
काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर गरेका नेपाल प्रहरीका पूर्वमहानिरिक्षक रमेश चन्द ठकुरीले आत्मसमर्पण गरेका छन् ।
दोषी ठहर गरेको दुई वर्षसम्म फरार रहेका उनले सर्वोच्च अदालतलमै आएर बिहीबार आत्मसमर्पण गरेका हुन् ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले दुई वर्षअघि उनलाई दोषी ठहर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडान घोटाला प्रकरणमा ३६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले तीन पूर्वआईजीपी र ठेकेदारलाई मात्र दोषी ठहर गरेको थियो । सर्वोच्चले थप तीन तत्कालीन प्रहरी अधिकारीलाई समेत दोषी ठहर गर्यो ।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनलाई आवश्यक बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार भएको ठहर गर्यो ।
प्रहरीको सुडान मिसन घोटाला काण्डमा पूर्वआईजीपी चन्दलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको थियो । सो काण्डमा सर्वोच्चले नेपाल प्रहरीका पूर्वआईजिपी ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो । त्यस्तै पूर्वएआइजी श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई एक वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो।
तत्कालीन डीआईजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना सुनाएको थियो । उनीहरु सबै आफैं अदालतमा उपस्थित भएर जेल चलान भए पनि पूर्वआइजिपी चन्द भने फरार भएका थिए ।
फाइल तस्बिर