site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सरकारको विरोध गर्न मास्क लगाएर हिँडे’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टी नेपाल छाडेर आएका कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेतालाई नेकपामा प्रवेश गराउन आज आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, “अस्ति मैले म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिँड्थे । अहिले मास्क लगाउनु पर्दैन भनेको थिएँ । अहिले सरकारको विरोध गर्न मास्क लगाएर हिँड्न थालेका छन् ।”

काठमाडौंमा सडक निर्माण भइरहेको, मुख्य बाटोमा धुलो नउडे पनि भित्री निर्माणाधीन रहेकाले धूलो उडेको हुन सक्ने र त्यो केही दिनमै अन्त्य हुने उनको भनाइ थियो ।

“काठमाडौंका सबै बाटा कालोपत्रे हुन्छन् । धूलो उड्दैन,” उनले दाबी गरे । 

प्रतिपक्षी नेपाली कांग्रेसले बढी नै आलोचना गरेको भन्दै धैर्य नगुमाउन पनि उनले आग्रह गरे । “आलोचना गर्न दिनुपर्छ । चुनाव पनि हार्ने, आलोचना पनि गर्न नपाउने भन्ने हुँदैन,” उनको व्यंग्य थियो ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरताको अन्त्य गरिसक्ने बताए । युनेस्कोको भनाइ अनुसार अल्पविकसित देशमा कक्षा छाड्ने विद्यार्थीको घट्दो संख्यामा नेपाल अग्र (उच्च) स्थानमा रहेको र विद्यालय बाहिर रहेका विद्यार्थीहरूको संख्यामा उल्लेख्य कमी आएको उनको भनाइ थियो ।

त्यस्तै आगामी वर्ष ८.५ को आर्थिक वृृद्धिदरको प्रक्षेपण पनि उनले गरे । यसवर्ष ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल भएको उनको भनाइ थियो ।

डा. भट्टराईलाई कटाक्षः डिग्रीको सर्टिफिकेटले देश बन्दैन

ओलीले डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने भन्दै डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरे ।  “पीएचडी, पीएचडी भनेर प्रचार गरिन्छ । देशमा अरूले पनि पीएचडी गरेका छन् । डिग्रीले क्रान्ति गर्दैन । दृष्टिकोण र निष्ठाले क्रान्ति गर्छ,” उनको कटाक्ष थियो । 

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली आज पूर्वमन्त्री कल्पना धमला, देवेन्द्र पराजुलीलगायतलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै थिए । डा. भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी गठन भएपछि धमला, पराजुलीलगायत नेताहरु एकताप्रति असन्तुष्ट थिए । उनीहरु नै नेकपामा प्रवेश गरेका हुन् ।  

उनले डाक्टरेट उपाधिलाई भुँडी फुटेर मरेको भ्यागुतासँग दाँजे । “कुनै समय एउटा पोखरीमा भ्यागुतो थियो । उसले एकदिन बाच्छो देखेछ । आमालाई दौडँदै सुनाउन पुगेछ । आमाले भनिछे– कत्रो थियो बाच्छो  ? उसले भुँडी फुलाउँदै देखाउन थालेछ । जति भुँडी फुलाउँदा पनि बाच्छोको आकारमा पुगेन, अन्तिममा भुँडी फुटेर मर्यो,” उनले उखान पस्किए ।

मूल विषयमा अल्मल्याउन अनेक सङ्कथन निर्माण हुनेतिर पनि उनले सचेत गराए । “भैँसीले कति दूध दिन्छ भनेर सोध्यो, हेर्नुहोस् न सिङ कति राम्रो छ भनेर सिङतिर देखाउँछन् । अहिले त्यसैगरी अल्मल्याउन खोजिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो ।

‘बाबुराममात्र होइन, उपेन्द्र पनि नेकपामा आए हुन्छ’

प्रधानमन्त्री ओलीले कार्यक्रममा आफूभन्दा पहिले बोल्ने अध्यक्ष प्रचण्डले ‘मेरा त गुरुहरू पनि बाहिर हुनुहुन्छ’ भनेको प्रसंगमा टेकेर ‘डा. बाबुराम भट्टराईमात्रै होइन, उपेन्द्रहरू पनि नेकपा प्रवेश गरे हुन्छ’ भन्ने टिप्पणी गरे । 

“यत्रो मेची–महाकाली दुईतिहाइभित्र अटाएका छन् । उहाँहरू नअटाउने कुरा हुँदैन, प्रचण्डले बाबुराम पनि आए हुन्छ भन्नुभयो । बाबुराम मात्र किन, फोरम पनि आए हुन्छ । उपेन्द्र पनि आए हुन्छ,” उनले भने ।

उनले एकता प्रक्रियालाई मुलुक निर्माणसँग दाँज्दै कसैलाई सानो छाती नगरी जिम्मेवारी दिइने बताए ।

उनले केहीले पार्टी फुट्ने सपना देखेको भन्दै नेकपा फुट्नका लागि नभई विकास र समृद्धिका लागि जुटेको दाबी गरे । 

“केहीले नेकपा फुट्छ भनेका छन् । म उनीहरूको सपनालाई कठै चाहना ! भन्न चाहन्छु । नेकपा फुट्दैन । मकहाँ छाप लगाउनुपर्ने हो ? लगाउन तयार छु,” उनले भने ।

पार्टी एकता प्रक्रिया नटुंगिनुमा नेतृत्वकै कमजोरी स्वीकार गर्दै असार मसान्तभित्र एकता टुंग्याइने उनले बताए । “एकीकरण नसकेर गम्भीर कमजोरी भएकै छ । तर, असारभित्र एकता सक्छौँ । सबैलाई उचित कार्यविभाजन हुन्छ,” प्रधानमन्त्री ओलीले सबैलाई आश्वस्त तुल्याए ।

‘आईफा अवार्डमा संसदीय समितिले फरमान जारी गर्‍यो’

प्रधानमन्त्री ओलीले संसदीय समितिले फरमान जारी गर्दै आईफा अवार्ड रोकेको टिप्पणी गरे । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशको सार्वभौमिकता, राष्ट्रियता प्रतिकूल हुने ठहर गर्दै अवार्ड रोक्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्रीले अनावश्यक हल्ला भएको, रकम विनियोजन नगरिएको, स्वीकृतमात्रै दिएको बताएका छन् । “आईफा अवार्डबारे अनावश्यक हल्ला भयो । कुरै नबुझी फरमान जारी भयो,” प्रधानमन्त्रीले भने, “न्यून लागतमा अधिक फाइदा हुनेगरी भ्रमण वर्ष–२०२०लाई टेवा पुग्नेगरी आयोजना गर्न खोजिएको थियो ।”

उनले सरकारले आईफा अवार्ड नरोक्नेतर्फ पनि संकेत गरे । “देशलाई नाफा हुने गरी आईफा अवार्ड हुन्छ । घाटा हुनेगरी गर्दैनौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro