site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नशामा हराउँदै युवा

ऊ एक युवा भए पनि उसको दैनिकी सामान्य युवाको भन्दा निकै फरक छ । उसको संसार भिन्दै छ । उसलाई सधैँ त्यही संसारमा हराउन मन पर्छ । यो उमेरमा स्वाभाविकरुपमा हुनुपर्ने जोस जाँगर, ऊर्जा र होसलाई नशाको बेहोसीले हटाएको छ । ऊ घर फर्के रातको एघार बाह्र बजे लरखराउँदै फर्कन्छ । 

उसको भौतिक उपस्थितिले मात्र पनि घरमा त्रासको वातावरण सृजना गरिरहन्छ । घरमा ऊ छिरेसँगै सामानहरुको ड्याङड्याङ आवाज र चर्को बोली बाहिरैसम्म सुनिन्छ । त्यस घरका मान्छे र ऊ बीच घमासान भइरहेको छिमेकीले थाहा पाउँछन् । घरमा आउँदा  नियमितरुपमा दोहोरिरहने घटना हुन् यी । तर ऊ नियमितरुपमा घर आउँदैन । 

नशाले सुकिसकेको ज्यान, डरलाग्दो ट्याटु खोपेका हातहरु, लठ्ठिएका आँखाहरु, ठाउँठाउँमा प्वाल परेका लुगाहरुले होस हवासको  कुनै ठेगाना नरहेको संकेत गरिरहेको हुन्छ । सँधैजसो नशा सेवन गर्ने पैसाका लागि घरमा आमाबासँग लडाइँ गरिरहन्छ । कतिपय अवस्थामा पैसा घरबाट वा अन्यत्रबाट चोरेरै भए पनि आफनो तलतल मेट्न बाध्य  हुन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

उसको भविष्य अन्धकारमय बनेको छ । उसको खराब आनीबानीका कारण अभिभावकले सामना गरिरहेको पीडाको कुनै सीमा छैन  । उनीहरुलाई उसका कारण बाँच्नै मुस्किल भएजस्तो लाग्छ । 

हो ! ऊ लागु पदार्थ प्रयोग गर्नेे दुर्व्यवसनी हो । जीवनका महत्त्वपूर्ण क्षणहरुलाई नशा लिने इन्जेक्सनमा बन्धकी  राखेको छ उसले  । उसमा न त कुनै महत्वाकांक्षा छ न लक्ष्य नै । ऊ दुर्व्यवसनी भएको धेरै भएको छैन । तर, कसरी ऊ यो लतमा फस्न पुग्यो घरका सदस्यले बुझ्न सकिरहेका छैनन् । जन्मदै मरेको भए जाति हुन्थ्यो भन्ने दुखेसो आमाले भन्नुपर्दा आमाका त्यसभन्दा दुःखको कुरा के नै हुनसक्ला ? 

Global Ime bank

सुधार हुने आशामा पटक पटक पुनःर्स्थापना केन्द्रमा उसलाई लगिन्छ तर धेरैदिन त्यहाँ पनि टिक्न सक्तैन । जीवनको यति महत्त्वपूर्ण उमेरमा प्राकृतिकरुपमा हुने ऊर्जालाई कुलतले ओझलमा पारेको छ । बिल्कुलै फरक छ उसको जीवनशैली । नशा सेवन गर्नुअघि र नशाको असर सकिएपछि ऊ निक्कै असल व्यवहार देखाउँछ । आफूले गरेको गल्तीको पछुतो पनि गर्छ । सुध्रने प्रतिबद्धता पनि जाहेर गर्छ । तर, यस्तो समय धेरै लामो हुँदैन । पुनः  उकुसमुकुस र छटपटी बढेसँगै आफ्नै संसारमा हराउँछ । 

कहिलेकाँही ऊसहित उजस्ता अन्य युवालाई प्रहरीले  पक्रेर  एक दुईदिन खोरभित्र राख्छ । तर, यस्ता कुनै उपायले खासै फरक पर्दैन । मुक्त भए पुनः लागु पदार्थको लतले बन्दी बनाउँछ । यस्ता घटना दोहोरिरहन्छन् ।

उसले समाजमा लागु पदार्थको दलदलमा फसिरहेका कैयौं युवाको प्रतिनिधित्व गर्छ । समाजमा अचेल धेरैजसो स्थानमा यस्ता युवा निकै भेटिन्छन् । यो हाम्रो समाजको कहालीलाग्दो वास्तविकता हो ।  अझ यस्ता युवाका अभिभावकको पीडा त अनुभव नै गर्न सकिँदैन । यस्ता युवा नशाको कुलतमा कसरी परे भन्ने कारण बेग्लाबेग्लै भए पनि यस्तो समूह दिन प्रतिदिन बढीरहेको देखिन्छ । 

