
जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तिहार तथा छठ पर्वको अवसरमा बिहीबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा समाजवादी पार्टी तथा राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण सम्बन्धी बहस चलेको छ ।
समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले मधेशमा आधारित दुई प्रमुख दल समाजवादी पार्टी र राजपाबीच एकीकरण गर्न जनताको स्तरबाट माग उठ्न थालेको बताइन् । आफ्नो मन्तव्य सुरुवात गर्दै दुवै पार्टीको नामलाई समायोजन गरी उच्चारण गरेकी उनले राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीलाई ‘समाजवादी जनता पार्टी’ का नेता भनेर सम्बोधन गरिन् ।
“अघि त मैले भुलेर दुवै पार्टीको नाम मिक्स गरेर माननीय शरतसिंह भण्डारीजीलाई सम्बोधन गरिदिएँ” प्रतिनिधिसभा सदस्य यादवले भनिन्, “तर, मेरो मुखबाट निस्केको नाम चाँडै औपचारिक रुपमा घोषणा होस् भन्ने शुभकामना दिन चाहन्छु । दुवै पार्टीलाई चाँडै एकीकरण गरी घोषणा गर्ने वातावरण निर्माणका लागि अगुवाको भूमिका निर्वाह गर्न माननीय भण्डारीजीसँग मेरो अनुरोध छ ।”
लगत्तै भण्डारीले कार्यक्रमको सम्बोधन गर्दै यादवको प्रस्तावप्रति समर्थन जनाए । “माननीय रेणु यादवले पार्टी एकताको कुरा गरिहँदा दर्शकदीर्घामा उपस्थित पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुको अनुहारमा खुशीको अनुभूति झल्किरहेको मैले देखें” भण्डारीले भने, “अब मधेशको मुद्दालाई लिएर मात्रै होइन, राष्ट्रिय राजनीतिलाई सही दिशा दिन पनि समाजवादी र राजपाबीच एकता आवश्यक भइसक्यो ।”
मुलुकको राजनीति सही दिशामा अघि बढ्न नसकिरहेको टिप्पणी गर्दै भण्डारीले चीनका राष्ट्रपतिले नेपाल भ्रमण गरेको बेला प्रतिनिधिसभामा तेस्रो र चौथो स्थानमा रहेको दलका नेतृत्वलाई शिष्टाचार भेट गर्ने अवसरबाट समेत बञ्चित गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे ।
“मलाई चीनसँग कुनै गुनासो छैन तर, नेपाल सरकारले यो व्यवस्था मिलाउनुपर्नेमा हामीलाई आफ्नो विचार व्यक्त गर्न नदिने मनसायले घात गरेको हो”, उनले भने । नेपालमा द्विदलीय शासन व्यवस्था लाद्ने षडयन्त्र हुनसक्ने शंका गर्दै उनले त्यस्तो अवस्था आए मधेश, दलित, जनजाति, मुस्लिमलगायत पछाडि पारिएका समुदायको लागि ठूलो घाटा हुने जिकिर गरे ।
“मधेशी जनताको भावनालाई सम्बोधन गर्दै राष्ट्रिय राजनीतिक निकासको लागि पनि समाजवादी पार्टी र राजपाबीच एकताको आवश्यक्ता रहेको छ’ भण्डारीको भनाइ थियो । कार्यक्रममा भण्डारीले प्रदेशमा भ्रष्टाचार मौलाएको संकेत गर्दै आर्थिक समृद्धि र आर्थिक अनियमितता एकसाथ अघि बढ्न नसक्ने टिप्पणी गरे । ‘प्रदेशलाई आर्थिक समृद्धि बनाउनका लागि प्रदेशबाट भ्रष्टाचार अन्त्य गर्न सक्नुपर्छ यसका लागि प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री लगायत सबै युवा मन्त्रीहरुलाई आह्वान गर्न चाहन्छु”, उनले भने ।
भण्डारीले दुईनम्बरी भनेर परिचय दिन लाज लाग्न थालेको उल्लेख गर्दै यसपछि आयोजना हुने कुनै पनि कार्यक्रम दुई नम्बर प्रदेशको नाममा नभएर स्पष्ट पहिचान झल्किने नामाकरण गरिसक्न प्रदेश सरकारलाई आग्रह गरे ।
“अब त प्रदेश सरकार गठन भएको पनि दुई वर्ष हुन लाग्यो । अब कहिले नामाकरण गर्ने” उनले भने, “अब अर्को यस्तो कार्यक्रम आयोजना गर्नु अघि यो प्रक्रिया सम्पन्न होस् भन्ने शुभकामना दिन्छु ।”