नेपाल भारतका सीमावर्ती नाकाहरुमा अविच्छिन्नरुपमा ओहोरदोहोर गरिरहने यात्रुका पदचापमा विविध कथाका अनेकौं कलेवर भेटिन्छन् । दिनहुँ व्यक्तिपिच्छे फरक उद्देश्य बोकेका विभिन्न हैसियतसँग सरोकार राख्ने मानिसहरु एउटा भूमिबाट अर्को भूमिमा आवतजावत गरिरहेका अनुहारले बेग्लै अवस्थालाई जनाइरहेको हुन्छ । ओहोरदोहोरका गतिहरुले प्रत्येक जीवनका कथालाई मिहिनसँग पस्किँदै अगाडि बढिरहेको देखिन्छ । यी नाका एउटा देशबाट अर्को देशमा पुग्ने माध्यममात्र हुँदैनन् बरु अनवरतरुपमा हिँडाइहरुलाई समेटिरहने साक्षी पनि हुन् । फरक यत्तिमात्र हो यिनमा चलमलाहट हुँदैन । एउटा दूरी निर्धारण गरेर हेर्ने हो भने यहाँ एक दिनमा सयाैं व्यथा र उत्साहका तस्बिर भेट्न सकिन्छ ।
यी बाटाहरुबाट ओहोरदोहोर गर्नु कसैको आवश्यकता हो भने कसैको लागि बाध्यता पनि हो । चार रुपैयाँ सस्तो दैनिक उपभोग्य वस्तु किन्न खोज्नेका लागि यी नाका पार गर्नु स्वेच्छा हो भने छलेर भारतका कोठीहरुमा पुर्याइने नेपाली चेलीका लागि उनीहरुको जीवन अन्धकारको पोखरीमा डुबाउने प्रवेशद्वार पनि हो । सँगसँगै कतिपय नेपालका नागरिक लागि सस्तो ओखती उपचार पाउने भरोसाको केन्द्र बनिरहेका छन् भारतीय सहरहरु । हो ! यी नाकाहरु यस्तैगरी हिँड्नेहरुको आवश्यकताअनुसार कहिले खुम्चिन्छन् त कहिले फराकिला हुन्छन् । तस्करीको जालो फैलाउन कहिले आँफू साँगुरो बनिदिन्छन् भने कहिले सबैका आवश्यकतालाई बुझेर फैलिदिन्छन् । यी नाकाहरु स्थायीरुपमै कैयौंको जीविकोपार्जन गर्ने महत्त्वपूर्ण भरोसाका केन्द्र बनिरहेका हुन्छन् । युगौंदेखि भारतका यस्ता सीमावर्ती सहरले नेपालीहरुको बाध्यता यसरी नै बुझिरहेझैँ लाग्छ । त्यसैले त यी सहरहरुले नेपाली नागरिकहरुलाई कुनै न कुनैरुपबाट आफूतर्फ तानिरहेकै हुन्छन् । यो सीमा क्षेत्र सबै वर्ग र समूहका लागि भरपर्दो र आशाको केन्द्र बनेको हुन्छ ।
नेपाल र भारतका विभिन्न गन्तव्यमा जाने सबै यात्रुले यी नाकाहरु पार गर्नैपर्छ । नेपालका सीमावर्ती क्षेत्रमा अवस्थित भारतीय सहरले नेपालीलाई कुनै न कुनैरुपले बोलाइरहेको हुन्छ । भर्खरै गर्भवती भएका धेरै नेपाली महिला पनि यी सहरतर्फ तानिएका हुन्छन् । आफ्नो कोखमा बढीरहेको भू्रण परीक्षणका लागि दिनहँु धेरै महिला नाका पार गरिहेका हुनछन् । त्यहाँ पुगेपछि भू्रणले आगामी यात्रा तय गर्न पाउने वा नपाउने निर्धारण हुन्छ । यस्तै साझा कथाव्यथासँगै दिनहँु दुइटा प्राण एउटै शरीरमा बोकेर धेरै महिला भारतका नजिक सहर आउजाउ गर्छन् । नेपाली रुपैयाँ भारतीयमा बदलेर पारेको पोकाको गाँठा फुकाउँदै ठूलो होर्डिड बोर्डमा ‘भू्रण जाँच कानुनी अपराध’ लेखिएका अस्पतालमा बुझाउँदै भित्री कोठामा छिरिरहेका देखिन्छन् ।
उमेरले तीस पनि नपुगेकी तर अनुहार र शरीरको अवस्था हेर्दा पचास पार गरिसकेजस्ती लाग्ने महिला पनि आफ्नो घरबाट लामो दूरी तय गरेर यहाँ पुगेकी छन् । यिनले यो बाटो निक्कै पटक हिँडिसकेकी छन् । अनुहारमा निराशाका डोब भए पनि साहसको पटुका कम्मरमा मज्जासँगै बाँधेकी छन् । पक्कै पनि अनुहारमा झल्किरहेको शिथिलता ती महिलाले भोग्नु परेको शारीरिक र मानसिक हिंसाका जलप हुनन् । काखमा एउटी सानी छोरीसँगै कोखमा खेिलरहेको जीवनलाई बाँच्न दिने वा नदिने भन्ने निर्धारण गर्न पतिसँगै यहाँ आएकी छन् । प्रत्येक पटक गर्भ रहेपछि उन नेपालबाट नजिक पर्ने भारतीय सहरमा धाउँछिन् । अहिलेसम्म उनले तीनवटा छोरी भ्रूण नष्ट गरिसकेकी छन् । अब चौथो पटक यहाँ पुगेकी छन् । दुःख गरेर पालेका दुइटा खसी बेचेर भारतमा कोखको बच्चाको लिंग पहिचान गर्न आएकी हुन् । भ्रूण छोरीको हो भन्ने थाहा पाएपछि भित्र पालिइरहेको सास बन्द गर्न बाध्य हुन्छिन् । अनि आफू रगतका लप्काहरुमा बेरिँदै वासस्थान फिर्ता भइरहेकी हुन्छिन् । यसपटक भने तिनलाई आशा छ गर्भमा रहेको बच्चा छोरा होला । यहाँ आउनुपूर्व भगवानलाई भाकल पनि गरेकी छन् । तर, के सृष्टिकर्ताले महिला र पुरुषलाई साँच्चै विभेद गरेर नै रचना गर्यो होला र ?
महिला पुरुषबीचको प्रकृतिक फरकपनाको औचित्य भनेको एकअर्कालाई पूर्णता प्रदान गर्नु हो । तर, समयको अन्तरालसँगै यो फरकपन शक्तिको खेलमा परिणत भयो । मानव सभ्यताको कालखण्डमा महिलाभन्दा पुरुष सर्वोच्च शक्तिमा स्थापित हुन पुग्यो । र त महिलालाई कुनै न कुनै तरिकाले कमजोर रहिरहन सामाजिक मान्यताले बल दिलाइरहेका हुन्छन् । महिला पुरुष जन्माउने माध्यममात्र भइरहे ।
कम्प्युटर स्क्रिनमा देखिने शिशुको चलमलाहट र मुटुको धड्कनप्रति उनी पूर्ण अनभिज्ञ छिन् । उनलाई चलमलाइरहेको भू्रणको लिंगसँगमात्र सरोकार छ । जसोजसो अल्ट्रासाउन्डको मेसिनले पाठेघरमा परीक्षण गर्न तरंग उत्पन्न गर्छ उसोउसो तनावका तरंगले उनको अनुहारमा विषाद उत्पन्न हुन्छ । त्यसभन्दा बोझिल उनको मुटु भएको हुन्छ । एकैछिनपछि कुनै संकेतमार्फत उनका पेटमा छोरा छ कि छोरी भन्ने उनलाई बताइनेछ । र भ्रूण परीक्षण गरिएको छैन भन्ने उल्लेख गरिएको अंशमा उनलाई अंगुठा छाप लगाउन लगाइने छ । गर्भमा छोरा नभए निःसन्देह फेरि पनि गर्भ नष्ट गर्नेछिन् तर आशालाई मर्न दिने छैनन् । उनलाई लागेको छ जीवन यसरी नै चल्छ र चलिरहन्छ । तर, नमरुन्जेल एउटा छोरा जन्माउने अठोट भने आफूभित्र जीवितै राखेकी छन् ।
पटकपटक गर्भ नष्ट गर्दा आफ्नो ज्यान कति जोखिममा छ भन्ने उनलाई थाहा छ । त्यो अवस्था पहिले नभोगेकी पनि होइनन् । तर, अकालमा मर्ने त्रासभन्दा छोराविना कसरी मर्ने डर बढी छ । यो त्रास जीवनको सबैभन्दा ठूलो डर बन्न पुगेको छ । यसैका माध्यमबाट समाजले वर्षौंदेखि महिलालाई तर्साउँदै आइरहेको छ । विवाह गरेर भित्र्याउँदा ज्येष्ठ सदस्यहरुबाट पाएको पुत्रवती हुनु, वंश बढाउनु भन्ने आशीर्वादभित्र लुकेको अघोषित निर्देशनको त्रास । छोरीमात्र जन्मेपछि समाजमा हुने हेलाँको त्रास । छोरो जन्मिएन भने लोग्नेले घरमा अर्की भित्र्याउने त्रास, बुढेसकालमा सहाराको अभावको त्रास । मरिसकेपछि पनि नर्क वासको त्रास । कहिलेकाँही त महिलाको जीवन सन्ताप हो कि कुनै त्रासको कुण्डजस्तो लाग्छ ।
सामाजिकीकरणले निर्माण गरेका बन्धनहरुमा जीवनै बन्धकी रहेका कारण पाठेघर छोरा जन्माउने मेसिनमात्र बनिदिन्छ । महिलाको हैसियतलाई उसको छोरा जन्माउने कुराले निर्धारण गरिरहेको हुन्छ । उनी एउटा प्रतिनिधिपात्र मात्रै हुन् । धेरै संख्यामा उनीजस्ता महिला दिनहँु यस क्रमलाई निरन्तरता दिइरहेका हुन्छन् ।
जीवन निःसन्देह रोकिँदैन, चलिरहन्छ । महिलाको जीवन भने सधैँ पुरुषको वरपरको घुमाइमा सीमित रहन्छ । तिनको घुमाइको कुनै लेखाजोखा गरिँदैन । महिलाको जीवनको अस्तित्वलाई भ्रूण छुट्याउने मेसिनले मिचिरहेको छ । प्रत्येकपटक महिलाको पाठेघरमा तैरिरहेको बच्चालाई पृथ्वीमा अवतरण गराउन दिने वा नदिने त्यसै मेसिनले निर्धारण गरिरहेको हुन्छ । त्यसैले यो मेसिन महिलाको जीवनको महत्त्वपूर्ण कालखण्डको निर्णायक बनेको छ । तर, कसरी सहजतासाथ आफूभित्र पालिँदै गएको प्राणलाई फाल्ने निर्णय गरिदिन्छन् आमाहरु ? आमाहरुलाई छोरा पाउने यन्त्र बनाइएको छ । उनीहरु यन्त्र न हुन् जो स्वेच्छाले चल्न पाउँदैनन् । एउटा यन्त्रले अर्को यन्त्रलाई नियन्त्रित गर्नु कुन अनौठो भयो र ? प्रकृतिक देनलाई स्वीकार गर्न नदिएर विकल्प रोज्न दिने सजिला साधन बनेका छन् यस्ता मेसिनहरु ।
विकल्प रोजेबापत महिलाले शारीरिक र मानसिकरुपमा चुकाउनुपर्ने मूल्यको समाजले कुनै अर्थ देख्दैन । स्त्री सृष्टिकर्ता हुन् तर सृष्टिलाई कसरी सञ्चालन गर्ने भन्ने तय गर्ने सृष्टिको लगाम पुरुषसत्ताले आफनो हातमा लिएको छ । त्यसैले त महिला आफ्नो जन्ममा रमाउन सक्दैनन् भने आफूजस्तालाई जन्म दिँदा रमाउन सक्दैनन् र दिँदैनन् पनि ।