काठमाडौं । दिपेश धामी र प्रिन्स दाहाल नेपाली ब्याडमिन्टन क्षेत्रको परिचित नाम हो । दिपेश ब्याडमिन्टनका पछिल्लो च्याम्पियन हुन् । यता प्रिन्स पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका जुनियर लेभरका च्याम्पियन हुन् । घरेलु प्रतियोगितामा पनि दुवै खेलाडीको नाम शीर्ष स्थानमा देख्न सकिन्छ । यी दुवै खेलाडी स्वर्ण भित्र्याउने रणनीतिका साथ तयारी गरिरहेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) आगामी मंसिरमा आयोजना हुँदैछ । घरेलु मैदानमा स्वर्ण पदक जित्ने अपेक्षासहित दिपेश र प्रिन्स पसिना बगाइरहेका छन् । उनीहरु नेपालले अपेक्षा गरिएका खेलाडी हुन् ।
पाकिस्तानमा भएको नवौं सागबाट सहभागिता जनाउन थालेको ब्याडमिन्टनले हालसम्म कास्य पदकमात्र जित्न सकेको छ । डेब्यु सागमा नै दुई कास्य पदक जितेको ब्याडमिन्टनले त्यसपछिका तीनै संस्करण तथा १० औं, ११ औं र १२ औं सागमा दुई–दुई कास्य पदक जितेको छ ।
तर, ब्याडमिन्टन संघ १३ औं सागमा कास्य भन्दा माथिको पदक ल्याउन चाहन्छ । संघको मात्र होइन, विगतको भन्दा राम्रो नतिजा ल्याउने खेलाडीहरुको उत्साहबाट प्रष्ट छ । अहिले प्रशिक्षणमा रहेका खेलाडीमा पुरानासँगै केही नयाँ अनुहार पनि छन् । जस मध्ये एक प्रिन्स पनि एक हुन् ।
“सागमा डेब्यू गर्दैछु, धेरै उत्साहित छु । पहिलो साग त्यो पनि घरेलु मैदानमा सहभागिता जनाउने अवसर आएको छु । मेरो लक्ष्य स्वर्ण जित्नेछ,” प्रिन्सले भने । प्रिन्सले पुरुष एकलमा भने खेल्न पाउने अवस्था छैन । किनकी राष्ट्रिय च्याम्पियन र खेल अनुभवका आधारमा दिपेशले पुरुष एकलमा नेपाली ब्याडमिन्टनको प्रतिनिधित्व गर्नेछन् ।
“मैले पुरुष एकलमा त खेल्न पाउनेछैन, टिम इभेन्टमा भने खेल्नेछु । त्यसमा भने हाम्रो लक्ष्य नै स्वर्ण हुनेछ । अन्य देशको तुलनामा पनि हाम्रो टिम इभेन्ट धेरै बलियो छ । यदि मलाई पुरुष एकलमा पनि स्थान दिएमा मेरो लक्ष्य नै उत्कृष्ट प्रदर्शन हुनेछ,” प्रिन्सले भने ।
यता १२ औँ साग खेलेका राष्ट्रिय च्याम्पियन दिपेश टिम इभेन्टमा स्वर्ण आउने कुरामा ढुक्क छन् । स्वर्णका लागि नेपालले मुख्य प्रतिस्पर्धीका रुपमा भारतलाई लिएको र उनीहरुसँग पनि जित निकाल्न सकिने उनको विश्वास छ । यसअघि १२ औँ सागमा भने दिपेश श्रीलंकाका खेलाडीसँग पहिलो खेलमा नै पराजित भएका थिए । घरेलु प्रतियोगिताका च्याम्पियन दिपेश भन्छन्, “बिहान र बेलुकी तयारी भैरहेको छ । राम्रो भइरहेको छ । मिक्स डबलमा पनि धेरै चान्स छ । एकलमा पनि छ । नेपाली ब्याडमिन्टन पहिला भन्दा धेरै राम्रो छ,” दिपेशले भने ।
नेपाली टोलीलाई भारतीय खेलाडीको डर छ । भारतीय ब्याडमिन्टनको लेभल विश्वस्तरमै राम्रो छ । एसियाली क्षेत्रमा मात्र भन्ने हो भने भारत ब्याडमिन्टनमा च्याम्पियन हो । श्रीलंका पनि ब्याडमिन्टनमा कमजोर भने होइन । तर नेपालसँग भएका पछिल्लो खेलका आधारमा भन्ने हो भने श्रीलंका भन्दा नेपाल बलियो टोली हो ।
“भारत, श्रीलंकाजस्तो बलियो टोलीको सामना गर्नुपर्ने हुन्छ । मेहनत गरेअनुसार दोस्रो र तेस्रो हुने सम्भावना छ । तर पहिलो हुनका लागि यति तयारीले पुग्दैन । समय थोरै भएपनि विदेशी खेलाडीसँग प्रतिस्पर्धा आवश्यक छ । जसले गर्दा हाम्रो प्रदर्शनमा पनि धेरै फरक आउने छ र उनीहरुको प्रदर्शन गर्ने तरिका पनि जान्न सहज हुनेछ,” दिपेशले भने ।
नेपाली ब्याडमिन्टन टोलीले हाल राखेपको कवर्डहलमा प्रशिक्षण गरिरहेको छ । सागको ब्याडमिन्टनको खेल सोही कवर्डहलमा हुनेछ । जसले गर्दा खेलाडीको प्रदर्शनमा पनि केही फरकपन भने देख्न सकिनेछ । दिपेशले भने, “घरेलु कोर्टले हाम्रो प्रदर्शनमा धेरै फाइदा पुग्नेछ । घरेलु कोर्टमा देशको प्रतिनिधित्व गर्न पाउनु सबै खेलाडीको लागि खुसीको कुरा हो । अन्य खेल भन्दा ब्याडमिन्टमा धरै फरक छ । खुसीसँगै चुनौती पनि हाम्रो लागि धेरै छ । त्यो चुनौतीलाई पर राख्दै सफलता निकाल्ने मुख्य लक्ष्य हुनेछ ।”
सागका लागि हाल ब्याडमिन्टनमा २७ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदीप योञ्जनले यही असोजमा खेलाडीहरुको पहिलो छनोट गर्नेछन् । जसमा उनले छनोटमा रहेका खेलाडीरुबीच नै लिग खेल खेलाउनेछन् । जसमा सबै खेलाडीले सबै खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
“ब्याडमिन्टनमा राम्रो पदक आउन सकेको छैन । यो सागमा भने पहिलेको सागमा जस्तो रहनेछैन । मिक्स डबल र टिम इभेन्टमा हामी स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछौँ । तर एकलमा भने हाम्रो लक्ष्य हाल रजत छ,” मुख्य प्रशिक्षक योञ्जनले भने । त्यसो त छोटो समयमा गरेको तयारीले नेपाली टोलीलाई टिम इभेन्टमा पनि पदक ल्याउन सहज भने छैन । त्यसैले नेपाली टोली हाल अन्तर्राष्ट्रिय एक्सपोजरको खोजीमा छ ।