site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ अनुहारबाट नतिजाको अपेक्षा

काठमाडौं । आगामी मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि समावेश २७ खेलमध्ये क्रिकेटबाहेक सबैको तयारी सुरु भइसकेको छ । घरेलु मैदानमा पदकको अपेक्षासहित सबै टोलीले तयारी सुरु गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ । 

विशेषत भलिबल संघले महिला टोलीबाट स्वर्णको अपेक्षा राखेको छ । प्रारम्भिक छनोटमा नै विवादित महिला भलिबल टोलीलाई प्रशिक्षक जगदिश भट्टले अभ्यास गराइरहेका छन् । छनोटमै विवादमा परेका प्रशिक्षक भट्ट नयाँ खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् । उनले प्रारम्भिक छनोटमा कप्तान र उपकप्तानलाई नअटाएपछि सर्वत्र आलोचना पनि भएको थियो । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २५ सदस्यीय प्रारम्भिक टोली छनोट गर्दा अनुभवी खेलाडी तथा कप्तानसमेत रहेकी विनिता बुढाथोकी र उपकप्तान मञ्जु गुरुङ अटाउन सकेनन् । 
राष्ट्रिय टोलीको छनोट गर्दा र प्रारम्भिक टोलीको घोषणा गर्दा कप्तानसँग छलफल गर्ने प्रचलन अन्तरराष्ट्रिय स्तरमा रहे पनि भलिबल संघले बनाएको छनोट समितिले जानकारी नै नदिई दुइ खेलाडीलाई बाहिर राख्यो । ती दुई खेलाडीले आपत्ति जनाए पनि भलिबल संघले उनीहरुलाई चित्तबुझ्दो जवाफ दिन सकेको छैन् । 

यद्यपि पुराना खेलाडीलाई बिदाइ गर्दै नयाँ खेलाडीलाई स्वागत गर्ने भलिबल संघ बताउँछ । त्यसो त घरेलु मैदानमा हुने खेलमा समर्थकको मायासँगै बिदाई लिने खेलाडीको चाहना नभएको भने होइन । तर, संघको अपरिपक्व व्यवहारका कारण उनीहरु समर्थकको मायाका बीच बिदाई हुने अवसरबाट वञ्चित भएका छन् । 

यता प्रशिक्षक भट्ट टोलीलाई विशेष योजनासहित अभ्यास गराइरहेको बताउँछन् । उनी टोलीमा आएको सकारात्मक परिवर्तनले सफल नतिजा आउने दाबी गर्छन् । खेलाडी छनोटमा विवादित बनेका भट्टले त्यसको जवाफ अबको केही दिनमै आउने बताए । “हामी भलिबलमा परिवर्तन चाहन्छौँ । खेलाडी छनोटमा पनि, हामीले धेरै पछिसम्मको लागि भनेर नेपाली टोलीको छनोट गरेका हौं । त्यसको रिजल्ट चाँडै आउनेछ । नयाँ खेलाडीले अवसर पाउनु हुन्न भन्ने पनि होइन,” प्रशिक्षक भट्टले भने । 

भलिबलको अहिले अभ्यास गरिरहेकोे टोलीमा विभागीय टोलीका खेलाडीसँगै प्रदेशका खेलाडीले पनि स्थान बनाएका छन् । जसमा सबैभन्दा धेरै प्रदेश पाँचका खेलाडी छन् । प्रशिक्षक भटट्ले भने, “यो पटक प्रदेश स्तरका खेलाडीहरुले पनि टिममा स्थान बनाउने क्षमता बनाएका छन् । सुरुवातमा प्रदेशका खेलाडीहरु शारीरिक रुपमा केही कमजोर भए पनि उनीहरुको अहिलेको सुधार हेर्ने हो भने धेरै फरक देखिन्छ । केही दिन अझै राम्रो प्रशिक्षण पाएमा उनीहरु पनि उत्कृष्ट हुनेछन् ।”

प्रशिक्षक भट्टले छनोटका विषयमा पछि जवाफ दिने भनिरहँदा महिला भलिबल टोलीको छनोट विवाद यसअघि पनि नआएको भने होइन । प्रायः भलिबल संघ र खेलाडी छनोट समितिले उमेरको हद देखाउँदै आएको छ ।

“हालसम्म आएका सबै कुराको जवाफ दिने समय धेरै पर छैन, हामीसँग जो जति खेलाडी छन्, सबै उत्कृष्ट छन् । उत्कृष्ट खेलाडीबाट पनि उत्कृष्टलाई छनोट गरेर राष्ट्रिय टोलीको घोषणा गरिनेछ, जो विगत भन्दा राम्रो देखिनेछ,” प्रशिक्षक भट्टले भने । 

उनका अनुसार राष्ट्रिय टोलीको पहिलो छनोट भदौ १५ गते हुनेछ । जसमा २५ जनाबाट १८ जनालाई दोस्रो चरणको छनोटका लागि राखिनेछ । जसबाट विवादित सबै प्रश्नको जवाफ आउने प्रशिक्षक भट्ट दाबी गर्छन् । 

खेलाडीको उत्साह   

एशियाली खेलकुदको कुम्भ मेला सागका लागि खेलाडीहरु उत्साहित छन् । घरेलु मैदानमा ठूलो प्रतियोगितालाई स्वागत गर्न आतुर खेलाडी उत्कृष्ट प्रदर्शनको अपेक्षासहित मिहिनेत गरिरहेका छन् । “देशका लागि खेल्नुको खुसी त छँदैछ, अझ देशका लागि घरेलु मैदानमा प्रदर्शन गर्न पाउनु धेरै ठूलो कुरा हो । सागका लागि मेरो अपेक्षा नै उत्कृष्ट प्रदर्शन गर्ने छ । अझ घरेलु दर्शक र समथर्कको साथले टोलीलाई उत्साहित बनाउनेछ । पछिल्लो समय टिममा भएको परिवर्तनले पनि प्रदर्शनमा फरक ल्याउने छ । आशा गरौं, हामी सफल हुनेछौँ,” राष्ट्रिय खेलाडी सरस्वती चौधरीले भनिन् । 

छोटो समयमै राष्ट्रिय टोलीमा राज गरेकी प्रतिभा माली पनि राम्रो प्रदर्शनको अपेक्षामा छन् । उनले भनिन्, “तयारी राम्रै भैरहेको छ, नतिजा पनि राम्रो निस्कन्छ होला, सबै खेलाडीहरुको प्रदर्शन उत्कृष्ट नै छ । टिममा नयाँ अनुहारहरु छन्, उनीहरुले पनि धेरै मेहनत गरिरहेका छन् । आशा छ, भलिबलले राम्रो नतिजा निकाल्छ होला । सुरुवातमा विभागीय टोलीका खेलाडी भन्दा प्रदेशका खेलाडीहरु फिजिकल रुपमा कमजोर थिए । पछिल्लो समय त्यसमा पनि सुधार आएको छ”। 

लामो समयदेखि राष्ट्रिय टोलीमा रहेकी रेश्मा भण्डारीको योजना पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने छ । “घरेलु मैदानमा खेल्न पाउनु खुसीको कुरा हो । हाल भैरहेको तयारी र खेलाडीले प्रशिक्षणका क्रममा गर्ने प्रदर्शनलाई आधार मान्ने हो भने हामी सफल नै हुनेछौं । लामो समय राष्ट्रिय टोलीमा खेलिरहेका आधारमा पनि देशका लागि केही गर्ने अववर आएको छ । यसलाई सदुपयोग गर्नेछु,” रेश्माले भनिन् । 

नेपाली प्रारम्भिक टोली 

सरस्वती चौधरी, प्रतिभा माली, निरुता ठगुन्ना, उषा भण्डारी, लक्ष्मी कुमाल, शान्ति थारु, पुष्पा शाही, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफुया पुन, कविता भट्ट, हिरा केसी, उषा विष्ट, रेश्मा भण्डारी, चन्द्रकला खरेल, संगम महतो, ममता डगौरा, जानकी भण्डारी, अरुणा शाही, सरस्वती कट्टेल, कमला पुन, सलिना श्रेष्ठ, शान्ति तामाङ र यामकली कुँवर


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro