
मुक्तिलाल चुके पञ्चायतमा निर्वाचित थोरै कांग्रेसीमा पर्थे जो पदमा पुगे पनि पार्टीसँग टाढिएनन् । पञ्चायती संविधानको दोस्रो संशोधन, २०३२ ले राष्ट्रिय पञ्चायतको वर्गीय तथा व्यावसायिक संगठन निर्वाचन क्षेत्र खारेज नगर्दासम्म युवक, किसान, महिला, भूतपूर्व सैनिक, मजदुर र स्नातक निर्वाचन क्षेत्रबाट पनि राष्ट्रिय पञ्चायत सदस्य चुनिन्थे । जिल्ला संगठनमा चुनिएकाहरू तिनका मतदाता हुन्थे । (मलाई अझै सम्झना छ तनहुँमा २०२८ सालमा भएको युवक संगठनको जिल्लास्तरीय चुनावमै मुक्तिलाल चुके राष्ट्रिय पञ्चायतमा लड्ने चर्चा भएको थियो । तनहुँमा नेपाली कांग्रेस समर्थक समूह पञ्च र कम्युनिस्टहरूको संयुक्त समूहसँग हारेकाले मैले चुकेलाई भोट दिन भने पाइन ।) युवक संगठनको चुनाव हेटौँडामा भएको थियो । त्यसमा मुक्तिलाल चुके, पद्मसुन्दर लावती, नारायणदत्त भट्ट र देवेन्द्र झा ले चुनाव जितेका थिए । यीमध्ये लावती कम्युनिस्टको समर्थनमा र भट्ट पञ्चहरूको समूहबाट, चुके कांग्रेस समर्थकका रूपमा र झा तराईवासीको मतले जितेका थिए ।
राष्ट्रिय पञ्चायतमा चुके उदारवादी भनिने पञ्चहरूको साथमा थिए । तर, उनको मूल ध्येय भने पञ्चायतको विरोध गर्नु नै हुन्थ्यो । नेवारी लवजमा नेपाली बोल्ने चुके निकै चर्को बोल्थे । त्यतिबेला चुकेहरूको समूहमा उमाभद्र खनाल, पेसलकुमार पोखरेल, गणेशबहादुर खत्री, रामध्वज खड्का, टीकाजंग थापा, भद्राकुमारी घले, आङदण्डी लामालगायत थिए । उनीहरूले बेलाबखत राष्ट्रिय पञ्चायतमा उधुम मच्चाउँथे । एकपटक त आङदण्डीले हानेको झटारो तत्कालीन गृहमन्त्री जोगमेहर श्रेष्ठलाई लागेर ठूलै चोट लागेको थियो । राष्ट्रिय पञ्चायतमा हेर्न गएका हामी दर्शकलाई मार्सलले बाहिर निकालेपछि बैठकमै आङदण्डीलाई कराते जान्ने प्रहरीलाई मार्सलको भेषमा पठाएर कुटेछन् । आङदण्डी अस्पतालमा भर्ना गरिए । (पछि उनलाई त्यसैको क्षतिपूर्ति स्वरूप सहायक मन्त्री बनाएको भन्थे । पर्साका जयप्रकाशलाई पनि मार्सलले कुटेका थिए ।) मुक्तिलाल चुके राष्ट्रिय पञ्चायतमा सधैँ नै विद्रोहीका रूपमा रहे ।
उनले निडर र स्पष्ट वक्ताको पहिचान बनाएका थिए । राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन बालिग मताधिकारको आधारमा हुनुपर्छ र प्रधानमन्त्री राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी हुनुपर्छ भन्ने माग उदारवादीहरूको थियो । त्यतिबेला उनीहरूलाई ‘व्यवस्था विरोधी‘ भनेर पर्र्गेलियो । तर, जनमत संग्रहमा राजाले बीचैमा त्यही घोषणा गरेका थिए र पछि संविधान संशोधन गर्दा त्यस्तै व्यवस्था गरिएको थियो ।
त्यतिबेलासम्म मुक्ति दाइसँग सामान्य चिनजानमात्र थियो । जनमत संग्रहमा हामी सबै बहुदलका पक्षमा सक्रिय भयौँ । चितवन र तनहुँको यसै पनि निकट सम्बन्ध । त्यसमाथि मुक्ति दाइ बन्दिपुरे नै भने पनि हुने । जनमत संग्रहपछि बन्दिपुर क्याम्पस खोल्ने प्रसंगमा पनि नारायणगढमा उहाँसँग भेट भएको सम्झना छ । तर, मुक्ति दाइसँग निकटता भने नेपाल रेडक्रसको सन्दर्भमा भयो । रेडक्रसमा कांग्रेस भनेर चिनिएका केही मानिसहरूमा हामी पथ्र्यौँ । बर्दियाका किशोरकुमार गौतम, मोरङका लक्ष्मण बस्नेत, चितवनका मुक्तिलाल चुकेहरू हाम्रा अगुवा थिए । रेडक्रसलाई पार्टीको राजनीतिका लागि प्रयोग नगर्ने तर राजनीतिक आस्थाका आधारमा रेडक्रसले दिने सेवामा भेदभाव पनि नगर्ने विषयमा हाम्रो अघोषित एकता थियो ।
रेडक्रसमा म मुक्ति दाइसँग कति निकट भएँ भने २०४६ साालपछि अध्यक्ष हेलेन शाहलाई हटाउने विषयमा नेतृत्व गर्न मैले आग्रह गरेपछि मात्र मुक्ति दाइ तयार भएका थिए । रेडक्रसकै कर्मचारीहरूले मलाई नारायणगढ लिएर गएका थिए । मुक्तिदाइले त्यति बेला मलाई ‘‘कम्युनिस्टहरूले धोका दिन्छन् गोविन्द जी, उनीहरूको भर नपरौँ’’ भन्दा मैले हेलेन शाहलाई हटाउन सहकार्य गर्न मनाएको थिएँ । (अहिले मलाई आज मुक्ति दाइको मृत्युको समाचार सुनेपछि त्यसमा पछुतो लागेको छ । चुके रेडक्रसको सभापति हुन पाएनन् जुन हेलेन शाहलाई हट्न लगाउने बेलाको सहमति थियो । मैले त रेडक्रस पनि राजनीतिसँग छाडिसकेको थिएँ । तर, रेडक्रसमा हेलेन शाहका विश्वास प्राप्तहरूले नै उनलाई धोका दिएका थिए । शाहले संरक्षण गरेकैले उनलाई धोका दिनसक्छन् भने अरूलाई पनि दिन्छन् भन्ने त्यतिबेला विचारै गरिएन ।) जनआन्दोलनमा चितवनमा चर्को दमन भयो । रेडक्रसले त्यहाँ आन्दोलनकारीलाई बस्ने, खाने व्यवस्था मिलाएको थियो । भनिरहनु परोइन मुक्तिलाल चुकेले त्यसको नेतृत्व गरेका थिए । रेडक्रसमा हक्की, निष्कलंक तर राजनीतिक पहिचानलाई प्राथमिकता दिने व्यक्तिका रूपमा मुक्ति दाइ चिनिन्थे ।
नगरपञ्चायतको प्रधानपञ्चका रूपमा मुक्तिलाल चुकेले नारायण गढमा राम्रो छाप बनाएका थिए । नगरवन निर्माणको उनको कल्पना नरायणीको भंगालोमा रुख रोप्न थालेकै बेलातिर सुनेको सम्झना छ । नदीको बाढीले रुख हुर्कनै दिँदैन भन्दै चितवनका कांग्रेसहरूले नै उनलाई अव्यवहारिक भनेको सम्झन्छु । पछि २०४७ सालतिर राष्ट्रिय जनसंख्या आयोगमा काम गर्दा चितवनमा एउटा गोष्ठी गर्न जाँदा पनि मुक्ति दाइसँग रमाइलो भेट भएको थियो । गोष्ठीको उद्घाटन उदयराज अधिकारीलाई गराइएको थियो । वक्ता भने मुक्ति दाइ पनि थिए । निकै चर्को भाषण गरे । आयोगका सचिव र कर्मचारी साथीहरू डराए । मैले कुरा बुझाएपछि भने मुक्ति दाइ सहज भएका थिए । आवेगमा आइहाल्ने स्वभाव थियो उनको तर मनमा कपट पटक्कै नभएका । पार्टीको नाममा केही नगरी खाने बानी परेकाहरूले चितवनमा पनि मुक्तिलाल चुकेहरूलाई सहेनन् । तर, अहिलेसम्म पनि त्यहाँको संगठन मुक्ति दाइहरूले धानेकाले मात्र अडिएको हो । धेरै जिल्लाबाट मुक्तिलालजस्ता कर्मी मौरीहरू विस्थापित र पलायन भएकै कारण कांग्रेसको अहिलेको अधोगति भएको हो तर पार्टीका हर्ताकर्तालाई आफू आकाशेबेलीमात्र भएको सायद हेक्का नै छैन ।
मुक्तिलाल चुके समाजले बिर्सेका नायकहरूमध्येका हुन् । उनले समाजलाई र नेपालको लोकतान्त्रिक आन्दोलनलाई जति योगदान गरे त्यति श्रेय पाएनन् । यस्ता नायकहरूलाई बिर्सने समाज बैगुनी हुन्छ । भन्छन्, बैगुनी समाज लामो समयसम्म जीवन्त रहन सक्तैन ।
हार्दिक श्रद्धाञ्जली मुक्ति दाइ !
तस्बिरः सुरेश सेनको फेसबुकबाट