यसपटक काठमाडौँ आउँदा बसमा मलाइ एउटा फोन आयो । मैले फोन उठाउँदै ‘हेलो’ भन्नुको साटो ‘जय नेपाल’ भने । मैले न त प्रहरीमा जागिरे भएकोले न नेपाली कांग्रेसको कार्यकर्ता भएको हुनाले ‘जय नेपाल’ भनेको हुँ । मैले आफ्ना उमेरका अलि नजिकका साथीभाइ र नातेदारको फोन उठाउँदा ‘जय नेपाल’ भन्नथालेको धेरै भइसकेको छ । मलाई पनि थाहा छैन कहिलेदेखि र किन मेरो यो बानी लाग्यो तर मलाई ‘जय नेपाल’ भन्दा अर्कै आनन्द र गर्व महसुस हुन्छ ।
मैले कुरा गरिसकेर फोन राखें, बसमा मेरो सिटको नजिक बसेका २/४ जनाले अलि अर्कै नजरले मलाई नै हेर्दै थिए । उनीहरु के सोचेर मलाई त्यसरी हेरेका हुन् भनेर जान्न धेरै बेर लागेन । स्पष्ट थियो— फोन उठाउँदा पनि ‘जय नेपाल’ भन्ने म पक्कै पनि नेपाली कांग्रेसको कार्यकर्ता या समर्थक हुनुपर्छ भनेर तिनले सोचेका थिए । किनभने प्रहरीमा जागिर खानेजस्तो मेरो सुगठित जिउडाल छैन । उनीहरुको हेराइको भाव बुझ्दा यस्तो लाग्थ्यो मानौ मैले ‘जय नेपाल’ भनेर ठूलो गल्ती गरेको थिएँ । म उनीहरुलाई हेर्दै मुसुक्क हाँसें । अनि अलि लाज मान्दै मुन्टो झुकाएँ कुनै अपराधी जस्तै गरेर ।
मेरो सिटको छेउमा बसेको मान्छेको अनुहार चाहिँ उज्यालो थियो, उसले मलाई आफ्नै मान्छे भेटियोजस्तो गरेर आफ्नो हातअगाडि सार्दै आफ्नो परिचय दियो । मैले पनि औपचारिकता पूरागर्दै आफ्नो हात अगाडि बढाएँ । उसको अचानकको समिपताले दर्शाउँथ्यो ऊ नेपाली कांग्रेसको कार्यकर्ता या शुभ चिन्तक हुनुपर्छ । अनि अरुले मेरो बारेमा सोचेजस्तै उसले पनि मेरो बारेमा पक्कै पनि त्यही सोचेको थियो होला — म पक्कै पनि नेपाली कांग्रेसको कार्यकर्ता हुनुपर्छ ।
वास्तविकता के हो भने म नेपाली कांग्रेसको कार्यकर्ता या शुभ चिन्तक हैन । लोकतन्त्रिक शासन पद्दतिमा अटल विश्वास गर्ने भए पनि २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि अहिलेसम्मको नेपालको दुर्भाग्यको मूल कारण गिरिजाप्रसाद कोइराला र उनले नेतृत्व गरेको नेपाली कांग्रेस हो भन्नेहरूको जमातमा म अग्र पंक्तिमा उभिने छु । तर, त्यसको अर्थ म कुनै अन्य दलको कार्यकर्ता या शुभ चिन्तक हुँ भन्ने पनि होइन । म त नेपाल र नेपालीको सधैं भलो चाहने एउटा सामान्य र स्वतन्त्र नेपाली नागरिकमात्र हुँ । मैले आजसम्म कुनै पनि राजनीतिक दलको सदस्यता पनि लिएको छैन र कुनै राजनीतिक दलको खुलेर समर्थन गरेको पनि छैन । जुन दल या नेताहरुले देश र जनताको लागि कर्तव्यनिष्ठ भएर इमान्दारीपूर्वक आफ्नो काम गर्छन् मैले तिनैको समर्थन गर्ने गरेको छु ।
