पहाडमा पाखाबारीमात्र हैन खेत पनि बाँझो देख्दा चित्त दुख्थ्यो । आफ्नै एक भाइले खेत बाँझै राख्दा ‘अल्छी’ भनेर गाली गरेको थिएँ । अधियाँमा भए पनि खेत रोपिइरहेको थियो । खेत धेरै त छैन तर वर्षको तीन बाली लाग्छ । एक वर्षमा एक बाली अधियाँ पाउँदा पनि तीन वर्षलाई खान पुग्छ । काठमाडौंमा बस्न नथाल्दासम्म खेती आफैँ गरिन्थ्यो । त्यसपछि २०५० साततिरबाट अधियाँ दिइयो । परार (२०७४ साल)सम्म जेनतेन अधियाँ लागेको थियो । पहिले पहिले तीन बाली लगाए सबै बालीको आधा दिन्थे । पछि बर्खे र हिउँदे धानको आधा दिए पनि दुई बालीबीच लगाएको आलु, तोरीे कहिले अडकलेर दिने र कहिले नदिने गर्न थाले । पछिल्लो वर्ष त चैते धान लगाए पनि केही दिएनन् । त्यस वर्ष आधा अधियाँ र आधा आफूले गरिएको थियो । यो वर्ष त त्यही आधा रोप्ने पनि कोही पाइएन । सबै खेत आफैँले रोप्नुपर्ने भयो ।
जोत्न र दाइँ गर्न मेसिन लगाउन पाइने भएपछि रोप्न र गोड्न त हो रोपौँ आफैँ भनेर सल्लाह गरियो । पानी लगाउन खासै दुःख गर्न पर्दैन । खेताला खोज्न कति मुस्किल हुन्छ मलाई थाहा थिएन । थाहा पाउनेले आँटे पनि मैले नमान्ने कुरै भएन ।
चैते धान नलगाउने र असारेको बीउ पनि फेर्ने सल्लाह भयो । बसाइ काठमाडौंको खेती आँबुखैरेनी । म साथी हुनका लागिमात्रै पनि आइरहनुपर्ने भयो । चैते धान नलगाउनेबित्तिकै खेतमा झार उमे्रछ । पहिले चरुवा बस्तुभाउले खान्थे । अब त झाडी हुँदो रहेछ । यसैले बीचमा खेत जोताउनु पर्नेभयो । जोताइयो । बीउ राखियो । राम भन्ने विकासे धान ।
सावित्री लगाउने गरेको थियो । पहिले पहिले आफूले रोप्ता त्यहाँ मसिनो लगाइन्थ्यो । त्यसैले पनि मसिनो लगाउन खोजेको हो । राम भन्ने धान सायद यहाँको हावापानीका लागि उपयुक्त थिएन ! जेहोस्, अलिकति गोरखनाथ, थोरै अनादी अनि धेरैमा राम धान रोपियो ।
ट्य्राक्टर नजाने साना गरामा रोपारहरूले नै कुल्चेर रोेपे । रोपाइँ सकियो । रोपारहरू अलि बढी लाग्यो । रोपाइकै बेला पनि रासायनिक मल (युरिया र कम्पोजिट ?)सँगै झार नआउने विषादि त होला त्यो पनि हालियो । पानी हेरिदिन भनेर काठमाडौं लागियो ।
बीचमा आउँदा रोपो राम्रो भएको थियो । केहीपछि गोडियो । गोड्दा पनि अलिकति मल हाल्ने काम भयो ।
त्यसपछि अलि लामो समय खेतमा कोही गएन । धान पाकेपछि ढलेछ । खेतमा पानी चिर्ने काम राम्ररी हुनसकेनछ । तिहारमा घर आउँदा धान पनि धन्क्याउने मेलो मिलाएर आइयो ।
टीकाको भोलिपल्ट खेतमा जाँदा पो बर्बाद भएको देखियो । अब उपाय केही थिएन । पानी काटेर फाल्न पनि ठाउँ थिएन । जसोतसो पाँजा मिलाएर राख्नुपर्ने भयो । धान काट्न साँधको बराबर क्षेत्रफल भएको भाइको खेतमा भन्दा मेरोमा डेडी बढी खेताला लाग्यो ।
साता दिनजति पाँजा सुकाएपछि जेनतेन मेसिन लगाइयो । अगिल्लो दिनै पाँजा उठाएको थियो । केही चिसो भएकाले मेसिनलाई पनि भाइको खेतमा भन्दा धेरै समय लाग्यो । पराल पनि केही मड्किलो भयो । तै धान धेरै बिग्रन पाएनछ । तर, गएको वर्षजति फलेन ।
