काठमाडौं । आर्ट काउन्सिलको माथिल्लो तल्लामा मंगलबार सेतो कपाल, ढाका टोपी र खैरो रङ्गको डाउन ज्याकेटमा खैरै रङगकै पाइन्ट लगाएर लवलोकनकर्ताको जिज्ञासा मेटिरहेका थिए एक वृद्ध । उनी पछिल्लो तीन दिनदेखि चित्र हेर्न आएका अवलोकनकर्ताहरुलाई आफ्नो चित्रहरुबारे बुझाइरहेका छन् । उनी हुन्, ७६ वर्षिय चित्रकार क्षेत्रमान कायस्थ ।
उमेरले साढे ७ दशक पार गरे पनि उनको चित्रकलाप्रतिको मोह पनि कत्ति पनि घटेको छैन । उनी पोखरादेखि चार दिने चित्रकला प्रदर्शनीका लागि काठमाडौं आएका हुन् । बबरमहलस्थित आर्ट काउन्सिलमा उनको १३ औं एकल चित्रकला प्रदर्शनीका लागि उनी काठमाडौं आएका हुन् । मंसिर १ गते आफ्नो ७६ औँ जन्मोत्सवको उपलक्ष्यमा आयोजना गरिएको चार दिने प्रदर्शनीमा उनको उमेर जति नै ७६ वटा चित्रकलाहरु प्रदर्शनीमा राखिएका थिए ।
(‘कलायात्रा ७६’ समुन्द्र सतहदेखि हिमालपारिसम्म) शीर्षकमा राखिएका चित्रकलाहरु मध्ये ३० वटा एब्सट्रयाक (अमूर्त) र ४६ वटा ल्यान्डस्केप (परिदृश्य) चित्रकलाहरु समावेश थिए । अरु ल्यान्डस्केपभन्दा फरक उनले आफ्नै शैली दिएका थिए ।
उनी विशेष एक्रिलिक र वाटर कलरको प्रयोग गरि क्यानभासमा चित्रहरु उतार्छन् । उनले माथिल्लो मुस्ताङका दूर्लब क्षेत्रको अवलोकबाट त्याँहाको ठाँउलाई १५ वटा चित्रमा उतारेका छन् । अष्ट्रेलिया यात्रामा विशाल अनि सुन्दर समुन्द्र किनारलाई १५ वटा चित्रमा चित्रण गरेका छन् ।
चाहाना हुँदाहुँदै पनि जान असमर्थ व्यतिmहरुको लागि चित्रमार्फत भएपनि ती सुन्दर क्षेत्रसम्म पुर्याउने उद्देश्यले चित्र कोरेको उनले सुनाए । उनले यो पटक २०२२ सालदेखिको अहिलेसम्म बनाएका चित्रहरु प्रदर्शनमा राखेका थिए । ७६ चित्रकलामध्ये केही त्यस्ता विशेष चित्रहरु पनि उनले प्रदर्शनीमा राअे, जुनसँग उनको भावनात्मक सम्बन्ध र केही सम्झनाहरु पनि जोडिएका छन् ।
एक्रिलिकको प्रयोगबाट बाँसको पत्तामा उतारेको चित्र देखाउँदै सम्झनामा डुबुल्की मार्दै उनी ५४ सालतिर फर्किन्छन्, र भित्तातिर देखाउँदै भन्छन्, “ऊ त्यो चित्रबाट महेन्द्र सरकारबाट मैले पुरस्कार पाएको थिएँ ।” राजा महेन्द्रले पुरस्कृत गरेको त्यो चित्र वेदनामा आधारित छ । मानिसभित्र कुण्ठित वेदनालाई उनले एब्स्ट्रायक फर्ममार्फत उतारेका हुन् ।
एब्स्ट्रायक चित्रलाई आफूभित्र भएको रिस, छलकपटलाई लत्याएर प्रेम, करुणा, सदभावको दुष्टिले हेर्न उनलाई आग्रह गरे ।
अर्को उनको भावनासँग जोडिएको चित्र ल्यान्डस्केप चित्रमा पर्दछ । जुन २०२२ सालमा उनले पोखरा लेकसाइडको गौरीघाटमा डोकोमा भारी बोकेर आइरहेकी एक महिला र सँगै पानी भरिएको गाग्री बोकेर आइरहेकी अर्की महिला तथा लेकसाइडमा लुगा धुँदै गरेकी महिलाको चित्र छ । त्यही चित्रमा दुई जना नुहाउँदै गरेका बालकहरुलाई रङ् र ब्रसले क्यानभासमा उतारेका छन् ।
यो उनको प्रदर्शनीमा राखिएको पहिलो चित्रकला थियो । उनको त्यो चित्र र अर्को पहिलो पटक भोजपत्रमा कोरेको चित्रले धेरै तारिफ कमाएका थिए ।
एब्स्ट्रयाक पेन्टिङगमा एक कलाकारले रङगको मात्रै प्रयोग गरेर क्यानभासमा कुनै आकृति दिएको हुन्छ । तर, त्यो आकृति हरेक अवलोकनकर्ताको लागि फरक फरक हुने गर्छ, किनभने त्यसमा एक व्यतिmले एकाग्र भएर अध्ययन गरेर उसको शान्त मन र दिमागले जे कल्पना गर्यो त्यसमा त्यहि आकृति नजर आउने उनले बताए ।
अहिलेको कोलाहल र दौडधुपमा मान्छेको मन र दिमाग स्थिर नहुने अवस्थामा यी एब्स्ट्रयाक चित्रहरुले मान्छेलाई केही समयको लागि भएपनि एकाग्र बनाउने क्षमता राख्ने उनको भनाइ छ ।
पोखरामा जन्मिएका उनी ढुंगाले बनेका बाटोहरुमा हिड्दै हुर्किए । विभिन्न आकारका ठूलाठूला ढुंगा देखेर उनलाई ती ढुंगामा केही कोर्न मन लाग्थ्यो । उनी सानो ढुंगा टिपेर ठूलाठूला ढुंगामा आफूले देखेका गाई, भैसी र घरहरुको आकृति कोरेर रहर पूरा गर्थे । उमेर बढेसँगै उनको चित्रकलाको रुचि प्रगाढ हुन थाल्यो । आफ्नो जस्तै रुचि राख्ने अरु सहकर्मीहरुसँग समयसमयमा दुईतीन महिनाको लागि कुनै नयाँ ठाउँ जान्छन् । त्यसलाई दृश्यलाई चित्रमा उतार्छन् । उनले यो रुचिलाई अहिलेसम्म पनि निरन्तरता दिएका छन् ।
उनलाई कुची र रङसँग खेल्न श्रीमतीले सधैँ साथ दिइन् । श्रीमतीको निधन अघिसम्म उनी श्रीमतीको साथमा लेकसाइडमा १० वर्षजति ग्यालरी खोलेर बसे । उनलाई श्रीमतीसँगै छोरा, बुहारी र छोरी ज्वाईं र उनको पोखरामा रहेको कलाकार क्षेत्रलाल कायस्थ कला प्रतिस्ठानका सदस्यहरुको सहयोग गरिरहेका छन् ।
उनले अहिलेसम्म हजारभन्दा धेरै चित्रहरुमा कोरीसके । पृथ्वीनारायण क्याम्पस पोखरामा ३७ वर्ष प्रशासनमा रहेर काम गरे । तर त्यो समयमा पनि उनले चित्र कोर्न भने कहिले छोडेनन् । अहिले उनी अवकाशप्राप्त जीवन विताइरहेका छन् । तर चित्रकलाबाट भने उनले अवकाश लिएका छैनन् । उमेर बुढो भयो तर चित्रकलाप्रतिको मोह र रहर बुढो भएको छैन । ‘कलायात्रा’ नामक पुस्तक प्रकाशनको तयारीमा उनी दृढ सुनिए, “जबसम्म सक्छु, चित्र कोरी नै रहन्छु ।”