काठमाडौं । नेपालले सन् २०२० सम्ममा दादुरा निवारण गर्ने लक्ष्य राखेको भए पनि यो लक्ष्य चुनौतीपूर्ण देखिएको छ । सन् २०१९ को ४ महिनामा ७१ जना बालबालिकामा यसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप महाशाखाका अनुसार मोरङ, सर्लाही, मकवानपुर, कपिलवस्तु, रुपन्देही र दाङमा प्रकोप देखा परेको हो । त्यसैगरी, सन् २०१७ मा दादुराको संक्रमण देशका ४ स्थानमा देखिएको थियो, जसमा ५४ जना बालबालिकाहरुमा दादुराको संक्रमण देखिएको थियो । सन् २०१८ मा देशका विभिन्न ७ स्थानमा दादुरा रोग देखा परेको थियो । जसमा ५९ जनामा यो रोगको संक्रमण देखा परेको थियो । सन् २०१९ को ४ महिनामा नै पछिल्लो दुई वर्षको तथ्याङ्कको तुलना गर्दा नेपाल दादुराको जोखिम बढिरहेको देखिन्छ ।
नेपालमा अहिलेसम्म ७७ प्रतिशत बालबालिका दादुराको खोपको पहुँचमा पुगेका छन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि देशमा ९५ प्रतिशत बालबालिका दादुराको खोपको पहुँचमा पुगे भनेमात्र त्यो देशबाट दादुरा निवारण हुने उल्लेख छ । तर हाल दादुराविरुद्ध दिइने नौ महिनाको खोपमा पहिलो मात्रा ७० प्रतिशत र दोस्रो १५ महिनामा दिने खोपको मात्रा ६७ प्रतिशतमात्र लिने गरेको महाशाखाको तथ्यांकमाउल्लेख छ । नेपालमा रुवेला खोप भने ८० प्रतिशत बालबालिकाहरुले पाएका छन् ।
विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाका ११ देशमा सन् २०२० सम्ममा रुवेला र दादुरा निवारण गर्ने जनाएको छ । तर नेपालले सन् २०२० भन्दा अघि सन् २०१९ को अन्त्यमा नै दादुरा निवारण गर्न जनाएको थियो ।
आगामी मंसिरमा ५ वर्षमुनीका करिब ३८ लाख बालबालिकालाई दादुराको खोप अभियान सञ्चालन गर्ने खोप महाशाखाले जनाएको छ । सबै बालबालिकाको पहुँचमा खोप कार्यक्रम पुर्याउने लक्ष्य रहेको खोप महाशाखाका प्रमुख डा. झलक गौतमले बताए ।
“नेपालले सन् २०१९ को अन्त्यसम्ममा दादुरा निवारण गर्न चुनौतीको विषय बनेको छ,” उनले भने, “सरकारले दादुरा निवारण गर्न खोप अभियान सञ्चालन गर्ने भएको छ ।” बालबालिकालाई दादुराबाट जोगाउन यसको दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ । तर अन्धविश्वास, डरका कारण खोप नलिने गरेको पाइएको खोप महाशाखाका डा. गौतमले बताए । सरकारले बार्षिक ६ लाख ३० हजारजना एक वर्षमुनीका बालबालिकाहरुलाई खोप दिने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सन् २०१७ मा विश्वमा करिव एक लाख १० हजार मानिसको दादुराका कारण मृत्यु भएको देखिन्छ । जसमा अधिकांश बालबालिका थिए । दादुराको प्रकोप कम आय स्रोत भएका देशहरुमा उच्च रहने गरेको संगठनले जनाएको छ । सन् २०१० देखि सन् २०१७ सम्ममा विश्वमा करिव १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका थिए । जुन औसतमा वर्सेनी २ करोडभन्दै धेरै भएको युनिसेफले तथ्याङ्कले देखाएको छ ।