पञ्जाब । भारतमा ८ वर्षीया बालिकालाई बलात्कारपछि हत्यामा दोषी ठहर भएपछि पञ्जाबको पठानकोट अदालतले पक्राउ परेका सातमध्ये ६ जनालाई दोषी ठहर गरेको छ । उनीहरुलाई के सजाय हुने भन्ने बारेमा अदालतले अन्तिम फैसला भने आज अपरान्हतिर दिने बताइएको छ ।
सो घटनामा आनन्द दत्ता, दीपक खजुरिया, साँझी राम, तिलक राज, सुरिन्दर र प्रवेश नामका व्यक्ति दोषी ठहर भएका छन् भने विशाललाई अदालतले रिहा गरेको छ । जम्मूको कठुवामा सन् २०१८को जनवरी महिनामा ८ वर्षीया एक बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको थियो । अदालतको फैसलापछि बालिकाकी आमाले मुख्य अभियुक्त साँझी रामलाई फाँसीको सजाय दिन माग गरेकी थिइन् ।
उनले बीबीसीसँगको कुराकानीमा भनिन्, ‘‘मलाई राहत मिलेको छ । तर, न्याय त्यतिबेला मात्रै मिल्नेछ, जतिबेला मुख्य अभियुक्त साँझी राम र विशेष प्रहरी अधिकारी दीपक खजुरियालाई फाँसी हुन्छ । मेरो छोरीको अनुहारले आज पनि मलाई पीडा दिन्छ । यो पीडा जीवनभरी रहनेछ । जब म उसको उमेरका अरु बच्चा खेलेको देख्छु, त्यतिबेला म भित्रैदेखि टुट्न पुग्छु ।”
प्रहरीका अनुसार बालिकालाई त्यतिबेला केही दिनसम्म लागुऔषध खुवाएर बेहोस बनाएर राखिएको थियो । उनको शव करिब एक सातापछि प्रहरीले फेला पारेको थियो । यो मामिलालाई लिएर भारतभर नै विरोध प्रदर्शन भएको थियो । सोसम्बन्धी सुनुवाई ३ जनवरीमा सकिएको भएपनि आजमात्रै फैसला सुनाइएको हो । सो घटनाका आठौं अभियुक्त भने नाबालिग हुन् । फैसला अघि जम्मू क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
(बीबीसी)