मलाई थाहा छैन ‘जय नेपाल’ भन्ने शब्द कहिलेदेखि नेपाली कांग्रेसको पेवा भयो भन्ने । मैले थाहा पाएसम्म प्रजातन्त्रको पुनर्बहाली भएपछि नेपाली समाज ‘जय नेपाल’ र ‘लाल सलाम’ मा स्पष्टरूपमा विभाजन हुन सुरुभएको थियो । त्यति बेलादेखि नै ‘जय नेपाल’ भनेर काँग्रेसीले के के न आफूलाई देशभक्त जस्तो भनेर फलाक्दै हिँड्थे भने अर्कोतिर ‘जय नेपाल’ भनेपछि ठूलै पाप नै लाग्छ जस्तो गरेर कम्युनिस्टहरूले नेपालको जयसम्म भन्न पनि आँट गरेनन् र अझैं पनि ‘जय नेपाल’ भन्दा मजस्ता स्वतन्त्र नागरिकलाई आँखा तरेर हेर्ने गर्छन् ।
मैले या मजस्तै अरू कुनै देशभक्त र स्वतन्त्र नेपाली नागरिकले भित्र मनदेखि नै नेपालको जय होस् भनेर निसंकोच ‘जय नेपाल’ भन्न पाउने कि नपाउने ? ‘जय नेपाल’ शब्दमा नेपाली कांग्रेसको मात्रै ‘कपी राइट’ छ र ? ‘जय नेपाल’ भन्दा मलाई कांग्रेसी भएको टाँचा लाग्नुपर्ने ? मलाई यो कदापि स्वीकार्य छैन । किनभने वास्तवमा अन्तर्मनदेखि नै नेपालको जय चाहने नेपाली कांग्रेसका नेता र कार्यकर्तामात्र होइनन् बरु मजस्तै कुनै पनि दलसँग आवद्ध नभएका स्वतन्त्र नेपाली हुन् । त्यसैले ‘जय नेपाल’ शब्दमा नेपाली कांग्रेसको मात्र होइन सबै देशभक्त नेपालीको ‘कपीराइट’ छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई अन्तर्मनदेखि नै अंगालेर त्यसै अनुरूप काम गर्ने नेपाली कांग्रेसका सच्चा कार्यकर्ता जसले साँच्चै नै हृदयदेखि नेपालको जय चाहन्छ उनीहरुलाई ‘जय नेपाल’ भन्ने अधिकार छ तर हामीले देखेजानेका अधिकांश भ्रष्ट नेता र तिनका कार्यकर्ता ‘मुखमा रामराम बगलीमा छुरा’ भने जस्तो भन्दा चाहिँ ‘जय नेपाल’ भन्ने तर व्यवहारमा सधै नेपाल र नेपालीको कुभलो हुने काममात्र गर्नेहरुलाई ‘जय नेपाल’ जस्तो गहन अर्थ राख्ने र सम्मानित शब्दको दुरुपयोग अधिकार छैन ।
मलाई काठमाडौँको त्यो बस यात्राले आँखा खोलिदियो । अब ‘जय नेपाल’ शब्दलाई अझ बढी प्रयोग गर्न र त्यहीअनुरुप काम पनि गर्न मलाई अझ बढी उर्जा मिलेको छ र त्यो गर्न अब मलाई कसैले रोक्नसक्ने छैन । जसले जस्तो नजरले हेरे पनि जसले जस्तो टाँचा लगाइदिए पनि म ‘जय नेपाल’ शब्द प्रयोग गर्नबाट विचलित हुनेछैन भन्ने अठोट लिएको छु ।
तपाईं पनि मजस्तै स्वतन्त्र र देशभक्त नेपाली हुनुहुन्छ भने अन्तरात्मादेखि नै नेपालको साँच्चै नै जय चाहनुहुन्छ भने नेपाली कांग्रेसका कार्यकर्ता हुनुहोस् या कम्युनिस्ट दलको कार्यकर्ता हुनुहोस्, चाहे हिमाली हुनुहोस् या मधेसी चाहे तपाई पूर्वको हुनुहोस् या पश्चिमको आउनुस् सबैले दिल खोलेर निसंकोच र निर्भीक भएर एकै स्वरमा भनौ — ‘जय नेपाल’ ।