site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हरिभक्त कटुवालको डायरी

गोविन्द गिरी प्रेरणा


हरिभक्त कटुवाल काठमाडौंमा मिथक जिन्दगी बाँचिरहेका थिए । उनको नेपाल आगमन साहित्यकै कारण भएको थियो । केदारमान व्यथितको नेपाली साहित्य संस्थानले देशव्यापी साहित्य सेमिनार आयोजना गरेको थियो, झापामा । उनी त्यसका लागि असामबाट आएका थिए । रक्सी पिएर रम्ने आदत उनलाई लागिसकेको थियो । उसै पनि नेपाली साहित्यकारहरुका लागि साहित्य सम्मेलनजस्तो पिउनका लागि स्वतन्त्र अवसर कतै हुँदैन । घरपरिवारको बन्धनको दाम्लोबाट फुत्किएर आएका कविहरु अरु बेला र अन्तभन्दा साहित्य सम्मेलनमा रमाउन रुचाउँछन् । 

साहित्य सम्मेलन चलिरहँदा हरिभक्त कटुवाल र उनीजस्तै पिउन रमाउनेहरुको जमात पर्दापछाडि पिएर रमाइरहेका थिए । त्यति नै बेला कविता वाचनका लागि कटुवालको नाम उद्घोषण भयो । उनी लुगा खोलेर पिइरहेका थिए । दोस्रोपल्ट पनि उद्घोषण भयो, “अब कविता वाचनका लागि आउँदै हुनुहुन्छ, असामबाट पाल्नुभएका कवि हरिभक्त कटुवाल ।’’

Argakhachi Cement Island Ad

कटुवाल भने खुट्टा राम्रोसँग टेक्न मुस्किल भइसकेको अवस्थामा थिए । कसैले उनको नाङ्गो जीउमा कोट लगाइदियो । न भित्री गञ्जी, न सर्ट । मुनिचाहिँ पाइन्ट थियो । दुईजनाले समातेर उनलाई मञ्चपछाडिबाट लगेर मञ्चमा उभ्याइदिए । दर्शक–स्रोताहरुले करतलध्वनिका साथ कटुवालको स्वागत गरे । 

उनले धङ्धङाउँदै यौटा मुक्तक वाचन गरेः
सानो छँदा आमाको दूध चुस्दै बिताएँ 
त्यसपछि लालीपप चुस्दै वचपन बिताएँ
अब त जवानमा रक्सी चुस्दै
हरिभक्त कटुवाल भएको छु

कविताको अन्तिम पङ्क्तिसँगै कटुवालले आफूले लगाएको कोटको अगाडिको भाग खोलिदिए, त्यहाँ दर्शक–स्रोताहरुले हरिभक्त कटुवालको छातीका करङ्ग देखे । जोडजोडले ताली बज्यो । वाहवाही भयो । रातारात उनलाई झापा साहित्य सम्मेलनले हिरो बनायो । केदारमान व्यथितले उनलाई काठमाडौं आउन आमन्त्रण गरे ।

यसरी झापा साहित्य सम्मेलनले हिरो बनाएका हरिभक्त कटुवाल अन्तिमपल्ट काठमाडौं छाडेर नजाउञ्जेल नेपालको कुनाकुनामा सबैको प्रिय भएर बसे । नचिन्नेहरुका लागि उनी प्रिय पात्र भइरहे, चिन्नेहरु कतिका लागि मिथक बने, कतिका लागि ठट्टाको पात्र पनि बने ।

सुरुमा नेपाल बसाइको क्रममा व्यथितले गास, वास र जागिर दिएका थिए । पछि व्यथितसँग उनको सम्बन्ध टिकेन र उनी टाढिए । उनले एकेडेमीको विद्वत्वृत्ति पाएका थिए, तर एकेडेमीको शर्तमुताविक काम नगरेको भनेर तत्कालीन सदस्यसचिव सत्यमोहन जोशीले खोसिदिए । प्रशासनमा उनी खरा थिए । पछि विजय मल्ल सदस्यसचिव भएपछि खोसिएको विद्वत्वृत्ति पुनः उनलाई दिइएको थियो ।

नेपाली साहित्यमा गोजीका पत्रिकाको सुरुवात गर्ने श्रेय हरिभक्त कटुवाललाई जान्छ । उनको सम्पादनमा प्रकाशित ‘बान्की’ नेपाली साहित्यको पहिलो गोजीका पत्रिका हो । पछि त गोजीकाको बाढी नै आयो । बान्कीमा स्वनामधन्य लेखकहरुका लघुरचनाहरु प्रकाशित भए । त्यसले एउटा विशिष्ट कीर्तिमान नै कायम ग¥यो । उनले नगेन्द्रराज शर्माको अभिव्यक्ति’ साहित्यिक पत्रिकाका केही अङ्क सम्पादन पनि गरेका थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलनले निम्त्याएको ऐतिहासिक जनमत सङ्ग्रहमा भवानी घिमिरेको नेतृत्वमा सम्पन्न सडक कविता क्रान्तिमा सहभागी भएका थिए । एक महिनासम्म काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, तनहुँ र पोखरामा सम्पन्न सडक कविता क्रान्तिमा उनी सहभागी भए । उनका मुक्तक, कविता, गीतका लागि दर्शक–स्रोताहरु वाहवाही मात्र गर्ने हैनन्, वान्समोर गर्ने गर्थे ।

भवानी घिमिरेसँग पनि उनको मनमुटाव भयो । एक प्रकारको झगडा नै भयोे । तर तिनै घिमिरेले कटुवालको देहान्तपछि भानु पत्रिकाको वृहत् विशेषाङ्क नै प्रकाशित गरे ।

हरिभक्तबारे काठमाडौंमा रमाइला ठट्टाहरु चल्दथे । एकपल्ट हरिभक्तले बटुवासँग सलाईको काँटी मागेछन् । बटुवाले चुरोट सल्काउनलाई होला भनेर सलाई त छैन, लाइटर छ भनेछन् । वास्तवमा हरिभक्तले दाँत कोट्याउनका लागि सलाईको काँटी खोजेका रहेछन्, लाइटरले त्यो काम गर्दैनथ्यो ।

उनी चुरोट–बिँडी पिउँथे । त्यो सल्काउन कसैसँग चुरोट मागेका छन् र त्यो फिल्टरवला छ भने, सल्काएपछि त्यो फिल्टरवाला आफूले राखेर, आफ्नोचाहिँ फर्काउँथे । 

कटुवाल काठमाठौंमा कति लोकप्रिय थिए भने, उनलाई बटुवा, विद्यार्थी, ट्याक्सी ड्राइभर सबले चिन्थे । नारायण गोपालको गायनमा उनको गीत ‘पोखिएर घामको झुल्का भरि सङ्घारैमा...’ रेडियोमा बज्न थालेपछि त्यसले नेपालभरि नै व्याप्ति पाएको थियो । त्यतिबेला रेडियो नेपाल मात्र सञ्चारको साधन थियो । टेलिभिजन पनि आइसकेको थिएन । त्यो गीत नेपालीजनमा सर्वव्यापी बन्यो । मानिसका आँेठओँठमा त्यो गीत झण्डियो ।

२०३६ सालपछि त्रिविको विद्यार्थी युनियनले बर्सेनि नेपाली साहित्यका मूर्धन्य कविहरुसमेत बोलाएर विशिष्ट कवि गोष्ठी गर्ने प्रचलन सुरु गरेको थियो । एकपल्ट कटुवाल सो कवि गोष्ठीमा जान रत्नपार्कमा बस खोज्दै थिए । उनले कीर्तिपुर जाने बस कहाँ पाइन्छ भनेर यौटा ट्याक्सीवालालाई सोधेछन् । ट्याक्सीवालाले बस त त्यहाँ पर लाग्छ, तर बस किन म नै तपाईंलाई पु¥याइदिन्छु भनेर रत्नपार्कवाट कीर्तिपुरसम्म निःशुल्क पु¥याइदिएको थियो । त्यो कवि गोष्ठी सकिएपछि ईश्वरवल्लभ, हरिभक्त कटुवाल र म सँगै बसमा सुन्धारा फर्केका थियौं । अनि ओके ममचा रेस्टुरेन्टमा खाजापानका लागि पसेका थियौं । ईश्वरवल्लभले त्यतिबेला कटुवालको अन्तरवार्ता लिएका थिए । त्यो अन्तरवार्ता, त्यही रेस्टुरेन्टका मालिक रामेश्वर मानन्धर प्रकाशक, जीवन आचार्य सम्पादक र ईश्वरवल्लभ स्वयम् संरक्षक भएको ‘आकुञ्चन’ पत्रिकामा प्रकाशित भएको थियो । अन्तरवार्ताकै क्रममा उनले कान्छी छोरीको साह्रै याद आउने भन्दै आँसुका ढिक्का खसालेका थिए ।

काठमाडौंमा उनको कुनै डेरा वा निजी बास बस्ने ठाउँ थिएन । उनी पुतलीसडकको यौटा भात पसलको भ¥याङमुनि छिँडीमा बस्छन् भन्ने सुनिन्थ्यो । उनी त्यही भात होटलमा यसो सहयोग पनि गर्छन् भन्ने हल्ला पनि थियो । एकपल्ट ‘लाँकुरी’ नामक पत्रिकाका सम्पादकले हरिभक्तको कविता मागिदिन मलाई अनुरोध गरे । २०३६ सालपछि च्याउ झैं उम्रेका अनेक पत्रिकामध्ये एक थियो त्यो पत्रिका । मैले नयाँसडक पिपलबोटमा भेटिँदा हरिभक्तलाई सो कुरा भनेँ । उनले भोलिपल्ट पुतलीसडकमा आउन भने । भोलिपल्ट बिहान ती सम्पादक र म पुतलीसडक पुग्यौं । कतैबाट फुत्त निस्किए हरिभक्त । अनि हामी गफ गर्दै उनको पछि लाग्यौं । उनले बागबजारको रामदाइको भट्टीमा लगे । उनले सोधे, “अलिकति पैसा छ ?’’
सम्पादकले भने, “छ दाइ ।’’

“त्यसो भए एक गिलास वास (लोकल रक्सी)मगाउनुस् मेरा लागि,’’ हरिभक्तले भने ।

हाम्रा लागि २ कप चिया र उनका लागि एक गिलास वास आयो । सम्पादकसँग उनले कापीको पाना र कलम मागे । 

हाम्रो चिया सकियो । हरिभक्तले वासको गिलाँस पनि रित्याए । यौटा कविता उनले यतिञ्जेल पूरा गरेका थिए । निजी पत्रिकाले त्यतिबेला लेखकलाई पारिश्रमिक दिने चलन थिएन । हरिभक्तका लागि त्यो कविताको पारिश्रमिक एक गिलाँस वास थियो ।

कटुवाललाई काठमाडौंले किन मोहनी लगाएको थियो ? आफ्नो परिवारबाट टाढा सडकछाप जीवन उनलाई किन प्रिय थियो ? यो बुझ्न नसकिने पहेली थियो । 

उनले एकपल्ट रुपरेखा पत्रिकामा प्रुफरिडरको काम पनि गरेका थिए । रुपरेखाको अफिस ढोकाटोलमा यौटा पुरानो घरको छिँडीमा थियो । उत्तम कुँवरले उनको लागि यसो पैसाको जोहो होस् भनेर त्यो काम दिएका थिए । तर पछि उनले चिसोले मलाई नजाती ग¥यो, बाथले दुःख दियो भनेर त्यो जागिर छोडे ।  तर खासमा के भएको थियो उत्तम कुँवर र स्वयम् हरिभक्तले बुझ्ने कुरा हो । तर हरिभक्त दिवंगत भएपछि उत्तम कुँवरले ‘जिउँदोमा मोहन कोइराला, दिवङ्गतमा हरिभक्त कटुवाललाई घृणा गर्छु’ भनेका थिए । 

हरिभक्त कटुवाल ‘मेरा पिताजीको देहान्त भयो, अब म आसाम फर्किन्छु’ भनेर बेलाबेलामा भन्ने गर्थे । उनी किन त्यसो भन्थे, आश्चर्यको कुरा थियो । तर एकदिन यस्तो आयो, साँच्चै उनका बाबु दिवङ्गत भएर आसाम फर्कने तयारी गर्न लागे । उनको स्वास्थ्य पनि त्यति राम्रो थिएन । उनी आसाम फर्कनुअघि रञ्जना सिनेमा हलअगाडिको यौटा लजमा बसेका थिए । नगेन्द्रराज शर्मा, उनका परम मित्र हुनाले हरिभक्तको बिदाइका लागि उनले निकै खातिरदारी गरे । क्याक्टस फूलको बिरुवादेखि लत्ताकपडा पनि उनले किनिदिएका थिए । उनलाई मन पराउने असङ्ख्यमध्ये नजिकका केही साहित्यकार लजमा आउनेजाने गरिरहेका थिए । अशेष मल्ल र म पनि पुग्यौं । लजको सायद तेस्रो तल्लामा उनी बसेका थिए । हामी भ¥याङ चढेर माथि पुग्यौं । 

हामी पुग्दा हरिभक्त काठामाडौं र काठमाडौंका बैगुनी मानिसहरुप्रति आक्रोश पोखिरहेका थिए । काठमाडौंमा रमाएरै बसेका उनी काठमाडौं छोड्न लाग्दा आक्रोशित भएका हुँदा हुन् सायद । मलाई देख्नेबित्तिकै उनी तोप झैं पड्किए, “यो मेरो प्यारो भाइ गोविन्दले समेत मलाई टेरेन । मलाई खाँचो छ, रेडियो नेपालमा गएर मेरो पारिश्रमिक ल्याइदेऊ भनेको, त्यति पनि गरिदिएन ।’’

