काठमाडौं । घरेलु मैदानमा आयोजना हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन नौ दिन बाँकी छ । समय घर्किँदै गए पनि पूर्वाधारले पूर्णता पाएका छैनन् । प्रतियोगिताको मूख्य आकर्षकका रुपमा रहेको फुटबल मैदान पूर्णरुपमा बनेको छैन । मैदान बनाउने काम चलिरहे पनि प्यारापिटको काम भर्खरै सुरु भएको छ ।
एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला समयमै सम्पन्न नहुँदा विश्वकप छनोटमा कुवेतविरुद्धको खेल पनि नेपाली फुटबल टोलीले घरेलु मैदानमा खेल्न पाएन । उता पोखरामा अभ्यास गरिरहेको महिला फुटबल टोलीले पनि आफू खेल्ने मैदान हेर्नसमेत पाएको छैन । प्यारापिटको काम चलिरहेको छ भने रंगशालामा दुबो बिछ्याउने कार्य भइरहेको छ ।
फुटबल मात्र होइन सागमा हुने भनिएका धेरै खेलहरुको तयारी खेल हुने स्थानभन्दा अलग छ । उसोत, सबै खेलको तयारी खेल हुने स्थानमा गरिनु पर्दछ भन्ने पनि होइन । अन्तर्राष्ट्रिय नियम र मान्यताअनुसार खेल हुने स्थानमा प्रशिक्षण नहुने भए पनि घरेलु खेलाडीको हकमा खेल हुने स्थानमा तयारी गर्दा खेलाडीहरुको तयारीमा धेरै फरक हुन्थ्यो ।
उनीहरुका लागि अन्य देशका खेलाडीजस्तै मैदान अहिले विरानो छ । भौतिक पूर्वाधारको तयारी भइरहँदा खेलाडीहरुलाई खेल हुने मैदानको बारेमा पूर्णरुपमा जानकारी छैन । अन्य देशका खेलाडीजस्तै ।
महिला–पुरुष फुटबल
सागमा पदकको अपेक्षा गरिएकोमध्ये फुटबल पनि एक हो । लामो समयपछि दशरथ रंगशालामा खेल्न उत्साहित खेलाडी मैदानबारे अनविज्ञ छन् । अहिले टोलीमा रहेका केही खेलाडीले दशरथ रंगशालामा खेले पनि नयाँ खेलाडीमा अनुभव छैन । सधैँ तयारी गरिरहेको स्थानमा खेल्न पाएमा खेलाडीको प्रदर्शनमा उत्कृष्टता आउने स्वाभाविक हो । तर समयमै पूर्वाधार नबन्दा यी सबै सुविधा नेपाली खेलाडीहरुले गुमाइसकेका छन् । अब खेलाडीले खेल हुने अघिल्लो दिन एक घण्टा अभ्यास गर्न पाउनेछन् ।
“घरेलु मैदानको फाइदा, खेल हुने मैदानमा तयारी गरेर मात्र हुन्छ भन्ने छैन्, यहाँको हावा, पानी र समर्थकको हिसाबले पनि घरेलु मैदानको फाइदा लिन सहज हुन्छ । तर, घरेलु टोली भएका नाताले खेल हुने स्थानको राम्रो जानकारी लिन पाएमा प्रदर्शमा पनि उत्कृष्टता हुने थियो । उनीहरुले गर्ने प्रदर्शन पनि फरक खालको हुने थियो । त्योबाट नेपाली खेलाडी बञ्चित भएका हुन्,” एन्फाका लिग डाइरेक्टर सञ्जिव मिश्रले बाह्रखरीसँग भने ।
नेपालमै हुने प्रतियोगिताका लागि नेपाली खेलाडीले घरेलु मैदानमा तयारी गर्न पाएको भए उनीहरुले बेग्लै खालको अनुभुति लिनसक्थे ।
बास्केटल बल–एथ्लेटिक्स
नेपालले स्वर्ण जित्ने लक्ष्य राखेको खेलमध्ये अर्काे एथ्लेटिक्स हो । एथ्लेटिक्सका खेलाडीहरु पनि सागअघि एथ्लेटिक्स हुने स्थानमा पाइला टेक्न पाएका छ्रैनन् । उनीहरुले भद्रकालीस्थित आर्मीको ग्राउन्डमा सागको लागि तयारी गरिरहेका छन् । लामो समय पछि घरेलु मैदानमा हुन लागेको सागका लागि खेलाडीहरु उत्साहित त छन् । तर, उनीहरुलाई एथ्लेटिक्स हुने स्थानमा तयारी गर्न नपाउँदा दुःख भने लागेको छ ।
“पहिलो पटक सागमा भाग लिँदैछु । खेल हुने स्थानका बारेमा धेरै जानकारी छैन । जानकारी लिएको भए पनि खेल प्रदर्शनमा केही सहज हुने थियो । तर, साग आउन केही दिन बाँकी रहँदा मैदान हालसम्म खेल स्थल देखेको छैन्,” एक एथ्लेटिक्स खेलाडीले भने ।
यता त्रिपुरेश्वको कबर्डहलमा हुने भनिएको बास्केटबलको खेल पनि हालसम्म कबर्डहलमा भएको छैन । धरानमा तयारी गरेको बास्केटबल टोलीले त्यसपछि हाल छाउनीमा तयारी गरिरहेको छ । बास्केटबल हुने भनिएको त्रिपुरेश्वर कवर्डहलमा भलिबल तथा ब्याट्मिन्टनको तयारी भइरहेको छ ।
घरेलु मैदानमा तयारी नगर्दाको असर
घरेलु मैदानमा नै तयारी गर्न नपाउँदा खेलाडीको प्रदर्शनमा धेरै असर पर्दछ । यदि खेल हुने मैदानमा नै तयारी गरेर प्रतियोगितामा भाग लिन पाएमा खेलाडीले तयारी गरिरहेको सरह हुनेछ । उनीहरुको प्रदर्शन पनि बेग्लै हुने खेलकुद पत्रकार निरन्जन राजवंशीको बुझाइ छ ।
बाह्रखरीसँगको कुराकानीमा राजवंशीले भने, “घरेलु मैदानको फाइदा लिन नेपाली खेलाडी वञ्चित भएका छन् । घरेलु मैदानमा खेलाडीले गर्ने प्रदर्शन फरक खालको हुने भएकाले नै होम एण्ड अवे प्रणाली ल्याइएको हो । नेपाली खेलाडीहरुले घरेलु मैदानको फाइदा लिन नसके पनि घरेलु समर्थकको फाइदा भने उठाउन सक्नुपर्छ ।”