काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) घरेलु मैदानमा हुँदैछ । घरेलु मैदानमा हुने सागलाई सफल बनाउने योजनामा आयोजक राष्ट्र नेपाल लागिरहेको छ । खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । घरेलु मैदान र समर्थकको फाइदा उठाउने लक्ष्यमा रहेको नेपाल धेरै पदक घरमै राख्न चाहन्छ ।
खेल संघहरु धेरै पदक जित्ने लक्ष्यका साथ तयारीमा जुटेका छन् । त्यसमध्येको एक तेक्वान्दो पनि हो । कुनैबेला धेरै पदक भित्र्याउने खेलको रुपमा परिचित तेक्वान्दो पुरानो साख फर्काउने रणनीतिका साथ तयारीमा लागेको छ ।
तेक्वान्दोबाट नेपालले सागबाट सबैभन्दा धेरै मेडल भित्र्याएको छ । हाल प्रशिक्षक रहेका दीपक विष्टले मात्र सागमा चार स्वर्ण जितेका थिए ।
स्वर्ण पदकधारी प्रशिक्षक विष्ट अहिले नयाँ लक्ष्यसहित खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा ८२ जना खेलाडी बन्द प्रशिक्षणमा सहभागी छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो, दोस्रो र उत्कृष्ट तेस्रो भएका खेलाडीहरु रहेको मुख्य प्रशिक्षक विष्टले बताए । उनका अनुसार आठौंमा सहभागी एनआरएन खेलाडी प्रशिक्षणमा सामेल छन् ।
“१२ औँ सागमा असफल भएका भने होइनौं । सात खेलाडीहरु फाइनलमा पुगेर पनि गोल्ड मेडल जित्न नसक्नु दुर्भाग्य भयो । अब ती कमजोरी सुधार्दै यो पटक धेरै पदक भित्र्याउने योजना छ,” मुख्य प्रशिक्षक विष्टले भने ।
हाल प्रशिक्षणमा रहेका ८२ खेलाडीमध्येबाट अन्तिम चरणमा २६ खेलाडी छनोट गरिने छ । २६ जना खेलाडीसहित १० अन्य खेलाडी गरेर दुई महिना अन्तरराष्ट्रिय तयारीमा जाने तेक्वान्दो टोलीको योजना छ । अहिले साँझ र बिहान गरी चार घण्टा प्रशिक्षण गर्ने समय मिलाइएको छ ।
“खेलाडीहरुको प्रदर्शन देखेर पदक जित्ने कुरामा शंका छैन । अब मात्र खेलाडीको अन्तिम प्रदर्शन हेर्न बाँकी छ । अर्काे साताबाट थप दुई घण्टा प्रशिक्षणको समय बढ्नेछ,” विष्टले भने ।
चार महिनाको मात्र तयारीले खेलाडीको प्रदर्शनमा ठूलो अपेक्षा गर्नु भने मूर्खता हुने उनको तर्क छ । जति समय छ, त्यसलाई सदुपयोग गर्ने विष्टले बताए । उनले खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर रहेको पनि उल्लेख गरे ।
घरेलु मैदानमा हुने सागमा पदक जित्दै पुरानो पीडा भुल्ने खेलाडीसामु अवसर पनि छ । त्यसका लागि खेलाडी मेहनत गरिरहेका छन् । अघिल्लो सागमा अफगानिस्तानका खेलाडीसँग फाइनलमा पराजित वीरबहादुर महरा स्वर्ण ल्याउने गरी तयारीमा रहेको बताउँछन् । “१२ औँ साग मेरो डेब्यू थियो । साना–साना कुरामा चुक्दा सफल भइन । जम्मा तीन अंकले स्वर्ण पदक ल्याउन सकिन । अब घरेलु मैदानमा हुने सागमा भने पहिले जस्तो कमजोरी हुनेछैन । स्वर्णको तयारी गरिरहेको छु,” वीरले भने ।
प्रशिक्षक विष्टको भनाइलाई आधार मान्ने हो भने हाल प्रशिक्षणमा रहेका खेलाडीहरुमा धेरै सम्भावना देख्न सकिन्छ । प्रशिक्षणमा रहेका खेलाडीहरु सबै उत्कृष्ट भएको र उनीहरुको क्षमतालाई हेर्दा पनि धेरै आशा पलाएको विष्ट बताउँछन् । अघिल्लो सागको पीडा भुलाउने र देशका लागि मेडल भित्र्याउन खेलाडीहरु आतुर छन् ।