानस्थलको । १४५० एकड क्षेत्रफलमा फैलिएको भव्य र व्यवस्थित विमानस्थलमा घरेलु र वाह्य उडानका लागि छुट्टाछुट्टै टर्मिनल छन् । विमानस्थलमा पुग्दा नै महाराष्ट्रको परिचय मिलिसक्छ । नेपालबाट सीमाछेउका गाउँ हेरेर भारत उस्तै त होला ठान्नेहरु त्यहाँ पुग्दा अचम्मित हुने रहेछन् ।  रुपैडिया र सीतामढी हेरेर भारतप्रति बनेको मेरो दृष्टिकोणमा पनि त्यस्तै भयो ।
 
मैले मुम्बईको जमिन पहिलो पटक टेकेको थिएँ । तर यस महानगरीबारे मस्तिष्कमा बाल्यकालदेखि नै बनेका केही बिम्बहरु सल्बलाइरहेका थिए । सिन्धुपाल्चोकमा त ५० को दशकमा बम्बैका रुपमा चिनेको हो मैले अहिलेको मुम्बईलाई । नेपाल–भारतबीच जति पुरानो सम्बन्ध हो, सायद सिन्धुपाल्चोक र बम्बै सहरबीचको जानपहिचान पनि उति नै पुरानै हुनुपर्छ । आफ्नो भूमिका चेलीहरु बेचिने त्यही बम्बैको यात्राले कौतूहलता थियो मनमा । 

KFC Island Ad
NIC Asia

विमानस्थलबाट निस्कनै लाग्दा हामी अल्मलियौं केहीबेर । टोलीका सबै मुम्बईबारे नयाँ नै थियौं । नयाँ सहर पुग्दा कौतूहलता पनि अनेक हुने । ट्याक्सी ड्राइभर हाम्रा लागि महाराष्ट्रका दूत थिए । उनैले दिए महाराष्ट्रको परिचय । महाराष्ट्र पुग्दा  शिवसेनाका अध्यक्ष स्व. बालसाहब ठाकरेको चर्चा त हुने नै भयो । 

चालकसँग बालठाकरेका बारेमा केही सोध्ने हाम्रो योजना थियो । चालक उनका समर्थक नै परेछन् । भनिहाले, नेता हुनु त बाल ठाकरेजस्तो अडान भएको  । उसो त, हिन्दू अतिवादीका रुपमा पनि कतिपयले ठाकरेको आलोचना गर्छन् । पाँच दिन महाराष्ट्र बसाइमा भेटिएका मानिसबाट भने उनको आलोचना सुनिएन । हामी मुम्बई पुग्दा कसको सरकार बन्ने ? 

Royal Enfield Island Ad

रस्साकसी सुरु भएको रहेछ । शिवसेनालाई बाहिर राख्ने गरी गठनबन्धन तयार भएको गाइँगुइँ सुनियो । शिवसेनाले आफ्ना सबै सांसदलाई एकै ठाउँमा राखेको थियो, अरुले खरिद गर्न नसकून् भनेर । त्यो सुन्दा मन पुनः नेपाल बत्तियो । सांसद खरिद–बिक्रीको त्रास त नेपालमै जस्तो रहेछ । चर्चामा बालासाहबका नाति ३० वर्षमुनिका आदित्य ठाकरेको नाम पनि मुख्यमन्त्रीका रुपमा सुनियो । तर उनले चलाउन सक्दैनन् भन्नेमा महाराष्ट्रका बासिन्दा देखिन्थे । पछि उनका पिता उद्धव ठाकरे मुख्यमन्त्री बने । 

मुम्बईमा आधा शताब्दी अघिदेखि बस्दै आएको नेपाली समुदायसँग भेट्ने कार्यक्रम तय भयो । मीरा रोडमा रहेको मनकामना फाउन्डेसनको आफ्नै बिल्डिङ रहेछ । जहाँ दसैं, तिहार र तीज आउँदा नेपाली समुदाय सामूहिक रुपमा पर्व मनाउने गरेको सुनाए फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेले । चार दशक अघिदेखि मुम्बईमा बस्दै आएका रहेछन् अधिकांश । हिन्दी लवजमै तिनका सन्तानले नेपालीमा कुरा गरे । झलक्क हेर्दा त नेपाली भनेरै चिन्न नसकिने भइसकेछन् । उतै जन्मेर, उतै हुर्किएका नेपालीहरु हामीलाई देख्दा आफन्तै आएजस्तो ठान्ने रहेछन् । उनीहरु भन्दै थिए– जहाँ बसे पनि यो मन त मेरो नेपाली हो । मुम्बईमा कति नेपाली छन् त ? एकिन तथ्याङ्क भने भेटिएन । मुम्बईमा रहेर ‘नेपाल न्युज’ दैनिक चलाइरहेका पत्रकार प्रकाश पौडेलले करिब लाख नेपाली रहेको सुनाए । धेरैजसो स्याङ्जा, अछाम, अर्घाखाँचीका मानिसहरु रहेछन् । 

मुम्बईमा रहेका नेपालीहरुले महाराष्ट्रमा रहँदा आफूहरुलाई पेशा, व्यवसाय गर्न कुनै कठिनाइ नरहेको सुनाए । धेरै नेपालीले प्रगति गरेका रहेछन् । रवि भट्टराई बालाजी टेलिफिल्म्सका महत्वपुर्ण भूमिकामा रहेछन् । उनीसँग भेट भयो र बुझियो भारतीय टेलिसिरियलका बारेमा । अमेरिकामा रहेकाले उदितनारायण झासँग भेट्ने प्रयासले आकार पाएन । 

भ्रमणको पाँच दिनमा हाम्रो टोलीले महाराष्ट्रका आर्थिक, सामाजिक, धार्मिक र पर्यटकीय रुपमा महत्वपूर्ण स्थल घुम्यो । आम्दानगर, राहुरी, सिरडी साइबाबा, पुणे प्रतिबालाजी, गेट वे अफ इन्डिया, नासिक, इगातपुरी, पुणे पुरन्धर, बैङ्कटेश्वर पुग्यौं । धार्मिक क्षेत्रमा पुग्दा देखिएको सरसफाइ, व्यवस्थापन, सुरक्षा सतर्कता र संरक्षण लोभ लाग्दो लाग्यो । मानसपटलमा झुल्कियो, चप्पल, जुत्ता हराउला भनेर हतारहतार दर्शन गरेर फर्किनुपर्दाका क्षणहरु । मन्दिरै मन्दिरको देश नेपालले भारतमा धार्मिक स्थानको व्यवस्थापन र संरक्षणबाट धेरै कुरा सिक्न सक्छ । 

हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ र मुक्तिनाथ भएको देश । गौतम बुद्ध जन्मिएको सुन्दर लुम्बिनी भएको नेपाल हिन्दू र बौद्ध दुवैका लागि पवित्र स्थल हो । घुम्न आएका धार्मिक पर्यटकलाई मन्दिर दर्शनको सहज व्यवस्थापन गर्न सके सिरडी धाम र प्रतिबालाजीको भन्दा सयौं गुणा लामो पर्यटकको लाइन त नेपालमै लाग्ने थियो । मनमनै सोचेँ, ती स्थान व्यवस्थापनका लागि बनेका क्षेत्र विकास कोषहरु र तिनका पदाधिकारीलाई ल्याएर व्यवस्थापन के हो ? सिकाउन पाए पनि हुन्थ्यो । भ्रमणको संयोजन गरेको स्वतन्त्र युवा प्रजातान्त्रिक सङ्घतर्फ लक्षित गर्दै एक मित्रले थपी हाले– लौन ! ती क्षेत्र विकास कोषका पदाधिकारीहरुलाई पनि ल्याएर देखाऊँ धार्मिक स्थलको व्यवस्थापन । 

कृषि प्रधान देशको नागरिक भएकाले नेपालीका लागि कृषिको पकेट क्षेत्र घुम्नु अर्को आकर्षण रह्यो, महाराष्ट्रमा । नासिक अनार र प्याजका लागि चर्चित रहेछ । त्यहाँ सरकारले कृषकलाई अनुदान दिएर प्रोत्साहित गर्दोरहेछ । नेपालजस्तै लाग्ने सानासाना पहाडले घेरिएका फाँटहरु बाँझो थिएनन् । उखु, कपास खेती पनि राम्रै हुने रहेछ । आफ्नो परम्परालाई समेत राम्ररी जोगाएका रहेछन् किसानले । त्यसको सानो उदाहरण देखियो, सिरडीबाट पुणे फर्कंदा । १०-२० हजारमा उखुको जुस निकाल्ने मेसिन किन्न पाइन्छ । तर अझै पनि महाराष्ट्रका किसानले ग्रामीण इलाकामा गोरुमार्फत् उखु पेलेर आफ्नो परम्परा जोगाउने काम गरेका रहेछन् । 

मुम्बई २४ घण्टा ब्युँझने सहर । व्यापार-व्यवसाय पनि व्यवस्थित । रात्रि जीवन पनि निक्कै मस्त । ‘कटिङ चाय’को स्वाद लिन बेलुकी पनि निस्क्यो हाम्रो टोली । राति ११ बजे बाहिर घुमघाम गर्दा पनि असुरक्षाको कुनै अनुभूति भएन । युवायुवती दिउँसोजस्तै मस्त हिँडडुल गरिरहेका भेटिए राति पनि । सीसी क्यामेराको व्यवस्था पोलपोलमा गरिएको रहेछ । निगरानी त्यसैले गरिरहेको थियो सायद । सडकमा प्रहरीहरु पनि कमै देखिए । भ्रमण वर्ष २०२० मनाउने तयारीमा छ नेपाल । विदेश घुम्न जाने धार्मिक पर्यटकको फरक कुरा रह्यो । तर अन्य पर्यटकको चासो आफू घुमेको सहरको ‘नाइट लाइफ’ को हुन्छ नै । 

