site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
महाशक्तिशाली पाहुनालाई भव्य स्वागत गरौं, पत्यारिलो बनौं
Sarbottam CementSarbottam Cement

दसैं सकिने चरणमा छ । यसैक्रममा नेपालको शक्तिशाली छिमेकी चीनका राष्ट्रपति सी जिनपिङ  दुई दिने भ्रमणका लागि आज काठमाडौं ओर्लिदैछन् । उनी नेपाल आउनु अघि अर्को छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग विभिन्न चरणमा अनौपचारिक कुराकानी पनि गरेका छन् ।

दुई छिमेकीबीच भइरहेका गतिविधि हामीलाई चासोको विषय हुनु स्वाभाविक छ । यद्यपि अहिलेको अवस्थामा विश्वमै शक्तिशाली मध्येमा पर्ने चीनका राष्ट्रप्रमुखको नेपाल भ्रमण आफैंमा महत्वपूर्ण विषय हो । अहिले नै लेनदेनको विषयमा धेरै नअल्मलिऔं, सबैभन्दा पहिला भव्य र धक फुकाएर  स्वागत गरौं ।

हामी नेपाली अतिथी देवो भवः को संस्कारमा हुर्किएका छौं । हामी पाहुनालाई देवता सरह मान्छौं । जुनसुकै विचार वा आस्था भएपनि अर्को देशबाट आउने पाहुना हामी सबै नेपालीका पाहुना हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अझ चीनका राष्ट्रपति त हाम्रा छिमेकी मात्रै होइन अहिले विश्व दुई ध्रुबतिर अघि बढीरहेको बेलामा एउटा ध्रुवका नेता हुन् । उनी कहाँ जान्छन्, के गर्छन्, कसरी बोल्छन् त्यो विश्वले नै चासो दिइरहेको हुन्छ । प्रतिस्पर्धीले पनि ख्याल गर्छन्, सम्बन्ध राम्रो भएकाले झन् ख्याल गर्ने नै भए ।

नेपालका दुई छिमेकी भएको नाताले दुवैसँगको सम्बन्धलाई अझ सुदृढ गर्नु बाहेकको हामीलाई अर्को विकल्प छैन । अझ चिनियाँ राष्ट्रपतिको भ्रमणमा हुने सामान्य गतिविधि पनि सीएनएन, बीबीसी देखि न्यूयोर्क टाइम्स र वाशिङटन पोस्ट सम्मका हेडलाइन समाचार बन्न सक्छन् । त्यस खालको  प्रचारको असर विश्व मानचित्रमा अर्कै हिसाबले भइरहेको छ र हुनेछ ।

Global Ime bank

भ्रमणमा छिसिक्क सानो मात्रै कमजोरी नहोस् । त्यस्तो कमजोरीले हामीले आगामी वर्ष मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष’लाई नै नकारात्मक असर पर्न सक्छ । त्यसैले २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई जसैगरी सफल बनाउनु हाम्रोलागि हितकर हुन्छ । 

यसका लागि देशको सरकार, सुरक्षा निकाय र हामी सर्बसाधारणले पनि आआफ्ने क्षेत्रबाट सहयोग गर्नु राम्रो हुन्छ । कुरा यत्ति मात्रै हो कि हामीले स्वागतका लागि बनाउने संरचनाहरु स्थायी रुपमा बनाऔं भन्ने तर्क त छ नै । त्यो हाम्रो आन्तरिक मामिला हो सी फर्किएपछि बहस गर्दै गरौंला । सडकमा गरिएका सामान्य सिंगारपटार अस्वाभाविक होइनन् । हामीले सीको भ्रमणका लागि भारतको महाबलीपुरममा २ सय श्रमिकले घण्टौं लगाएर १८ थरी तरकारी र फलफूल राखेर बनाएको स्वागतद्वार देखिसकेका छौं । यस खालको स्वागत सामान्य हो । यसमा धेरै विवाद गर्नु जरुरी होइन, आआफ्ना शैली अनुसार सबैले पाहुनालाई स्वागत गर्छन् । तर, आगामी दिनमा हामीले बनाउँदै भत्काउँदै गर्ने शैली फेरेर स्थायी प्रकृतिका संरचना बनाउनु भने जरुरी छ ।

