चितवन । कृषिक्षेत्रलाई प्रविधिमैत्री बनाई उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ ।
एउटै थलोमा विश्वका कृषिको नविनतम प्रविधिको जानकारीका साथै प्रविधिको प्रयोग होस भन्ने लक्ष्यले मंसिर ६ गतेदेखि ९ गतेसम्म चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा प्रदर्शनी गर्न लागिएको हो ।
आयोजक संस्थाका रुपमा नेपाल कृषि तथा पशुपंक्षी मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमि व्यवस्था कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ३ र कृषि मेशिनरी व्यवसायिक संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।
आयोजकले बुधबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको छ ।
कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका वारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ यो प्रदर्शन गर्न लागिएको कृषि व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले बताए ।
उनका अनुसार भारत, चीन, बंगलादेशलगायत २० राष्ट्र र नेपालका गरी एक सयभन्दा बढी स्टलहरु रहनेछन् । प्रर्दशनीमा दुई हजारभन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरुलाई प्रदर्शनीमा राखिने उनले बताए । नेपालमा परम्परागत तथा निर्वाहमुखी खेतीलाई रुपान्तरण गरी कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढाउनका यो प्रदर्शनी गर्न लागिएको संघका महासचिव कृष्ण शर्माले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ प्राविधिक जगन्नाथ तिवारीले आयआर्जनका क्रममा युवाहरुलाई सहभागी गराउन र उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रर्दशनीलाई प्राथमिकता दिइएको बताए ।
प्रदर्शनीमा देशका ७० वटा जिल्लाभन्दा बढी जिल्लाका ३५ हजारभन्दा बढी कृषकले प्रर्दशन अवलोकन गर्ने अपेक्षा लिइएको छ । १० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी संस्था, कृषक समूह, कृषि सहरकारी संस्था, वैज्ञानिक, शिक्षक, विद्यार्थीहरुले अवलोकन गर्ने आयोजकको दाबी छ ।
प्रदर्शनीमा कृषि औजार, उपकरण उत्पादक उद्यमी व्यवसायीहरु, आयातकर्ता, वितरक, डिलरहरुले प्रदर्शनी गर्नेछन् । २०७० सालमा नारायणी नदी किनारवाट सुरु गरिएको यो प्रदर्शनी दोस्रो पटक २०७२ सालमा बाँके र तेस्रो प्रदर्शनी २०७४ सालमा धरानमा प्रदर्शनी गरिएको थियो ।