पेसाले दुबै शिक्षक । प्रेम विवाह भएको पनि १४ वर्ष बितिसक्यो । दुई छोरा छन् । परिवारमा राम्रो छ । सबैले देख्दा ठीकठाक नै छ तर यो सब भ्रम हो भन्छिन् अमिता (नाम परिवर्तन) । अनुहारमा असाध्य पीडाको भाव देखिन्छ उनको । पटक पटक दांँत् किटिरहेकी थिइन् । औँलाहरु कता राख्ने थाहा नभएजस्तो एक आपसमा हत्केलासँग जुधिरहेथे । तर, शरीर थाकेजस्तो देखिन्थ्यो । मानौ उनी ठुलो युद्ध गर्न गइरहेकी छिन र हार्ने सम्भावना धेरै छ ।
पछिल्लो पटक कान्छो छोरा ३ वर्षको हुँदा अर्थात् १० वर्षअघि उनले थाहा पाएकी हुन् पतिको अर्कै महिलासँग सम्बन्ध रहेको कुरा । त्यतिबेलै पतिलाई छोडेर हिँड्ने विचार नगरेकी होइनन् । तर, साना केटाकेटीका कारण रोकिइन् । पतिले पनि रुँदै ‘‘छोडेर नजाऊ अब यस्तो हुँदैन’’ भने पछि चुप लागेर बसिन् । तर त्यस यता पनि उनलाई थाहा छ पतिको अरु धेरै केटीहरूसँग उठबस छ । चार वटाको त सबुत नै छन् उनीसँग । हरेकपल्ट घर छोडेर हिँड्ने विचार आउँछ । र, पनि पतिको रुवाइ र माफीका अगाडि लाचार हुन्छिन् । आँखाअगाडि छोराहरूको अनुहार आएर बस्छ । आफ्नो भन्दापनि छोराहरू बाउ बिना हुर्किनुपर्ने सम्झिँदा झसङ्ग हुन्छिन् ।
फेरि सबै छोडेर कहाँ जाने ? प्रेम विवाह गरेकै कारण माइतीमा आउजाउ भए पनि सम्बन्ध अझै सहज छैन । बेलाबेला आफैँले छानेकी त हो भन्ने शब्द सुन्नुपर्छ । घर छोडेर छोराहरु लिएर त्यहाँ गएर बस्ने आँट पनि कहिल्यै आएन । आफ्नो मात्र कमाइले पुग्दैन । माइतीसँग माग्न उनी चाहन्नन् ।
यो अवस्थामा सहेरै घर बस्नपर्ने बाध्यता रहेको बताउछिन् उनी । फेरि जुन सुखसयल र रेखदेखमा छोराहरु हुर्किरहेका छन्, आफ्नो स्वार्थका लागि सब खोसिने सम्झिँदै पनि कहाली लाग्छ उनलाई । सन्तान छोडेर हिँड्ने आट पनि छैन उनको । जे पर्ला पर्ला हिँडुजस्तो नलागेको होइन तर यस्तो अविवेकी बाउसँग छोडेर जाँदा यिनको भविष्य के होला ? कस्तो होला ? यस्तै प्रश्नले अड्कायो ।
‘‘छोराहरूका अगाडि म बलियो हुन सकिन’’ भन्छिन् उनी । पतिको अरु सम्बन्धका बारेमा थाहा पाएपछि पछिल्लोपटक ठूलै झगडा भयो । रडाको मच्चियो । अब चाहिँ सक्तिन भन्ने लाग्यो उनलाई । जे पर्ला पर्ला, हिँड्छु भन्ने सोचेकी उनी पतिकै आग्रहमा पहिलोपल्ट मनोविमर्शका लागि आएकी हुन् ।
यति कुरा एकै सासमा भनिसकेर लामो सास फेरिन् र अगाडि गिलासमा रहेको पानी एकै घुड्कोमा सिध्याइन् । अलिअलि अनुहारमा आएको पसिना अनि आँखामा सल्बलाएका आँसु पुछिन् । झ्यालबाहिर हेर्दै एकतमासले टोलाइन् । म उनको पतितिर हेर्छु ।
आफ्नो सम्बन्धको कुरा बिस्तारै हिच्किचाउँदै भनिरहँदा उनका पति सुरेश (नाम परिवर्तन) टाउको झुकाएर सुनिरहेका थिए । अब पालो सुरेशको थियो । उनी पनि स्वीकार्छन् यो सबै भएकै हो भनेर । एक दुई जनाबाहेक त्यो पनि एक दुई पटकबाहेक अरुसँग शारीरिक सम्बन्ध पनि रहेको छैन उनको ।
उनी भन्छन् – ‘‘च्याटमा भेट्छन् । च्याटमै धेरै कुरा हुने हो । बाहिर पनि खासै भेट गर्ने गरेका गरेको छैन । भ्याउदिन पनि । सांँझ बिहान यसो फुर्सद हुँदा च्याट गर्ने हो । निन्द्रा लागेन भने पनि गर्ने गर्छु । मलाई थाहा छ, मैले गल्ती गरेकै हो । त्यो पनि पटकपटक । उनले मलाई माफी अनि मौका पनि दिएकी हुन् । त्यो पनि पटकपटक । तर, खै कसरी कसरी म बहकिएँ । बेलाबेला मै छक्क पर्छु । आँफैसँग घृणा पनि लाग्छ बेलाबेला, मैले उनलाई दुःख दिएकोमा । तर, फेरि कोही न कोही अल्झिन आइपुग्छन् ।’’
यति भनेर पत्नीतिर हेर्छन् । अनि भन्छन्, ‘तिमी मलाई छोडेर नजाउ । मेरो संसार नै सकिन्छ । म मेरो परिवार बिना बाँच्न सक्दिन । एकचोटि मौका देउ मलाई । अब कहिलेपनि यस्तो गर्ने छैन ।’
सुरेशको अनुनयलाई नसुनेझै एकतमासले अमिता झ्याल बाहिर हेरिरहन्छिन् । अनवरत आँखाबाट आसु झरिरहेको देखिन्छ । सुरेशको आवाज पनि कामेको छ । आँखा रसाएका छन् । अनुहारमा तनाव र आत्मग्लानि भेट्छु म । पुरुष भएकै कारणले रुन नसकेका हुन् कि जस्तो पनि लाग्छ !
अल्लारे उमेर, २२ वर्षका सुरेश । २० कि अमिता । दुवै मरिहत्ते एकअर्काको लागि । बाहुनकी छोरी अमितालाई बाबुले छेत्रीलाई के दिन्थे ? दुवै भागे घरबाट । मिहनेती सुरेशलाई अमिताले सघाइन् । स्कुलमा राम्रै जागिर पाए । यता अमिता पनि पढाउन थालिन् । यहीबीचमा परिवार पनि बढ्यो ।
दुई छोराका बाबुआमा बने । घरधन्दा, केटाकेटीको स्याहारसुसार । फेरि स्कुलको कामले लखतरान हुन्थिन् उनी । सुरेश पनि बिहानै निस्किन्थे । ट्युसन् सेन्टरमा राम्रो कमाइ हुन्थ्यो । बिहान निस्केका उनी रातिमात्रै फर्किन्थे । अमिता पनि दिनभर व्यस्त हुन्थिन् । साँझ ८ बजेपछि भेट हुन्थ्यो दुवैको । दुवै लखतरान । ओच्छ्यान भेट्न नपाई भुसुक्कै हुन्थिन् अमिता । थुप्रै दिनसम्म सामान्य घरघरायसी कुराबाहेक अरु कुरा हुँदैनथ्यो । कहिले काहीँ केटाकेटी लिएर घुम्न जान्थे तर त्यो बेला पनि केटाकेटीकै कुरा हुने । दुवैलाई यो सामान्य नै लाग्थ्यो ।
यही अवस्थितिमा बिस्तारै एक अर्कासँग टाढिँदै गएको अनुभव नभएको पनि होइन तर केही समय त हो केटाकेटी अलि ठूला भएपछि सबै सहज होला भनेर मन थुम्थुम्याउथे । तर डेराबाट घर, घरको ऋण, बढ्दो महँगी, केटाकेटीको आवश्यकता, बेलाबेलाको सन्चो बिसन्चो आदि पूरा गर्दागर्दै दिन बित्दै गयो । एकआपसमा नजिक हुने मौका नै आएन । दुवैमा नजानिदो किसिमले दूरी र असन्तोषलाई मलजल गर्दैलग्यो फेसबुकले । के कसो छ ? हराउनुभो त ? धेरै दिन जस्ता प्रश्नको जवाफ दिँदादिँदै, घन्टौं बितेको पत्तो हुन छाड्यो सुरेशलाई । अमितासँगको दूरी फेसबुके साथीका ठट्यौला गफले भुलाई दियो । बस्, अनि त कहिले काहीँ भेट गर्ने काम पनि सुरु भयो । सम्बन्धको सीमा कहिले तोडियो ? सुरेशले पत्तै पाएनन् ।
सुरुसुरुमा अमिता पनि बेलुका सुरेशले नखोजेपछि सुबिस्तै मान्थिन् । थकित ज्यानलाई लोग्नेको स्पर्शभन्दा पनि निन्द्रा नै प्यारो हुन्थ्यो । कहिले त लामो बिदा हुँदा पनि दुईबीचको सम्बन्ध कहिलेकाहीँ बाहेक हुँदैनथ्यो ! सुरेश ट्युसन मै बढी ब्यस्त हुन्थे । उनी थाकेर आएपछि, ठीकै छ नि त भनेर कहिले काहीँ उब्जने किन भन्ने प्रश्नलाई पनि थामथुम पार्थिन् ।
यसैबीच अमिताले थाहा पाइन् सुरेश अरु महिलामा रत्तिन थालेको । उनको पीडाको सीमा नै रहेन । उनको पीडा अब सुरेशसँगको हरकुरामा रिस बनेर पोखिन थाल्यो । राम्रै सोधे पनि जवाफ उल्टा दिन थालिन् । सुरेशको खानपिनको समेत् वास्ता हुन छोड्यो । कहिलेकाहीँ सबै ठीक गर्छु, अब सबै राम्रो हुन्छ भन्ने सोचेर केही दिन आफूलाई सम्हाले पनि, हाँसीखुसी बसे पनि सुरेशको मोबाइलमा आएको टिङटिङले उनको धैर्यको बाँध भत्काई दिन्थ्यो । कसलाई भन्नु ? के भन्नुले सधैँ पिरोल्थ्यो उनलाई । कहीँ गएर भक्कानिएर रुने ठाउँ पनि भेट्टाउँथिनन् । सबैले सुरेश र उनको गृहस्थीको चर्चा गर्थे तर ती सब झुटा हुन् भन्ने आँट उनमा हुँदैनथ्यो ।
त्यो सबै रिस, पीडा, क्रन्दन उनी जानीनजानी सुरेशमाथि नै पोख्थिन् । सुरेशले पनि केही हदसम्म बुझेका थिए तर कुनबाटो समात्ने कता जाने के गर्ने ? कुनै डोरी भेटेका थिएनन् । जतिजति अमिता टाढा हुन्थिन् त्यति उनी आफुलाई मोबाइलका पेजहरुमा डुबाउँथे ।
एक अर्काबीच सम्बन्ध बिग्रिएको कारण दुवैलाई राम्रोसँग थाहा थियो तर अमिता आफ्नो पीडा र रिसबाट बाहिर आउन सकिनन् । उसको सुखदुःखमा सधैँ मैले साथ दिएँ । आफूभन्दा सधैँ उसलाई नै अगाडि राखिरहेँ तर आज त्यसको प्रतिफल मलाई धोखा मिल्योे भन्ने आक्रोशबाट अमिता कहिल्यैबाहिर निस्किन सकिनन् ।
यता सुरेश पनि कसरी अमिता र आफ्नो सम्बन्धलाई सुधार्ने भनेर खोजेका हरेक उपाय असफल भएपछि त्यही संसारमा फर्किन्थे । आफ्ना कुरा अरु महिलाले सजिलै बुझेको र अमिताले नबुझेकोमा छक्क पर्थे । फेरि जानीनजानी त्यही संसारमा पटकपटक तैरिन पुग्थे । यसले अमिताको ‘‘अब त फर्किन्छन् कि ? सुध्रिन्छन् कि ? भन्ने आशामा तुषारापात हुन्थ्यो । फेरि उनी आँसु, रिस र पीडामा नै बस्थिन् । हरेकपल्ट सुध्रिन खोज्ने प्रयासको चुपचाप अवसान हुन्थ्यो ।
दुवैले आफ्ना व्यक्तिगत खिचातानीमा छोराहरूलाई भने अलग्गै राखे । तर अमितालाई लाग्छ – छोराहरूले अलिकति शंका गरेका छन् । उनी चुपचाप बसेको दिन ‘‘के भो मामु’’ भन्छन् । ’‘सन्चो भएन ?’’ भनेर सोध्छन् । छोराहरुको यो प्रश्नले अमिताको मन छियाछिया पार्छ । अब यस्तै हो मेरो जीवन भन्ने लाग्छ । जति नै मन बुझाए पनि हरेकपल्ट सुरेश घर छिर्दा आज कोसँग थियो ऊ भन्ने प्रश्नले पिरोल्छ ।
त्यसैले अमिताले ‘‘अब सँगै बस्न सक्तिन’’ भनेर सुरेशलाई भनेकी थिइन् । सुरेशले पनि अरुसँग घर व्यवहार नै गर्ने त कहिले पनि सोचेनन् । चलेकै छ, भन्नेमात्रै सोचे । अनि अमिता र आफ्नो सम्बन्ध ठीक भइहाल्ला भनेर यसलाई हलुकारुपमा मात्रै लिए । जब अमिताले घरै छोड्ने कुरा गरिन् त्यसपछि भने उनको मनमा ढ्याङग्रोे ठोकियो । अमिताविनाको जीवन सोच्दा पनि कहाली लाग्यो । फेसबुके सम्बन्धसित अमितासँगको सम्बन्ध तुलना गर्न सकेनन् । अनि, सम्बन्ध कसरी बचाउने भनेर सोधखोज गर्न थाले । यसै विषयमा चर्चा गर्दा मनोविमर्श एक उपाय हुन सक्ने ठहर भएपछि करै गरेर पनि अमितालाई लिएर आइपुगेका थिए ।
पछिल्लो समयमा बिग्रिएको सम्बन्ध सुधार्ने प्रयत्नमा धेरै जोडी आइरहेका छन् । केही अविवाहित जोडी छन् भने केही विवाहित् । सुरेश र अमिता त प्रतिनिधि पात्रमात्र हुन् । सम्बन्ध बिग्रिने कुरा कुनै एउटा कारणले मात्र हुँदैन । हुर्काइ, सामाजिक सोच, वैचारिक मान्यता, उमेर, परिस्थितिलगायत अरु पनि थुप्रै कारण हुनसक्छन् । पछिल्लो चरणमा सामाजिक सञ्जाल पनि यससँग जोडिएको छ ।
सामान्यतया नेपाली समाजमा बिहे गर्नु वा सम्बन्धमा रहनु भनेको दुई व्यक्तिबीच मात्र निर्भर हुँदैन । कुनै न कुनै किसिमले दुई परिवार, समाज, धर्म, रीतिरिवाज सबै जोडिएर आउँछ । यी सबै उत्तरदायित्व वहन गर्दागर्दै जोडीहरूले बिर्सिन्छन् कि उनीहरूको आपसी सम्बन्धले यो सबै सिर्जित छ । जोडिएको छ । बाँधिएको छ । त्यसैले जति एक आपसको सम्बन्ध प्रगाढ र सुमधुर हुन्छ त्यति नै एक आपसमा जेलिएका अरु सम्बन्ध पनि खुकुला हुन्छन् । सजिला हुन्छन् ।
यौन सम्बन्धलाई समाजले सधैँ लुकाउने छिपाउने र वर्जित व्यवहारको रुपमा लिइरह्यो । अविवाहितबीच हुने यौन सम्बन्ध त पूर्णतः वर्जित नै रह्यो, विवाहितबीच पनि यो सम्बन्ध सधैँ लुकाउने छिपाउनेमा नैै रह्यो । घरमा सन्तान नजन्मिँदा दुःखी हुने समाज, पतिपत्नीसँगै हाँसीखेली बसेको देख्न नसक्ने नै रह्यो । यस्तो समाजमा हुर्किएका केही अपवादबाहेक अझै पनि आफ्ना यौन विचार आफ्नै पतिपत्नीसँग पनि साँट्न नसक्ने मानसिकतासँग हुर्किरहे । बिहे गर्नु भनेको एक अर्काको प्राप्ति हो, बच्चा जन्माउनु हो र घर व्यवहारमै आफूलाई सीमित गर्नु हो भन्ने नजानिँदो गलत मानसिकतामा हुर्किएको मस्तिष्कले महिला र पुरुषको विवाहित सम्बन्धको दायित्वका बारेमा पढ्ने र सिक्ने मौका पाएन ।
‘‘महिला र पुरुषको सम्बन्ध कोठाभित्रै राख्ने कुरा हो’’ सिकाइएको समाजले पुरुष र महिलाको शारीरिक र मानसिक आवश्यकता फरक फरक हुन्छन् र त्यसमा समस्या आएमा कहाँ जाने ? कसलाई सोध्ने ? के गर्ने ? भन्ने विषयमा दम्पतीलाई सिकाउनु पढाउनु उचित ठानेन । त्यसैले आजका शिक्षित कहलिएका महिला र पुरुष पनि आफ्नो वैवाहिक जीवनमा आएका समस्यालाई सुरुमा समस्याको रुपमा लिँदैनन् । सुरेश र अमिताजस्तै ठीक भइहाल्छ नि, यस्तै त हो नि ! भनेर चुप नै बस्छन् । धेरै त्यसरी नै पीडापूर्ण जीवन बिताउँछन् । केही एकआपसमा छुट्टिन्छन् भने थोरैमात्रले सहयोगको खोजी गर्छन् ।
दुई व्यक्तिबीचको सम्बन्ध सधैँ शारीरिकमात्र हुँदैन, मानसिक पनि हुन्छ । एकअर्काको आवश्यकता बुझ्ने, दुःखसुखका कुरामात्र होइन, इच्छा र आकाङ्क्षाका कुरा पनि बुझ्न आवश्यक हुन्छ । हो, यौन जीवन विवाहको अभिन्न अंग हो तर योमात्रै सबै होइन । विवाह सुमधुर राख्ने प्रमुख विषयमा समस्या आउनासाथ दुवै जना त्यस्मा काम गर्न तत्पर हुन्छन कि हुन्नन् भन्नेमा पनि भर पर्छ ।
समस्या आउँदैमा, झगडा हुँदैमा बिग्रिहाल्ने त केही हुँदैन । दुई फरक व्यक्ति एकै घरमा बसेपछि कुरा नमिल्नु, स्वभाव बाझिनु सामान्य पनि हो । तर, एकआपसलाई दिने समय छैन, साथ बिताउने पलहरु घटिरहेका छन्, एकअर्काको दैनिकीमा हुने र भएका कुरा एकअर्र्कालाई थाहा हुँदैन, सरसल्लाहमा कमी आइरहेको छ, घर जान मन लाग्दैन, रिस र चिडचिडापन् बढेको छ भने सतर्क हुने बेला आयो भन्ने बुझ्नुपर्ने हुन्छ । यसैले सम्बन्धमा लागेको माकुराको जालो पनि सफा गर्नुपर्ने हुन्छ । आएका अप्ठेराहरुलाई नसच्याई यस्तै हो भनेर बस्ने हो भने सम्बन्ध ‘सम्बन्ध’ रहँदैन । बिस्तारै एकादेशको कथा हुन जान्छ ।