site stats
बाह्रखरी :: Baahrakhari
देश
साइबर आक्रमणको नयाँ ‘ट्रान्जिट’ बन्दै नेपाल ! निसानामा एटीएम बुथ र महिला

काठमाडौं । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले ५ असार ०७६ मा ‘फ्रड प्लास्टिक म्याग्नेटिक कार्ड’ प्रयोग गर्दै विभिन्न बैंकको एटीएम बुथबाट २० लाखभन्दा बढी रकम झिकेको आरोपमा ३३ वर्षीय राजुकुमार पाण्डेलाई पक्राउ गर्‍यो । अनुसन्धानका क्रममा राजु पाण्डे र ३ जना रोमानियन नागरिक मिलेर राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटीएम बुथबाट पैसा झिकेको पाइयो । पाण्डेसँग ३ जना रोमानियन नागरिकले ८ महिनाअघि मात्रै ‘दोस्ती’ गरेका थिए । पाण्डेले विदेशी नागरिकलाई एटीएम बुथसम्म पु¥याउने र निकालिएको रकम बाँडफाँड गरिन्थ्यो । पाण्डे पक्राउ परेपछि रोमानियन नागरिकले भने नेपाल छाडिसकेका थिए । घटनाको अनुसन्धान जारी छ ।

सिआइबीकै तथ्याङ्कअनुसार हालसम्म यस्तै प्रकारका अवैध १३६९ वटा एटीएम कार्ड बरामद भएका छन् । सिआइबीकै सक्रियतामा ९५ लाख ६२ हजार ८५० नेपाली रुपैयाँ, अमेरिकी डलर ७५ हजार २ सय २५,  युरो ७३ हजार ८ सय ७५, इन्डोनेसियन रुपी ३३,००० र  फिलिपिनी करेन्सी ४७० बरामद भएको छ । हालसम्म व्युरोले एटीएम कार्ड ठगीमा २४ जनालाई पक्राउ गरिसकेको छ । जसमा ६ जना नेपाली, ४ जना रोमानियन, ४ जना टर्कीस, ४ जना बुल्गेरियन, ४ जना मोल्दोभियन र २ जना भारतीय छन् । नक्कली एटीएम कार्डबाट बुथबाटै पैसा झिकेका घटना अन्य जिल्लामा पनि हुँदै आएका छन् । साइबर आक्रमण अन्तरराष्ट्रिय स्तरको हुन्छ । यसका लागि आक्रमणकारीको अन्तरराष्ट्रिय सञ्जाल हुने गरेको पाइन्छ । यसअघि साइबर आक्रमण महत्वपूर्ण सूचना, डाटा चोरीका लागि बढी प्रयोग हुन्थ्यो भने पछिल्लो समय आर्थिक अपराधकै लागि आक्रमण बढ्दो छ ।

यस्ता घटना बढ्नुको मुख्य कारण कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्नु नै भएको प्रहरी अधिकारीको बुझाइ छ । त्यसो त साइबर अपराध भनेकै सामाजिक सञ्जालबाट हुने अपराध मात्रै भएको नेपाली समाजको बुझाइ छ । सिआइबीकै तथ्याङ्क हर्ने हो भने एटीएम अपराधमा तेस्रो मुलुकका नागरिक बढी संलग्न छन् । विदेशी नागरिकले नेपाली नागरिकको सहयोगमा साइबर आक्रमण गर्ने गरेको प्रहरी अनुसन्धानले देखाउँछ ।

Argakhachi Cement Island Ad

एटीएम कार्ड बनाएर पैसा निकाल्ने, सामाजिक सञ्जाल (फेसबुक, इमो, भाइबर) लगायतको प्रयोग गर्दै साइबर आक्रमणका गतिविधि नेपाललाई साइबर अपराध (आक्रमण)को नयाँ ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने खतरा बढेको छ । नेपालमा हुनसक्ने सम्भावित साइबर आक्रमण रोक्न स्पष्ट प्रकारको सरकारी नीति तयार भएको देखिँदैन । यसप्रति सुरक्षा सतकर्ता नअपनाउने हो भने हो ‘हमला’कै रुपमा अगाडि बढ्नसक्ने प्रहरी अधिकारीको बुझाइ छ । पछिल्लो समय विश्वका सयौं कम्पनी साइबर हमलाको शिकार भएका छन् ।

नेपालीहरु विभिन्न बहानामा ठगिने क्रम बढ्दो छ । पछिल्लो दुई वर्षयता भाइबर, इमो वा टेलिफोन नम्बरमै ‘तपाईंलाई लाखौंको चिठ्ठा’ परेको छ भन्दै ठग्ने क्रम क्रम बढी देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल यस्ता कुरामा सचेत हुन र समयमै प्रहरीमा खबर गर्न आग्रह गर्छन् ।

प्रविधिको दुरुपयोग गर्दै नेपालीहरूलाई ठगी गर्ने विदेशीको संख्या बढ्दो छ । सामाजिक सञ्जालबाट ठगी गर्ने, ब्याकअप प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने जस्ता कार्यमा विदेशी नागरिकको संलग्नता बढ्दै गएको तथ्याङ्कबाट देखिन्छ । प्रवक्ता पोखरेल प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताउँछन् । उपलब्ध स्रोत र साधनको अधितम प्रयोग गर्दै ब्यूरोले साइबर अपराधका घटनाको अनुसन्धान गर्दै आएको उनको भनाइ छ ।

भोटाहिटीमा कार्यालय रहेको साइबर व्युरोका डिआइजी विकास श्रेष्ठ साइबर अपराध, त्यससम्बन्धी कानुन लगायतका विषयमा देशभर विभिन्न कार्यक्रम र माध्यमबाट जनचेतना फैलाउने काम ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत भइरहेको बताउँछन् । डिआइजी श्रेष्ठ भन्छन्, ‘‘धेरैमा साइबर अपराधबारे ज्ञानकै कमी देखिन्छ । जथाभावी गाली गर्ने, सामाजिक सञ्जालमा असभ्य, अश्लील कुराहरु पोष्ट गर्ने कुराहरु नै बढी देखिन्छन् । कतिपयले त सामाजिक सञ्जालकै कारण आत्महत्या पनि गरेका छन् । यसले सुरक्षा चुनौती पक्कै बढाएको छ ।’’ चरित्रहत्या गर्ने ठूलो माध्यम सामाजिक सजाल भएको डिआइजी श्रेष्ठको बुझाइ छ ।

एकापट्टि सामाजिक सञ्जालको जानी–नजानी दुरुपयोग भएको देखिन्छ भने अर्कोतिर सामाजिक सञ्जालबाट ठग्ने गिरोह नै सक्रिय देखिने प्रहरी अधिकारी बताउँछन् । प्रहरी कार्यालयमा आइरहने निवदेनमा चिट्ठा पर्‍यो भन्दै ठगिएकाहरु भेटिन्छन् । धेरै पुरुषहरू वैदेशिक रोजगारीका लागि विदेशमा हुने र घरमा रहेका महिलाहरुको चेतनाको स्तर कम भएको फाइदा त्यस्तो गिरोहले उठाइरहेको छ ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा साइबर अपराधका घटनामा वृद्धि हुँदै आएको देखिन्छ । आर्थिक वर्ष ०७०–०७१ मा ३९ वटा मुद्दा दर्ता हुँदा ०७१–०७२ मा ३५, ०७२–०७३ मा ४३ र ०७३–७४ मा ३२ ओटा मुद्दा दर्ता भए । यस्तै ०७४–०७५ मा एक सय र ०७५–०७६ मा १६७ ओटा मुद्दा दर्ता भए । प्रहरीका अनुसार नेपालका ६३ प्रतिशत जनता कुनै न कुनै रुपमा सामाजिक सञ्जाल वा इन्टरनेटसँग जोडिएका छन् । जसमध्ये अधिकाशंले मोबाइल प्रयोग गर्छन् । त्यसको सहि सदुपयोग गर्न नजान्दा पनि अपराध बढेको देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १४:०७
प्रतिक्रिया दिनुहोस्