हरिभक्तले थप भनेका थिए, “भाइ मैले रेडियोमा दुईटा गीत दिएको छु, मलाई भनेपछि एड्भान्स पनि दिन्छन्, त्यति ल्याइदेऊ न है ।’’

मैले नाइँ भन्न सकिनँ । नाइँ भन्नु कसरी । तर मलाई थाहा थियो, रेडियो नेपालमा त्यसरी एड्भान्स दिने चलन छैन । यो बेग्लै कुरा हो, उनी आफैं रेडियो जाँदा, त्यहाँका उनका शुभचिन्तकले खल्तीवाटै दिँदा हुन् । नत्र रेडियो नेपालबाट पारिश्रमिक लिन करार तयार हुनुपर्ने, त्यो करार लिएर गएपछि मात्र एकाउन्टले भुक्तानी दिने गथ्र्याे । हरिभक्तले भनेजस्तो एड्भान्स लिन मिल्दैनथ्यो । न म नै खल्तीबाट पैसा निकाल्न सक्ने हैसियतको थिएँ । त्रिविको लिखुरो लेखापाल जागिरले काठमाडौं धान्ने महाभारतमा जो थकित–गलित युवा जीवन बिताइरहेको थिएँ ।

हरिभक्तले नै भनेका थिए, “अगमसिं गिरी नेपालबाट फर्कने बेलामा काठमाडौंसँग निकै क्रोधित थिए । उनले सकेसम्म नेपालै फर्कन्न, आउनै परेछ भने झापा, विराटनगरसम्म आउँछु, काठमाडौं आउन्न भनेका थिए । तर उनी त्यसपछि नेपाल नटेकी बिते । म पनि अब काठमाडौं आउन्न ।’’

तर नियतिको खेल मान्नुपर्छ, हरिभक्त पनि गएपछि फर्केनन् । उनी गएको केही समयपछि अस्पतालमा भर्ती भएको खबर आयो । त्यसपछि उनी दिवङ्गत भएको खबर आयो ।

हरिभक्तले काव्य लेखे । कविता लेखे । गीत लेखे । कथा लेखे । तर प्रतिष्ठा उनले कवितामा पाए अनि लोकप्रियताचाहिँ गीतमा । 

हरिभक्तको काठमाडौं बसाइ एक मिथक थियो । उनको जीवनशैली पनि मिथक नै थियो । तर उनी दिवङ्गत भएको धेरै वर्षपछि उनका बारेमा यौटा नयाँ मिथक जन्मेको छ । उनको डायरी । जुन हरायो । या कसैले उडायो । या बेपत्ता पार्यो । 

हरिभक्तलाई नजिकबाट चिन्नेहरु छन् । सङ्गत गर्नेहरु छन् । माया गर्नेहरु छन् । सबलाई थाहा छ, हरिभक्त साथमा कलम बोक्दैनथे । उनको हातमा पुस्तक हुन्नथ्यो । उनी यस्तो स्वतन्त्र मिथकीय जीवन बाँचिरहेका थिए, उनको बासको टुङ्गो थिएन । उनी लगाएको लुगामै कैयन् दिन बिताउँथे । उनले डायरी लेख्ने, डायरी राख्ने कुरा पनि एक प्रकारको किंवदन्ती नै थियो । लगभग २०३६ सालदेखि नियमित मैले भेटेँ उनलाई । सडक कविता क्रान्तिमा महिनौं सँगै हिँड्यौं । हप्ताभन्दा बढी तनहुँ र पोखरा साथै भ्रमण गर्यौंं । डायरीको प्रसङ्ग र छनक कहिल्यै पाइएन । न अरु कसैबाट सुनियो । उनी डायरी राख्ने स्वभावकै व्यक्ति थिएनन् । उनीसँग रचनाको स्टक नै हुन्नथ्यो । मागेपछि लेखेर दिन्थे । उनीसँग रचना माग्नेहरु हुन्थे, तर उनीसँग रचना हुँदैनथ्यो । त्यो मिथकीय डायरी भएको भए त्यसको उपयोग उनी अवश्य गर्ने थिए । 

हरिभक्त कटुवालसँगै उनको त्यो ‘दुर्लभ डायरी’ पनि अब मिथक भइसकेको छ । 

२७ नोभेम्वर २०१९
फल्स चर्च, भर्जिनिया, अमेरिका ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १०:१५
प्रतिक्रिया दिनुहोस्