निर्धक्क राति हिँडिरहेका पर्यटक देख्दा आफ्नै काठमाडौं याद आयो । बेलुकी ७ बजे ठमेल छिर्दा सञ्चयकोष भवनअगाडि हुने चेकिङ, १० नबज्दै पसल बन्द गर भन्ने उर्दी ! ओहो, त्यसरी त कसरी पो रमाउलान् पर्यटक । २० लाख पर्यटक नेपाल सम्साँझै सुत्नकै लागि आउलान् त ? आफैंले आफैंसँग सोधेँ । अरुलाई असर नपर्ने गरी उपयुक्त प्रबन्ध गरेर ‘नाइट लाइफ’ त खोल्नैपर्ने देखियो । 

फास्ट ट्र्याकको चर्चा सुनेको धेरै भयो नेपालमा । मुम्बई भ्रमणका क्रममा फास्ट ट्र्याकमा हिँड्ने अवसर जुर्‍यो । ठिक्कका पहाडको काखैकाख त कतै पहाडै छेडेर बनाइएका सुरुङ । ५ लेनको फास्टट्रयाकमा १ सय २० को स्पिडमा कतै लागेन ब्रेक । गफकै फास्ट ट्र्याकले त धेरै किलोमिटर नापिइसक्यो नेपालमा । थानकोटको सास्ती मेटाउने काठमाडौं–निजगढ ७६ किलोमिटरको दूरी कहिले नापिएला ? टोलीको कोही बोल्यो ।  सडकका फ्लाइओभर, तल रेल, माथि गाडी गुडेको दृश्य पनि मोहक थियो । यस्सो हेर्दा टोपी खस्लाजस्ता घर त नेपालमै पुरानो भइसके । 

तालमा राराताल र फेवातालसम्म हो देखेको । विशाल अरबियन सी र जुहुबीच पुग्दा गज्जब लाग्यो । अरबियन सीको छेउमै खडा छ ‘गेट वे अफ इन्डिया’, ताज महल दरबार र टावर होटल । मुम्बई पुग्ने पर्यटकका लागि लोभ लाग्दो गन्तव्य रहेछ । भारतमा उपनिवेश जमाएको ब्रिटिसहरु यहीँबाट पसेका रहेछन् । सन् १९११ मा ब्रिटिस महाराज जर्ज भी र महारानी मेरी आएका रहेछन् । तर त्यतिबेला अहिलेको गेट बनिसकेको रहेनछ । मुम्बई बम्बै नै थियो । सन् १९४८ मा ब्रिटिस सेनाको अन्तिम टोली यही गेट भएर फर्किएको रहेछ । त्यसैले गेट वे अफ इन्डियालाई ‘विजय र उपनिवेश’ को साङ्केतिक अर्थमा समेत हेरिँदोरहेछ भारतमा । जुहुबीचमा जलविहारको मज्जा लिइयो । ओहो ! कस्तो नुनिलो समुद्रको पानी । पहिलो पटक स्वाद चाखियो । 

भारतका सिनेमा हुन् वा टेलिसिरियल नेपालमा निकै लोकप्रिय छन् । मुम्बई बलिउडका स्टारहरुको बासस्थान मात्र होइन फिल्म सिटीकै रुपमा विकसित रहेछ । मुम्बई पुग्दा नेपाली टोलीले फिल्म स्टुडियोको पनि भ्रमण गर्‍यो । फिल्म स्टुडियो जाँदै गर्दा विदेशीहरुका लागि शुल्क लाग्ने रहेछ । नेपालीलाई विदेशी नै मानिँदो रहेनछ त्यहाँ । हामी कुनै शुल्क नतिरी भित्र छिर्‍यौं मुम्बई फिल्म स्टुडियोको । बालाजी टेलिफिल्म्सका उनै भट्टराईले त्यहाँ घुमघामको प्रबन्ध गरिदिए । बालाजीकै एक स्टाफले हामीलाई घुमाए स्टुडियो । ठूलो क्षेत्रफलमा फैलिएको रहेछ फिल्म स्टुडियो । विभिन्न सिनेमा र टेलिफिल्मका दर्जनौं सेटहरु थिए । खरिढुङ्गामा बन्ने भनेको नेपाली फिल्म सिटी झल्याँस्स सम्झिएँ । ओहो, हाम्रो देशमा कहिले बन्ला यस्तो स्टुडियो ! 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro