पोर्तुगल पछिल्लो समय ‘मल्टी कल्चरल मेल्टिङ पट’ अर्थात् बहुसांस्कृतिक संयोजन भएको राष्ट्रका रूपमा विकसित हुँदै गएको छ । फरक फरक कला, संस्कृति, धर्म र रीतिरिवाज भएका देशका मानिसको जमघटबाट नै यस्तो भएको हो । सहज आप्रावासन नीतिका कारण यो देश अहिले एसिया, अफ्रिका, दक्षिण अमेरिका र युरोपकै धेरै देशका नागरिकको संगमस्थल बन्दैगएको छ । विविधतालाई सहीरूपमा संवद्र्धन र प्रवद्र्धन गर्न सक्यो भने यसले भविष्यमा देशको राष्ट्रियतालाई समेत मजबुत बनाउँछ ।
नेपालले के सिक्न सक्छ त ?
पोर्तुगलले अपनाएको केही कुरा नेपालले पनि अनुसरण गर्न सक्छ । नेपालले पनि पोर्तुगलले जस्तै कामदारको आपूर्तिमा सहजता, कृषि विकास र पर्यटनमा जोड दिनुपर्छ । पोर्तुगललाई जस्तो कामका लागि आप्रवासी भित्र्याउन पर्ने बाध्यतामा नेपाल छैन । देशमा काम गर्ने उमेर समूहको जनशक्ति पर्याप्त छ । बरु, त्यो जनशक्ति रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गइरहेको छ ।
तत्काल नेपालले गर्न सक्ने भनेको कम आम्दानीमा काम गर्न विदेशिएका युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने नै हो । त्यसका लागि अहिलेको न्यूनतम तलब मानमा थोरै वृद्धि गरेर सकेसम्म दक्षलाई पनि नभए अदक्ष कामदारलाई त स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सक्नुपर्छ ।
खाडीमा ३० देखि ५० हजार मासिक आम्दानी हुने काममा जाने नेपालीको संख्या अहिले पनि ठूलो छ । यस समूहलाई देशमै श्रम गरेर खाडीमा जति कमाउने वातावरण सुनिश्चित गर्न सके विदेशिने सम्भावना कम हुन्छ । त्यसका लागि छिमेकी देश भारतलगायत एसियाका अन्य मुलुकका सानाठूला लगानीकर्तालाई देशमा आकर्षित गर्न सकिन्छ ।
कामदार पर्याप्त भएर लागत केही कम पर्ने भयो भने पोर्तुगलमा जस्तै छिमेकी देशका लगानीकर्ता भित्रिन सक्छन् । आह्वान, गोष्ठी र छलफल गरेको आधारमा नभई संभावना र वातावरण मूल्यांकन गरेरमात्र उद्यमीले लगानी गर्छ । देशमा पटकपटक लगानी सम्मेलन हुन्छ तर देशका युवा श्रम बेच्न समुन्द्र पार जान बाध्य छन् । यसरी न लगानी भित्रिन्छ न युवा पलायन रोकिन्छ । यसका लागि लगानीकर्ताको लगानी सुरक्षित हुने ग्यारेन्टी र मजदुरले काम गरेबापत पाउने बेतन समयमा नियमानुसार पाउने सुनिश्चित हुनु जरुरी हुन्छ । यति भयो भने कम्तीमा लगानी र झन्झट बेहोरेर श्रमिकहरूले खाडी जान खोज्ने छैनन् । यसका लागि मुख्य कामदारको तलब मानमा केही बढाउनु जरुरी छ ।
अर्को पाटो हो कृषि र पर्यटन । पोर्तुगलले यी क्षेत्रमा विस्तार र व्यापारीकरण गरेको छ । नेपालले पनि उत्पादित वस्तुको बजारको व्यवस्था गर्ने र पर्यटकका निम्ति सुरक्षित तथा व्यवस्थित वातावरण निर्माण गरे पुग्छ । कृषिका हकमा नेपालले निर्यात गर्नसक्ने वस्तुको उत्पादनमा वृद्धि गरेर सुरुमा छिमेकी देशमा बजार बढाउने र निर्बाहमुखी ग्रामीण कृषिलाई व्यवसायमुखी बनाउन ढिला गर्नु हुँदैन ।
पोर्तुगलमा पनि एक दशकअघिसम्म निर्बाहमुखी कृषी प्रणाली नै व्यापक थियो । पछि राज्यले नै लगानी बढाएर निर्यातमुखी र व्यवसायीकरण बढाउँदै आएको छ । जमिन बाँझो नराखी उत्पादनमा प्रथामिकता दिएर हरेक उत्पादनको बजारीकरण र संरक्षणको ग्यारेन्टी राज्यले लिएमात्र पनि कृषिमा आधुनिकता भित्रिन सक्छ । त्यति भयो भने गाउँ रित्तिने र सहर भरिने अवस्थाको पनि अन्त्य हुँदै जानेछ । अनि पोर्तुगलमा जस्तै कृषि व्यवसायका लागि फर्महरु खुल्ने र लगानी भित्रिने अवस्था निर्माण हुन सक्छ ।
पर्यटकका लागि पोर्तुगलजस्तै नेपालमा अहिले नै सबै स्तरका पर्यटकले बस्न र घुम्न सक्ने मूल्यको सुविधा छ । यसका लागि व्यापक प्रचारप्रसार र सुरक्षा भने आधारभूत तत्त्व हुन् । नेपालले थोरै प्रयास र विश्वासिलो वातावरण बनायो भनेमात्र पनि कृषि र पर्यटनबाट पोर्तुगलले जस्तै लाभ लिन सक्छ ।
जनशक्ति पर्याप्त भएको नेपालले बनाएको नीति नियमको कार्यान्वयन र काम गर्ने जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाएमात्र तत्काललाई कृषि पर्यटनमा ठूलै फड्को मार्न सक्छ । तर, यसका लागि गफले पुग्दैन काम नै हुनुपर्छ ।
हावापानी र भूबनोटको दृष्टिले नेपालजस्तै रहेको पोर्तुगलले आप्रावासीलाई भित्र्याएर त यसरी आर्थिक उन्नतिको गति समातेको छ भने नेपाल त आफैँमा पर्याप्त जनशक्ति, साधन र सम्भावना भएको देश हो । (हालः पोर्तुगाल)