चितवन । सीमा अतिक्रमणका विषयमा सरकार मौन रहेको भन्दै चितवनबासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन ।
साविक चित्रवन सर्वपक्षीय सरोकार समाजले नेपालको भूभाग भारतको नक्सामा पारिएको विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । भारत विरोधी प्लाकार्ड बोकेका उनीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत आज प्रधानमन्त्री तथा नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
समाजका संयोजक तोपमान सिंह गुरुङ्ले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको नै रहेको र नेपालकै रहने भन्दै भारतले आफ्नो नक्सामा राखेकोप्रति सबैको चिन्ता र चासो भएको बताए ।
नेपालको तीन सय ७४ हेक्टर क्षेत्रफल जमिन भारतले आफ्नो नक्सामा हाल्दा पनि सरकारले त्यसविषयमा सकृय रुपमा काम गर्न नसकेको ज्ञापनपत्रमा उल्लेख छ । समाजले नेपाली भूमिमा भारतीय सेना तत्काल हटाई सीमा विवादको दिगो समाधान खोज्न नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।