काठमाडौं । नेपालमा आयोजना हुन लागेको साग आउन अब केही दिन मात्र बाँकी छ । १४ गतेबाट सुरू हुने साग प्रतियोगिताको मुख्य केन्द्रको रुपमा रहेको छ फुटबल प्रतियोगिता ।
साविक विजेताको रुपमा रहेको नेपालले पहिलो खेलमा बंगलादेशसँग खेल्दै प्रतियोगितको सुरुआत गर्ने भएको छ । निकै नै रोमाञ्चक प्रतियोगिताको रुपमा लिएको फुटबलमा पाकिस्तानले सहभागिता नजनाउने भएको छ । यस्तै पाकिस्तानपछि भारतले पनि प्रतियोगितामा सहभागिता नजनाउने लगभग पक्का भइसकेको छ ।
नेपालका लागि बलियो प्रतिद्वन्द्वीको रुपमा रहेको भारतले सहभागिता नजनाउँदा दर्शकहरुलाई केही नरमाइलो भने भएको छ । नेपाली दर्शकहरुले भारतलाई आफ्नो मुख्य प्रतिस्पर्धीको रुपमा लिने गर्दछन् । यहि अवस्थामा नेपाली प्रशिक्षक र कप्तान पनि भारत सहभागिता नजनाउने भएकोमा खुसी भने छैनन् । नेपाली टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले भारत सहभागिता नजनाउँदा खेलको रोमाञ्चकतामा पनि कमि आउने बताए ।
“दक्षिण एसियाकै बलियो टोली मानिने भारत सहभागिता नजनाउँदा हामीलाई केही नराम्रो अनुभुति भने भएको छ । १२ औँ सागमा हामीले भारतलाई हराउँदै फुटबलको उपाधि जितेका थियौँ । त्यो समय अन्य उपाधि कमै जितेपनि फुटबलको उपाधि जित्दा सागको प्रथम टोली जस्तौ अनुभुति भएको थियो । झनै घरेलु मैदानमा हुन लागको सागमा भारतलाई हराउँदै उपाधि जित्न पाएको भए घेरै खुसि मिल्ने थियो,” महर्जनले भने ।
नेपाली टोलीले सागका लागि दशरथ रंगशालमा सोमबार देखि तयारी गरिरहेको छ । करिव साढे चार वर्षपछि रंगशालमा तयारी गर्न पाएकोमा बेग्लै खालको उर्जा मिलेको खेलाडीहरु बताउँन्छन् । नेपाली टोलीमा रहेका धेरै खेलाडीहरुका लागि साग प्रतियोगिता नयाँ भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने आशा लिएको छ ।
“घरेलु मैदानमा हुने सागमा कप्तानीको जिम्मेवारी पाएको छु, सागलाई प्रतिस्पर्धात्म रुपमा लिएका छौं । घरेलु मैदानमा भएको सागमा स्वर्ण जित्ने हाम्रो मुख्य लक्ष्य हो । घरेलु समर्थकको साथ र हौसलाले हामीलाई प्रतियोगितामा झनै सहयोग मिल्नेछ,” कप्तान सुजल श्रेष्ठले भने ।
नेपालका लागि हरेक फुटबल प्रतियोगितामा बाधकको रुपमा रहेको फुटबल खेलमा भारतले सहभागिता नजनाउँदा दर्शकहरुको संख्यामा पनि कमी आउने अनुमान सहजै लगाउन सकिन्छ । सागका खेलहरु हेर्ने दर्शकका लागि टिकटको व्यवस्था पनि गरिएको छ ।
“भारतलाई हराउँदै स्वर्ण जित्न पाएमा हामीलाई सहज हुने थियो । अन्य देशहरुको टोलीहरु पनि बलियो छन् । टोली मिलेको छ । नयाँ आएका खेलाडीहरुले पनि राम्रो प्रदर्शन गरिरहेका छन् । सबैको लक्ष्यनै स्वर्ण जित्ने हो,” श्रेष्ठले भने ।