शैली फेरौं

यस खालका उच्चस्तरको भ्रमणमा प्रोटोकलको महत्वपूर्ण भूमिका हुन्छ । केही वर्ष अघि प्रोटोकल हेर्ने एक महानुभावले विदेशबाट आएका एक महत्वपूर्ण राष्ट्रका सरकार प्रमुखलाई बिमानस्थलमा पाखुरामा समातेर तान्दै ‘यता जाऔं’ भनेको नमजाको दृश्य देख्नुपरेको थियो । त्यस्तो कमजोरी फेरि नदोहो¥याऔं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तहबाट नै बिमानस्थलमा गएर चीनका राष्ट्रपतिलाई स्वागत गर्नु भनेको नेपालले अत्यन्तै महत्व दिएको प्रमाण हो । तर, यो महत्व हाम्रा सानातिना कमजोरीले बिथोलिनु हुँदैन । त्यसमा सतर्क हुनु जरुरी छ ।

एजेण्डाको प्रसंग

यस्ता उच्च स्तरीय भ्रमणको तयारी दुवै देशका कुटनीतिक तहबाट महिनौं वा वर्षौ अघि देखि तय गरिने हुन् । उच्चस्तरको भ्रमणमा त्यसलाई अन्तिम रुप दिने मात्रै हो । त्यसैले यस्ता भ्रमणमा ‘सरप्राइज’ भन्ने कुरा यदाकदा मात्रै हुन्छ । निकट विगतमा हाम्रो शैली के देखिँदै आएको छ भने हामी विदेश जाँदा वा विदेशबाट आउँदा के माग्ने भन्ने प्रसंग चल्ने गरेको छ । हामी हरेक पटक ‘सपिङ लिस्ट’का कुरा गर्ने गर्दछौं । कहिलेकाहीं यति सम्म सुनिन्छ कि आएको पाहुनाले खाएको हरेक गाँससँगै के मागिने हो भनेर आतंकित समेत हुनुपर्छ ।

तर, अबको चरण त्यस्तो होइन । नेपालले लामो संघर्षपछि संविधान पाएको छ । हामी राजनीतिक आन्दोलनको चरण पूरा गरेर आर्थिक सम्बृद्धिको चरणमा प्रवेश गरिरहेका छौं । यसका लागि हाम्रा मित्रराष्ट्रहरुको सहयोग हामीलाई चाहिएको छ । त्यसैले उनीहरुका सर्बमान्य चासोहरु सम्बोधन गर्दै हाम्रो विकासमा पनि उनीहरुको सहयोग लिनु हाम्रोलागि सम्मानजनक अवस्था नै हुन्छ । चाहे रेल होस् वा सडक वा अन्य कनेक्टिभिटीका कुरा नै किन नहुन् सम्मानजनक ढंगले हामीले छिमेकीसँग व्यवहार गर्नु राम्रो हुन्छ । हामीले स्थिर राज्यका रुपमा परिपक्वता देखाउन जरुरी हुन्छ ।

चीनसँग नेपालको आफ्नै परम्परागत सम्बन्ध छ । नेपालको सार्वभौमसत्ता र  राष्ट्रिय अखण्डताको पक्षमा चीनले व्यक्त गर्दै आएको धारणा हाम्रो लागि बिर्सन नसकिने गुन हो । अनि हामीले पनि एक चीन नीतिप्रति व्यक्त गर्दै आएको प्रतिबद्धता र व्यवहार अनि खासगरी तिब्बत मामिलामा चीन विरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिइनु उसका लागि पनि ठूलो गुन हो ।
 
 चीन अहिले विश्वकै दोस्रो ठूलो आर्थिक शक्ति छ । अर्को छिमेकी भारत पनि आर्थिक बृद्धिका हिसाबले अहिले विश्वका औंलामा गन्न सकिने मुलुकमा पुगिसकेको छ । विश्वको कूल जनसंख्या अहिले करिब ७ अर्ब ५७ करोड ७१ लाख ३० हजार छ भने चीन एक्लैको १ अर्ब ४३ करोड ५५ लाख र भारत एक्लैको १ अर्ब ३७ करोड १५ लाख छ । 

यस हिसाबले हेर्दा विश्वकै लागि यी दुई ठूला बजार पनि हुन् । हामीलाई लगभग ३ करोड मान्छेलाई ‘सुखी नेपाली’ बनाउन नै महाभारत छ तर उनीहरुले त्यति ठूलो जनसंख्या धानिरहेका छन् । त्यसैले सबैको ध्यान अहिले चीन र भारततिर गइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हालै अमेरिका गएको बेलामा ‘हाउडी मोदी’ कार्यक्रममा भाग लिन अमेरिकी राष्ट्रपति आफैं पुग्नु र चीनसँग व्यापार युद्धकै अवस्था रहँदा रहँदै पनि दैनिकजसो ट्रम्पले ‘चाइना’ भन्दै ट्विट गर्नुले पनि यी दुईको बढ्दो प्रभावलाई स्वतः आँकलन गर्न सकिन्छ । तपाईं हामीलाई थाहा छ कि केही वर्ष अघि मात्रै भारतका रक्षामन्त्री जर्ज फर्नाण्डिज अमेरिका जाँदा त्यहाँको अध्यागमन कार्यालयले धोती समेत खोल्न लगाएको समाचार पढिएको हो । अनि मोदी स्वयं अमेरिकाको कालोसूचीमा थिए । तर अहिले यति तीब्र गतिले छिमेकीहरुको विश्वव्यापी मामिलामा प्रभाव बढीरहेको छ ।

त्यसैले अहिले भन्न थालिएको छ, “विश्व १९औं शताब्दीमा युरोपियनाइज्ड थियो, २० औं शताब्दिमा अमेरिकनाइज्ड भयो र अब २१ औं शताब्दी एशियनाइज्ड हुँदैछ ।” अर्थात यो शताब्दि एशियालीको हो । जसको केन्द्रमा भारत र चीन छन् अनि छिमेकी हामी नेपाल र नेपाली । चीन र भारतको आर्थिक बृद्धिलाई केन्द्रीत गर्दै यो आँकलन भइरहेको छ ।

त्यसैले हामीले दुवैसँग राम्रो सम्बन्ध राखेर, दुवैसँगबाट फाइदा लिनुको विकल्प देखिएको छैन । अहिले भारतका प्रधानमन्त्री मोदीको अभियान ‘मेक इन इण्डिया’ र ‘डिजीटल इण्डिया’मा चिनियाँ कम्पनी सामेल छन् । त्यसबाट भारतमा रोजगारीको अवसर प्रदान गरेको छ । चीनमा पनि भारतको लगानी बढीरहेको छ । उनीहरुलाई नै अझै  सहकार्य चाहिएको छ । चीन अमेरिकासँग नजिकिन चाहेको छ । अमेरिका पनि चीन सँग नजिकिन नै चाहन्छ । आपसी व्यापारका लागि उनीहरुलाई यो अत्यावश्यक छ । यद्यपि रणनीतिक प्रतिस्पर्धा पनि छ । चीनले रणनीतिक हिसाबले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अघि बढाइरहेको छ भने अमेरिकाले इण्डोप्यासिफिक रणनीति अघि बढाइरहेको छ । उता भारतका प्रधानमन्त्रीको पहिलो कार्यकालको ‘लुक इस्ट’ नीति अहिले ‘एक्ट इस्ट’तर्फ अघि बढीरहेको छ । भारत, चीन वा अमेरिकाको आआफ्नै चासो छँदैछ युरोपको पनि आफ्नै खाले चासो छ । यी सबैलाई समायोजन गर्दै अगाडि बढ्न हाम्रा लागि उत्ताउलो पन होइन परिपक्वताको खाँचो छ ।

त्यसैले कसैको पक्षमा लागेर कसैलाई चिढ्याउने काम हामीले गर्नु हाम्रै लागि प्रत्युद्पादक हुन्छ । उनीहरुबीचका रणनीतिक विवादमा पर्नुभन्दा सबैसँग मिलेर अघि बढ्नु नै उपयुक्त हुन्छ । उनीहरुबीच आपसी प्रतिस्पर्धा भए पनि ती सबैलाई नजिक ल्याउने तत्व व्यापार छ । अहिले अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था छ । तर यी पंति लेखिँदै गर्दा पनि व्यापार युद्धलाई फुकाउने पहल भइरहेको छ । आउँदो मंगलबारदेखि नै केही चिनियाँ सामानमा अमेरिकाले लगाउने भनेको थप कर अहिलेलाई पछि सारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै चीनसँग ‘फेज वान डिल’मा पुगिएको आजै मात्रै जनाएका छन् । जसमा कृषिजन्य सामग्री खरिदको बृद्धि र प्रविधिको चोरीलाई रोक्ने जस्ता विषय समेटिएका छन् । अमेरिकाले चीनका सामग्रीमा मंगलबारदेखि ३० प्रतिशत सम्म कर बढाउने भनेको थियो ।
 
चीनले नेपालले अन्य राष्ट्रसँग सम्बन्ध नै नबढाओस् भन्ने चाहेको होइन । अमेरिका वा भारतले पनि हाम्रो भू–राजनीतिक बाध्यता बुझेका छन् ।  चीनका सरकारी मुखपत्रहरुको अध्ययन गर्दा चीनले नेपाललाई आफ्नो शिविरमा राखेर भारत वा अमेरिकाको विरोध गर्न भनेको छैन । विश्वमै महाशक्तिको दिशामा अघि बढेको चीनले हाम्रो अवस्था बुझ्दैन भन्नु हाम्रो बचकाना प्रबृत्ति मात्रै हो । तर, आफ्नो अहित हुने गरी अन्य शक्तिले नेपाली भूभाग प्रयोग नगरुन् भन्ने मात्रै उसको चासो हो । त्यसैले उनीहरुका आन्तरिक विवादमा हामी यता र उता लागेर रुमल्लिनुभन्दा सबैसँग राम्रो सम्बन्ध बनाउनु राम्रो हुन्छ । अहिले हामी यता वा उता लाग्दा उनीहरु मिलिसक्दा हामी ‘कार्टुन’ बन्ने अवस्था नआओस् ।

पत्याउने बनौं

चीनले पहिलादेखि नै नेपालमा स्थिरता खोज्दै आएको छ । एउटा नेतासँग एकथरी कुरा गर्यो तर केही महिनामा नै अर्कोथरी आइसक्ने र उसले नीति नै बदल्ने अवस्थाले चीन लगायतका मित्रराष्ट्रहरुलाई नेपालसँग ‘डिल’ गर्न पछिल्लो समयमा अप्ठेरो अवस्था आएको चर्चा भइरहेको थियो । तर अहिले हामीकहाँ विगतको तुलनामा केही स्थिरताको वातावरण छ । सी नेपाल आउनुको एउटा महत्वपूर्ण कारण यो पनि हो । त्यसैले हामीले पुराना शैली बदलेर अरुले पत्याउने खालको वातावरण बनाउनु जरुरी छ ।

यो प्रश्नको जवाफ खोज्नु अघि पूर्व परराष्ट्र सचिव डा. मदन भट्टराईले यो पंतिकारसँगको कुराकानीमा एउटा संस्मरण सुनाएको याद आयो । भएछ के भने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई एक पटक उनले भनेछन् – “तपाईहरुले गलत गर्नु भयो ।” प्रसंग रहेछ मन्त्रिपरिषद्को सन् २००९को डिसेम्बर अन्तिममा बसेको बैठकले तत्कालीन प्रधानमन्त्री  गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको विषय । 

प्रधानमन्त्री नेपालले  सोधेछन्, “किन गलत भयो ?” डा.  भट्टराईले भन्दिएछन्, “नोबेल पुरस्कार पाउने विषयमा सरकारले सिफारिस गरेर पठाउने होइन । यो कुनै अन्तर्राष्ट्रिय संस्थाले सिफारिस गर्ने कुरा हो । यसरी सिफारिस गरेर दिँदैनन् । तपाईंहरु अलि नचिनिएको बेलामा भए दिन्थे पनि होला । तर, तपाईंहरु धेरै चिनिइसक्नु भयो त्यसैले अप्ठेरो छ ।” 

त्यतिबेला प्रधानमन्त्री नेपालले संक्षिप्त टिप्पणी गर्दै भनेछन् – “तपाईं यस्तै कुरा गर्नु हुन्छ ।”

पंतिकारले पूर्वप्रधानमन्त्री नेपालसँग यस प्रसंगलाई पुष्टी गराउन पाएको छैन । तर, पूर्वपरराष्ट्र सचिवले नै भनिसकेपछि विश्वास गरेको छु । नभन्दै कोइरालाका बारेमा गरिएको सिफारिसले काम गरेन । २०६२÷६३को आन्दोलन लगत्तै भइदिएको भए सायद पुरस्कार मिल्थ्यो पनि होला तर त्यसबीचमा भएका गतिविधिले नेताहरु चिनिइसकेका थिए । हो अहिले पनि नेताहरुका कतिपय गतिविधि र कमजोरीले नेताहरु चिनिइसकेका छन् तर त्यसमा ‘करेक्सन’ नै गर्न नसकिने अवस्था होइन । त्यसैले शैली सच्याएर आफैंलाई ‘करेक्सन’ गरेर अघि बढौं ।


व्यवहारमा अर्को शैली

हालसालैको अर्को एउटा प्रसंगमा जाऔं । चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच केही विषयमा सहमति भएको कुरा सार्वजनिक गरियो । सर्सर्ती हेर्दा सहमति भएका ६ बुँदामा अधिकांश बुँदा भ्रमण आदान प्रदान गर्नेमा केन्द्रीत छन् । भ्रमण आदानप्रदानका सन्दर्भमा सोझो प्रसंगमा हाम्रो पारा के हो भने उताका मान्छे पनि बोलाउने यताका पनि जाने  । यो सम्म ठीकै हो । तर हामी गर्छौं के भने उताबाट मान्छे आफ्नै खर्चमा अलि थोरै आउँछन् । यताबाट उता जानुपर्यो भने संख्या अलि बढ्छ र खर्च पनि उनीहरुले नै व्यहोर्नुपर्छ । यो हाम्रो चलन हो । नेकपाका हकमा पुरानै शैली अपनाइन्छ वा फेरिन्छ त्यो हेर्न बाँकी छ । हामीे आफ्नै खर्च पनि व्यहोर्दैनौं र उताबाट आउनेको व्यहोर्ने झन् छाँटै हुँदैन । त्यहींबाट शुरु हुन्छ हाम्रो टोली लज्जित हुने प्रसंग । अनि हामी बाहिर जाँदा बोलाउनेले खर्च मात्रै होइन भत्ता पनि देओस् भन्ने चाहन्छौं । अनि उताबाट आउँदा उपहार लिएर आओस् भन्छौं । संघ संस्था, पार्टी देखि सरकारका महत्वपूर्ण मान्छेहरुको शैली नै पनि विगतमा यस्तै देखिने गरेको छ । त्यसलाई अब करेक्सन नगरे अरुले हामीलाई हेप्ने अवस्था हुन्छ । 

एक जना जापानीले अलि अघि भन्थे – कुनै सुरुङ मार्गको बारेमा एउटा अध्ययन भ्रमणको कार्यक्रम आएछ । त्यहाँ हाम्रा मन्त्री महोदय नै पुगेछन् । उनी भन्दैथिए, “कमसेकम एउटा सम्बद्ध विषय हेर्ने इन्जिनियरलाई पठाइदिएको भए उसले त्यसको व्यवहारिक पक्ष बुझेर फर्किन्थ्यो होला । मन्त्रीले त्यहाँ गएर के उपलब्धी भयो होला ?” अब उपलब्धी के भयो होला  त्यो तिनै मन्त्री वा भगवान पशुपतिनाथले नै जानुन् । त्यो एउटा उदाहरण मात्रै हो । त्यसैले सच्चिनु जरुरी हुन्छ ।

विश्वमा  विकासको कुरा गर्दा निरंकुशता भएका मुलुकमा पनि भएको छ, राष्ट्रपतीय प्रणाली भएको मुलुकमा पनि भएको छ, राजतन्त्र भएको मुलुकमा पनि भएको छ, प्रधानमन्त्रीय पद्धती भएका संसदीय व्यवस्था भएका मुलुकमा पनि भएका छन् । अर्थात् व्यवस्थाले विकास रोकेको देखिएको छैन । झन् हाम्रो जस्तो मुलुकमा स्वतन्त्रता र मानवअधिकार सहितको विकास सुनमा सुगन्धको रुपमा हुनुपर्ने हो तर कता कता केही मिलिरहेको छैन ।

हालै  चिनियाँ राष्ट्रपतिले बेइजिङमा स्टार फिस आकारको भयंकरको बिमानस्थल उद्घाटन गरे । चीनमा विश्वकै ठूलो वा लामो वा अग्लोका कैयौं रेकर्ड छन् । त्यहाँ कम्युनिस्ट तन्त्र छ । आज आउँदै गरेका चिनियाँ राष्ट्रपति सी जिनपिङ भ्रष्टाचारका प्रखर विरोधीका रुपमा चिनिन्छन् । उनले व्यवहारमै भ्रष्ट नेताहरुलाई जेल पठाएका छन् । तर, बाहिर बाहिर उनको विचार लिन्छौं भन्ने हाम्रोमा को को भ्रष्टबाट घेरिएका छौं वा छैनौं त्यो आफैंले बुझौं ।  

अघिको प्रसंग जोडौं । हाम्रो पुरानो शैली सबैले चिनिसकेका छन् । त्यसैले पनि हामीले त्यो शैली फेर्यौं भन्ने अनुभूति मित्रराष्ट्रहरुलाई दिनु जरुरी भएको छ । हामीले चीनले आफ्नो लगानीमा बनाएको १३ किमी लामो ट्रली बसका तार पनि बेचेर खायौं । उसले बनाइदिएका उद्योग भताभुंग बनायौं । अनि अहिले सबै खर्च गरेर रेल बनाइदेउ भन्दा उसलाई मान्न धुकचुक भएको छ । केही नेपालले व्यहोरेर व्यवहारबाट आफूलाई प्रमाणित गर्नुपर्ने भएको छ ।

त्यसैले हाम्रो पुरानो शैलीलाई फेरौं । स्थिरता भएको देशको रुपमा परिचय दिऔं ।  बोलीमा अडान भएका, पत्यार भएका नेताले देश चलाइरहेका छौं भन्ने सन्देश दिऔं । आफ्नो शैली फेर्नुपर्ने हो भने फेर्न ढिला नगरौं । यसो गरियो भने काठमाडौं नै हाम्रो हेडक्वार्टर बन्छ । नत्र हेडक्वार्टर बेइजिङ, दिल्ली वा वाशिङटन जहाँसुकै बनाऔं उनीहरुले महसुस गर्ने भनेको ‘यिनीहरु यस्तै हुन्’ भन्ने नै हो । यस्ता उच्चस्तरीय भ्रमणमा प्रष्ट ढंगले प्रस्तुत होऔं । उनीहरुका चासो सुनौं, आफ्नो चासो राखौं । वचनमा पक्का होऔं । अहिलेको अवस्थामा २३ वर्षपछि चीनका तर्फबाट भएको राष्ट्रपतिको भ्रमण नै महत्वपूर्ण हो, यसलाई हरतरहले सफल बनाऔं ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय