काठमाडौं । नेपालको अपराध इतिहासकै चर्चित घटनामध्येको एक हो, निर्मला पन्त बलात्कार तथा हत्या । राष्ट्रियमात्र नभई अन्तरराष्ट्रिय सञ्चारमाध्यमको ध्यान तानेको निर्मला हत्याकाण्डको आज (शुक्रबार) एक वर्ष पूरा भएको छ । हत्यामा को संलग्न थिए वा थियो, घटनास्थल कहाँ हो भन्ने अझै खुलेको छैन ।
कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाका १३ वर्षीया बालिका निर्मला पन्त गत वर्ष साउन १० गते साथीको घरमा निस्किएकी थिइन् । त्यसपछि उनी घर फर्किनन् । साउन ११ गते उनको शव घरनजिकै रहेको उखुबारीमा भेटियो । अनुसन्धानबाट उनको बलात्कारपछि हत्या भएको खुल्यो । निर्मला हत्याकाण्डपछि नेपाल प्रहरी अनुसन्धानको विषयलाई लिएर विवादमा तानियो ।
निर्मलाको शव भेटिएको स्थान वरपर उनले प्रयोग गर्ने साइकल, साइकलको हेन्डिलको रड, बायाँ खुट्टाको चप्पल, ३ वटा कापी र कालो पोलिथिनमा अम्बा भेटियो । प्रहरी हत्याराको खोजीमा लाग्यो । तर एक वर्ष पूरा हुँदा पनि हत्याराको पहिचान हुन सकेन । उल्टै प्रहरीका उच्च अधिकारीहरुको नियतमा शंका देखियो । अनुसन्धानमा त्रुटि देखिएको भन्दै निलम्बनदेखि वर्खास्तसम्म भए ।
पहिलो गाँसमै ढुङ्गा
निर्मलाको शव भेटिएपछि कञ्चनपुरमा स्थानीयले आन्दोलन चर्काउन थाले । स्थानीयले सिआइबीको टोलीले अनुसन्धान गर्नुपर्ने बताएपछि केन्द्रीय अनुसन्धान व्युरोबाट डिएसपी अंगुर जिसी नेतृत्वको टोली कञ्चनपुर पुग्यो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र सिआइबीको टोलीले भदौ ४ गते पत्रकार सम्मेलन गर्दै निर्मला हत्याकाण्डमा संलग्न रहेको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिह विष्टलाई सार्वजनिक गर्यो । दिलिपलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेपछि स्थानीयको आन्दोलन एकाएक उग्र बन्यो । त्यो आन्दोलन मानवीय र भौतिक क्षतिमा परिणत भयो । त्यसपछि चर्किएको आन्दोलनमा स्थानीय शनि खुनाले ज्यान गुमाए ।
अर्जुन भण्डारा अचेत अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचारत छन् । उनको एक खुट्टा गोली लागेपछि काटिएको छ । निर्मलाको अनुसन्धानका क्रममा निर्मलाको शवबाट संकलित स्याम्पल अभियुक्त विष्टको डीएनएसँग नमिलेपछि उनी हिरासतमुक्त भए । दिलिपलाई अभियुक्तको रुपमा सार्वजनिक गरेका प्रहरी अधिकारी निलम्बनमा छन् । तर उनीहरु आफूहरुको अनुसन्धान सहि भएको तर प्रहरीकै विधि विज्ञान प्रयोगशालाको डिएनए परीक्षणमा त्रुटि भएको दाबी गर्दै आएका छन् । विष्टपछि प्रहरीले हालसम्म ७० जनाभन्दा बढीको डिएनए परीक्षण गरिसकेको छ । तर कसैको पनि डिएनए मिलेको छैन ।
प्रहरीसँग हत्यारासम्म पुग्ने यथेस्ट प्रमाण छैन । जसका कारण निर्मला हत्याकाण्ड पटाक्षेप हुन सकेको छैन । प्रहरी अधिकारीका अनुसार सयौं व्यक्तिमाथि सोधपुछ गरिएको छ भने शंकास्पद विभिन्न समूहमाथि अनुसन्धान गरिएको छ । निर्मलाका आफन्तदेखि गाउँसम्मलाई शंकाको घेरामा राखेर अनुसन्धान गरिएपनि हत्यारासम्म पुग्ने ‘सुराक’ देखिएको छैन ।
छानबिन समितिले किटेन हत्यारा
आन्दोलन चर्किंदै गएपछि सरकारले निर्मला हत्या प्रकरणको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको थियो । छानविन समितिले हत्याराको पहिचान गर्ने आकलन थियो । १५ दिनको समयसीमा तोकिएको समितिलाई भदौ २५ गते पुनः १५ दिनको म्याद थपियो । त्यहीबीचमा समितिका सदस्य एवम् ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले राजीनामा दिए ।
उनले आफ्नो ज्यानमाथि खतरा बढेको दाबी गरेका थिए । तर कोबाट खतरा भन्ने खुलाएनन् । उनी फेरि समितिमै फर्किए । प्रतिवेदन तयार भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइयो । तर प्रतिवेदन प्रहरीकै मुचुल्काकै सेरोफेरोमा केन्द्रित भयो । समितिले प्रमाण नष्ट गरेको भन्दै प्रहरीलाई कारवाहीको सिफारिस गरयो ।
‘क्लु’ कै खोजीमा प्रहरी
प्रहरी अधिकारीका अनुसार निर्मला पन्त हत्याको अनुसन्धान पेचिलो बन्दै गएको छ । घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकालेपनि हत्यामा कसको संलग्नता थियो भन्ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो । निर्मला बलात्कारमा एकजनाको मात्रै संलग्नता रहेको अनुसन्धान र ‘भेजिनल स्वाब’ परीक्षणबाट पुष्टि भएको छ । निकै चासो र विवादित बनेको निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली सक्रिय छ ।
अनुसन्धान टोलीले सयौं शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्ने, कल डिटेल हेर्ने लगायतका काम गरिसक्दा पनि हत्यारासम्म पुग्ने ‘क्लु’ भेट्टाउन सकेको छैन । पछिल्लो समय प्रहरीले निर्मलाको गाउँ आसपासका वडाहरुको लगत संकलन समेत गरेको छ । त्यसक्रममा प्रहरीले झण्डै २ हजार बढी घरको विवरण संकलन गरेको हो । प्रहरीले संकलन गरेको विवरणमा घरमा को–को थिए, साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेशा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को–को गए लगायतका विवरण संकलन गरेको छ ।
नेपाल प्रहरीका एक अधिकारीका अनुसार बलात्कारका घटनामा डिएनए परीक्षण गरिएको यो पहिलो घटना हो । अनुसन्धानमा संलग्न प्रहरी टोलीले उपलब्ध स्रोत साधनको प्रयोग गरेपनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘यो घटनामा प्रविधिको प्रयोगभन्दा व्यक्तिलाई भेट्ने, खोज्ने लगायतकै काम बढी छ । किनकी निर्मलाले मोबाइल प्रयोग गर्ने नभएकाले प्रविधिबाट सहयोग त्यति छैन ।’’
बयान मिल्छ, डीएनए मिल्दैन
प्रहरीले दिलिप विष्टलाई अभियुक्तको रुपमा सार्वजनिक गर्यो । उनको डीएनए मिलेन । तर दिलिपले प्रहरीलाई दिएको साविति बयानको भिडियो हेर्ने हो भने उनले निर्मलाको बलात्कारपछि आफंैले हत्या गरेको बताएका छन् । तर डिएनए म्याच नभएपछि दिलिप छुटे । दिलिपपछि हत्यामा संलग्नताको आशंकामा पक्राउ गरेका प्रदीप रावल र विशाल चौधरी पक्राउ परे । डीएनए नमिलेपछि उनीहरु पनि रिहा भए । प्रहरी अधिकारीले तत्कालीन समयमा बाह्रखरीसँग दुवै जनाले प्रहरीको निर्मम यातनाका कारण आफूहरुले हत्या स्वीकार गरेको बताएका थिए ।
प्रहरी र स्थानीयबीच विश्वासको संकट
अनुसन्धानमा संलग्न प्रहरी जनताको साथ नपाएको गुनासो गर्छ भने जनता प्रहरीप्रति विश्वास नै गर्न तयार छैनन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘‘प्रहरीसँग कोही बोल्न चाहन्नन् । जनताले आफूले बुझेको कुरामात्रै बताइदिँदा पनि अनुसन्धानमा ठूलो सहयोग हुन्थ्यो ।’’ स्थानीयले प्रहरीले वास्तविक अपराधी बचाउन खोजेको आरोप लगाउँदै आएका छन् । तर पछिल्लो समय प्रहरी र जनताको सम्बन्धमा केही सुधार आएको छ ।
पूर्वडीआईजी हेमन्त मल्ल जनता र प्रहरीको सम्बन्ध सकारात्मक हुनुपर्ने तर्क गर्छन् । मल्ल भन्छन्, ‘‘कतिवय घटनामा जनताको भावना एकातिर अनुसन्धानको पाटो अर्कैतिर हुन्छ । प्रहरीले सबै पक्षबारे सचेत रहनुपर्छ ।’’
कसैलाई बचाउन चाहन्छ प्रहरी ?
गत मंसिरमा राष्ट्रियसभाको संसदीय समितिमा आईजीपी सर्वेन्द्र खनाल उपस्थित थिए । खनाललाई सांसदहरुले निर्मला हत्याकाण्डमा कसलाई बचाउन खोजेको हो भन्दै प्रश्न गरेका थिए । राष्ट्रियसभा सदस्यहरुको पनि घटनाबारे आ–आफ्नै जिज्ञासा र बुझाइ थिए । आईजीपीमात्रै होइन, प्रहरीका सबैजसो अधिकारीलाई निर्मलाको हत्यारा को हो भन्ने प्रश्नले घोच्दै आएको छ । कतिपयले घटनाबारे तत्कालीन कञ्चनपुर प्रहरीका अधिकारीलाई सबै थाहा भएको तर्क गर्छन् भने कतिपयले सत्तारुढ दलका नेता–कार्यकर्ताबाटै घटना भएकाले ढाकछोप गर्न खोजिएको दाबी गर्दै आएका छन् ।
संसदीय समितिमै आईजीपी खनालले अनुसन्धानबारे कसैको दबाब र प्रभाव नभएको बताएका थिए । ‘‘कपितय घटनाको अनुसन्धान जटिल प्रकृतिको हुन्छ । समय लाग्नसक्छ तर अपराधी उम्किन पाउँदैनन्,’’ खनालले भनेका थिए ।
गृहमन्त्री रामबहादुर थापाले यहि साउन ७ गते बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा निर्मला हत्याकाण्डमा राजनीति भइरहेको दाबी गरेका छन् । उनले भने, ‘‘यस्ता घटना हिजो पनि भएका थिए, आज पनि छन् र भोलि पनि हुन्छन । यसलाई पूरै नियन्त्रण गर्न सकिँदैन । अपराधीलाई सबै मिलेर कानुनको कठघरामा उभ्याऔं ।’’
प्रहरीले नै औंल्याएका प्रहरीका कमजोरी
एआईजी धिरु बस्न्यात नेतृत्वमा ३१ भदौ ०७५ मा प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि अनुसन्धान गर्न एक टोली गठन गरेको थियो । टोलीले कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित १८ जना प्रहरीलाई कारवाहीको सिफारिस गरेको थियो । समितिले प्रहरी प्रधान कार्यालयमा बुझाएको प्रतिवेदनमा एसपी १, डीएसपी २, इन्स्पेक्टर २, सई ४, हवल्दार ३ र प्रहरी जवान ५ जनालाई कारवाहीको लागि सिफारिस गरेको हो ।
समितिले प्रहरीले झुटो प्रमाण जुटाउन सर्टको टुक्रा जम्मा गरेको, घटनास्थल जाँचमा कुकुर नझिकाएको, प्रमाण संकलनमा ‘चेन अफ कस्टडी मेन्टेन’ नभएको, मृतकको सुरुवाल, पेन्टी, अम्बा बरामद नगरेको भन्दै अनुसन्धानमा खटिएका प्रहरीमाथि कारवाहीको सिफारिस गरेको हो । त्यसैगरी अपराधको सूचना प्राप्त हुनासाथ घटनास्थलमा नखटिएको, कार्यालय प्रमुख तत्काल घटनास्थल नपुगेको, दिलिप विष्टलाई जबर्जस्ती हत्या कबुल गर्न लगाएको, यातना दिएकोलगायतका कार्य गरेको भन्दै प्रहरीमाथि नै कारवाहीको सिफारिस भएको हो ।
दुर्गादेवीले बुझिन् सरकारी राहत
सरकारले निर्मलाको परिवारलाई स्थानीय तहले ३, प्रदेश सरकारले ५ र संघीय सरकारले १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका थिए । निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहुँदासम्म राहत नबुझ्ने अडान लिँदै आएका थिए । राहतकै विषयलाई लिएर निर्मलाकी आमा दुर्गादेवी र बुवा यज्ञराज पन्तबीच विवाद समेत भएको थियो ।
तर उनले अरु दुई छोरीको भविष्य हेर्नुपर्ने बताउँदै संघीय सरकारले दिएको १० लाख रुपैयाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छन् ।