महरा गिरफ्तारीको साक्षी बन्दा 

महरा गिरफ्तारीको साक्षी बन्दा 

दसैंको माहोल । सुनसान काठमाडौं । करिब २४ लाख मानिसले उपत्यका छाडेपछि काठमाडौंले केही त्राण पाउनु स्वाभाविकै हो । सबै दसैंको माहोलमा मस्त बन्दा समाचार कक्ष सुस्ताउने नै भयो । तर, पत्रकारलाई सुस्ताउने छुट कहाँ हुन्छ र ! बिदामा भए त आवश्यक पर्दा सक्रिय हुनुपर्छ । कार्यालयमा हुँदा त झन् कहाँ छुट पाइन्छ र । 

यस वर्ष दसैं मनाउन गाउँ गइएन । अष्टमीको दिन घरमा खसी मार पनि हानिएन । दसैंको कुनै अतिरिक्त काममा व्यस्त नभएकाले नियमित समयमै कार्यालय आइपुगेको थिएँ महाअष्टमीको दिन (आइतबार) । बिहानै सहकर्मी केशवराज जोशीले बलात्कारको आरोप लागेका सांसद कृष्णबहादुर महराविरुद्ध पीडित भनिएकी रोशनी शाहीले किटानी जाहेरी दिएको खबर ब्रेक गरिसक्नुभएको थियो । काठमाडौंको चिसो बिहान महराविरुद्धको किटानी जाहेरीको खबरले विस्तारै तात्दै थियो । 

केशवजीले बिहानैदेखि महरा प्रकरणलाई पछ्याइरहनुभएको थियो । कार्यालय आएपछि अब के गर्ने भनेर सल्लाह भयो । दसैंको काठमाडौं क्यामेरामा कैद गर्ने सल्लाह भयो । लगत्तै सहकर्मी रोविन पौडेललाई लिएर काठमाडौं एक फन्को मारेँ । क्यामेरामा काठमाडौंको सडक, चहलपहल र चिनियाँ राष्ट्रपति सी जिङ पिङको स्वागतमा रुप फेर्दै गरेका सडकहरु खिचेर कार्यालय फर्किएँ । केहीबेरमै प्रहरी स्रोतबाट काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएको खबर आयो । लगत्तै अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीसँग सम्पर्क गरेँ । पक्राउ पुर्जी जारी गरेको पुष्टि भयो ।

म कार्यालयमै छु भन्ने थाहा पाउने केही पत्रकार साथीहरुले पनि सोधिरहेका थिए । सबैलाई दिने एउटै जवाफ थियो मसँग– पक्राउ पुर्जी जारी भएको त हो, पक्राउ भने परिसकेका छैनन् ।

कार्यालय आएको केहीबेरमा केशवजीले भन्नुभयो, महरा आजै पक्रने खबर आयो । विश्वस्त स्रोतबाटै खबर आएपछि तत्काल बालुवाटारस्थित सभामुखको निवासबाहिर पुगिहाल्नुपर्ने भयो । महरा प्रकरणसँगै जोडिएका अन्य खबर तयार गरिरहेकाले केशववजीले मलाई नै जान आग्रह गर्नुभयो । लगत्तै म खुला सडकमा बेतोडले सभामुख निवासतिर बत्तिएँ । रोविन र म सभामुख निवास पुग्दा सवा ४ भएको थियो ।

सभामुख निवास सुनसान थियो । हामी ललिता निवासको छेवैमा प्रतीक्षामा थियौं । केहीबेरमा अरु सञ्चारमाध्यमका पत्रकारहरु पनि आउने क्रम सुरु भयो । महरा पक्राउको खबर खरमा सल्किएको आगोजस्तो भयो । २५–३० मिनेटको अन्तरालमा ५० बढी पत्रकार जम्मा भइहाले । पत्रकारको भिड देखेर वरपरका घरका छतबाट पनि स्थानीयहरु के भएछ भन्ने भावमा हेरिरहेका थिए । महरा काण्ड थाहा पाउनेहरु सोध्दै थिए, आजै पक्राउ गर्न लागेको हो र ? 

पत्रकारहरुको लाम लागेपछि सभामुख निवासभित्रका सुरक्षाकर्मी हेरिरहेका थिए । उनीहरुको मुहारमा पनि अनौठो भाव थियो । लाग्थ्यो, ‘महरा सर’लाई सुरक्षा दिइरहेका उनीहरु ठानिरहेका थिए, नहुनुपर्ने घटना भयो । माओवादी आन्दोलनदेखि वार्ता प्रक्रियामा नै राष्ट्रिय छवि बनाइसकेको, पटक पटक शक्तिशाली मन्त्रालय सम्हालिसकेको र पछिल्लो पटक सभामुख नै रहेको उच्च ओहदाको व्यक्तिको संघर्षपूर्ण राजनीतिक जीवनको विद्रूप पतनमा स्तब्ध थियो, बालुवाटार ।

करिब २ घण्टा ललिता निवासको अघिल्तिर बसेर महसुस गरिरहेको स्तब्धता साढे ५ बजेपछि भने प्रहरीको सक्रियताले भंग भयो । प्रहरीको सिआरबी भ्यान आयो । काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा र बानेश्वर वृत्तको प्रहरी टोली आइपुग्यो । सभामुख निवासको पर्खाल अघिल्तिर अर्को पर्खाल खडा भयो, प्रहरीको । पत्रकार र प्रहरीको संख्या बराबरीजस्तै थियो । उज्यालोलाई विस्तारै अँध्यारोले छोपिसकेको थियो । 
दिनभरको प्रतिक्षाको पटाक्षेप हुने बेला बल्ल आयो । घडीले साँझको सवा ६ बजायो । प्रहरीले आफ्नो गाडीमा जाऊँ भन्ने, महरा सरले आफ्नै गाडीमा जाऊँ भन्ने । भित्र घम्साघम्सी चलिरहेको खबर केशवजीले गराइरहनुभएकै थियो । ‘क्यामेराको लेन्समा महरा सरको अनुहार जसरी कैद होस् है’ भनेर पल्लो कुनामा रहेको रविन भाइलाई म्यासेज पठाएँ । अर्को साइडमा आफैँ मोबाइल सोझ्याइरहेको थिएँ । 

विस्तारै गेट खुल्यो । बा १८ च ४०० नम्बरको रातो रंगको गाडी देखियो । क्यामेराको फ्ल्यास चम्कियो । तर, गाडी बाटोतिर सोझिएलगत्तै यसरी बत्तियो कि धेरै लेन्सले उनको अनुहार कैद गर्नै सकेनन् । लाग्थ्यो, महराको दौड उनको गाडीसँग मिल्दो छ । उनको राजनीतिक पतनको गतिजस्तै बेतोडसँगै हुइँकिए उनी । क्यामेरामा कैद भएका तस्बिर हेर्दा महरा सदाजस्तै ढाकाटोपी, कोट र चश्मामै रहेछन् ।

अनुहारमा चमक थिएन । अरुबेला क्यामेराका अघि बोल्न रुचाउने उनी क्यामेरामा पर्नै चाहेका थिएनन्, सायद । सर्वहाराको मुक्तिका लागि मर वा मारको राजनीतिमा होमिएको नेताको आफ्नै गाडीमा प्रहरी हिरासत दौडले कम्युनिष्ट आन्दोलनलाई गिज्याइरहेको भान हुन्थ्यो । ‘कम्बल ओढेर घ्यु खाने’ उपमा पाएको कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक विचलनको अर्को भद्दा नाटक प्रस्तुत भयो । जसले वर्षौंसम्म पनि वास्तविक कम्युनिष्टहरुलाई प्रश्नको घेरामा उभ्याइरहनेछ । 

त्यसो त नेपाली राजनीतिमा महरा बलात्कार अभियोगमा प्रहरी हिरासतमा पुग्ने पहिलो व्यक्ति हुन् । यो तहका व्यक्ति यस्तो आरोपमा पक्राउ परेका थिएनन् । तर, यस्ता घटना अरुको हुँदै नभएको भने होइन । केही पात्र आफ्नो खराब चरित्रका कारण अहिले पनि बदनाम त छँदैछन् । पार्टीमा भूमिका दिने नाममा होस् वा सत्तामा जाँदा अवसर दिने आश्वासनमा आफ्ना स्वार्थको रोटी सेक्नेहरु अरु पनि छन् । सत्ता, शक्ति र पैसाको बलमा आफ्नो असली अनुहार लुकाउन तिनीहरु सफल हुँदा बाध्यतामा लुटिनेहरु मुख बन्द गर्न विवश छन् । तर, एकदिन त्यो मुखौटा च्यातिनेछ । सत्ता र शक्तिको बलमा सत्य लुकाउँछु भन्नेहरुले महरा प्रकरणबाट पाठ सिकुन् ।

जगन्‍नाथ दुलाल

प्रतिकृया दिनुहोस
ad