आँबुखैरेनी । कुनै बेला विकास बहसमा ‘ट्रेजेडी अफ कमन्स’ भन्ने शब्दावलीको निकै चर्चा हुन्थ्यो । एउटा साझा गौचरको उदाहरण दिएर त्यसको फाइदा सबैले लिने तर संरक्षण कसैले नगर्ने प्रवृत्तिलाई ‘ट्रेजेडी अफ कमन्स’ भनिएको थियो । दिगो विकासको अवधारणाको सन्दर्भमा पनि यसको चर्चा हुन्थ्यो ।
साझा तर कसैले हेरविचार नगरेको साधन स्रोतको सक्नेजति सबैले मनपरी दोहन गर्छन् भन्ने नै यो ‘साझा स्रोतको दुःखान्त’को तात्पर्य हो । तर, एलिनोर ओस्ट्रोमले नेपालकै कुलोपानीको व्यवस्थापनको अध्ययन उपभोक्ता समूहहरूले साझा सम्पत्तिको पनि सफल व्यवस्थापन गर्छन् भन्ने मान्यता प्रस्तुत गरेकी थिइन् । जेहोस्, आइतबार बिहान र साँझमा देखेको दृश्यले फेरि एकपटक ट्रेजेडी अफ कमन्सको सम्झना गरायो ।
नदी र खोलाहरूबाट ढुंगाबालुवा झिक्ने काम देशैभर व्यापकरूपमा हुन्छ । धेरैजसो स्थानीय तहहरूले यस्तो स्रोत बर्सेनि ठेक्कामा दिन्छन् । आँबुखैरेनी गाउँपालिकाले पनि ठेक्कामा लगाउन टेन्डर खोलेको रहेछ । बढी अंक कबुल गर्ने ठेकेदार सम्झौता गर्नै आएन रे ! दोस्रो र पहिलोका बीचमा धेरै फरक भएर गाउँपालिकाले निर्णय ठेक्का दिन सकेन ।
ठेक्का नलागेपछि ढुंगाबालुवा ‘साझा’ भई त गयो । गाउँपालिकाले रोकेको त छ तर ‘चोरी’ रोकिएको छैन । बिहान पृथ्वी राजमार्गबाट कुँडुलेमा मस्र्यांगदी नदीको किनारसम्म पुग्दा १० मिनेटमा ट्रिपर र ट्य्राक्टर गरेर १२ वटा ढुंगा बालुवा लिएर आउँदै गरेका भेटिए । कतै त बालुवाको थुप्रो र स्काभेटर पनि देखियो ।
चालकहरूसँग बनिबनाउ उत्तर रहेछ — पुरानो ‘स्टक’ ओसारेको ।
आँबुखैरेनी गाउँपालिकाको कार्यालय पृथ्वी राजमार्गकै छेउमा छ । गाउँपालिका नजिकै क्रसर मेसिन रातदिन चल्छ । क्रसर मेसिन राखिएको ठाउँ वरपर घरैघर छन् ।
क्रसरमा ढुंगा पेल्दा चाहिएर हो कि मर्स्याङ्दीबाटै तानेर पानी हालिँदो रहेछ । त्यसरी हालेको पानी बाहिर निस्कने नै भयो । बाहिर निस्केको पानी नजिकैको खोलामा फाल्ने कष्ट कन गर्नू भनेर होला बाटामा बगाइँदो रहेछ ।
पानीले बाटो भत्काए पनि धेरै फिक्री कसैलाई छैन । त्यो बाटो ट्य्राक्टर हिँडाउने न हो । चलिहाल्छ ।