site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पले जीर्ण पारेका मन्दिर ५ लाखदेखि ९ करोड लागतमा बन्दै

काठमाडौं । पुरातत्व विभागले २०७२ सालको भूकम्पले क्षति पुर्याएको मन्दिर तथा पाटी निर्माणलाई तीव्र पारेको दाबी गरेको छ । विभागले निर्माणलाई तीव्र पारिएको दाबी गरे पनि केही मन्दिर, पाटी तथा सत्तलको मात्रै जिर्णोद्वार भएको छ । 

विभागका अनुसार अहिलेसम्म आधा दर्जन मन्दिर र पाटी पुनर्निर्माण भएका छन् । अहिलेसम्म निर्माण भएका मन्दिर तथा पाटीमा काठमाडौंका जमाचो पाटी, लौहदेह, इचंगुनारायण सत्तल, भक्तपुरको रामेश्वर र बद्री नारायण मन्दिर र ललितपुरको प्याङगाउँको दुईवटा पाटी छन् । प्याङगाउँकै एउटा पाटी भने निर्माणाधीन अवस्थामा छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा १२ वटा मन्दिर तथा पाटी निर्माण गरिसक्ने पुरातत्व विभागले जनाएको छ । 

“आउँदो असारसम्म १२ वटा संरचनाको पुनर्निर्माण तथा जिर्णोद्वारको काम सकिन्छ,” पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले भने, “अहिलेसम्म ६ वटा निर्माण गरिसकेका छौं । यस्तै, काठमाडौं बाहिर पनि पुनर्निर्माण तथा जिर्णोद्वार कार्य भइरहेको छ । पाल्पाको रानीमहल दरबारको जिर्णोद्वार पनि सकियो ।” 

बौद्धको चैत्य यसअघि नै निर्माण सम्पन्न भएर प्रधानमन्त्रीले उद्घाटन समेत गरिसकेका छन् । यो बाहेक देखिने ठूलो निर्माण, पुनर्निर्माण तथा जिर्णोद्वारको काम हुन सकेको छैन । 

तत्काल निर्माण सम्पन हुनेमा भक्तपुरका दक्षिण बाराही, अनन्तलिंगेश्वर लगायतका छन् । 
काठको अभावका कारण निर्माणमा ढिलाइ भएको इन्जिनियर घिमिरेको भनाइ छ । निर्माण प्रक्रियाको सुरुआत नै ढिलो भएकाले काम सम्पन्न हुन पनि ढिलो भएको घिमिरेले बताए । 

“मुख्य अभाव भनेको काठ हो । निर्माण गर्दै जाँदा काठको अभावले पनि काम रोकिने अवस्था आयो,” उनले भने, “ अब भने काठको पनि अभाव हुँदैन । टिम्बर कर्पोरेसनसँग कुरा भइसकेको छ । हामीले माग गरे अनुसार उसले काठ कटान गरेर पुरातत्व विभागलाई उपलब्ध गराउँछ । लामा लामा काठ कटान गर्न हामीले भनिसकेका छौं ।”

घिमिरेले अब पुनर्निर्माण तथा जिर्णोद्वार कार्यले निरन्तरता पाउने दाबीसमेत गरे । अबको तीन वर्षभित्र सबै क्षतिग्रस्त संरचना तयार भइसक्ने उनको दाबी छ । 

विभागले आगामी वर्षका लागि भूकम्पबाट क्षति पुगेका ९७ वटा र नियमितअन्तर्गत ५७ वटा गरी १५४ वटा संरचना जिर्णोद्वार तथा पुनर्निर्माणका लागि टेन्डर गरिसकेको छ । घिमिरेका अनुसार टेन्डर आह्वान गरिएकामा ७० प्रतिशतमा आशयपत्रसहितको सम्झौता भइसकेको छ । सम्झौता भइसकेका २० प्रतिशत कम्पनीले निर्माण कार्य सुरु गरिसकेको घिमिरेले जानकारी दिए । 

निर्माण हुँदै गरेको संरचनामा ठूलो बजेटमा ९ करोड देखि सानो बजेटमा ५ लाखसम्म छ । ९ करोड लागतमा शंखमूलको जगत नारायण पुनर्निर्माण हुँदैछ । 

विभागले नै निर्माणको जिम्मेवारी पाएको धरहराको ड्रइङ एन्ड डिजाइन पनि अन्तिम चरणमा पुगेको छ । विभागका अनुसार अबको केही दिनमै अन्तिम ड्रइङ एन्ड डिजाइन पुनर्निर्माण प्राधिकरण्लाई बुझाइने छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७३  ११:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro