हाम्रो पुस्ताले नाम सुन्दा प्रदीप गिरि ‘हिरो’ भइसकेका थिए । राजनीतिमा चासो राख्ने र अझ नेपाली कांग्रेसप्रति आकर्षित युवामध्ये उनको नाम नसुन्ने बिरलै थिए । प्रदीप वक्ता र अध्येताका रूपमा बढी चर्चित थिए । उनको राजनीतिमा असहमत हुनेहरू पनि विद्वतामा कायल हुन्थे । एकपटक सूर्यप्रसाद उपध्यायले बाहेक कसैले उनको अध्ययनमा मिनमेख गरेको मैले सुनेको छैन । सूर्य बाबुले पनि माया गरेरै उल्याएका थिए । यो भूमिका किन बाँधेको भने संसद्मा प्रदीप गिरिले अहिलेको विकासलाई ‘भ्रान्त विकास’ वा विकासको भ्रान्तिपूर्ण नमुना भनेका छन् । (सञ्चार माध्यममा समाचार लेख्दा र अझ तिनलाई पढ्दा कति बुझिन्छ कति बुझिँदैन । तर, प्रदीप जीले अहिलेको विकासलाई भ्रान्ति भने होलान् भनेर म पत्याउँछु । विकासको यो शैलीले विध्वंशतर्फ लगेको छ भन्नेमा मलाई पनि कुनै भ्रम छैन । त्यसो त उनको ‘समाजवाद’ को रटान र अडानबाहेक अरू धेरै कुरा मन पनि पर्छ तर ‘समाजवाद’का नाममा भएका कुनै पनि प्रयोग मानवीय हुननसकेको थाहा पाएपछि मलाई समाजवाद मन परेन । जेहोस्, यी अग्रज समाजवादीलाई उनकै धर्ममा रहन दिऊँ !)
‘भ्रान्त विकास’ सम्बन्धी उनको भनाइ गहिरो छ । र, बुझ्न खोजे सजिलो पनि छ । अगिल्लो साताका केही घटना उदाहरणका रूपमा :
१.गत साता बुधवार राति अलि ठूलो पानी पर्नेबित्तिकै पृथ्वी राजमार्गको धादिङ जिल्लामा पर्ने बैरेनी बजारमा डाँडाबाट बगेको लेदोले बाटो थुन्यो । मोटरहरू नै फसेका थिए रे ! बिहीवारमात्र बाटो खुलाइयो । बिहीवार जाममा परेका माइक्रो बसका चालक भन्थे पोखराबाट बिहान ६ बजे हिडेको काठमाडौं पुग्दा ५ बजेको थियो । शुकवार काठमाडौंबाट जाँदा बाटो त खुलेको थियो तर सडकमा माटैमाटो थियो ।
नेपालका पहाडी भागमा पहिरो जानु वा भलले माटो बगाएर ल्याउनु खासै नौलो कुरा हैन । तर, बैरेनीको लेदो प्रकृतिका कारण सडकमा आएको भने हैन । मैले पढेको कुनै समाचारमा स्पष्ट लेखिएको त देखिन तर सामाजिक सञ्जाल र बसका यात्रुहरूको कुरा सुन्दा (गल्छीमाथिको कुनै गाउँकी प्रौढ महिला पोखरा जान हामी आएकै माइक्रोमा चढेकी थिइन् । उनको गाउँ हर्कपुर (?) भनेजस्तो लाग्छ । पानीले त्यहाँ मोटर जाने बाटो पनि बिगारेको छ रे ! ) के बुझिन्छ भने पृथ्वी राजमार्गमाथि खानी भन्दै जथाभावी बालुवा खनिएको रहेछ । बालुवा ओसार्न बनाइएको कच्ची बाटोबाट त्यो लेदो बगेको रहेछे । खानी चलाउने चाहिँ अहिले त्यही गाउँपालिकाका अध्यक्ष छन् । उनी खानी चलाएर अध्यक्ष भएका हुन् कि अध्यक्ष भएपछि खानी चलाएका हुन् त्यो थाहा पाउन सकिएन । तर, यसरी गाउँपालिका नगरपालिकाका अध्यक्ष र ठेकेदार, खानी सञ्चालक, स्काभेटर मालिक हुने कतिछन् भनेर गनेरै नसकिने बेलामा ‘अण्डा कि चल्ला’को बहस पनि के अर्थ भयो र ? यत्ति हो गाउँपालिकाका अध्यक्षको खानीका कारण थुनिएको हुनाले बाटो खुलाउन स्थानीय सरकारले पनि सक्रियता देखाएछ । अब, बाटो खोल्न गरिएको खर्च स्थानीय सरकारले बेहोरेको रहेछ नै भने पनि मानवीय सहायतामा खर्च भएको ठानिदिए हुन्छ । त्यसमाथि त्यहाँका अध्यक्ष सत्तारुढ पार्टीका नेता हुन् भने त झन् यसै ‘खतबात’ माफ हुने नै भयो ।
२. शनिवार बिहान छिम्मेश्वरी माईको थपना गरिएको जरेबरमा दर्शन गर्न गएँ । खहरे खोलाको पारिपट्टिको किनारमा धमाधम स्काभेटरले खोस्रँदै रहेछ । माईको दर्शनपछि खोलाको छेउमा गएँ । त्यहाँ त तल भदौरेतिर जाने कुलो छ । बर्खा लागेपछि कुलो भत्काएर के गर्न लागेको होलान् ? जस्तो लाग्यो । सोधेँ – के गर्न लागेको ? तटबन्ध गर्न लागेका रहेछन् । खहरे खोलालाई दुईतिर ढुंगाको पर्खाल लगाएर छेक्ने मूर्खताको निरन्तरता ! स्काभेटरले कुन बेला भएकै कुलो भत्काउने हो भन्ने लाग्यो । ‘‘मान्छेले खनेको भए हुने’’ भने । बजेट ढिला आयो । सक्नु पर्ने भयो । समितिले ठेकेदारलाई दियो । मान्छेले खन्दा ढिलो हुन्छ । यसैले स्काभेटर लगाउनु परेको हो । उनीहरूको उत्तर थियो । त्यही वडामा गण्डकी प्रदेशका शक्तिशाली मन्त्री छन् । असार सकिन लाग्दा खर्च नभएको रकम रकमान्तर गरेर बजेट पारिदिए होलान् । ‘तटबन्ध’ आकर्षक काम पनि हो । तर, कुलोको छेउमा भत्काएर पर्खाल लगाउन्जेल खोलामा बाढी आउँदैन भन्न सकिँदैन । बाढी आइहाल्यो भने त (नआए हुन्थ्यो तर बिहीवारमात्रै ससानो बाढी आएको रहेछ । ) कुलो पनि तटबन्ध पनि स्वाहा ! खेतमा घर बनाइसकेकाले हो कि कुलोका उपभोक्ताले पनि खासै वास्ता गरेको देखिएको छैन । उनीहरूलाई पनि लागेको होला तटबन्ध बनाउनु त विकास हो । अनि, ‘मेरोमात्र खेत सुक्ने हैन क्यारे !’ ‘ट्रेजेडी अफ कमन्स’को रोग ! अर्थात् विकासको भ्रान्त धारणा । खहरे खोलालाई तटबन्ध गर्न थालेपछि शिरदेखि पुछारसम्मै दुवै किनारामा ‘तटबन्ध’ गर्नुपर्छ भन्ने ज्ञान अहिलेसम्म पनि विकासे ठेकेदारले पाएनन् । शिरदेखि पुछारसम्मै तटबन्ध गरिसकेपछि पनि खहरे अर्कै बाटो लाग्नसक्छ भन्ने सम्झन त विकासको भ्रान्त धारणा त्याग्नुपर्छ । कारण भौतिक निर्माण सबै त राम्रा र हितकारी हुँदैनन् नि । प्रकृतिलाई सकेसम्म नबिथोलीकन गुजारा चलाउनुपर्छ । प्रकृतिसँग मिलेर बस्नेहरू त्यसलाई कजाउन खोज्नेभन्दा बढी सुखी र सुरक्षित हुन्छन् ।
जसरी सकिन्छ त्यसरी प्राकृतिक स्रोतसाधनको दोहन गर्नुपर्छ भन्ने मानसिकता ‘भ्रान्त विकास‘कै चरित्र हो । धर्तीको पनि भारवहन क्षमता हुन्छ । भ्रान्त विकासका सूत्रधारहरू भने धर्तीको भारवहन क्षमताको सम्मान गर्नुपर्छ भन्ने मान्दैनन् । भौतिकवादीहरू धर्तीको जसरी र जति दोहन गरे पनि हुन्छ भन्ने ठान्छन् । धर्ती र प्रकृतिलाई लुट्ने विषयमा संसारभर पुँजीवादी र समाजवादी एक हुन्छन् । विश्वेश्वरप्रसाद कोइरालाले स्पष्ट शब्दमा विकासको प्रचलित समाजवादी र पुँजीवादी दुवैलाई ‘फोर्ड मोडल’ भनेका छन् । र यो फोर्ड मोडलको विकृतरूप अहिले नेपालमा प्रचलित छ ।
र अन्त्यमा
विकासको भ्रान्त मोडल जताततै देखिन्छ । प्रत्यक्ष अप्रत्यक्ष करिब एक अर्ब राज्यको ढुकुटीको पैसा खर्च गरेर नेपाल सरकारले भारतीय उद्योगको एउटा कार्यक्रम गर्दैछ । पर्यटन प्रबर्धन हुन्छ भनेर सहयोग गर्न लागेको बताइएको छ । त्यस्तो कार्यक्रममा सरकार आयोजक हुनु यथार्थमा त लाजमर्दो विषय हो । त्यसलाई थाती राखेर अहिले हिन्दी चलचित्रकी एक अभिनेत्री जुही चावलाको एक वर्ष पहिलेको एउटा ट्विटको सम्झना भयो । यता स्थिति धेरै बदलिएको छैन । अहिले आउने भनिएकाहरूको मानसिकता र मानसिक स्तर पनि उस्तै त होला । अनि पर्यटक बढ्लान् कि घट्लान् ? कतै नदुखेको टाउको डोरी लगाएर दुखाइएला है सरकार जी !