काठमाडौं । खासै प्रतियोगिता नहुने । भए पनि छोटो समयमै सकिने । महिला क्रिकेटका लागि त्यो बेला नियती जस्तै थियो । ४ वर्षअघि महिला क्रिकेट टोली बनाउने लक्ष्यले बन्द प्रशिक्षणमा ३६ खेलाडीलाई बोलाइयो । जसमा सञ्जु चौधरी पनि थिइन् ।
क्रिकेटको बन्द प्रशिक्षणमा धेरै मिहिनेतका साथ लागिरहेकी थिइन् सञ्जु । खेलबाटै राष्ट्रलाई केही दिने लक्ष्यका साथ अघि बढेकी उनी प्रशिक्षणबाट छानिएका १८ जना खेलाडीभित्र छानिए पनि त्योभन्दा अगाडि जान सकिनन् ।
३६ जनाको बन्द प्रशिक्षणपछि अन्तिम छनोटमा नपरेकी सञ्जुका लागि नियतिले अर्कै बाटो डोहोर्यायो । खेलप्रतिको तृष्णालाई मेटाउन अर्को विकल्प खोज्नु त थियो नै उनले भारत्तोलन रोजिन् । “खेलकुदमा नै केही गर्छु भनेर लागेकी थिएँ । पहिलो पटक राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा पर्दा मेरो मनमा बेग्लै खुसी थियो । देशका लागि केही गर्न पाउने भएँ भन्ने लाग्थ्यो । १८ जनाको टिममा पनि परें । त्यहाँबाट अघि जान सकिनँ । दुःख पनि लाग्यो तर, खेलकुदबाट टाढा हुन्छु भन्ने कहिले लागेन,” सञ्जुले भनिन् ।
क्रिकेट खेलाडीका रूपमा अघि बढ्ने सपना थाँति राख्दै सञ्जु भारोत्तोलनतर्फ लागिन् । उनले भारतमा सम्पन्न १२ औं सागपछि भारोत्तोलन खेल्न लागेकी हुन् ।
व्यक्तिगत स्पर्धामा नै केही गर्छु भनेर हौसिएकी उनले १३ औं सागमा डेब्यु गर्दै भारोत्तोलनमा स्वर्ण जितेकी छन् । बिहीबार पोखरामा सञ्जुले ५९ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी हुन् । भारोत्तोलनको महिलातर्फ हालसम्म सागमा स्वर्ण कुनै पनि खेलाडीले जित्न सकेका थिएनन् ।
उनले भनिन् “डेब्यु नै सागबाट, त्यसमाथि पहिलो सागमा नै स्वर्ण पदक, योभन्दा खुसी मेरा लागि के हुन सक्छ र ? तयारी गर्दा खेरी नै स्वर्णको अपेक्षा गरेकी थिएँ । तर, जबसम्म स्वर्ण पदक आफ्नो घाँटीमा झुन्डिँदैन तबसम्म डटेर लाग्छु भन्ने थियो । जुन सपना सधैं सोच्थें त्यो पूरा भयो ।”
नेपाली भारोत्तोलन इतिहासमै महिलाले जितेको यो पहिलो स्वर्ण पदक हो । सन् २००६ मा पुरुषतर्फ कमल अधिकारीले कोलम्बो (श्रीलंका) सागमा स्वर्ण जितेका थिए ।
भारोत्तोलनबाहेक सञ्जु एथ्लेटिक्स खेलाडी पनि हुन् । बाँकेमा जन्मिएकी सञ्जुका लागि याे २० वर्षे जीवन यात्रामा खेल्न बाँकी कमै खेलहरू छन् । एथ्लेटिक्सको जुनियरतर्फ राष्ट्रिय स्तरमा उत्कृष्ट खेलाडी बनेकी सञ्जु २०७१ सालमा भएको प्रधानमन्त्री कप क्रिकेटमा ‘वुमन्स अफ दि सिरिज’ भएकी थिइन् ।
“क्रिकेटको राष्ट्रिय टोलीमा पर्न नसक्दा मलाई टिम गेमप्रति चासो घट्यो । व्यक्तिगत प्रतिस्पर्धाबाटै अगाडि आउँछु भन्ने लाग्यो । व्यक्तिगत प्रतिस्पर्धामा भारोत्तोलनमा केही गर्ने सोच बन्यो । सफलता असफलता आफ्नै गुण दोषका आधारमा हुने भएकाले त्यसैलाई रोजें । असफल भए एक्लो कमजोरीलाई केलाउँदै अगाडि बड्न सहज हुन्छ भन्ने ठम्याइ रह्यो,’’ सञ्जुले प्रारम्भका दिन स्मरण गरिन् ।
उनले आठौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन पाएकी थिइनन् । त्यसबेला सञ्जु कोरियामा भएको एसियन युथ च्याम्पियनसिपमा भाग लिन गएकी थिइन् । हाल नेपाल पुलिस क्लबसँगको सम्झौतामा रहेकी सञ्जुलाई स्वर्ण यात्राले अझै पदकप्रति मोह बढाएको छ ।
सागको यो सफलतापछि उनलाई ओलम्पिकमा स्वर्ण जित्ने अठोट जागेको छ । स्वर्ण जित्दा चारै तिरबाट आएको बधाई तथा हौसलाले नेपाली खेलकुदमा केही योगदान दिएजस्तो आफूलाई अनुभूति भइरहेको उनी बताउँछिन् । सञ्जुको खेल जीवनमा योभन्दा अन्य कुनै ठूलो खुसी आए पनि सागको पहिलो स्वर्ण नै उनको जीवनको अविस्मणीय क्षण बन्ने उनी बनाउँछिन् ।
“जीवनमा धेरै ठूलो खुसी आएको छ । खेलकुदमा लाग्दा नराम्रो मान्नेहरूले पनि फोन गर्दै बधाई दिएका छन् । अरुको बधाई आएको हेर्न धेरै रमाइलो लाग्थ्यो । आज आफ्नो पनि त्यस्तै हुँदा सपना पूरा भएजस्तै लाग्दैछ । नचिनेका मान्छे पनि बोल्न आउँछन् । फोटो पनि खिच्न आउँछन् । साथीहरू पनि हामीलाई समय दिन्नस् भन्छन् । योभन्दा खुसी के होला र ?,” सञ्जुले भनिन् ।