चितवन । डेंगुका कारण केही हप्ताअघिसम्म सुस्ताएको चितवनको पर्यटनमा केही आशा र उत्साह थपिएको छ । मंगलबारबाट जारी नवौं विश्वसम्मेलनमा बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढेपछि यहाँको पर्यटन क्षेत्रमा आशा थपिएको हो ।
सौराहामा वन, वन्यजन्तु तथा जैविक विविधतासम्बन्धी विषयमा विश्वका ७० भन्दा बढी राष्ट्रका पाँच सय ५० भन्दा बढी संरक्षणकर्मी सहभागी भएका छन । उनीहरुबाट एकैपटक ७१ देशमा सकारात्मक सन्देश जाने भएकोले दिर्घकालीन रुपमा पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने आशा रहेको व्यवसायीहरु बताउँछन् ।
क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष दिपक भट्टराई सम्मेलन सुरू भएसँगै सौराहमा चहलपहल एवं गतिविधि बढेको बताउँछन । "एसियामै पहिलोपटक यस्तो सम्मेलन हुनु नेपालकै लागि गौरवको विषय हो", उनले भने, "हामीलाई यसले केही उत्साह र अवसर समेत सिर्जना गरेको छ ।"
उनका अनुसार हाल सौराहाका सबै जसो होटलमा बाह्य तथा आन्तरिक पर्यटकको चहलपहल बढ्दो छ । भ्रमण वर्षलाई लक्षित गरी सौराहाको पर्यटनलाई थप चलायमान र प्रभावकारी बनाउन हात्ती महोत्सवको तयारी गर्न लागिएको भट्टराइले जानकारी दिए ।
सम्मेलनका कारण होटलका साथै सफारी तथा अन्य आर्थिक गतिविधि समेत बढेको छ । बिहानदेखि राति अबेरसम्म सौराहामा होटल, पब, एवं नदी किनाराका रेष्टुरेण्टमा उल्लेखनीय रुपमा पर्यटकहरु रहेको संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए । "संरक्षण र सौराहा एक अर्काका परिपुरक हुन्, यसले हामीलाई केही आशा र उत्साह थपेको छ", उनले भने ।
भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । अन्तर्राष्ट्रिय समुदायमा नेपाल हिमाल तथा बुद्धको भूमिको रुपमा परिचित भएपनि यस सम्मेलनबाट पर्यटकमा नयाँ सन्देश जाने उनको भनाई छ ।
होटल, हात्ती सफारी, जीप सफारी, डुंगा सफारीलगायत रेष्टुरेण्ट तथा बारहरुमा उत्तिकै चहलपहल बढेको बताउँछन क्षेत्रीय रेष्टुरेण्ट एण्ड बार एशोसियन, नेपाल (रेवान) सौराहाका पूर्व अध्यक्ष गोकर्ण गिरी । "यो सम्मेलनले एकदमै सकारात्मक सन्देश जाने हामीले ठानेका छौं," उनले भने, "तत्काल यसले त्यति ठूलो प्रभाव नपारे पनि दीर्घकालिन रुपमा पक्कै पार्छ ।"