काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार सामाजिक सञ्जालमा ‘मजाक’को पात्र बने । त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सवका अवसरमा उपकुलपति कार्यालय र सरस्वतीको मन्दिर उद्घाटनका लागि महत्त्वपूर्ण समय खर्चिएका प्रधानमन्त्री मन्तव्यका क्रममा चिप्लिन पुगे ।
त्यसो त प्रधानमन्त्री हरेक विषयमा जानकारी राख्ने चेष्टा गर्छन् । राजनीतिक उतारचढावबाट हासिल अनुभव र अनौपचारिक शिक्षाको बलमा उनले कहिलेकाहीँ आवश्यकताभन्दा बढी नै विज्ञता प्रदर्शन गर्छन् ।
यस्तै आदतका कारण बुधबार प्रधानमन्त्री अप्ठ्यारोमा परे । त्रिविको नूतन भवन र मन्दिर उद्घाटनपश्चात् मन्तव्यका लागि मञ्चमा पुगेका प्रधानमन्त्रीले एकाएक वेद–वेदाङ्गको ज्ञान पस्कन थाले ।
प्राज्ञिक थलोमा पुगेका प्रधानमन्त्रीको धर्म–संस्कृतिको परिचर्चा स्वभाविकै थियो । तर, गायत्री मन्त्रको सन्दर्भमा पुगेपछि उनको छिपछिपे ज्ञान थला बस्यो ।
मन्तव्यका क्रममा प्रधानमन्त्रीले गायत्री मन्त्रको रचनाकारको नाम भन्न खोज्दै थिए, झ्वाट्ट सम्झन सकेनन् । केहीक्षण रोकिएर रचयिताको नाम भनेका ओलीले ‘वशिष्ठ ऋषि’ भन्दै गलत नाम उच्चारण गरे । जबकि हिन्दू धर्मग्रन्थका अनुसार गायत्री मन्त्रका सर्जक विश्वामित्र ऋषि हुन् ।
यो त भयो सामान्य त्रुटि ! प्रधानमन्त्रीको पछिल्ला केही भाषणलाईमात्रै आधार बनाउने हो भने उनी बारम्बार चिप्लँदै आएका छन् ।
“प्रधानमन्त्रीज्यू जे कुरामा पनि आफ्नो ज्ञान प्रस्तुत गर्न खोज्नुहुन्छ । औपचारिक अध्ययन नभए पनि ज्ञानको कमी छैन भन्ने देखाउन खोज्नुहुन्छ, त्यसैले अप्ठ्यारोमा पर्छ । सल्लाह लिने बानी नै छैन उहाँको,” नेकपाका एकजना केन्द्रीयले सदस्य बाह्रखरीसँगको कुराकानीमा भने ।
प्रधानमन्त्री हँसीमजाकको पात्र बनेको यो नै पहिलोपटक होइन । उनकै वक्तव्यलाई आधार मान्ने हो भने पनि उनी बारम्बार झुक्किँदै आएका छन् । कहिले उद्योगीले, कहिले मन्त्रालयका सचिवले खुलेआम झुक्याउँदै आएको कुरा दुईतिहाइ जनमतप्राप्त सर्वशक्तिमान प्रधानमन्त्री संकोचै नमानी सुनाउँदै आएका छन् ।
“प्रधानमन्त्रीले सार्वजनिक रूपमा किन लाचारी प्रकट गर्नु, कि दण्डित गर्नू, कि प्रतिक्रिया नै नदिनू,” नेकपाका एक केन्द्रीय सदस्य सुझाव दिन्छन् ।
‘चिनी उद्योगीले झुक्याए’
गत दशैँताका बजारमा चिनीको भाउ एक्कासि बढ्यो । चाडबाडको मौका छोपेर चिनीको कृत्रिम अभाव सिर्जना गरिएकाले नागरिकले दुखेसो पोखे । जवाफमा व्यापारीहरूले चिनी आयातमा कडाइ गरेको बताउँथे ।
चिनीको भाउ बढेको बारे सदनमै आवाज बुलन्द भयो । सांसदहरूले सरकारसँग जवाफमा माग गरे ।
तर, त्यसको गुह्य अर्कै थियो ।
विदेशबाट पैठारी भएको चिनी प्रशस्त भण्डारण गरेर व्यापारीहरूले आयात रोक्न प्रधानमन्त्रीको निवास पुगेर हारगुहार नै गरेका रहेछन् ।
त्यसको खुलासा प्रधानमन्त्रीले गत चैतमा गरे । नेपाल उद्योग परिसंघको १६ औं साधारणसभामा बोल्दै ओलीले ‘चिनी उद्योगीले आफूलाई झुक्याएको’ बताए ।
“पाकिस्तानबाट धेरै चिनी आएर समस्या भयो भनियो । ६३ रुपैयाँमा चिनी बिकेन, ५३–५४ रुपैयाँमा बेच्न बाध्य भयौँ, कहाँ राख्ने भनेपछि चिनी आयात रोक्यौँ, आयात रोकेपछि प्रतिकिलो ८५ रुपैयाँ हुँदै एक सय पाँच रुपैयाँसम्ममा चिनी बिक्री हुन थाल्यो,” प्रधानमन्त्रीले आफूलाई झुक्याइयो भन्दै यसरी दुखेसो पोखेका थिए ।
‘मेलम्ची प्रकरणमा सचिवले ढाँटे’
काठमाडौंबासीका लागि मेलम्चीको पानी ‘मृगतृष्णा’ बनेको छ । मेलम्ची कुरी बसेका कति तिर्खाहरूको जीवनलिला नै समाप्त भइसक्यो । मेलम्ची कुरिरहेको अर्को पुस्ताको पनि कञ्चट सेताम्य भइसक्यो ।
तर, मेलम्ची विपनामा परिणत हुन सकेको छैन । गएको फागुन ३ गते सत्ताको नेतृत्व गरेदेखि नै केपी ओली सरकारले २०७६ वैशाख १ गतेको नयाँ घामसँगै उपत्यकाबासीको धारामा मेलम्चीको पानी खस्ने सपना देखाएको थियो ।
मेलम्चीको पानी सम्झिएर धूलो–हिलो सहँदै, खाँदै आएका आम उपत्यकाबासीले पनि सरकारको कुरा सहजै पत्याए । किनभने उनीहरूको आँगनमा खानेपानीको पाइप गाडेको आलो डोब थियो ।
तर, पुसमा मेलम्ची खानेपानी परियोजनाको ठेकेदार कम्पनी सीएमसी भागेपछि सरकारले पछिल्लो पटक तय गरेको मितिले पनि हावा खायो ।
सरकारकै कारण सीएमसी भागेको जनस्तरबाट टिप्पणी भइरहँदा प्रधानमन्त्रीले सचिवले ढाँटेको तर्क गर्दै आएका छन् ।
गत असार ४ गते राष्ट्रिय योजना आयोगअन्तर्गतको ‘राष्ट्रिय विकास समस्या समाधान समिति’को बैठकमा बोल्दै मेलम्ची खानेपानी परियोजनाको बाँकी कामका बारेमा सचिवले ढाँटेको भन्दै अक्षमता प्रकट गरे ।
सचिवले झूट बोलिदिँदा नागरिकको नजरमा आफू गलत हुन पुगेको र ढाँटेको सरह भएको उनको दुखेसो थियो ।
“अघिल्लो वर्ष नै आउनुपर्ने मेलम्ची ठेकेदारका कारण आएन, मलाई मन्त्रालयका सचिवले झूटो रिपोर्टिङ गर्दा धोका पाएँ । पटक–पटक मेलम्ची आउँछ भन्ने तर नआउने भएपछि मैले नोटबुकमा नै सचिवलाई मेलम्ची आउने मिति लेख्न लगाएँ, तर उनले भनेको मितिमा पानी आएन, उल्टो ठेकेदार नै भाग्यो,” प्रधानमन्त्रीको यस्तो निरिहता थियो ।
‘दूतावासबाट पत्र आएको जानकारी दिइएन’
केपी ओली सरकारको जग नै भारतीय नाकाबन्दी हो । २०७२ सालको संविधान जारी भएपछि केपी ओलीले सत्ताको नेतृत्व गरे, २५ असोजमा । त्योभन्दा अघिदेखि नै संविधानको अन्तर्वस्तुमा असहमति जनाउँदै भारतले नाकाबन्दी लगाइसकेको थियो ।
भारतीय नाकाबन्दीसामु केपी ओली टसको मस भएनन् । एकातिर भारतको नाकाबन्दी, अर्कोतिर तराई आन्दोलनको भुंग्रो । केपी ओलीले दुवैलाई चिस्याएर राष्ट्रवादी छवि झलमल्ल तुल्याए ।
नाकाबन्दीका अघिल्तिर निरीह नबनेको अडान भारतबाट पैठारी भएका तरकारीको विषादीको अवशेष परीक्षणका झुकेको भन्दै अहिले तिनै ओलीको आलोचना चुलिएको छ ।
सरकारले पूर्वाधार र प्राविधिकको अभावमा विषादी परीक्षण गर्न नसकिएको बताइरहँदा भारतीय दूतावासले पत्र पठाएर आयात नरोक्न आग्रह गरेको खुलासा भइसकेको थियो ।
तर, केपी ओलीले ‘कुन पत्र ? कहाँको पत्र ? कस्तो पत्र ?’ भन्दै ढाँटे । त्यो पनि आफ्नै सांसदहरूलाई ! संसदीय दलको बैठकमा !
भारतीय दूतावासले पठाएको पत्र सामाजिक सञ्जालमा छ्याप्छयाप्ती भएपछि केपी ओली यहाँ पनि आफू ढाँटिएको भन्दै निरिहता प्रकट गरिरहेका छन् ।
बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा उनले आफू ढाँटिएको भन्दै निरिहता प्रकट गरे ।
उनले कार्यक्रममा भने, “अब एउटा कुरामा चाहिँ भुल स्वीकार गर्नुपर्छ । भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो मैले भनेको थिएँ तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् ।
मलाई बताइएन । मैले बोलेपछि पनि बताइएन । कूटनीतिक संवादबाट अनभिज्ञ राखियो । मेरो जानकारीमा नभएकोले मैले त्यसो भनेको हुँ । मैले २३ गते बेलुकामात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु ।”
प्रधानमन्त्रीले बिहीबार पनि लज्जित महसुस गरे ।
राजधानीमा आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, “भारतबाट पत्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रूपमा बोलेँ ।
विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुपर्यो । यसप्रति म क्षमाप्रार्थी छु ।”
प्रधानमन्त्रीको यसप्रकारको ‘केटाकेटी तर्क’ले सरकारको गरिमा र ओज घटाइरहेको भन्दै स्वयम् नेकपाका नेता–कार्यकर्ता सरकारसँग रुष्ट बन्न पुगेका छन् ।