काठमाडौं । काठमाडौंको चुनदेवी मन्दिर । तर न कुनै शक्तिपिठ, न कसैको इष्टदेवता नै । तथापि मन्दिरमा घन्ट कुर्लिरहन्छ । बटवारेहरूले शीर नुगाएर ढोग्छन् । गाउँका पाका–वयोवृद्धा पूजा–अर्चना गर्छन्– नित्यनिरत ।
चुनदेवीको सान्निध्यमै छ– नरहरि आचार्यको घर ।
पछिल्लो समय नेताहरूका निवास पनि ‘शक्तिपिठतुल्य’ बनेको छ । बिहानदेखि राति अबेरसम्म कार्यकर्ताको घुइँचो लाग्छ । आशीर्वाद, पद–प्रतिष्ठाका खातिर । तर, एकलासमा नभए पनि आचार्यको घरमा घुइँचो छैन, न नेता कार्यकर्ताको आउजाउ नै छ । चौतारीको ‘एक्लो बर’ बनेको छ घर ।
गणतन्त्र ल्याउने हर्ताकर्तामध्येका नरहरि आचार्य अचानक राजनीतिक मञ्चबाट ‘नेपथ्य’मा ‘गुमनाम’ भएको तीन वर्ष तीन महिना भयो । यो तीन वर्षमा ऋतुले अनेकपल्ट चोला फेर्यो । समयले काँचुली फेर्यो । मुलुकले पनि चारवटा सरकार बदल्यो ।
पक्षघातले थलिएका नरहरिको जीवनले पनि शनैःशनै काँचुली फेर्दैछ ।
दिमागको बायाँ भागमा ‘हेमोरेजिक स्ट्रोक’ भएपछि शरीरको दायाँ भाग पूर्णतः नचल्ने भयो । पत्नी शारदा सुनाउँदै थिइन्, “१८ दिन त वाक्यै बस्यो । यसप्रकारको ‘स्ट्रोक’ भएका बिरामीहरूको स्वर वर्षौंसम्म अवरुद्ध हुँदो रहेछ । तर, उहाँको बोली फर्कियो ।”
संयोग नै मान्नुपर्छ, मस्तिष्कमा रक्त प्रवाह हुँदा श्वरमा दख्खल त पर्यो । तर, १८ दिनपछि बाटो खुल्यो ।
पक्षघातबाट तङ्ग्रिँदै गर्दा उनको दैनिकी बदलिएको छ । एकान्तबास प्रिय त होइन तर अधिकांश समय घरको पश्तिमतर्फको पुस्तकालयमा बिताउँछन् ।
“बाबाको जाँगर बडो अचम्मको छ, बिहान ३ बजे उठ्नुहुन्छ र कम्प्युटर सिक्नुहुन्छ, त्यो पनि बायाँ हातले !,” शारदा आश्चर्य हुँदै सुनाउँछिन् ।
शरीर चुस्त–दुरुस्त नभए पनि बोली प्रष्ट छ ।
“तर, कतिकुरा भन्न खोज्छु, दिमागले उपयुक्त शब्द छनोट गर्न सक्दैन । पछि सन्दर्भ सकिएपछि झ्वाट्ट आउँछ,” मुसुक्क हाँस्छन् । ‘स्ट्रोक’बाट बौरिएपछि पुनर्जीवन प्राप्त भएको प्रतीत हुन्छ । शुरूआतदेखि जीवन शुरू गर्नुपरेझैँ अप्ठ्यारो पनि हुन्छ, कतिपय अवस्थामा ।
“शरीर बूढो भइसक्यो तर सबै शुरूआतबाटै सिक्नुपरेको छ, खान, बोल्न, लेख्न, हिँड्न !,” जीवनका नूतन दिनहरूप्रति आफ्नै बुझाइ छ, नरहरिको । “औषधि, इलाज केही हुँदो रहेनछ, थेरापी बाहेक,” बेलाबखत दायाँ हात सुम्सुम्याउँछन् ।
० ० ०
२०७२ पुस २६ गतेको विषाद् नरहरिलाई सम्झनै मन छैन । कुराकानी गर्दा पनि यो सन्दर्भ नकोट्याए हुन्थ्यो लाग्छ । र, सकेसम्म पन्छनै खोज्छन् ।
“मिल्छ भने यो प्रसंगको कुराकानी डिलिट गरिदिनू,” शायद यो घटना आफ्नो अतीतबाट पनि मेटाउन चाहन्छन् उनी । जीवन एउटा आगतमा आइपुगेको छ, विगततिर फर्किएर आफूलाई दुःखी बनाउनु पो किन ?
पार्टी र आफ्नो जीवनमा एकैपल्ट विपत्ति आइलाग्यो । पार्टीले सभापति गुमायो । आफू ‘स्ट्रोक’ले थलिए । यसमा धेरै अलमलिन जरुरी ठान्दैनन् । यो एउटा आकस्मिक दुर्घटना थियो । भवितव्य थियो । त्यसबाट जीवन निकै अघि बढिसकेको छ ।
“त्यो एउटा दुःखद् संयोग थियो । त्यसबाट बाहिर आइसकेको छु,” यत्ति भन्छन् उनी । मुलुकलाई गणतन्त्रको दिशामा पुर्याएपछि निकै हलुँगो महसुस गरेका थिए नरहरिले । राजनीतिक आन्दोलन टुंगोमा पुर्याएपछि प्रायः राजनीतिकर्मीले आफूलाई हलुकै महसुस गर्छन् ।
०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि मुलुकले लय समातेको थियो । राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको थियो देश ।
त्यसले नरहरिलाई पनि त्राण दिएको थियो ।
“मुलुक एउटा कोर्षमा अघि बढिसकेकाले म विश्रामको अवस्थामा थिएँ । यसकारण, शारीरिक बाहेक मानसिक हिसाबले गतिशून्य अवस्था बेहोर्नुपरेन,” राजनीतिको दृष्यमा नहुँदाको क्षण यसरी वर्णन गर्छन् उनी ।
पक्षघातबाट बौरिएको शरीर र चेतनाले उनलाई सक्रिय राजनीतिमा अग्रसर हुन दिएको छैन । सक्रिय राजनीतिलाई कसरी अथ्र्याउने भन्ने द्विविधा पनि छ । स्वास्थ्य अवस्थाले उनलाई लेखपढ गर्न समय छुट्याइदिएको छ । आफ्नै पुस्तकालयमा थन्किएका पुस्तकमा पनि आँखा पुर्याउन भ्याएका थिएनन् । अहिले त्यो मौका पनि मिलेको छ ।
“अझै एकाध वर्ष पूर्णरूपमा नतंग्रिउञ्जेल लेखपढमै व्यस्त रहन्छु,” भविष्यको योजना पनि पस्कन्छन् उनी ।
० ० ०
भनिरहनु परोइन, नरहरि तीन वर्षदेखि राजनीतिक मञ्चमा देखिँदैनन् । न रेडियो, टेलिभिजनमा सुनिन्छन् । न अखबारमा छापिन्छन् ।
तर, मुलुकको राजनीति, सरकार र पार्टीको गतिविधिबाट टाढा छैनन् । नेता–कार्यकर्ता दिनहुँ गुनासो बोकेर आउँछन् । ‘स्ट्रोक’ले थलिँदा पनि मुलुकको विकृति, विसङ्गती, बेथितिबाट नरहरिले छुटकारा पाएका छैनन् ।
दुई तिहाइ सन्निकट मतका साथ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा छ । केपी ओलीले सरकारको नेतृत्व गरिरहेका छन् ।
पाँच वर्षका लागि म्याण्डेट पाएको सरकारले भर्खरै एकवर्ष गुजारेको छ । जनतालाई मात्रै होइन, नेकपा र स्वयम् सरकारका लागि पनि शुरूआती वर्ष सुखद् रहेन । जनआकाङ्क्षा भर्सेलामा परे । तथापि, सरकारको काम–कारबाहीलाई टिप्पणी गरिहाल्ने पक्षमा छैनन् नरहरि ।
“पाँच वर्षका लागि ‘म्यान्डेट’ पाएको सरकार हो । सरकारले काम गर्छ भन्ने आशा छ । जनता त निराशै देख्छु । तर, मैले हरेश खाइसकेको छैन,” उनी टिप्पणी गर्छन् ।
सरकारको भन्दा पनि ज्यादा चिन्ता पार्टीकै छ । संसदीय व्यवस्थामा प्रतिपक्षी प्रतीक्षामा रहेको सरकार पनि हो । छाया सरकार पनि भनिन्छ उसलाई । सत्तापक्षले सरकारमा भूमिका देखाउने, प्रतिपक्षले संसद्मा भूमिका देखाउने मान्यता संसदीय प्रणालीमै छ, अद्यपर्यन्त ।
तर, कांग्रेस प्रतिपक्षीको भूमिकाबाट स्खलित हुँदैछ । सामाजिक सञ्जाल, नागरिक समुदाय र स्वतन्त्र कोटीका व्यक्तिबाट स्वतःस्फूर्त प्रकट हुने विचार, भावनालाई अजेन्डा बनाएर आन्दोलित हुन अभिशप्त छन्, कांग्रेसका नेता–कार्यकर्ता ।
यसप्रति नरहरिको पनि दुखेसो छ ।
लोकतन्त्रमा सत्ता र प्रतिपक्ष निकै टाढाको विषय मानिँदैन । हाम्रोजस्तो मुलुकमा सरकार र प्रतिपक्ष ‘कहिले सासुको पालो, कहिले बुहारीको पालो’ भन्ने नेपाली आहानकै चरितार्थ हो ।
तथापि पार्टी जीवनको पुनः व्यवस्थापन नगरी कांग्रेसलाई गति दिन नसक्ने ठहर नरहरि गर्छन् ।
७० वर्षे जीवनकालमा कांग्रेसभित्र यसप्रकारको उतार–चढाव नआएको होइन । विग्रह र विघटन पनि कांग्रेसले नबेहोरेको होइन । नेतृत्वको सुझबुझपूर्ण निर्णयले कांग्रेस पटकपटक दुर्घटनाबाट जोगिँदै आएको छ । अहिले पनि पार्टी जीवनको वस्तुनिष्ठ समीक्षाको आवश्यकता देखेका छन् नरहरिले ।
“कांग्रेसभित्र हल नै नहुने प्रश्न उब्जिएका छन् जस्तो लाग्दैन । सिद्धान्तको मतभेद पनि यो होइन तर पनि अघिल्लो दिन मिल्छन्, भोलिपल्टै झगडा गर्छन्, सधैँ यसरी त चल्दैन आफूलाई सुधार्नुपर्छ,” नरहरिको सुझाव छ ।
उनी अहिले केन्द्रीय कार्यसमितिको बैठकमा सकेसम्म जान्छन् । पार्टीका गतिवधिमा सहभागी होऊँ भन्ने हुटुहुटी छ ।
तथापि सक्रिय राजनीतिमा फर्किइहाल्ने, चुनाव लड्ने सोच छैन । त्यसबारे कुनै योजना पनि छैन । भन्छन्– “शारीरिक रूपले जनताको सेवामा जुट्न त सक्दिनँ । बसेर गर्न सक्ने काम के हुन्छ ? विचार गरिरहेको छु ।”
र, ‘बन्दी वृत्तान्त’
२०५९ असोज १८ गते शेरबहादुर देउवा नेतृत्वको सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले अपदस्थ गरेपछि गणतन्त्रमा जानुपर्ने निष्कर्ष निकालेका थिए नरहरिले ।
०४७ सालको संविधान राजा ज्ञानेन्द्रले धूजा पारेकाले संविधानसभाको निर्वाचनको अपरिहार्यता उनले त्यतिबेलै देखेका थिए– २०५९ साल असोज १९ गते टेकुमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा ।
२०५४ सालदेखि नै संविधानका बारेमा प्रश्न नउठेको होइन । तिनताकको बहस संविधान बदल्ने भन्दा पनि सुधार र विकासका केन्द्रित थियो ।
ज्ञानेन्द्रको असोज १८ को कदम पनि संविधान संशोधनको सान्दर्भिकता सकिएको घोषणा गर्ने एक्लो ‘वृहस्पति’ बने, नरहरि । २०५९–२०६१ नेपालको राजनीतिमा तत्कालीन सत्ता– राजनीतिका दलहरूको गल्तीकै वर्ष बन्यो । परिणामतः २०६१ माघ १९ घट्यो । राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई दोस्रोपल्ट पदस्थ गरे । र, सत्ताको बागडोर आफ्नो हातमा लिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको शाही घोषणाकै दिन नरहरि पक्राउ परे । शुरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक र तत्पश्चात नुवाकोट, ककनीमा रहेको सशस्त्र प्रहरीको प्रशिक्षण केन्द्रमा पु¥याइएका नरहरि २०६२ असार २१ गते मात्रै रिहा भए ।
०६२ मंसिरमा सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी) र शान्तिपूर्ण सङ्घर्षरत सात राजनीतिक दलबीच १२ बुँदे सम्झौता भयो । आ–आफ्नो कित्तामा टसको मस नगर्ने संसदवादी र गैरसंसदवादी शक्ति पहिलोपल्ट एकठाउँमा उभिए । राजसंस्थाविरुद्धको आन्दोलन साझा–सङ्घर्ष बन्यो ।
२०६२ माघ ४ गते नरहरि पुनः पक्राउ परे र लोकतन्त्रको बहालीपछि २०६३ वैशाख १२ गते रिहा भए । जेलमा रहँदा–बस्दा उनी दैनिकजसो कार्यतालिका तय गर्थे । गतिविधि डायरीमा टिपोट गर्थे । दुईपटक गरी झन्डै १० महिना जेलजीवन व्यतीत गरेका आचार्यको त्यही जेल डायरी अहिले किताबाकारमा परिणत भएको छ– ‘बन्दी वृत्तान्त’का रूपमा ।
आचार्यकृत ‘बन्दी वृत्तान्त’ राजबन्दीको जेल डायरीमात्र होइन, सत्ता राजनीतिमा अड्किएको मुलुकको आन्दोलन कसरी गणतन्त्र प्राप्तिको सङघर्षमा रूपान्तरित भयो भनेर बुझाउने माध्यम पनि बनेको छ ।
“गणतन्त्र प्राप्तिको आन्दोलनको संग्रहणीय दस्तावेज बनेको छ । राजबन्दीले लेखेको भएकाले उसका केही निजी अनुभूति पनि हुने नै भए,” पुस्तकको बारेमा पत्नी शारदा शर्मा प्रष्ट्याउँछिन् ।
(आचार्यकृत ‘बन्दी वृत्तान्त’ यही बुधबार (वैशाख १८ गते) राजधानीमा सार्वजनिकीकरण हुँदैछ । पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो)