site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
\'क्यान्सर देखिने बित्तिकै उपचार गरे निको हुन्छ\'

काठमाडौं । बाँकेकी मेनुका लम्सालका तीन वर्षका छोरा विकल्प लम्साललाई गत साउनमा ज्वरो आउने समस्या देखियो । उनले भेरी अन्चल अस्पतालमा उपचारका लगिन । अस्पतालका डाक्टरले चेकजाँच गरेर सामान्य ज्वरो आएको हो, औषधी खुवाउनुहोस निको हुन्छ भन्दै एक साताको औषधी दिएको विकल्पको आमा मेनुका बताउँछिन् । सो औषधी खुवाएको एक सातासम्म पनि विकल्पलाई ज्वरो निको भएन् । 

मेनुकाले छोरा विकल्पलाई लिएर सोही अस्पताल गइन् । त्यसपछि पनि चिकित्सकले ज्वरो निको हुन्छ भनेर अन्य पन्ध्र दिनको औषधी थपिदिए । तर पन्ध्र दिनको औषधी खुवाउँदा पनि निको हुनुको साटो विकल्पलाई बान्ता हुने समस्या थपियो । अस्पतालले रिफर नै नगरी तुरुन्त रात्रि बसको टिकट काटेर छोरा विकल्पलाई कान्ति बाल अस्पताल लिएर आएको उनले बताइन् । 

कान्तिमा विकल्पको रगत चेकजाँच गर्दा रिर्पोटमा रक्तक्यान्सरको पहिलो स्टेज देखियो । चिकित्सकले सोही दिन अर्थात गत भदौ पहिलो साता विकल्पलाई भर्ना गरिदिए । विकल्प अस्पताल भर्ना गरिएपछि काठमाडौंमा नै डेरा लिएर बसेको आमा मेनुकाले बताउँछिन् ।

अस्पताल भर्ना भएको तीन महिना अथार्त कार्तिक अन्तिम साता उनी डिस्चार्ज भए । त्यसयता अहिले पनि विकल्पको नियमित चेकजाँच र पन्ध्र-पन्ध्र दिनमा औषधी दिनुपर्छ । “जग्गा जमिन सबै बेचेर उपचार गरेको कतै छोरालाई ठिक नहुने होला भन्ने डर लागेको थियो, तर त्यस्तो होइन् रहेछ । क्यान्सर निको हुँदो रहेछ”, आमा मेनुकाले भनिन् । अहिले विकल्प ४ वर्षको भए उनी अन्य बालबालिका जस्तै सामान्य देखिन्छन् । 

विकल्प जस्तै झापाकी अभिसा ओलीलाई दुई वर्षको उमेरमा लगातार ज्वरो आउने, हात खुट्टा दुख्नेलगायतका समस्या देखिएको थियो । उनलाई ज्वरो रोकथाम गर्ने औषधी खुवाएर कान्ति बाल अस्पतालमा ल्याएको आमा शारादाले बताइन् । कान्तिमा रगत परीक्षण गर्दा रगतको क्यान्सर देखियो । क्यान्सर देखिनेबित्तिकै अभिसालाई कान्ति बाल अस्पतालमा नै भर्ना गरियो । अस्पतालमै राखेर दुई महिना उपचार गरियो ।

"दुई महिनाको उपचारपछि अभिसालाई अस्पतालबाट डिस्‍चार्ज गरियो । डिस्चार्ज गरिएको पहिलो महिना  एक-एक सातामा औषधीका लागि लैजानुपर्थ्यो । तीन महिनापछि पन्ध्र दिनमा र त्यसपछि ६ महिना गरेर दुई वर्षसम्म औषधीका लागि अस्पताल लैजानुपर्थ्यो । औषधी दुई वर्षसम्म दिएपछि पुन दिनुपरेन", अभिसाकी आमा शारादाले भनिन्, “दुई वर्ष नियमित औषधी गरेपछि, अभिसा अहिले पूर्ण निको भएकी छिन् ।”

अहिले अभिसालाई ६-६ महिनाको अन्तरालमा रगत परीक्षण गर्न अस्पताल लैजाने गरेको आमा शारादाले बताइन् ।

विकल्प र अभिसाको समयमै उपचार पाएकोले नयाँ जीवन पाएका छन् । उनीहरुले अहिले अन्य बालबालिकाजस्तै जीवन बाँचीरहेका छन् ।

बुधबार अर्थात आज हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल क्यान्सर सर्पोट ग्रुपको संयुक्त आयोजनामा भएको नेपालमा नै बाललगायत सबै क्यान्सर निको हुन्छ भन्‍ने कार्यक्रममा विकल्प र अभिसा जस्तै अन्य धेरै बालबालिकाहरु भेला भएका थिए । उक्त भेलामा बाल क्यान्सर रोग विशेषज्ञ डा. प्रकास निधि तिवारीले पछिल्लो समय बालबालिकामा रक्त क्यान्सर बढी देखिने गरेको बताए । 

“बालबालिकामा क्यान्सर देखिने बित्तिकै उपचार गरेमा निको हुन्छ । बालबालिकाहरुमा किमोथेरापी दिँदा अन्य समस्या देखिन सक्छ”,उनले भने, “कतिपय बालबालिकाहरुमा किमोथेरापीका कारण बच्चा नहुनसक्छ भने कतिपयमा वयस्क हुँदा अर्को क्यान्सर देखिन सक्छ, त्यसकारण नियमित हर्मोन चेकजाँच गनुपर्छ ।”

क्यान्सर आफैंमा एक कडा रोग हो, त्यसमा प्रयोग हुने औषधी कडा र अन्य औषधीको तुलनामा आर्थिक रुपमा महँगो हुने डा. तिवारीले बताए । 

सरकारले क्यान्सरका बिरामीका लागि दिएको सहुलियत रकम कम रहेको नेपाल हस्पिटल एण्ड तथा रिसर्च सेन्टरका क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले बताए । “क्यान्सर हुने बित्तिकै मृत्यु हुन्छ, भन्ने भ्रम र अन्धविश्वास हटाउनुपर्छ”, उनले भने, “क्यान्सरको उपचारका लागि विदेश जानुपर्दैन्, नेपालमा नै सबै प्रकारका क्यान्सर निको हुन्छ। ”

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा वार्षिक तीन लाख बालबालिकाहरुमा क्यान्सर देखिने गरेको छ । विकसित देशहरुमा ८० प्रतिशत क्यान्सर निको हुन्छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro