site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै सकिएन धरहराको ‘ड्रइङ एन्ड डिजाइन’

काठमाडौं । लामो समय बितिसके पनि धरहराको ‘ड्रइङ एन्ड डिजाइन’ तयार हुन सकेको छैन । पुरातत्त्व विभागले पटक–पटक ‘फाइनल ‘ड्रइङ एन्ड डिजाइन’ तयार हुनै लागेको बताएको महिनौं बिते पनि अझै अन्तिम डिजाइन तयार पार्न सकेको छैन । 

“सबै काम सकिएको छ, अब बढीमा एक हप्ता लाग्छ होला,” पुरातत्त्व विभागका सिनियर डिभिजनल इन्जिनियर सम्पत घिमिरेले भने, “तयार भइसकेको डिजाइनलाई पटक–पटक परिमार्जन गर्नुपरेकाले केही ढिलो भएको हो ।”

विभागले धरहराको ‘ड्रइङ एण्ड डिजाइन’ तयार पारेर फाइल पुनःनिर्माण प्राधिकरणलाई बुझाउनेछ । ‘‘ड्रइङ एन्ड डिजाइनको काम सकिइसकेको छ, आज पुनः एकपटक बसेर फाइनल गर्छौं र प्राधिकरणलाई बुझाउँछौं,” घिमिरेले भने, “दर्जनौं पटक विज्ञहरूसँग बसेर छलफल भइसकेको छ । अझै एक पटक सबै प्राविधिक पक्ष अध्ययन गर्न लागिएको हो ।”

उनका अनुसार अब धरहरामा राखिने डबल लिफ्ट ग्राउन्ड फ्लोरमा रहने छैन । भूकम्प गएका बेला ग्राउन्ड फ्लोरमा गएर फेरि माथि चढ्नुपर्दा ज्यानको जोखिम थप बढ्ने भएकाले एक तला माथिसम्म मात्रै लिफ्ट राखिने घिमिरेले जानकारी दिए । 
“भूकम्पबाट ढलेको धरहरा भूकम्प प्रतिरोधी बन्दैछ । त्यसैले भूकम्प गएका बेला धरहरामा रहेका व्यक्ति कसरी सुरक्षित तल झर्ने भनेर छलफल गर्दा एक नम्बर थिच्दा ग्राउन्ड फ्लोरमा लिफ्ट जाने भएकाले हामी धरहरामा नयाँ प्रयोग गर्ने निचोडमा पुगेका छौं,” घिमिरेले भने, “विश्वका जुनसुकै ठाउँमा लिफ्टको अन्तिम बिन्दु ग्राउन्ड फ्लोर हुन्छ । तर, भूकम्प गएर आत्तिएको समयमा मान्छेले ग्राउन्ट फ्लोरमा स्विच अन गर्ने भएकाले हामी एक तलालाई ग्राउन्ड फ्लोर गर्ने निष्कर्षमा पुगेका छौं । यस्तै कारणले केही ढिलो भइरहेको छ ।’’ 

विभागले अन्तिम विवरणसहितको नक्सा बुझाएपछि पुनःनिर्माण प्राधिकरणले निर्माणकार्य सुरु गर्नेछ । घिमिरेका अनुसार निर्माण सम्पन्न हुन तीन वर्ष लाग्नेछ । 
धरहराको ‘ड्रइङ एण्ड डिजाइन’ केज एण्ड कन्सल्टेन्ट र एमआरबी आर्टिस्टिकले ७७ लाख ८४ हजार रुपैयाँमा तयार पारेका हुन् । नयाँ बन्ने ११ तले धरहरा २४५ फिट अग्लो हुनेछ । भित्र २१३ र बाहिर २५ वटा सिँढी रहने धरहराको डिजाइनमा कुनै परिवर्तन नहुने बताइएको छ ।

टक्सार विभाग, गोश्वारा हुलाक र अहिलेको धरहरा परिसर गरेर कूल ३० रोपनी क्षेत्रफलमा बन्ने धरहरामा अण्डरग्राउन्ड दुई तला निर्माण गरिनेछ, जसमध्ये एउटा तलामा अत्याधुनिक सङ्ग्रहालय हुनेछ भने एउटा तला पार्किङ हुनेछ । सङ्ग्रहालयमा टक्सार विभागमा रहेका पैसा छाप्ने मेसिन तथा पुराना सिक्काहरू राखिनेछन् । 

“सानो तर आकर्षक टक्सार म्युजियम पनि रहनेछ”  विभागका सूचना अधिकृत दामोदर गौतमले भने, “भूकम्पले भत्काएको धरहरा पनि त्यहीँ राख्नेछौं, तर त्यो अहिलेकै अवस्थामा रहनेछ । त्यसलाई सड्न र मक्किन नदिन केमिकल हालेर राखिनेछ ।”

यस्तै, अर्को तलामा भने पार्किङ हुनेछ । पार्किङमा तीन सय कार र ४ सय मोटरसाइकल अटाउनेछन् । “यति ठूलो क्षमताको पार्किङ भएपछि सुन्धारा, न्युरोड क्षेत्रमा देखिएको अस्तव्यस्त पार्किङ र केही हदसम्म ट्राफिक जाममा पनि कमी आउने हामीले अपेक्षा गरेका छौं,” घिमिरेले भने । 
घिमिरेका अनुसार, धरहरा निर्माणमा तीनदेखि चार अर्ब खर्च लाग्नेछ । 

भूकम्पले भत्किएको धरहरा यसपटक भने फलामको रड, सिमेन्ट र इँटासहित निर्माण हुने भएको छ । अपाङ्गता भएका व्यक्ति र अशक्तका लागि डबल लिप्mट पनि राखिनेछ । धरहरा परिसरमा रेस्टुरेण्ट, लबी, थिएटर र फाउन्टेन पनि हुनेछ । भूकम्प तथा प्राकृतिक प्रकोपमा बस्न मिल्ने गरी धरहरा परिसरभित्रै खुला ठाउँसमेत रहनेछ । 

सरकारले सुरुमा पहिलाको धरहरा रहेकै स्थानलाई ओगटेर  बनाउने योजना गरे पनि विभागले आधुनिक धरहराको ‘कन्सेप्ट’ ल्याएको थियो र पछि गएर सरकारले समेत अत्याधुनिक धरहरा निर्माणमा सहमति जनाएको थियो । यी विविध प्रक्रिया र छलफलका कारण निर्माणकार्य अलिक ढिलो हुन लागेको पुरातत्त्व विभागका सूचना अधिकृत गौतमले जानकारी दिए । 

गौतमका अनुसार, भत्किएको धरहराको ठूटो भने जस्ताको तस्तै अहिलेकै स्थानमा राखिनेछ । गौतमले भने, “धरहरासँगै गोरखामा भूकम्पले पुर्याएको क्षतिलाई प्रतिविम्बित गर्ने खालको म्युजियम रहनेछ ।” स्मरणीय छ, ०७१ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ९ तले धरहरा भत्किएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७३  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro