काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्याइयो । बिहान अस्पताल लगिएको भए पनि सचिवालयले आधिकारिक सूचना सम्प्रेषण गरेन । बुधबार दिउँसो आईसीयूमा राखेर डायलाइसिस गरिएकोसमेत न त अस्पतालले जानकारी दियो न त प्रधानमन्त्रीको सचिवालयले नै ।
सचिवालयले विभिन्न मिडियामा स्रोतलाई उद्धृत गर्दै आएका समाचारको खण्डन गर्यो तर प्रधानमन्त्रीलाई के भएको हो भन्नेसम्म जानकारी गराएन । उपचारमा संलग्न चिकित्सकले बेलुकामात्रै एउटा सामान्य विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको हुँदा राति या बिहीबारसम्म डिस्चार्ज गरिने जानकारी दियो ।
“उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भए पछि आज राति अथवा भोलिसम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिने छ,” प्रधानमन्त्रीको निजी चिकित्सक प्रा. डा. दिब्या सिंह शाह र ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ ।
आईसीयूमा राखेर डायलाइसिस गराइएको कुरा पनि किन बताउन चाहँदैन सचिवालय ? प्रधानमन्त्री ओलीलाई बुधबार बिहान आकष्मिक रुपमा स्वास्थ्य उपचारको लागि अस्पतालमा लगिएपछि देश विदेशबाट उनको स्वास्थ्य अवस्थाको बारेमा चासो राख्नेहरुको संख्या थपिइरहेको भए पनि सचिवालयले भने जानकारी गराउन आवश्यक ठानेन ।
तर, प्रधानमन्त्रीको सचिवालय वा उनी अध्यक्ष भएको पार्टी नेकपा भने यस मामिलामा सधैं झैं यसपालि पनि चुकेको पाइयो । प्रधानमन्त्रीलाई के भएको हो र के उपचार गरियो भन्ने विषयमा यो वक्तव्य मौन छ । त्यही वक्तव्यलाई थुप्रैले बुधबार बेलुकासामाजिक सञ्जालमा शेयर गरे पनि त्यसले यसै भएको हो भनेर प्रष्ट बोलेको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्याललाई पनि वास्तविकता बिहीबार बिहानसम्म थाहा थिएन । उनले बाह्रखरीसँगको कुराकानीमा बिहानै भनेका थिए,‘‘हिजोको अवस्था जस्तो भनिएको हो त्यही अवस्था हो । १० बजेपछि चिकित्सकहरुबीच सरसल्लाह भएर डिस्चार्जको बारेमा बताउन सकिने छ ।’’
पहिला सिंगापुरमा उपचारका लागि प्रधानमन्त्रीलाई लैजाँदा पनि यस्तै भएको थियो ।
अन्य मुलुकहरुमा ‘हाइप्रोफाइल’ बिरामीको स्वास्थ्य अवस्थाका बारेमा घण्टैपिच्छे समेत बुलेटिन जारी गरेर जानकारी गराइने भएपनि हाम्रोमा भने मौनता साँध्ने गरिएको छ । जसले गर्दा अनेकखाले अफवाह फैलिने गरेका छन् । नेकपाको सचिवालयका सदस्य समेत रहेका नेता झलनाथ खनालले बाह्रखरीसँगको कुराकानीमा बिहान भने,‘‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा मलाई जानकारी छैन ।’’
प्रधानमन्त्री ओलीको मृगौला डायलाइसिस गरिएको कुरा नेकपाका नेता भिम रावलले बिहीबार दिउँसो मात्रै जानकारी गराए । त्यसपछि पुगेका नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आजै डिस्चार्ज गरिने जनाएका थिए । ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको बिरामीको गोपनीयतालाई ध्यानमा राखेर स्वास्थ्य अवस्था जानकारी नगराइएको प्रष्ट पारेको छ ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यअवस्थाका बारेमा अवगत गराउँदै डा. पाण्डेले बिरामीको गोपनीयतालाई ध्यानमा राखेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी नगराइएको बताए ।