युरोपदेखि अमेरीका, अस्ट्रेलिया, एसिया अफ्रिकासम्म नेपाली पुगेका सबैजसो देशमा अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी चलिरहेको छ । देशबाहिर रहेका भनिएका ५० लाखमध्ये केही नेपालीका लागि यो सम्मेलन प्रत्येक दुई वर्षमा लाग्ने कुम्भ मेला नै बन्ने गरेको छ भने कतिलाई यसप्रति कुनै पनि चासो छैन । धेरैले चासो नदिनुका विविध कारणमध्ये एउटा सम्मेलनको नाममा विदेशमा समेत चरम राजनीतिक ध्रुवीकरण हुनु हो ।
नेपालमा जात, क्षेत्र, समुदाय लिंग, वर्गअनुसार टोल पिच्छे बग्रेल्ती संस्था भएजस्तै विदेशमा नेपालीका धेरै संघसंस्था छन् । यस्ता संस्थाका कतिपय गतिविधीले कैयौंपटक नेपालमै भएको महसुस हुन्छ । त्यसको कारण हो – स्वदेशमा जस्तै विदेशमा पनि ती संस्थामा हुने राजनीति, सबैको नेता बन्ने होडबाजी । विश्वका अन्य देशबाट आएका आप्रवासीको भने विदेशमा यति धेरै संघसंस्था बिरलै हुने गर्छ । अर्थात्, उनीहरु जताततै राजनीति गर्न चाहँदैनन् ।
एनआरएनएको नवौं विश्व सम्मेलनको पूर्व सन्ध्यामा कैयौं देशमा अधिवेशन भएको छ भने केहीमा हुने त्रलम चलिराखेको छ । दुई वर्षअघि जस्तै अहिले पनि विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय समितिहरुको अधिवेशनमा दलगत समूह र कित्ताकाटबाट नै अधिकांश देशमा नेतृत्व छनोट गरिएको छ । यद्यपि, एनआरएनएलाई विदेशमा बस्ने नेपालीको हितका निम्ति गठन गरिएको गैरराजनीतिक संस्था हो भन्ने गरिन्छ । एनआरएनए विदेशमा रहेका नेपालीलाई साझा मालामा एकत्रित गर्ने संगठन हो भने यति धेरै राजनीति किन चाहिएको हो ? के विदेशमा आएर पनि नेपालीले आपसमा दुःखसुख साटासाट गर्न, सहकार्य, समन्वय गर्न कम्युनिस्ट, कांग्रेस या अन्य कुनै दलको बिल्ला भिर्नु नै पर्ने हो ? के कुनै दलको बिल्ला नभिरेसम्म गैरआवासीय नेपालीको हितमा सक्षम व्यक्तिले नेतृत्व गर्न नपाउने हो ?
नेपालका राजनीतिक दलको आस्था र विचारका आधारमा कित्ताकाट गरेर विदेशमा नेपालीले सम्मानजनक र सहज जीवन यापन गर्न सक्छन् ? नत्र किन आफनै देशमा असफल भइरहेको राजनीतिक अभ्यासलाई विदेशमा पनि भित्र्याउन तम्सेका हुन् नेपालीहरु ? समृद्ध र समुन्नत देशमा आए पनि नेपालीले सिकेको संस्कार यही हो ? के यी देशमा पनि नेपालमा जस्तै सबै क्षेत्रमा चरम राजनीतिकरण छ ? के युरोप अमेरिकाका नागरिक हाम्रो नेपालमा जस्तै विद्यालय व्यवस्थापन समितिदेखि टोल विकास र सडक निर्माणका समिति बनाउने र ठेक्का दिने काम पनि राजनीतिक आस्थाको आधारमा गर्छन् ? पक्कै गर्दैनन् । उनीहरु व्यवस्था, पद्धति र नीतिमा विश्वास गर्छन् ।
प्रश्न उठ्छ उसो भए खै त विदेशलाई कर्म भूमि बनाएर बसेका नेपालीले (केहीबाहेक) यहाँको पद्धतिबाट सिकेको । विदेशमा दशकौंदेखि बसेका र आफूलाई गैरआवासीय नेपालीको नेता हुँ भन्नेहरुसँग यी जिज्ञासाको जवाफ छ त ? अवश्यै छैन । चरम राजनीतिकरणका कारण देश बिग्रियो भनेर विदेश छिर्नेहरू नै दलको छाता ओढेर एनआरएनएदेखि विविध समुदाय र टोलैपिच्छे स्वदेशमा जस्तै नेता बन्ने होडमा छन् । राजनीति सबै नीतिको मूल नीति हो तर त्यही राजनीति सर्वत्र व्याप्त हुँदा देशका कैयन क्षेत्र धराशायी बनेका उदाहरण हामीसँगै छन् ।
प्रोफेसरदेखि प्रिन्सिपलसम्म, इन्जिनियरदेखि इन्स्पेक्टरसम्म अनि निजीदेखि निजामती क्षेत्रका देश छोडेर हिँडेका पात्र युरोप र अमेरिकाका गल्लीमा मिनेटमिनेटमा भेटिन्छन् । तीमध्ये कतिपयले कुनै दलको झन्डा नबोक्दा आफूहरु अन्यायमा परेको र अवसरबाट वञ्चित हुनुपरेको तीतो अनुभव सुनाउने गर्छन् । चरम राजनीतिकरण नेपालको यथार्थ पनि हो । तर, यस्तै पी भोगेर विदेशिएका नेपाली प्रवासमा पनि नेता बन्ने होडबाजीमा राजनीतिक चुलाचौका खडा गर्न किन तम्सेका हुन् ?
विदेशमा रहेका नेपालीसँग समाज र देशले रेमिट्यान्समात्र होइन त्यहाँको उन्नत प्रणाली र पद्धतिको पनि अपेक्षा गरेको हुन्छ । देश बदलियोस्, समृद्ध बनोस् । जे कारणले देश बिग्रिएको हो, युवा पलायन हुन बाध्य भएका हुन् त्यस्ता व्यवहारको नदोहोरियोस् भन्ने नै चाहेको छ ।
एनआरएनएले त कुनै युरोपेली वा अमेरिकीले जसरीे काम, पेसालाई सम्मान गर्छ त्यसरी नै विदेशमा बसेका नेपालीले पनि गर्छन् भन्ने सन्देश स्वदेशमा प्रवाह गर्न सक्नुपर्छ । समृद्ध देशको समृद्धिकोे आधार कामप्रति इमानदार र समयको महत्त्व बुझ्ने हुनु नै हो भन्ने बुझाउनु पर्छ । विदेशमा पनि उही दलगत राजनीतिक दाउपेचमै रुमलिने हो भने नेपालीले यिनीहरुबाट इमानदारी र परिश्रमको पाठ कहिले सिक्ने ?
नेपाली राहादानी बोक्ता विदेशी अध्यागमनमा सामना गर्नुपर्ने अनेक प्रश्नको झमेलाबाट मुक्त हुन पनि देशमा वास्तविक समृद्धि आउन जरुरी छ । व्यवस्था बदलिए पनि, अवस्था नबदलिएसम्म नेपाल र नेपालीलाई हेर्ने विदेशीको दृष्टिकोणमा कुनै फेरबदल आउनेछैन । विदेशमा नेपालीलाई दलगत राजनीति सिकाउने होइन सीप, श्रम, योग्यता र दक्षता बढाउन सघाउनुपर्छ अनिमात्र अवस्था बदलिन सक्छ । प्रवासमा खुलेका संगठनले परिवर्तनको संवाहक भएर काम गर्नु जरुरी छ । यसका निम्ति एनआरएनएको नेतृत्व दलगत राजनीतिक रंग दलेको होइन योग्यता र क्षमताको राप र तापमा खारिएको पात्र हुनु आवश्यक छ ।
चर्को दलगत विभाजनबाट विदेशमा जन्मिएका नेपाली किशोर किशोरीमा समेत राम्रो प्रभाव पर्ने छैन । यस्ता कुरामा ध्यान दिनुपर्ने गैरआवासीय नेपाली संघ आफैँ राजनीतिमा चुर्लुम्म डुब्नु हुँदैन । जताततै दलगत राजनीति घुसाउँदा एनआरएनएप्रतिको विश्वास पनि समाप्त हुँदै जानेछ । दलगत घेराभन्दा बाहिर बस्न चाहनेहरू संस्था प्रति आकर्षित पनि हुने छैनन् । तसर्थ, अब विदेशमा दलगत राजनीति होइन त्यहाँको विकासको ढाँचा, शैली र परिश्रमको पाठ सिक्न र सिकाउन गैरआवासीय नेपाली सक्रिय हुनुपर्छ ।
हालः लिस्वन