
जनकपुर । मधेश भवन (प्रदेश २ सरकारको सचिवालय) परिसरमा बिहीबार दिउँसो एक बजे निकै भिडभाड थियो । मूलगेटमा लेखिएको थियो, ‘शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान समारोहमा यहाँलाई हार्दिक स्वागत छ ।’ आयोजक थियो, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ।
दसैंअघि सोही परिसरमा अवस्थित कबर्ड हलमा प्रदेश प्रमुखले आयोजना गरेको शुभकामना कार्यक्रमको प्रभावले होला, बिहीबारको कार्यक्रममा निर्धारित समयमै अतिथिहरु आइपुगेका थिए । प्रदेश प्रमुखले आयोजना गरेको कार्यक्रम सम्पन्न भइसक्दा पनि अतिथिहरु आउने क्रम जारी थियो । त्यसको कारण थियो, समयमै कार्यक्रम सुरु गरी प्रदेश प्रमुखले प्रदेशबासीको नाममा शुभकामना व्यक्त गरिसकेपछि कार्यक्रम सम्पन्न गरिएको थियो ।
बिहीबारको कार्यक्रममा प्रादेशिक लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, नीति आयोगका अध्यक्ष तथा सदस्यहरु, प्रदेशसभा सदस्यहरु तथा जिल्ला सुरक्षा निकायका प्रमुखहरु लगायत अतिथिहरु तोकिएकै समयमा कार्यक्रम स्थलमा बसिसकेका थिए ।
५५ मिनेट ढिलो प्रतिनिधिसभा सदस्य तथा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो आइपुग्दासम्म कार्यक्रमका आयोजक मुख्यमन्त्री लालबाबु राउत भने कार्यक्रम स्थलमा आइपुगिसकेका थिएनन् । मञ्च खाली थियो । छेउमा बनाइएको अर्को मञ्चमा सांस्कृतिक कार्यक्रम चलिरहेको थियो ।
महतो केही मिनेटसम्म दर्शकदिर्घामै बसिरहेपछि मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जितेन्द्र यादवले मुख्यमन्त्रीले निवासमै स्वागत गर्न चाहेको भनेर महतोलाई त्यतैतिर लान खोजे तर उनी मानेनन् । "मलाई अहिले अढाइ बजे काठमाडौंको लागि विमानस्थल पुग्नु छ । मुख्यमन्त्रीजीलाई यतै बोलाउनुस् भेटेर म निस्किन्छु", महतोले मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवालाई भने ।
त्यसको करिब १५ मिनेटपछि मुख्यमन्त्री राउत मञ्च अगाडि आएर उपस्थित अन्य अतिथिसँगै महतोलाई पनि स्वागत गरेको जस्तो व्यवहार देखाए । तर, महतो उनको स्वागत गर्ने शैलीले चित्त दुखाएको जस्तो संकेत गर्दै त्यहाँबाट हिँडिहाले ।
केही समयपछि राजपा अध्यक्ष मण्डलका अर्का नेता शरतसिंह भण्डारी कार्यक्रमस्थलमा पुग्दा उनलाई पुष्पगुच्छासहित स्वागतका लागि मुख्यमन्त्री राउत पण्डालको गेटमै पुगे । कार्यक्रमका प्रमुख अतिथि तोकिएको थियो, समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ।
कार्यक्रममा एक बजेको लागि सबैलाई आमन्त्रित गरिएको भए पनि प्रमुख अतिथि आइपुग्न ढिलो हुने भन्दै पर्खाइ लम्ब्याइँदै थियो । समयमै आइपुगेका अतिथिहरुले दबाव दिन थालेपछि करिब सावा तीन बजे प्रदेश सरकारका मुख्य सचिव दिपक सुवेदीले स्वागत मन्तव्य दिएर कार्यक्रमलाई अघि बढाइयो । प्रमुख अतिथि अझै आइपुगेका थिएनन् ।
प्रदेश सरकारका जम्मा दुईजना मन्त्री थिए, समाजवादीतर्फका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र राजपातर्फका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय । समाजवादी तर्फकै एकजना राज्यमन्त्री योगेन्द्र राय (भूमि व्यवस्था, कृषि तथा सहकारी) को उपस्थिति थियो ।
त्यसो त कार्यक्रमको समयावधि लम्बिदै गर्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव पनि आइपुगे । सामाजिक विकास मन्त्री नवलकिशोर यादव निर्धारित समयभन्दा करिब चार घण्टापछि मात्रै मञ्चमा उक्लिँदै गरेको देखिए ।
प्रमुख अतिथिकै पर्खाइमा कार्यक्रम लम्ब्याउन सबै मन्त्री तथा प्रतिनिधिसभा सदस्यहरुलाई बोल्न समय दिइँदै थियो । समय अभाव बताउँदै प्रतिनिधिसभा सदस्यद्वय शरतसिंह भण्डारी र रेणु यादवले बीचमै समय मागेर बोलिसकेपछिपनि प्रमुख अतिथि आइपुग्ने छांटकाट नदेखिएपछि दर्शकदिर्घामा बसिरहेका अतिथिहरु उठेर निस्किन थाले । सुरुमा चिया वितरण थालिए पनि बीचमै त्यो पनि बन्द गरिदियो । खाजा भने प्रमुख अतिथिले कार्यक्रमको सम्बोधन गरिसकेपछि मात्रै बाँड्ने संकेत आइरहेको थियो ।
"यत्रो ठूलो पण्डाल बनाइएको छ । यो साजसज्जा कसको लागि ?", आमन्त्रित मध्येका एक अतिथिले सहकर्मीसँग गफिँदै थिए, "हिजो सामन्तीहरुको विरोध गर्नेहरु कुर्सी पाउनबित्तिकै त्यो भन्दा पनि ठूला सामन्ती पो भए त !" अर्काले थपे, "बजेट परिचालन गर्ने संरचना बनिसकेको छैन रे, अनि असारभित्रै सक्दा बजेट खर्च पनि त गर्नुपर्यो । अनि यस्तै कार्यक्रममा खर्चिने त हो नि !"
आयोजक कार्यालयकै परिचयपत्र भिडेका एक कर्मचारीसँग कार्यक्रमको अनुमानित खर्चबारे जिज्ञासा राख्दा भने, "२५ लाखभन्दा त के कम खर्च हुने होला र !" लगभग १० लाख रुपैयाँ बराबरको पण्डाल र कार्यक्रम स्थलको सजावटमै खर्च भएको हुनसक्ने अनुमान गर्दै उनले खाजा र चियासमेतगरी करिब २५ लाख रुपैयाँ खर्च हुन सक्ने बताए ।
प्रमुख अतिथि करिब साढे पाँच बजे बल्ल आइपुगे । उनी कार्यक्रम स्थलमा आइपुग्दा मञ्च अगाडि राखिएकामध्ये दुई तिहाइभन्दा बढी कुर्सी खाली भइसकेको थियो । एक बजे चियापानका लागि त्यहाँ पुगेका अतिथिहरुले छ बजेपछि बल्ल खाजा पाए ।