लागु पदार्थ सेवनको समस्या संसारका धेरैजसो मुलुकले झेलिरहेका छन् र यो प्रमुख चुनौतीका रुपमा अघि आएको छ । यसलाई सम्बोधन गर्न विश्वव्यापी संकल्प र सहकार्य आवश्यक छ । विभिन्न तथ्यांकका आधारमा सबैभन्दा बढी दुर्व्यवसनको सिकार हुने उमेर १६ देखि २० वर्षसम्म हो । संसारभर नै यही उमेरमा धेरैजसो युवा यो दलदलमा परिरहेको मानिन्छ । यो संख्या प्रत्येक वर्ष बढीरहेको छ । 

लागु पदार्थ सेवनका कारण शरीरका प्रमुख अंगहरु जस्तै मुटु, कलेजो र सबैभन्दा बढी दिमागको स्वाभाविक कार्यगत संरचनालाई क्षति पुग्छ । यसले आत्महत्यासम्मका भयावह स्थितिमा पुर्‍याउन बेर लगाउँदैन । अर्कातर्फ लागु पदार्थ दुर्व्यवसनीले  समाजमा हिंसात्मक गतिविधिहरु बढाइरहेका छन् । यसले समाजमा भौतिक र सामाजिक अस्थिरता उत्पन्न हुन्छ । व्यक्ति वा परिवारको मात्र नभई यो राज्यकै प्रमुख समस्याका रुपमा देखा परेको छ । 

लागु पदार्थको दुर्व्यवसन नियन्त्रण वास्तवमै चुनौतीपूर्ण छ । संसारमा लागु पदार्थ नियन्त्रण गर्न हिंसात्मक उपाय अपनाएको उदाहरण पनि छन् । जस्तै फिलिपिन्स र अमेरिकाले गरेका प्रयासहरु । तर, जस्तो उपाय अपनाए पनि यो विकृति पूर्णतः निस्तेज पार्न सकिएको छैन । 

बाटो बिराएका युवाको जमात देख्दा एउटा प्रश्न उब्जिन्छ — किन मूल्यवान् जीवनलाई यति अर्थहीन बनाइरहेका छन् यिनीहरु ? कता चुकिरहेका छौँ  हामी ? कता चुकिरहेको छ स्वयं व्यक्ति ? कता चुकिरहेको छ समाज र सरोकारवाला निकाय ? र यो अवस्था आउन नदिन र आइसकेका जटिलतालाई नियन्त्रण गर्ने उपाय लागु गर्न कता चुकिरहेका छन् राज्यका नीति र सरकारी संयन्त्रहरु  ?

नेपालको सन्दर्भमा लागुपदार्थ दुर्व्यवसनको अवस्था डरलाग्दो हुनुमा थुप्रै कारण जिम्मेवार रहेका छन् । कोहि साथीभाइको लहलहैमा यसमा अल्झेका छन् । कोही तनाव बिर्सन नशालु पदार्थको सेवन गरिरहेका हुन्छन् ।   नेपालमा लागु पदार्थको बिगबिगी बढ्नुमा  खुला सिमानाबाट हुने तस्करी नै सबैभन्दा मुख्य कारण देखिएको छ । भारतबाट अवैधरुपमा दिनहुँ ठूलो मात्रामा लागु पदार्थ भित्रिरहेको हुन्छ । लागु पदार्थको तस्करी रोक्ने सरकारको कुनै पनि योजना प्रभावकारी हुनसकेको छैन् । राज्यले लागु पदार्थको ओसारपसार रोक्नमा प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

अभिभावकहरुले सन्तानप्रतिको जिम्मेवारी राम्ररी पूरा नसक्ता वा आमाबुवाको स्नेह नपाएका कारण बालबालिकामा एक्लो भएको भावना विकास हुँदैजान्छ र यस्ता गलत कर्मतर्फ उनीहरुको झुकाव बढ्छ । गरिबी,  अनुकूल वातावरणको अभावका कारण जीवन उद्देश्यहीन भएपछि पनि धेरै नशाको चपेटमा पर्छन् ।  शैक्षिक संस्थामा बालबालिका र युवालाई सकारात्मक सोच प्रदान गर्ने सन्तुलित आचरणको विकासका लागि आवश्यक नैतिक तथा व्यावहारिक शिक्षाको अभाव छ । इन्टरनेट र संचार प्रविधिको प्रयोग र पहुँचका कारण पनि यस्ता विकृति निम्तिएका देखिन्छन् । 

लागु पदार्थकोे प्रयोग अनियन्त्रितरुपमा बढिरहेसँगै यसबाट पार पाउन चुनौतीपूर्ण भए पनि क्रमिकरुपमा यसबाट युवालाई कसरी सुरक्षित राख्ने भन्ने उपायको खोजी आजको प्रमुख आवश्यकता हो । यसका लागि व्यक्ति, संस्था, समाज, राज्य, अन्तर्राष्ट्रिय जगत् सबैको जागरुकता र हातेमालोको आवश्यकता छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement