site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोशनीको नभए कसको कोठामा गएका थिए महरा ? प्रहरी भन्छ– झुटमाथि झुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरा प्रकरणको अनुसन्धान जारी छ । ससंद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आफूमाथि महराले कोठामै आएर दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । १२ असोजको राती महरा आफ्नो तीनकुनेस्थित कोठामा आएको र आफूमाथि यौन दुर्व्यवहार गरेको शाहीको आरोप छ ।

त्यही आरोपपछि सभामुख पदबाट राजीनामा दिएका महरा असोज १८ गते पक्राउ परेका थिए । पक्राउ परेका महरामाथि दोस्रोपटक पाँच दिनको म्याद अदालतबाट आइतबार थपिएको छ । आइतबार नै महराको जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयानका क्रममा महराले आफू रोशनीको कोठामै नगएको जिकिर गरेका छन् ।

बयानपछि महरालाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । महरालाई उपस्थित गराएकै दिन आइतबार पीडित भनिएकी रोशनीले अदालतमा निवेदन दिँदै महरा आफ्नो कोठामा नआएको दाबी गरिन् । सुरुमा महराबाट आफू बलात्कृत भएको भन्दै प्रहरीलाई खबर गरेकी रोशनी आइतबारसम्म पुग्दा महरा कोठामै नआएको दाबी गर्न थालेपछि यसबारे थप चासो बढेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सुरुमा बलात्कार गरेको आरोप लगाएकी शाहीले पछि जवरजस्ती करणी उद्योगमा मुद्दा दायर गरिन् । त्यसपछि फेरि विभिन्न सञ्चारमाध्यममा महरा आफ्नो कोठामै नआएको र आफू डिप्रेसनमा भएका कारण प्रहरीमा खबर गर्न पुगेको बताइन् । त्यहीबीचमा रोशनीको भनिएको एक हस्तलिखित पत्र सार्वजनिक भयो, जसमा महरा आफ्नो कोठामा नआएको र आफूहरुबीच कुनै असमझदारी नभएको उल्लेख थियो । यद्यपि, उक्त पत्र रोशनीको हो–होइन भन्ने पुष्टि भएको छैन । 

रोशनीले लगातार फेरिरहने बोलीले घटनालाई झन् रहस्यमय बनाउँदै लगेको प्रहरी अधिकारीहरु बताउँछन् । रोशनीले दबाब र प्रभावमा परेर कुरा फेर्दै गएको दाबी प्रहरीको छ । 

Global Ime bank

महराको बयान र रोशनीको पछिल्लो अभिव्यक्ति तथा अदालतमा दिएको भनिएको निवेदनले प्रश्न जन्माएको छ– असोज १२ गते राति महरा रोशनी शाहीको नभएर कसको कोठामा गएका थिए त ? महराले आफू त्यसदिन तीनकुने क्षेत्रमा गएको स्वीकार गरेका छन् बयानमा तर रोशनीको कोठामा नपुगेको जिकिर गरेका छन् । महरा एक्लै १२ गते बाहिर निस्किएका भए महराको दाबी बलियो हुने अवस्था थियो, तर महरासँग तीनजना सुरक्षाकर्मी पनि थिए । जसले १२ गते साँझ महरा रोशनीको कोठामै गएको लिखित बयान दिइसकेका छन् ।

कसको कोठामा गएका थिए त महरा ?

महरा रोशनीकै कोठामा गएको प्रहरी दाबी छ । प्रहरीसँगको अनौपचारिक कुराकानीमा पनि महराले रोशनीको कोठामा गएको तर यौन दुर्व्यवहार नगरेको दाबी गरेको अनुसन्धानमा संलग्न अधिकारीको भनाइ छ । महराले प्रहरीलाई साविति बयान समेत दिएका थिएनन् । जिल्ला सरकारी वकिलको कार्यालयमा भने महराले आफू रोशनीको कोठामै नगएको जिकिर गरे । महराको यो दाबीको आधार थियो– घटनास्थल वरपर महराको मोबाइल लोकेशन नदेखिनु । प्रहरी अधिकारीका अनुसार मोबाइल स्वीच अफ वा फ्लाइट मोडमा राखेको अवस्थामा कल लोकेसन देखिँदैन । 

तर कल लोकेसनमात्रै यो घटनासँग नजोडिएको प्रहरी बताउँछ । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘महरा बालुवाटारबाट निस्किएपछि तीनकुने क्षेत्रसम्मको सिसिटिभी फुटेज, सुरक्षाकर्मीको बयान, १२ गते रातीको घटनास्थलको अवस्था, महराले रोशनीलाई लगातार गरेको कल लगायतले महराको उपस्थिति रोशनीको कोठामै भएको पुष्टि हुन्छ ।’’

योबाहेक घटनास्थलबाट महराको बरामद भएको चश्मा, जुत्ताको सोल लगायतको डीएनए रिपोर्ट आउन बाँकी छ । प्रहरी अधिकारीको दाबी छ, ‘‘जस्तोसुकै डिप्रेसनमा भए पनि कसैमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउने विषय हलुका होइन । आइतबार उनले आफैंले बलात्कार भएको भन्दै प्रहरीमा खबर गरेकी हुन् । त्यतिबेला त कसैले दबाब दिएको थिएन होला । त्यसैले बोलि फेरिरहे पनि हामी तथ्यबाट पुष्टि गर्ने प्रयासमा छौं ।’’
महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको दाबी प्रहरीको छ ।

प्रहरी भन्छ– झुटमाथि झुट
प्रहरी भने महरा–रोशनी प्रकरणमा दुवैले सुरुमा सत्य तर पछिल्लो समय दुवैले झुट बोल्दै गएको दाबी गर्छ । १२ असोजमा महरा रोशनीको कोठामा नगएको भए कसको कोठामा गएका थिए त ? भन्ने प्रश्नमा जवाफ महराका लागि सजिलो नभएको जिकिर प्रहरीको छ । किनकी महरासँग सुरक्षागार्ड सँगै थिए, जसको बयान प्रहरी अनुसन्धानका लागि महत्वपूर्ण प्रमाण हो ।

एक प्रहरी अधिकारी भन्छन्, ‘‘महराको बयान र रोशनीले अदालतमा दिएको निवेदनले अनुसन्धानलाई सहयोग नै गरेको छ । यस्तोमा रोशनीले को आएको थियो कोठामा, कसले घाउ पारेको थियो शरीरमा, किन उजुरी दिइयो ? यी प्रश्नको जवाफ दिनुपर्नेछ भने महराले कसको कोठामा गएका थिए भन्ने विषय प्रमाणित गर्नुपर्ने छ । जुन सजिलो छैन ।’’

१२ असोज आइतबार राति रोशनीले बलात्कार भएको भन्दै प्रहरीमा खबर गरेपछि त्यही राती प्रहरीले घटनास्थलमा भेटिएका सामान, भिडियो कैद र रोशनीको अनौपचारिक बयान समेत लिएको थियो । महराले १४ गते सोही प्रकरणको अनुसन्धानमा सहयोग पुर्याउन भन्दै सभामुख पदबाट राजीनामा दिएका थिए ।

रोशनीले प्रहरी वृत्त बानेश्वरमा महराले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यसयता उनले लगातार सञ्चारमाध्यममा फरक–फरक कुरा गर्दै आएकी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC