काठमाडौं । विश्व क्रिकेटको महाभिडन्त आज अपरान्ह इङ्ल्यान्डमा हुँदैछ । आईसीसी विश्वकप क्रिकेटको ट्रफी कसले आफ्नो पक्षमा पर्ला भन्ने चर्चा सर्वत्र छ । न्युजिल्याण्ड र इङ्ल्यान्डका समर्थकले आ–आफ्नो प्रिय टोली जित्ने दाबी गरिरहेका छन् ।
दुवै टोलीले हालसम्म विश्वकप उपाधि उचाल्न सकेका छैनन् । विश्वकपको सुरुवातदेखि नै उपाधि दाबेदारको रुपमा हेरिएको इङ्ल्यान्डले आफ्नै घरेलु मैदानमा पाहुना टोलीलाई पराजित गर्न सक्ला या पाहुना टोलीले घरेलु मैदानमा मात खुवाउला भन्ने निकै चासो छ ।
विश्वकपको उपाधि विजेताका लागि सट्टेबाजी लगाउनेदेखि भविष्यवाणी पनि भइरहेका छन् । क्रिकेट खेललाई लिएर भविष्यवाणी गर्ने चलन निकै पुरानो हो, तर यस्ता अनुमान अधिकांश फेल भएका छन् ।
आइतबार दुनियाँले क्रिकेटको नयाँ विश्वविजेता पाउनेछ । विश्वकपमा जब टोली चयन हुन्छ, तबदेखि नै कप उचाल्ने दाबेदारी चल्न थाल्छ । आयोजक इङ्ल्यान्ड र सानो मुलुक न्युजिल्यान्ड । यी दुवै देशले विश्वकपको यात्रा धेरै गरिसकेको भए पनि कप घर लैजान पाएका छैनन् । त्यसकारण पनि तिनका निम्ति आजको खेल ‘गर या मर’को अवस्थामा छ । आज यी दुई देश ‘होम अफ क्रिकेट’ लर्डस् मैदानमा महाप्रतिष्पर्धा गर्दैछन् ।
लडर््स मैदानमा आइतबार पानी पर्ने सम्भावना कम छ । इङ्ल्यान्डले तय गरेको फाइनलसम्मको यात्रामा उसको खेल सन्तुलित देखिन्छ । यो टोलीले ब्याटिङका क्रममा कुनै एकजना खेलाडीमाथि मात्रै भरोसा गर्नुपरेको देखिँदैन । दुनियाँका उत्कृष्ट १० बलरमध्ये इङ्ल्यान्डसँग तीनजना छन् । यो टोली फाइनलसम्मको तिनको खेलले चारजना बलर लयमा रहेको देखिन्छ । कतिपय अवस्थामा इङ्ल्यान्डलाई होमग्राउन्डको फाइदा पनि रहनेछ ।
सन्तुलित खेलका साथै थुप्रै भर पर्दा खेलाडी इङ्ल्यान्डको हातमा छन् । त्यतिमात्र होइन, इङ्ल्यान्डले बलियो टोली अस्ट्रेलियालाई पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो ।
उता, न्युजिल्यान्डलाई पनि कमजोर आँक्न कहाँ सकिन्छ र ! उसले पनि विश्वकपमै दाबी गर्दै आएको भारतलाई हराएर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । तथापि, न्युजिल्यान्डसँग निश्चिन्त पार्ने खेलाडीको कमी देखिन्छ । कुन–कुन खेलाडी कुन–कुन विधामा अब्बल छन् भनेर किटान गर्न गाह्रो छ ।
सम्झनै पर्दा कप्तान केन विलियम्सको काँधमा ठूलो भारी यतिखेर परेको छ । यति भन्दाभन्दै पनि डर लाग्दो छवि बनाएका बलर मार्टिन गुप्टिललाई नजरअन्दाज गर्न सकिन्न । खेल हो, मौकामा चौका जसले हान्यो आज जित उसैको हुनेछ ।
बिर्सनु के हुँदैन भने, बाहिरिनुअघि भारतको खातामा १५ अङ्कको शीर्षता थियो, तर ४५ मिनेट उसले गरेको खराब खेलका कारण विश्वकपबाटै बाहिरिनुपरेको थियो ।
ढिलो भए पनि लयमा आएको पाकिस्तानलाई पनि कुनै फाइदा भएन । अङ्क तालिकामा न्युजिल्यान्डसँग बराबरीमा रहे पनि रन रेटका आधारमा उसले बाहिरिनुपर्यो । १० दिन अघिसम्म त इङ्ल्यान्ड पनि बाहिरिने अवस्थामा पुगिसकेको थियो । तर उसको हालत सुध्रेर अब आज फाइनल खेल्दैछ ।
अर्को हेक्का राख्नुपर्ने कुरा के हो भने, न्युजिल्यान्ड निकै तल थियो, तर उसले आफूलाई सुधार्दै माथिल्लो तहमा उक्लिएर आज फाइनल भिड्दैछ । तर उसका लागि आजको फाइनल अर्थात् अन्तिम खेल सहज पक्कै छैन ।
यो पटकको विश्वकपलाई हेर्दा, जुन टोलीको ओपनिङ जोडी टिकेर खेले तिनले जित हात पारेका छन् । भन्न के सकिन्न भने, सुरुआत गज्जब भए पनि त्यो लय अन्तिमसम्म नटिक्न सक्छ ।
न्युजिल्यान्डसँग ब्याटिङ अर्डर परिवर्तन गर्न कम विकल्प बाँकी छ । कुनै पनि टोलीले फाइनलमा धेरै प्रयोग गरी हेर्न उचित पनि हुन्न । न्युजिल्यान्डका ओपनर(लक्ष्य पछ्याए पनि वा बलिङ गरे पनि) राम्ररी चल्न सक्दा अवस्था सुध्रिन सक्छ ।
यसअघि लर्डस् मैदानमै लिग म्याचमा न्युजिल्यान्डलाई ११९ रनले हराएको इङ्ल्यान्डलाई अहिले केही हौसला मिलेको हुनुपर्छ । तर यो मैदान उसका निम्ति त्यतिविधि फापेको देखिँदैन । लडर््समा आधाभन्दा कम म्याचमात्रै इङ्ल्यान्डले जितेकाले वानडे रेकर्ड उसलाई उत्साही बनाउने खालको रहेको देखिँदैन ।
यही मैदानमा यिनै दुई टोलीले विश्वकप लिगमा म्याच हारेका छन् । केही साताअघि अस्ट्रेलियाले यी दुवैलाई हराएको थियो । यसकारण पनि लडर््स यिनका निम्ति महत्वको मैदान होइन । दुवै टोलीले आज इतिहास रच्न बेग्लै रणनीति अवलम्बन गर्नु आवश्यक छ ।
सम्भावित खेलाडी (इङ्ल्यान्ड)
जेसन रेय, जोनी बेयरस्टो, जो रुट, इयान मोर्गन, बेन स्टोक्स, जोस बट्लर, क्रिस वोक्स, लियम प्लङ्केट, आदिल रसिद, जोफ्रा आर्चर, मार्क उड ।
सम्भावित खेलाडी (न्युजिल्यान्ड)
मार्टिन गुप्टिल, हेनरी निकोल्स, केन विलियम्सन, रस टेलर, जेम्स निसम, कोलिन डी ग्रान्डहोम, टम ल्याथम, मिचेल सान्टनर, म्याट हेनरी, ट्रन्ट बोल्ट, लोक फर्गुसन ।
(एजेन्सीहरुको सहयोगमा)