पराल र धान खलामा बिकेन । तर सबै हिसाब गर्दा हाम्रो परिश्रमको हिसाब नगर्दा पनि खर्च उठ्ने भएन । धान पराल भनेको भाउमा बिके प्रतिरोपनी २ हजार र नबिके त्योभन्दा बढी नोक्सान पर्ने निश्चितजस्तै छ ।
बल्ल मैले बुझेँ — किन पहाडका खेतबारी बाँझैँ छन् भनेर ।
आफ्नो श्रमको हिसाब नगरी पर्म लगाएर खेती गर्दा बाली भित्रिएका बेला फाइदा भएजस्तो लाग्नेमात्र रहेछ । यस्तो अवस्थामा किसानलाई सरकारले दबाब दिएर त खेती हुँदैन । सरकारले खेती गर्न दिने वा दिएको भनिएको अनुदान पनि मजस्ता किसानले पाउने हैन । मजस्तो निम्नमध्यम वर्गको किसानलाइ राज्यले अनुदान दिनु पनि अझ गरिबको भाग खोस्नु हो । अन्याय हो । मलाई अनुदान चाहिँदैन र अनुदान खोजे पनि सरकार समर्थकबाहेक अरू पाउँदैनन् भन्छन् यहाँका किसानहरू !
म खेत बेच्न पनि सक्तिन । बेचेर मैले त्यो पैसा लगानी गरेर गुजारा पनि चल्दैन । पुख्र्यौली सम्पत्ति सन्तानलाई राखिदिनुपर्छ भन्ने परम्परागत सोच छँदैछ । सन्तानको शिक्षादीक्षा र घर बनाउनबाहेक जग्गा बेचेर खर्च गरेको पनि छैन । अब कि त बाँझै राख्नु पर्ने भयो नत्र सधैँ नै घाटा लाग्ने गरेर सास्ती बेसाइरहनु पर्ने भयो । छोराहरू खेती गर्न आँबुखैरेनीमा आएर बस्न तयार छैनन् ।
अब खेतबारी बाँझो नराख्नका लागि एउटा उपाय छ ।
सरकारले अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम चलाएको छ । न्यूनतम आय नहुनेलाई निश्चित दिन रोजगारी दिन्छ । तर, यो राम्रो उद्देश्यको योजना विभिन्न कारणले आलोचित भइरहेको छ । राजनीतिक विशेषगरी सत्तारुढ दलका कार्यकर्तालाई पोसेको आरोप एकातिर छ भने खर्चको उचित प्रतिफल प्राप्त नभएको आरोप अर्कोतिर छ । त्यसमाथि यही कार्यक्रमका लागि वैदेशिक ऋण लिन लागिएको छ । ऋण लिने हो भने कार्यक्रम उत्पादनमूलक बनाउनुपर्छ । जग्गा नहुनेहरूलाई अरूका बारीमा खेती गर्न यस कार्यक्रमबाट रोजगारी दिने हो भने बाँझा खेतमा बाली लाग्ने, गरिबले रोजगारी र अन्न दुवै पाउने हुनसक्छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँमा गरिबीको रेखामुनिको परिवार पहिचान गरेर अरूको बारीमा खेती गरेबापत रोजगारी दिने । त्यसो भयो भने त्यस्तो परिवारले खेती गर्नेछन् । खेतबारी बाँझो नरहे राज्यलाई फाइदै हुन्छ । मजस्ता जग्गा धनीको पनि खेतमा खेती हुन्छ । एकै खेतीको भए पनि आधा बाली पाइन्छ । उता खेतीका लागि रोजगारी पाउने श्रमिकको घरमा बाली भित्रिन्छ । खाद्य सुरक्षाको सुनिश्चतता हुन्छ । यही क्रम केही वर्ष भनौ न ५ वर्षजति निरन्तर चलाउन सके र त्यो परिवारले पनि चाहेमा गरिबीको चक्रबाट बाहिर निस्कन सक्छ । खान पुग्नेभन्दा बढी अन्न सरकारले समर्थन मूल्यका किनिदिने हो भने सुनमा सुगन्ध हुन्छ ।
यो वर्ष खेती गर्दाको अनुभव हो यो । के प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा सरकारले यसमा ध्यान देला ?