काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई अझै उत्कर्षमा लैजान र मुलुकलाई समाजवादी आन्दोलनमा पुर्याउन चाहेको बताएका छन् ।
कार्ल मार्क्सको २०१ औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले भने, "म अझै जंगल जान तयार छु । कम्युनिस्ट आन्दोलन क्लाइमेक्समा पुर्याएर मात्रै माथि जाने (मर्ने) इच्छा छ !"
नेपाली कम्युनिस्ट आन्दोलनमा गुणात्मक वृद्धि भइसकेकाले कार्यकर्ताले साथ दिए आफूमा अझै त्यो हिम्मत र साहस रहेको बताएका हुन् ।
‘एकताको प्रस्तावक मै हुँ’
समाजवाद र समृद्धि : हामी कहाँ छौँ विषयक अर्न्तक्रिया कार्यक्रम भए पनि प्रचण्डको आजको मन्तव्य निकै भावनात्मक र अुनुभवपरक थियो । कार्यक्रममा प्रचण्डले आफूले नै पार्टी एकताको प्रस्ताव गरेको बताए ।
तिनताका नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेर सत्तामा रहेका पुष्पकमल दाहालले कार्यक्रममा भने, “शुरूमा हामीले चुनावी गठबन्धन मात्रै गरौँ भनेर कुराकानी गरेका थियौँ । मैले अझै अगाडि बढेर पार्टी एकताको प्रस्ताव गरेँ । बीचमा तीन महिनामा सक्ने भनिएको पार्टी एकता वर्ष दिनमा पनि नटुंगिँदा बेकारमा गरिएछ भन्ने जस्तो पनि लाग्यो होला, कार्यकर्तालाई । तर, मलाई व्यक्तिगत रूपमा भने एकदम ठीक गरिएजस्तो लाग्छ ।
आइतबारको प्रचण्डको सम्बोधनमा आत्मस्वीकारोक्ति बढी थियो । मशालको महामन्त्री हुँदादेखि नै आफू पार्टी गठन र विघटनमा सक्रिय रहेको र कतिपयले यसलाई अस्थिरतको संज्ञा दिएको बताए । “म जतिबेला पनि वृहत र एकीकृत कम्युनिस्ट आन्दोलनको परिकल्पना गर्थें । प्रत्यत्न पनि त्यही किसिमको हुन्थ्यो । म कुवामा जमिरहन चाहने मान्छे होइन, भत्काएर खोलाझैँ गडगडाउन चाहन्छु ।”
उनले नेकपाको गठन र अहिलको पार्टी आन्दोनल यसैको कडी भएको दोहोर्याए ।
‘काठमाडौं आएपछि एक्लिएँ’
पार्टी र कम्युनिस्ट आन्दोलनमा आत्मकेन्द्रित, व्यक्तिवाद हावी भएको उनको निष्कर्ष थियो । उनले पार्टीमा एकले अर्कालाई छिर्के हान्ने र लडाउने कार्य भइरहेको बताए ।
“समाजमा धेरै सज्जन थोरै फटाहा हुन्थे । कम्युनिस्ट पार्टीमा त झन् धेरै सज्जन हुनुपर्ने ?,” उनले आश्चर्य व्यक्त गरे । उनले आफू भूमिगत कालमा जंगलमा एक्लै हुँदा पनि लाखौँ जनता-कार्यकर्ताका बीचमा रहेको अनुभूत भएको तर, शान्तिपूर्ण राजनीतिमा अवतरित भएपछि र अझ नेकपामा एकीकृत भएपछि एक्लो महसुस भएको टिप्पणी गरे ।
“पार्टी एकतापछि हामी ८–९ लाख कार्यकर्ता भएका छौँ । यत्रो कार्यकर्ताको पंक्ति हुँदा जे पनि गर्न सक्छु भनेर आँट आउनुपर्ने । दलाल नोकरशाही एकैदिन लखेट्न सक्नुपर्ने तर सक्दैनौँ जस्तो लाग्छ । काठमाडौं आएपछि जंगलमा आएजस्तो पो महसुस भयो,” उनको भनाइ थियो ।
उनले बन्दीकालमा सानो चिट लेख छाड्दिन्छौँ भन्दा पनि अटेर गरेर जेलनेल तयार हुने कम्युनिस्ट कार्यकर्ता अहिलेको एकीकृत आन्दोलनमा गतिशून्य हुनु दुःखद् भएकोसमेत बताए ।