site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ वर्षमा यस्तो बन्‍नेछ पशुपतिनाथः ५३४ रोपनीमा विश्वविद्यालय, वृद्धाश्रम, अस्पताल र गौशाला

काठमाडौं । पशुपति क्षेत्रलाई विश्वभरिका हिन्दुहरुको प्रमुख केन्द्र बनाउने उद्देश्यसहित ५० वर्ष धान्ने गुरुयोजना बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई धार्मिक, आध्यात्मिक केन्द्रका रुपमा विकसित गरेर अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउन नौवर्षभित्र नयाँ भौतिक निर्माण भने सम्पन्न गरिसक्नुपर्नेछ ।
अहिले बन्दै गरेको गुरुयोजनाले अबको पशुपति कस्तो हुने भन्ने ५० वर्षे खाका तयार हुनेछ । ५० वर्षसम्म धान्ने गरि गुरुयोजना निर्माण कार्य अघि बढेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बताए । 

पशुपति क्षेत्रको वृहत गुरुयोजना सम्पन्न गरी कार्यान्वयनमा ल्याउन तिव्रताका साथ काम भइरहेको र केही काम सम्पन्न भइसकेको उनले जानकारी दिए । गुरुयोजना निर्माणको प्राविधिक पक्षमा भने राष्ट्रिय पुननिर्माण प्राधिकरणले सघाउने छ । सदस्यसचिव ढकालका अनुसार नापी विभागमार्फत पशुपति क्षेत्रको नापी नक्सा तयार गर्ने, त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति विभागमार्फत मूर्तअमूर्त सम्पदाको अध्ययन प्रतिवेदन लिने, पशुपति क्षेत्रभित्र रहेका विविधताहरुको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भइसकेको बताए । 

साउनभित्र गुरुयोजनाको खाका तयार हुने सदस्यसचिव ढकालले जानकारी दिए । गुरुयोजना निर्माणको प्राविधिक पक्षमा भने पुननिर्माण प्राधिकरणले सहयोग गरेको र अहिले काम भइरहेको पनि उनले बताए । 

पशुपति क्षेत्रको योजनावद्ध विकासका लागि पशुपति क्षेत्र विकास कोषले ५३ सालमा अवधारणात्मक गुरुयोजना तत्कालीन सरकारको स्वीकृतिमा लागु गरेको थियो । १० वर्षे कार्यावधिको सो गुरुयोजना ६७–६८ सालसम्म काम गरेको थियो । त्यस यता पशुपति क्षेत्र विकास कोषसँग कुनै गुरुयोजना नै थिएन । 

५३४ रोपनीमा विश्वविद्यालय, वृद्धाश्रम, अस्पताल र गौशाला बन्ने 

पशुपतिनाथ क्षेत्रको बृहत् गुरुयोजनाअन्तर्गत पशुपतिनाथ मन्दिर रहेको अहिलेको क्षेत्रमा भौतिक निर्माणका काम गरिनेछैन । गोठाटारमा रहेको पशुपतिको ५ सय ३४ रोपनी जग्गामा मात्र भौतिक निर्माणको काम हुनेछ ।  पशुपति क्षेत्र विकास कोषले बनाइरहेको गुरुयोजनाअनुसार गोठाटारको सो जग्गामा एउटा विश्वविद्यालय, एउटा वृद्धाश्रम, एउटा बहुआयामिक अस्पताल र गौशाला निर्माण हुनेछ । 

त्यस्तै अन्य सेवाका कामहरु पनि गोठाटारबाटै सञ्चालन हुनेछ । कति लागतमा ती संरचना तयार हुन्छन् भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको उनले बताए । 

पशुपति क्षेत्र विकास कोषले गोठाटार जग्गामा पूर्वाधार विकास तथा सीमांकन गर्न भन्दै आगामी आर्थिक वर्षका लागि २ करोड बजेट समेत छुट्याइसकेको छ । बृहत् गुरुयोजना बनाउनका लागि पशुपति क्षेत्र विकास कोषले आगामी वर्षको बजेटबाट साढे २ करोड रुपैयाँ छुट्याएको छ । 

नौ वर्षमा फेरिनेछ पाशुपत क्षेत्र 

पशुपति क्षेत्रको बृहत् गुरुयोजनाअनुसार निर्माणका कार्य भने नौ वर्षभित्रै सम्पन्न हुनेछ । निर्माण सम्पन्न भएसँगै पाशुपत क्षेत्रको स्वरुप अहिलेको भन्दा धेरै राम्रो बन्ने विकास कोषको दाबी छ ।   निर्माण कार्य तीन तीन वर्षमा सकिने गरीे तीन चरणमा गरिनेछ । “गुरुयोजनाको कार्यान्वयन चरणवद्ध रुपमा गरिनेछ । तीन वर्षको एक चरण हुनेछ,” गुरुयोजनाको अल्पकालीन रणनीतिमा उल्लेख छ, “तीन चरणमा पशुपति क्षेत्रका स्मारकहरुको संरक्षण तथा सेवा सुविधा विस्तारको एक चक्र पूरा गरिनेछ ।” 

शिक्षा, स्वास्थ्य, समाज कल्याण, स्मारक संरक्षण तथा सेवा सुविधा विस्तारका कार्यक्रमहरु आवश्यक्ता र औचित्यताका आधारमा विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।  त्यस्तै, पशुपति मन्दिर क्षेत्रमा ठुला भौतिक निर्माण नगरिएपनि दर्शनार्थी तथा पर्यटकहरुलाई सुविधासहितको व्यवस्था हुने उनले बताए । मन्दिर क्षेत्रमा भिडभाड बढिरहेकाले सो क्षेत्रमा नयाँ निर्माणमा जोड दिइएको छैन ।

पशुपति क्षेत्रको कूल क्षेत्रफल २ सय ६४ हेक्टर रहेको छ । जसमध्ये ८३.५५ हेक्टर क्षेत्रफल प्राचिन स्मारक क्षेत्रमा पर्छ । पशुपति क्षेत्रमा करिब ५ सय १८ साना तथा ठूला धार्मिक स्मारक छन् । करिब एक हजार शिवलिंग छन् । सन् १९७९ बाट पाशुपत क्षेत्र युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत छ । 

योग, ध्यान र तपश्याको केन्द्र बनाउने

पशुपति क्षेत्रलाई योग, ध्यान र तपश्याको केन्द्रका रुपमा विकसित गर्ने पशुपति क्षेत्र विकास कोषको दीर्घकालिन योजना छ । शिव र शक्तिसँग सम्बन्धित निगम र आगमको अध्ययन एवं अनुसन्धानको केन्द्र बनाउने गरि गुरुयोजना बन्ने छ । राष्ट्रिय गौरवको आयोजनाभित्र रहेको पशुपति क्षेत्र विकास कोषलाई आन्तरिक र बाह्य वित्तीय स्रोतको पहिचान, परिचालन र सुदृढिकरण गरेर कोषलाई पूर्ण आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नेगरि गुरुयोजना बन्न ढकालले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro