काठमाडौं । बलात्कारको अभियोग लागेपछि राजीनामा दिएका सांसद कृष्णबहादुर महराविरुद्ध २५ दिनपछि मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको हो । जसमा महराविरुद्ध अधिकतम साढे ७ वर्षसम्मको कैद सजाय माग गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बाह्रखरीलाई बताए ।
प्रहरीले सो घटनासम्बन्धि प्रतिवेदन कात्तिक ८ गते नै बुझाइसकेको थियो । जसमा महरामाथि जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउन प्रहरीले राय दिएको थियो । महरामाथि अनुसन्धानका लागि भन्दै अदालतले तीनपटक म्याद थप गरेको थियो । पक्राउ परेको केहीदिनपछि नै महरालाई नर्भिक अस्पतालमा भर्ना गरेर राखिएको छ । अदालतमा उपस्थित गराउन अस्पतालबाटै लगिएको थियो ।
काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न पहिलो पटक १३ दिन, दोस्रोपटक पाँच दिन र तेस्रोपटक सात दिन म्याद दिएको थियो ।
महरा यौनकाण्डको एक साता, त्यो ७९ मिनेटले हिरासतमा पुर्यायो
असोज १२ गते संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् । त्यसपछि प्रहरीले असोज १९ गते महरालाई सभामुख निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । असोज १२ गते राति रोशनीले आफूमाथि महराले बलात्कार गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । त्यही राति प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो ।
महराले १४ गते सोही प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन भन्दै सभामुख पदबाट राजीनामा दिएका थिए । नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले सभामुख र सांसदबाटै राजीनामा दिन महरालाई भनेको थियो ।
के छ मुद्दामा ?
महराविरुद्ध मुलुकी अपराध संहिताको दफा २१९ अन्तर्गतको मूल कसुर गरेको अभियोगपत्रमा उल्लेख छ । जसमा १८ वर्षमाथिको महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ । बलात्कार प्रयासको हकमा भने अधिकतम १० वर्षको आधा ५ वर्ष कैदसजायको व्यवस्था छ । महरा सार्वजनिक पदमा रहेको व्यक्ति भएकाले उनीविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन पनि आकर्षित हुने माग दाबी छ ।
ऐनको दफा १५ (ङ) मा ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय,’ को व्यवस्था छ । यसो भएमा दफा २१९ मा व्यवस्था भएको अधिकतम ५ वर्षको डेढी अर्थात् अर्को साढे २ वर्ष कैद थपिनेछ । कसुर प्रमाणित भएमा महरालाई अदालतले अधिकतम साढे ७ वर्षसम्म कैद तोक्न सक्छ ।
दुबैले बयान फेरे
शाहीले महरालाई पिडकका रुपमा प्रस्तुत गर्दै आफु पिडित भएको अन्तर्वार्ता दिएपछि महरा र शाहीको सम्बन्ध सतहमा आएको हो । तर, उनी आफ्नो पूर्ववत् बयानमा टिकिनन् । महराले सभामुखबाट राजीनामा दिएर घटना छताछुल्ल भइसकेपछि शाहीले पुनः बयान बदल्दै घटनानै नभएको, महरा आफ्नो कोठामै नआएको भन्दै प्रहरीमा निवेदन पनि दिइन् । तर, उनी त्यसमा पनि टिकिनन् । घटना भएको ६ दिनपछि शाहीले महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइन् ।
रोशनीको नभए कसको कोठामा गएका थिए महरा ? प्रहरी भन्छ– झुटमाथि झुट
त्यसको भोलिपल्ट असोज १९ गते महरालाई प्रहरीले पक्राउ गरेको थियो । सभामुखबाट राजीनामा दिएपछि पनि उनले ५ दिनसम्म सरकारी निवास छोडेनन् । असोज १९ गते साँझ आफ्नै गाडीमा उनी प्रहरी हिरासतमा गएका थिए । गत आइतबार म्याद थपका लागि महरालाई अदालत लगिएको बेला शाही पुनः जिल्ला अदालत काठमाडौंमै पुगिन् । महरा आफ्नो कोठामा नआएको दाबी उनले निवेदनमा गरेकी थिइन् ।
यसबीचमा महराले पनि बयान फेर्दै आएका थिए । उनले सुरुमा आफु शाहीको कोठामा गएको स्वीकारे पनि पछि जाँदै नगएको दाबी गरे । प्रहरीलाई बयान दिन उनले इन्कार गरेका थिए । सरकारी वकिलको कार्यालयमा भने उनले बयान दिए । बयान दिने क्रममा महराले आफु रोशनीको कोठामा नगएको जिकिर गरेका थिए । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा महराले झण्डै ७ घण्टा बयान दिएका थिए ।
महराले बयानमा भने– रोशनीको कोठामा गएकै छैन, सुरक्षागार्डले हतारिएर भने होलान्
प्रहरीले आफ्नो प्रतिवेदनमा भने महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी चढेर रोशनीको कोठामा पुगेको दाबी गरेको छ । महराको साथमा एकजना चालक र दुईजना सुरक्षा गार्डसमेत थिए । चालक पनि सुरक्षा निकायकै हुन् । महराले आफू रोशनीको कोठामा नगएको दाबी गरे पनि उनीसँगै गएका तीनजना सुरक्षाकर्मीले महराले रोशनीको कोठामा गएको स्वीकार गरेका छन् । उनीहरुले प्रहरीमा लिखित बयानसमेत दिएका छन् । महराले डीएनए र पोलिग्राफ परीक्षण गर्न समेत इन्कार गरेका छन् ।
अब के हुन्छ ?
महराविरुद्ध दायर मुद्दामा अब जिल्ला अदालतमा बहस सुरु हुन्छ । महराको थुनछेक बहस मुद्दा ढिलो दर्ता भएकाले बिहीबार हुन सकेन । अब सो मुद्दामा बहस हुनेछ । बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश गर्नेछ ।